व्यङ्ग्य निबन्ध : किशुनजीको छाता

~शैलेश भट्टराई~

आमाले अति कचकच गरेपछि म एउटा छाता किन्न बजार गएँ। बजारमा धेरै छाताहरू हेरियो, बुझियो, जाँचियो । कुनैको दाम चर्को। कुनै हेर्दै नकिनुँ जस्तो लाग्ने। कुनै भद्दा। कुनै भने एक जनाको टाउको ओताउन पनि गाह्रो मान्ने छाते टोपी जत्रो । कुनै सिमसिमे पानीमा मात्र काम लाग्ने।

चित्तबुझ्दो एउटा नदेखेपछि दिक्दार लागेर अरू नै कुनै दिन किन्ने बिचार गरी घर फर्कने ध्याउन्नमा थिएँ। यत्तिकैमा एउटा मान्छे आएर च्याप्प मेरो पाखुरा समात्यो र भन्यो- `जाउँ हजूर मेरोमा। तपार्इको रोजाइको छाता छ मसंग ।´

`छाता साता नकिन्ने अब´ भनेर उम्किन खोजें । तर, उसले लगेरै छाड्यो। मन नलागी नलागी उसको छाता हेर्दिएँ। छाता हेर्दा राम्रै रैछ। दिक्दारीमै सोधें-`कहाँको छाता हो यो ?´

`यो कहीँको होइन हजूर, मैले आफैंले बनाएको।´
`त्यसैले यस्तो छाता बजारमा अन्त पाइन्न ।´
`ए हो र?´

मन नलागी-नलागी प्रतिक्रिया दिएँ।
`तपाईंकै लागि भनेर यो एकथान राखेको छु।´
`यो छाता ओढनुस् अनि सुरक्षित हुनुस् हजूर।´ उ हाँस्दै व्यापारिक लवजमा बोल्यो।

`घामपानीबाट सुरक्षित हुनकै लागि हो छाता किन्न खोजेको।´ मैले अल्छीलाग्दो पाराले छाता सुम्सुम्याउँदै तर्क गरें।
`हो नि। तपाइँको सर्वाङ्गीण विकासका लागि  यो नभई नहुने छाता हो ।´

म गर्छु गाग्राका कुरा ऊ गर्छ आग्राका कुरा ! आफूलाई घामपानी छेक्ने मामूली छाता भए काफी हुन्छ। उ भने अनेकका विकासको कुरा गर्छ ।
‘होइन, यसले घामपानी छेक्दैन र ?’ मैले सन्देह प्रकट गरें।

‘छेक्छ हजूर। किन नछेक्नु नि ! तर यो अरू जस्तै घामपानी मात्रै छेक्ने मामुली छाता नै होला अथवा सन्त नेता किशुनजीले ओढ्ने केही न कामको बकम्फुसे छाता जस्तै होला भनेर सोच्नुभाछ भने तपाईं गलत हुनुहुन्छ।´
उसले स्पष्टीकरण दियो ।

भनेपछि ऊ किशुनजी र वहाँको छातासंग पनि परिचित रहेछ।
मलाई आश्चर्य लाग्यो।

‘छाताको काम घामपानी छेक्ने बाहेक अरू पनि हुन्छ र ?’  मनमनै आफैंलाई सोधें।
`हुन त हो। कुनै कुनै छाताले लौरोको काम पनि गर्छ। परीआए हतियारको काम पनि गर्छ। किशुनजीको छाता पनि यस्तै थियो।´
मनमनै जवाफिएँ।

`घामपानी बाहेक के-के छेक्छ त यसले?´ मैले चासो दिनासाथ व्यापारीले छाताबारे बेलीबिस्तार लगाउन थाले-
‘धेरै कुरा छेक्छ हजूर यसले । किनभने, यो छाता अरू छाताजस्तो कपडाले, दुई कौडीका फलामले अनि प्लाष्टिकजस्ता पदार्थले बनेको नभई विशेष प्रकारका वस्तुहरूले बनेको हो।´

आफ्नो माललाई जसले पनि विशेष देख्नु स्वाभाविक नै हो ।
‘यो छाताको सब से बलियो  भनेकै करंग र डण्डी हुन् ।’ के के न नयाँ कुरो भने झैं गरेर उसले भन्यो ।

आखिर जुन छातामा पनि त करंग र डण्डी नै त सबैभन्दा बलिया नै हुन्छन्। मैले मनमनै तर्क गरें । अनि उसलाई फिसोल्दै भनें-
‘त्यसोभए त कसैले ढुङ्गा हान्यो भने पनि छेक्छ होला।´
मैले यति भन्नासाथ अट्टहासका साथ उसले भन्यो-

`तपाईं जाबो ढुङ्गा माटो छेक्ने कुरा गर्नुहुन्छ।´
`छि छि छि!´

`यो त बुलेट, बम र क्षेप्यास्त्र छेक्ने छाता हो हजूर। आणविक क्षेप्यास्त्र पनि यसले छेकिदिन्छ।´

बुलेटप्रूफ गाडी, बुलेट प्रूफ ज्याकेटको बारेमा त सुनेको थिएँ, आज भने बुलेटप्रुफ छाता पनि देख्न पाइयो। अलि उत्साहित भएँ अब म। मेरो दिक्दारीपन यतिखेरसम्म निकै भागिसकेछ।

म उत्साहित भएको देखेर शायद उ पनि उत्साहित भयो।
र, अघिको भन्दा कस्सिएर बोल्न थाल्यो-

‘मैलेबाहेक अरू सबैले हानेको बुलेट, बम र क्षेप्यास्त्र यसले रोक्ने सामर्थ्य राख्छ।’
अब भने मलाई ऊदेखि डर लाग्न थाल्यो। एउटा मामूली छाता व्यापारी भएर बम र क्षेप्यास्त्र हान्ने कुरो गर्छ बा ! फेरि अरूले हानेको छेक्ने, उसले हानेको चाहिँ नछेक्ने ?

‘त्यो कसरी हुन्छ ?’
यसैगरी सोधें उसलाई।
कुटिल हाँसो हाँस्दै नम्र भएर उसले भन्यो –

‘किनभने छाता मैले बनाएको हो र ओढाउने पनि म नै हुँ नि हजूर ।’

यो मान्छे व्यापारी नभई कुनै मायावी मान्छे हुनुपर्छ । मलाई शंका लाग्यो ऊदेखि।
यसपछि भने उसको कुरा मलाई बकवास लाग्न थाल्यो।

‘कुरा सुन्दियो भनेर जे पनि बोल्ने ?’
यसैगरी उसलाई हप्काएँ ।

‘नरिसाउनुस् न हजूर’
‘यसका सबै फाइदा मैले अझै भनिसकेको छैन ।’

‘अझै भन्न बाँकी छन् र ?’
मैले छक्क पर्दै सोधें ।
ऊ भने फुर्की फुर्की छाताको थप विशेषता भन्न थाल्यो-

`यसको वारेण्टी हेर्नुस् हजूर। लाइफ वारेण्टी ।´

`रिपेयर एण्ड मेन्टिनेन्स जम्मै मेरै जिम्मा । त्यो पनि फ्री अफ कष्ट ।´

`छातामा पनि वारेण्टी, त्यो पनि लाइफ वारेण्टी !´म अचम्ममा परें। ग्राहक तान्ने रणनीति होला।
ऊ आफ्नो मालको बयान गरेर अझै थाकेको छैन। भन्छ-

‘अरू छाता जसले ओढ्छ, उसैले बोक्छ। घाम लाग्यो खोल्ने, घाम गयो बन्द गर्ने ।अथवा पानी पर्यो खोल्ने, पानी रह्यो बन्द गर्ने । त्यसपछि खोल हाल्ने थन्क्याउनेयावत् झमेला हुन्छन् तिनमा।´
‘हैन त हजूर?’

‘हो । तर, छाता ओढ्नेले अलि अलि झमेला सहन सक्छन्। ‘ मैले उसको कुरा काटें।

‘त्यसो भनेर कहाँ हुन्छ हजूर। त्यस्तै झमेलाले गर्दा छाता हराउने, चोरी हुने, बिर्सनेउदाहरण कति छन् कति। हो कि होइन भन्नुस् त।‘
उसले र्याखर्याख्ती पार्यो।

`त्यही भएर त हजूर,  मैले नै समाएर ओढाउने हुनाले यो छाता झमेला प्रूफ छ।तपाइँहरूले केही गर्नुपर्दैन ओढाउन अनुमति दिए मात्र पुग्छ ।´

`संसारमा कतै पनि कसैले पनि तपाईंको लागि यस्तो छाता बनाएका छैनन्।किनकि मैलेबाहेक तपाईंको लागि यस्तो छाता अरूले बनाउनै सक्दैन|´

यो व्यापारी जति छाताको बखान गर्थ्यो, उति मेरो शंका बढ्दै जान्थ्यो।  यस्तो शंका लागीलागी किन्नुहुन्न भन्ने मलाई लाग्यो । म उसको आँखा छलेर भागें । घर गएँ । आमालाई छाताको सारा बेलीबिस्तार लगाएँ । वहाँ पनि चकित हुनुभो। भन्नू भो-`लुबाबु भोलि तँ र म दुवैजना त्यो छाता हेर्न जाने।चित्त बुझे किनौंला।´

मलाई अझै शंका लागिरहेको थियो, त्यो व्यापारीदेखि | तैपनि आमाले भनेपछि जानैपर्यो भनेर भोलिपल्ट आमालाई लिएर फेरि बजार गएँ। हामी उसको छेउमा पुग्नासाथ फेरि आफ्नो सामानको बखान गर्न खोज्दैथ्यो ।
आमाले हस्तक्षेप गर्दै भन्नु भो- ‘तपाईंको यो छाताको सप्पै कुरो थाहा पायौं। अब दाम चाहिँ भन्नुपर्यो ।’

उसले सगर्व भन्यो- `यसको कुनै मौद्रिक मूल्य छैन हजूर।’
‘चारआना पैसा पनि खर्च गर्नुपर्दैन ।’
‘पैसा खर्च गर्नु नपरे के खर्च गर्ने त ?’ उसको कुरा भुइँमा खस्न नपाउँदै आमाले सोध्नुभो। ‘सित्तैंमा दिने त पक्कै होइन होला।’
हो मा हो मिलाउँदै उसले भन्यो-

‘मुनासिब कुरा गर्नु भो हजूर।’
‘यसको मूल्य पैसामा छैन। खाली तपाईंहरूले आफूसँग भएको केही चिज मलाई दिए पुग्छ ।’

‘तपाईंलाई दिन सक्ने त्यस्तो कुनै चिजबस्तु नै छैन के दिने र हामीले?´
आमाले निरीहता प्रकट गर्नुभो ।

‘छ नि, किन नहुनु ? तपाईंहरूले दिन्छु मात्रै भन्नुपर्यो|’- बडो आत्मविश्वासका साथ ऊ प्रस्तुत भयो ।
‘के दिने त?’

हामीले यति भन्नासाथ निसंकोच उसले भन्यो–‘ तपाईंहरूले आफूसँग भएको स्वाभिमान, आत्मसम्मान र विवेक अलिकति होइन, पूरै मलाई दिनुस्, म आफैं तपाइँहरूलाई यो छाता यसरी ओढाउनेछु।´ उसले छाता खोलेर देखाउँदै भन्यो ।
छातामा तीनवटा रंगको प्रयोग गरिएको रहेछ।
आमा निकै चकित हुनुभो ।

मैले उसलाई छाता नलिने आशयले व्यङ्ग्य गर्दै भनें-
‘भनेपछि यो छाता बुलेट प्रूफ, बम प्रूफ, बारूद प्रूफ मात्र नभई विवेक प्रूफ पनि रहेछ हगि ?‘

आमाले पनि थप्नु भो-
‘यस्तो गज्जबको छाता आफैँ ओढ्नू ल ? हाम्लाई चाहिन्न।’
‘ मसंग यस्तो छाता आफ्नै छ हजूर । आफ्नो लागि आफैले बनाएको । मैले आफ्नो लागि मात्र होइन, आफ्ना साथीभाइहरू जो निर्धा, निर्धन र निर्बल छ्न्,सधैं मेरै आश गर्छन्, उनीहरूका लागि समेत छाता बनाएको छु र ती छाता उनीहरूलाई बेच्न चाहन्छु ।’ उसले प्रष्ट्याउन खोज्यो ।

‘यो भन्दा त किशुनजीकै छाता कति राम्रो राम्रो।’ आमाले प्रष्ट भन्दिनुभो ।

`हिंड् बाबू अब जाउँ घर।´
उसको नियत र उद्देश्य सतहमा आइसकेको थियो । हामी छाता नलिने निष्कर्षमा पुगिसक्यौं। तैपनि उ थप फकाउने कोसिसमा थियो।
`पख्नुस् न हजूर पख्नुस्।´

भन्दै थियो- ‘हात्ती छिरिसक्यो अब पुच्छर अड्काएर राख्नु हुन्न हजूर।´
`पल्लाघरे रिठ्ठे छ नि तपाईंको छिमेकी, हो त्यसले उहिल्यै यस्तो छाता ओढेर कति ह्याप्पी छ । त्यो त तपाइलाई पनि थाहा छ नि ।´ उसले उदाहरण दिँदै प्रष्ट्याउन खोज्यो।

उसले जेलाई हात्ती भनिरहेको थियो, वास्तवमा छिरिसकेकै थियो। पुच्छर मात्रै छिर्न बाँकी थियो। उसले जसलाई ह्याप्पी छ, भन्यो देख्नलाई ऊ ह्याप्पी नै देखिन्थ्यो।

तर, मेरी आमाका बलिया बलिया छोराछोरी देश विदेशमा ज्यूँदै थियौं जो छिरिसकेको हात्तीको पुच्छर समातेर पनि बाहिर निकाल्ने सामर्थ्य राख्थ्यौं ।

कस्तो ज्याद्रो व्यापारी रहेछ भने सीधै लिन्न भन्दा पनि अझै लोभ्याउँदै थियो-
`लाभको अघि मूल्य त कौडी बराबर।´

आमाले ठूलो आवाजका साथ भन्दिनुभो-
`यसको मूल्यको अगाडि त लाभ कौडी बराबर।´

उ अझै केही भन्न खोजिरहेको थियो । हामी भने कुलेलम ठोक्यौं
`थुक्क यसपटकको प्रयास पनि खेर गयो।´

अलिक पर पुगेपछि उसको मधुरो आवाज सुनियो।

(स्रोत  :- Onlinekhabar )

This entry was posted in निबन्ध, हास्य - व्यङ्ग्य and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *