संस्मरण : मधुपर्कसित गाँसिएका सम्झनाहरू

~हरि अधिकारी~hari-adhakari

साहित्यिक मासिक पत्रिका मधुपर्कसित मेरा मधुरतम् सम्झना गाँसिएका छन् । मेरो साहित्य – लेखन र मधुपर्कको प्रकाशन लगभग एकै समय, एक वर्षको फरकमा प्रारम्भ भएको सुखद संयोग पनि यस प्रसङ्गमा उल्लेखनीय छ । विक्रम संवत् २०२५ सालमा गोरखापत्र संस्थानबाट साहित्यिक पत्रिकाका रूपमा त्यस मासिकको प्रकाशन शुभाम्भ हुनुभन्दा अगाडि नै मेरा केही रचना ज्योत्स्ना, रूपरेखा, गोरखापत्र आदि पत्र-पत्रिकामा छापिइसकेका भए पनि आम र खास, दुबैखाले पाठकका नजरमा पढ्ने किसिमका कथा र कविता छापिदिएर मलाई साहित्य -साधनामा लगातार लागिरहन उत्प्रेरित गरेको चाहिँ मधुपर्कले नै हो । आज मेरो जे-जस्तो साहित्यिक व्यक्तित्वको निर्माण भएको छ, त्यसको जगमा मधुपर्कले उपलब्ध गराएको अवसर छ भन्नु उपयुक्त हुनेछ ।

पहिलो अङ्कदेखि नै मुलुककै अग्रणी र उच्चस्तरीय ठानिएको त्यस पत्रिकामा मेरो प्रवेश सजिलैसँग भएको भने होइन । विक्रमको २० को दशकमा म आफ्नो अन्तष्करणको हुट्हुटीले अक्षरहरूको मायावी संसारमा विचरण गर्न खोजिरहेको एउटा किशोर थिएँ । सञ्जीवनी हाइस्कुल धुलिखेलबाट एस.एल.सी. गरेर म उच्च शिक्षाका लागि त्रि-चन्द्र कलेजमा भर्ना भएको थिएँ, २०२४ सालमा । त्रि-चन्द्र कलेजमा मैले लिएको प्रविष्टि नै कालान्तरमा मेरो साहित्यिक जीवन यात्राको प्रस्थान विन्दु बन्न पुग्यो ।

महाराज चन्द्र समशेरले स्थापना गरेको मुलुककै त्यो पहिलो महाविद्यालय राजधानीको प्राज्ञिक गतिविधिको एउटा केन्द्र थियो, जहाँ आफ्नो समयका नाम चलेका साहित्यकार र समीक्षकहरू अध्यापन गर्दथे । उनीहरूको उपस्थितिका कारण सरस्वती सदन परिसरमा सिर्जनाशीलताको पहिचान र प्रतिभाको विकासका दृष्टिले वातावरण बढी असल थियो । रामराज पन्त, रोहिणीराज भट्टराई, बासुदेव त्रिपाठी, मोहनहिमांशु थापा, ठाकुरप्रसाद पराजुली, ध्रुवचन्द्र गौतम आदि शिक्षकहरू आफैँ साहित्य-साधनामा संलग्न त थिए नै, लेखन-अध्ययनमा गहन रुचि भएका छात्रहरूको पहिचान गरेर तिनलाई प्रोत्साहन दिन पनि सदैव तत्पर रहन्थे । यी गुरुहरूमध्ये पनि ध्रुवचन्द्र गौतम विद्यार्थीहरूसँग बढी घुलमिल हुने, सजिला र सहयोगी थिए । उनी आफैँ पनि नेपाली कथा र उपन्यासका क्षेत्रमा नयाँ नयाँ प्रयोग गर्न र स्थापित हुन सङ्घर्षरत युवा लेखक थिए त्यतिबेला तर पनि आफ्नो कुनै विद्यार्थीले लेखेको कुनै रचना देखाउन लग्यो भने उनी झीँझो नमानी र ध्यान दिएर पढ्दथे र सम्भव भएसम्म छपाइ दिन पनि अघि सर्दथे । गौतमकै सहयोगले मैले निजी क्षेत्रको नामी पत्रिका रूपरेखामा प्रवेश पाएको हुँ र उनकै सिफारिसमा गोरखापत्रका तत्कालीन लेख-रचना सम्पादक भैरव अर्यालले मेरा साहित्यिक रचनाहरू शनिवासरीय परिशिष्टमा र गैरसाहित्यिक रचना सम्पादकीय पृष्ठमा छाप्न थालेका हुन् ।

तर प्रकाशन सुरु भएको तीन वर्ष बितिसक्दा पनि गो. प. को प्रतिष्ठित साहित्यिक प्रकाशन मधुपर्कमा भने मैले प्रवेश पाउन सकेको थिइनँ । गो.प. संस्थानले स्वीकृत गरेको प्रेस लाइनसम्बन्धी नीतिअनुसार संस्थानका सबै नेपाली भाषाका प्रकाशनहरूमा गोरखापत्रको प्रधानसम्पादकको नाम नै सम्पादकका रूपमा छापिने हँुदा त्यतिबेला मधुपर्कको सम्पादक पनि गो.प.का प्रधानसम्पादक गोपालप्रसाद भट्टराई नै थिए । उनीपछिका मधुपर्क सम्पादन कर्मीहरूमा नारायणबहादुर सिंह, दाताराम शर्मा र भैरव अर्याल थिए । म त्यतिबेलासम्म गोपालप्रसाद र नारायणबहादुरलाई चिन्दैनथे, दाताराम गुरुसँग एकोहोरो परिचय थियो भने भैरव अर्यालसँग रामै्र चिनजान । अर्यालले मेरा रचनाहरू गो.प.मा धेरै पटक छापिसकेका थिए र म चाहिँ उनलाई मेरा कथा र कविताहरू मधुपर्कमा छापिदिन बारम्बार अनुरोध गरिरहेको थिएँ । भैरव अर्याल भने मेरो अनुरोधलाई सुनेको नसुन्यै गरिरहेको थिए ।

त्यसबीचमा मैले साहित्यको क्षेत्रमा स-सानो हैसियत बनाइसकेको थिएँ । कवि वासु शशी कथाकार परशु प्रधान, रूपरेखाका उत्तम कुँवर र बालमुकुन्द देव पाण्डे आदिको सान्निध्य र सहयोगमा म साना-तिना र रूपरेखाजस्ता केही महत्त्वपूर्ण पत्रिकामा छापिने युवा लेखक भइसकेको थिएँ । वि.सं. २०२६ सालमा भएको राष्ट्रिय कथा प्रतियोगिता र सहिद दिवस राष्ट्रिय कविता प्रतियोगिताका साथै २०२७ सालमा भएको प्रज्ञा प्रतिष्ठानको राष्ट्रिय कविता महोत्सवसमेत मैले प्रथम पुरस्कार प्राप्त गरेको थिएँ । यी उपलब्धिका आधारमा मैले आफूलाई मधुपर्कमा छापिन योग्य ठानेर भैरव अर्याललाई दबाव दिन खोज्नु एक हिसाबले स्वाभाविक नै थियो । मैले त्यतिबेला कथा र कविता गरी आठ-नौ थान रचना भैरव अर्यालको पेपर-बक्समा पुर्‍याएको थिएँ ।

ती मेरा जवानीका दिन थिए । साहित्यको संसारमा आफ्नो नामको झण्डा गाडेरै छोड्ने लक्ष्य थियोे र थियो त्यो लक्ष्यमा चाँडै पुग्ने हतारो तर अर्याल थिए एकदमै अडियल । उनले धेरै दिनसम्म त मधुपर्कको आउँदो अङ्कमा तपाईंको कथा वा कविता छापिँदैछ पनि भने नछापिँदा के भएछ, म हेर्छु भने, फेरि पनि छापिएन । पछिपछि त मसँग कुरै पनि नगर्ने भए उमेरका साथमा आउने जोश, जाँगर र घमण्डको यानमा सवार मैले जब वर्ष २ वर्ष कुर्दा पनि मधुपर्कमा आफ्नो नाम छापिएको देख्न पाइन अनि आफ्नो अहम् तुष्टिकै लागि मात्र पनि एउटा साहित्यिक पत्रिका आफैंले निकाल्ने निर्णय गरें ।

अहिलेका नामी कथाकार ध्रुव सापकोटा र म एउटै कोठामा बस्दथ्यौँ । ध्रुवजी भरखरै लेख्ने अभ्यास गर्न थालेका व्यक्ति थिए तर कर कार्यालयको कारिन्दा भएकाले पत्रिका प्रकाशनका लागि आवश्यक विज्ञापन जुटाउन उनको ठूलो योगदान हुन सक्दथ्यो । उनले पत्रिका प्रकाशनको योजनामा सामेल हुन सहर्ष स्वीकार गरेँ । वरिष्ठ साथीका हैसियतले कथाकार परशु प्रधानले पनि सघाउने भए । यसरी जोशै जोशमा नेपालकै पहिलो सम्पूर्णतः कथा-कहानी केन्द्रित साहित्यिक द्वैमासिक ‘प्रतीक’ को प्रकाशन गर्ने निधो भयो । राज्यले अभिव्यक्ति स्वतन्त्रतामाथि अनेक प्रकारका अङ्कुश लगाएको त्यस समयमा विधिवत् दर्ता गरेर पत्रिका निकाल्न सजिलो थिएन, त्यसैले प्रतीक २ महिने सामयिक सङ्कलनका रूपमा निकालिएको थियो ।

प्रतीकको प्रकाशन सुरु हुनुभन्दा अगाडिको एउटा प्रसङ्ग । यो प्रसङ्ग जति रोचक छ, त्यति नै मनलाई छुने खालको छ भन्ने मेरो ठम्याइ छ मानिसको जीवनमा पति -पत्नी, छिमेकी र साथीको जुगाड नियतिले नै गरिदिएको हुन्छ भन्ने शाश्वत वचनलाई पनि यसले पुष्टि गर्दछ ।

प्रतीकको पहिलो अङ्कको तयारीका प्रक्रममा पत्रिकाको कभर र लोगो डिजाइन गर्ने कलाकारको खोजीका क्रममा ध्रुव र म रानीपोखरीको दक्षिणी डिल हाल गणेशमान सिंहको सालिक भएको ठाउँनिर पार्क ग्यालरी नामक स्टुडियो चलाएर बसेका चर्चित कलाकार रामानन्द जोशीकहाँ पुगेका थियौँ । कलाकार जोशीले हामीले भनेअनुसारको काम गर्ने वचन दिएर ३ दिनपछि आउँन भने । उनले तोकेको दिन हामी दुई जना स्टुडियोमा पुग्दा जोशी लबेदा सुरुवाल र कोट- टोपीमा सजिएको एउटा होचो कदको व्यक्तिसँग बडो विनम्र भावले कुराकानी गरिरहेका भेटिए ।

हामीलाई देखेँपछि जोशी दाइ एक्कैछिन है भन्दै नजिकै रहेको ड्रइङ टेबुलतिर बढे र उनले प्रतीकको कभर, मास्ट हेड र भित्री स्तम्भका दुई चार डिजाइन भएको आर्ट पेपरको २ पन्ना हामीलाई दिन खोजे । खोइ हेरुँ त त्यति नै बेला जोशीसँग बात मारिरहेको त्यो व्यक्तिले हात तेस्र्यायो । उसले मोटो ऐना भएको चश्मा लगाएको मैले त्यतिबेला नै याद गरे ।

कलाकारका हातबाट ती डिजाइनहरू लिएपछि त्यो व्यक्तिले चश्मा झिकेर त्यो आर्टपेपरको पन्नालाई आँखाको नजिक लगेर हेर्‍यो, चश्मा लगायो, अलि पर लगेर ड्रइङको परख गर्न खोज्यो अनि जोशीका हातमा फिर्ता दियो । जोशीले मेरो हातमा डिजाइन राखिदिए । त्यति नै बैला त्यो व्यक्ति मतिर मुखातिव भयो र निश्छल आँखाले सोझँै मेरो आँखामा हेर्दैं उसले भन्यो पत्रिकाको नाम राम्रो राख्नुभएको रहेछ ।

मैले उसको भनाइमाथि कुनै प्रतिक्रिया जनाउन आवश्यक ठानिनँ । मैले ध्रुवलाई जाने सङ्केत गरे ।

उनी रामानन्द जोशीको पारिश्रमिकको हिसाव गर्न पट्टि लागे ।

त्यो व्यक्ति एक कदम अघि बढ्यो र उसले किञ्चित् हाँस्दै मसँग स्पष्टीकरण मागेझँै भन्यो उमेर त सानै देख्छु, पत्रिका निकाल्ने आँट गर्नुभएछ त, किन ?

मेरो विचारमा त्यो उसको अर्को निरर्थक प्रश्न थियो । त्यसै पनि त्यो अपरिचित मानिसले पत्रिकाका बारेमा अनावश्यक रुचि राखेको मलाई पटक्कै मन परिराखेको थिएन । मैले चोर आँखाले उसलाई हेरेँ । ऊ आफ्नो प्रश्नको उत्तर खोजिरहेझैँ मतिरै हेरिरहेको थियो ।

‘आफूले लेखेका कथा कसैले पनि नछापेको हुनाले तिनलाई छाप्न पत्रिका निकाल्न लाग्या ।’ मैले उत्तेजित मुद्रामा भनेँ ।

‘ए तपाईं कथा लेख्नु हुन्छ, ? कसले छापेन तपाईंको कथा ?’ उसले शान्त भएर फेरि सोध्यो म अक्मकिएँ तर लगत्तै सम्हालिँदै भनेँ- ‘खासमा भन्ने हो भने मधुपर्कले छापेन ।’

ऊ अलिकति हाँसेझँै भयो । सोध्यो -मधुर्पकको सम्पादकलाई भेट्नु भयो ?

‘छैन तर भैरव अर्याललाई भेटेर कथा र कविता दिएको छु ।’ ‘एकचोटी मधुपर्कको कार्यकारी सम्पादक नारायणबहादुर सिंहलाई भेटिहेर्नोस् न । पर्सि आइतबार नै तर एउटा एकदमै नयाँ कथा लिएर भेट्न जानोस् ।’

‘मेरो कथा र कविता भैरव अर्यालसँगै छन् नि ।’

‘तिनलाई बिर्सिदिनोस् र नयाँ लिएर जानोस् ।’ उसले निर्णय सुनाएझैँ भन्यो र फरक्क फर्कियो डेरातिर फर्कंदा बाटाभरि ध्रुव र मेराबीच यसै विषयलाई लिएर छलफल भयो केही मत मतान्तरपछि भरखरै लेखिसिध्याएको ‘रामलालको आकाश’ शीर्षकको कथा लिएर त्यो होचो व्यक्तिले भनेको नारायणबहादुर सिंहलाई भेट्न जाने निधो भयो त्यसदिन ।

त्यो महत्त्वपूर्ण आइतबार म गोरखापत्र संस्थानको सबैभन्दा अव्यवस्थित मधुपर्कको कार्यकक्षमा जाँदा भैरव अर्याल सधैँ झैँ टाउकोमा घोप्टिएझैँ निहुरिरएर लेख -रचनामाथि रातो मसीको तरवार चलाइराखेका थिए । दाताराम गुरु सायद आइपुग्नु भएको थिएन । मैले नजिकै उभिएको एउटा बूढो परिचरलाई सोधेँ-‘नारायणबहादुर सिंह कता हुनुहुन्छ ?’

‘नारन माड्साब ? भित्र सानो काठामा’ उसले छोटकरी जवाफ दियो ।

मैले एकै सासमा भैैरवकोे कोठा नाघेँ र प्लाइउडको पातलो खापा उघारेर भित्र पसेँ । नारायणबहादुर सिंह, कार्यकारी सम्पादक ‘मधुपर्क’ लेखिएको काठको नेम ट्याग भएको टेबुलमा दुवै हात राखेर सानो खाले कुसनदार कुर्सीमा बसेको त्यो मानिसलाई देख्दा म एकपटक झसङ्ग भएँ । त्यो त रामानन्द जोशीको स्टुडियोमा भेटिएको त्यही होचो कदको मोटो ऐना भएको चश्मा लगाउने व्यक्ति पो रहेछ ।

‘तपाईं ?’

म नै हुँ नारायणबहादुर, आउनोस् । कथा ल्याउनु भ’ को छ ? उसले कुनै उत्तेजना वा अतिरिक्त संवेग सहज स्वरमा भन्यो ।

मैले कथाको हस्तलिखित पाण्डुलिपि उसलाई दिएँ । उसले चश्मा फुकाल्यो र मेरो कथा मनोयोगका साथ पढ्न थाल्यो ।

म नजिकैको मेचमा बसेँ । उसले त्यो कथा पढिसिध्याउँन करिब १५ मिनेट लगायो होला । ती १५ मिनेट मेरा लागि एक युग बराबर भए । म एउटा अत्यन्त कठिन र त्यत्तिकै महत्त्वपूर्ण परीक्षाबाट गुजि्ररहेको अनुभूति गर्दै थिएँ ।

कथा पढिसकेपछि नारायणबहादुर सिंहले चश्मा लगाए र किञ्चित हाँस्दै भने ‘तपाईंले राम्रो कथा लेख्नु भएको रहेछ । यसै अङ्कमा छाप्छु ।’

यी दुई स-साना वाक्यले मेरो साहित्य-यात्राको लामो बाटो तय गरिदिए । त्यो दिनको हाम्रो भेटले हामी दुईका बीचपछि गाढा हुने मित्रताको ढोका पनि खोलि दियो । केही वर्षमैं हामी एकै पेटका दुई भाइ जत्तिकै अभिन्न भयौँ ।

कालान्तरमा सिंहले मलाई मात्र होइन मेरो सिफारिसमा मेरा अनेक साथीलाई पनि मौका दिनुभयो जो अहिले प्रतिष्ठित लेखक भएका छन् ।

(स्रोत : मधुपर्क २०६७ माघ)

This entry was posted in संस्मरण and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *