लघुकथा : सहयोगको बिजोग

~अरुणबहादुर खत्री ‘नदी’~Arun Bahadur Khatri 'Nadi'

कार्यालय छुट्टी भएपछि रमेशले आफ्नो घर पैदल फर्कदैँ गर्दा हात्तीसारमा पुगेपछि एकजना अपरिचित व्यक्तिले रमेशलाई बोलाएर, “दाइ, लैनचौर जाने बाटो कुन हो ?” भन्यो ।

“ए, त्यसो हो भने म पनि लैनचौर हुँदै आफ्नो घर फर्कन लागेको छु, तपाई मसँगै हिँड्नुस् लैनचौर पुगिन्छ,” रमेशले भने ।

“दाइ, तपाई कहाँ काम गर्नुहुन्छ नि ?” अपरिचित व्यक्तिले रमेशलाई सोध्यो ।

“गृह मन्त्रालयमा,” रमेशले भने ।

“मैले जागिर कतै पाउन सकिन पाइन्छ भने कतै जागिर लगाइदिनुस् न,” अपिरिचित व्यक्तिले अनुरोध गरे ।

“कति पढ्नु भएको छ नि ?” रमेशले सोधे ।

“बी.ए.सम्म ।”

“तपाई जागिर खान चाहनुहुन्छ भने लोक सेवा आयोगको विज्ञापन खुलेपछि दरखास्त दिनुस् । तपाई बी.ए.सम्म पढ्नु भएकोले ना.सु. र खरिदार पदको विज्ञापन खुलेपछि दरखास्त दिएर लड्न पाउनुहुन्छ,” रमेशले भन्यो ।

“ना.सु. र खरिदारको दरखास्त कहिले खुल्छ नि,” अपरिचित व्यक्तिले अर्को प्रश्न सोधे ।

“हरेक बुधबारको गोरखापत्र हेर्नुस् न विज्ञापन खुलेको थाहा पाइहाल्नुहुन्छ,” नि रमेशले उत्तर दिए ।

“म आज तपाईको घर हेर्न जान्छु नि त,”अपरिचित व्यक्तिले जोड गरे ।

“मेरो घर किन हेर्न खोज्नु भयो नि तपाईले ? ” रमेश सशंकित बने ।

“कहिलेकाही तपाईलाई भेट्न आउन सजिलो हुन्छ नि,” अपरिचितले उत्तर दियो ।

अपरिचित व्यक्तिले त्यसो भनेपछि रमेशले मन खेलायो,“मैले मेरो घर लगेर देखाएपछि आज म तपाईकै घर बस्छु भन्ने त होइन यसले ?”

“म एकछिन यतै अल्मलिन्छु तपाई आफ्नो बाटो फर्कनु,” रमेश छलिन खोज्यो ।

“म तपाईलाई कुरेर बस्छु नि तपाईको घर नहेरी मलाई जानै मन लागेन,” अपरिचित व्यक्तिले भन्यो ।

उसले त्यसो जिद्दी गरेपछि रमेशले “लैनचौर जाने बाटो कुन हो भनेर शुरुमा मसँग तपाईले सोध्नु भएको होइन ? लैनचौर त यही हो । मेरो घर यहाँबाट टाँढै छ । म आफ्नो बाटो लाग्छु, तपाई यही बस्नुस्,” भन्दै रमेश बाटो लाग्यो ।

अरुणबहादुर खत्री “नदी”
सामाखुसी मार्ग,
वडा नं. २९, काठमाडौं ३
मोबाइल नम्बर ९८४१७९७६६४

This entry was posted in लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *