संस्मरण : भाई छैन, यो पटक तिहार पनि छैन

~क्रान्ति पराजुली~kranti-parajuli

भाइले फोन गरेको छ तिमीसँग बोल्छ रे । पोहोर सालको तिहारमा ठ्याक्कै भाइटिकाको साइत मै आमाले आफ्नो मोबाइल मलाइदिनु भयो ।

हेल्लो…। (म)

दिदी… । भाइले दिदी भन्नासाथ म भक्कानिएँ ।त्यसपछि एकछिन मेरो आवाज बाहिर निस्किन सकेन ।आमा म बोल्दिन, लु तपाईँ नै बोल्नु । जबर्जस्ती आमाको हातमा मोबाइल थमाएर म आफ्नो कोठामा छिरेँ । धितमरुन्जेल रोएँ र बाहिर निस्केँ ।

मेरा आँखालाई आमाले भन्दा बढी कसले पढ्न सक्थ्यो र । ‘अरुबेला भाइबहिनीलाई अर्ति उपदेश दिने, थर्काउने यो केटी त भाइटिकाको दिन चाहिँ बोल्न सकिन भाइहरुसँग’ आमाले मेरा आँखातिर नहेरी मामाहरुलाई सुनाउनु भयो ।

ठूलो भाइले तिमीहरु दिदी बहिनीलाई उपहार किन्न भनेर १०।१० हजार पठाइदिएको छ रे । आइएमइको नम्बर पनि टिपाएको छ है । एउटा सानो कागज मेरो हातमा थमाइ दिनु भयो ।

मैले १० वर्ष अगाडिको तिहार सम्झिएँ । भाइटिकाको अघिल्लो दिन देउसी खेल्न गएका दुई भाइहरु साँझ पर्दासम्म घर फर्किएनन् । आमा निकै पिरोलिनु भयो । अबेर मात्र उनीहरु आइपुगे । हातमा झोला थियो । झण्डै झोला भरी चामल । सयपत्री फूलका केस्राहरु, सेल रोटीका टुक्रापनि मिसिएका थिए चामलमा ।

यति रातिसम्म देउसी खेल्नुपर्छ, उज्ज्यालो हुदै घर आउनु पर्छ नि । आमा कस्तो औडा गर्दै हुनुहुन्यो । मैले भनेँ ।
अनि पैसा नै पुगको थिएन नि त ? सानो भाइले भन्यो ।

१०० ओटा भन्दा वढी घरमा जाँदा बल्ल त ११० भएछ । सबैभन्दा बढी ५ रुपयाँ दिए तिम्रो साथीको घरमा दिदी — ठूलो भाइले भन्यो ।

हेर दिनभरी घाममा हिडेर अनुहार सबै डडेछ, बुबाले दि हाल्नु हुन्थ्यो नि दिदीबहिनीलाई भोलि दिने पैसा — आमाले गाली गर्नुभयो ।

हैन, के आमा आफैले कमाएर दिएको पो मज्जा — सानु भाइ रौसियो ।

हा..हा..हा..हामी सबै हास्यौँ ।

सानु भाइ खाना खान साथ निदायो ।

ठूलो भाइले आमालाई दिनभरी देउसी खेलेको पैसा र चामल राख्न दियो ।

बाबासँग रोइकराई पैसा मागेर बुधबारे हटिया गई तिहारमा भाइहरुलाई दिने सर्ट किनेका थियौँ बहिनी र मैले । अहिले पनि तिहारमा हामी दिदी बहिनी भेला हुन्छौँ । अहिले हामीसँग भाइहरुलाई भनेजस्तो उपहार दिने पैसा छ, तर कमी छ त भाईहरुको । उनीहरु विदेस छन्, कमाउन, भविष्यका लागि जोहो गर्न । यसरी, उनीहरुले आफ्नो मात्र नभएर हाम्रो पनि दशैं तिहार उतै बन्दक बनाईदिएका छन् ।

पोहोर साल तिहार आउनै लाग्दा सानु भाइले च्याटमा भन्यो “दिदी म मात्र होइन म जस्ता लाखौँ दाजुभाइको निधार खाली हुन्छ चिन्ता नगर्नु । आफ्नै देशमा यहाँ जति पैसा कमाउन सकिने भए को अर्काको नोकर हुन आउथ्यो र ?”
जब भाइहरु पैसा कमाउनु पर्ने वाध्यताले विदेशिएको कुरा गर्छन, मलाई मेरा देशका शासकहरुलाई सराप्न मन लाग्छ । तथानाम गाली गर्न मन लाग्छ । मन त्यसै त्यसै भक्कानिन्छ र तिहार नहुनुको पिडामा एक्लै रुन मन लाग्छ ।

अहिले सम्झिँदा सपनाजस्तो लाग्छ जब तिहारले झ्याप्प छोपेपछि दसैँ पछि सुर्किएका लिङ्गे पिङ्गहरु पनि गाउँमा चालु हुन्थे । अनि हामी बिहानैदेखि लाइन लागेर पालो कुर्दै पिङ्गमा झुण्डिन्थ्यौँ । गाउँभरीका साथीसंगी भेला भएर पालैपालो पिङ्ग खेल्दाको मज्जा बेग्लै हुन्थ्यो ।

बाबा पटका किन्ने पैसा दिनु न । धेरै पटक भाइहरुले जिद्दी गरेपछि बल्ल बाबाले पैसा दिनुहुन्यो । एकै छिनमा झिरझिरे र पटका ल्याउथ्यो भाइले अनि हामी आगनमा बसेर झिरझिरे बाल्थ्यौँ । पटका पड्काउथ्यौँ । अहा कति मजा आउथ्यो । धेरै वर्ष भयो मैले पटका पड्काउन छाडेको ।

तिहारको समय थियो दिउसो नै पिठो मुछ्दै आमाले आज साँझ रोटी पकाउनु पर्छ भन्नु भयो । भाइबहिनी र मेरो मन त्यसै फुरुङ्ग । पिङ्ग खेल्न जाँदा सबै साथीहरुले आफ्ना—आफ्ना घरमा रोटी बनाउने कुरा सुनाए । रमिलाले भनी, हामी त दिउसो खाजा पनि नखाइ बस्ने फेरि बेलुका रोटी रुच्दैन । मलाई पनि उसको भनेको कुरा सही लाग्यो । दिउसो आमाले खाजा बनाइदिनु भएको थियो । म त खाँदिन, भरे रोटी रुच्दैन फेरि भनेँ र खाइन । भाइबहिनीले पनि मेरो जस्तै गरे । आमा ट्वाल्ल पर्नु भयो । रोटी खानको लागि दिउसोदेखि भोकै बसेको सम्झिदा अहिले हाँसो उठ्छ ।

म आठ कक्षामा पढ्थेँ भाइ सातमा । गाउँका युवाहरु मिलेर देउसी खेल्ने समूह बनाए । म स्कुलमा राम्रो नाच्थेँ त्यसैले मलाई पनि बोलाए । कुनै पनि गीतमा रिहल्सल गर्दा हुन्छ भनेँ । घरमा क्यासेट प्लेयर थिएन साथीको घरमा थियो तर उ नाँच्न जान्दिन थिई । स्कुलबाट फर्किदा म उसको घरमा गएर नृत्य सिकेर फर्किन्थेँ । मेरो ठुलो भाइले दिदी उसको साथीकोमा गृहकार्य गरेर आउछे अरे भनेर घरमा सुनादिन्थ्यो । यसरी ढाँटिदिएकोमा म उप्रति कृतज्ञ हुन्थेँे । फाइनल रिहल्सलको दिन मेरो नृत्य देखेर देउसे ग्रुप छक्क पर्थें । सबैको तारिफ सुनेर म मख्ख ।

एक पटक लक्ष्मी पूजाको साँझबाट देउसीमा हिड्ने सल्लाह थियो । मैले घरमा आमाबुवालाई भन्ने आँट गरिन किनकि मलाई थाह थियो रातिरातिसम्म हिड्ने अनुमति मेरो परिवारले दिदैन । साँझ लक्ष्मी पुज्ना साथ मलाई सन्चो छैन भनेर खाना खाने बितिकै म मेरो कोठामा सुत्न भनेर गएँ ।

एकछिनमा ठूलो भाइ आइपुग्यो । देउसे गु्रपले दिदीलाई छिट्टै पठाइदिनु भनेर खबर पठाएको छ । उसले स्याँस्याँ गर्दै सुनायो । ‘भाइ मलाई जान दिनुहुन्न आमाबुवाले, म के गरौँ ?’ मेरो निरास अनुहार देखेर उसले भन्यो— यो झ्यालबाट निस्की घर पछाडि बसिराख म पुर्याइदिन्छु । अनि आमावुवाले सोध्नुभयो भनेँ दिदी त सुतिसकी भन्दिन्छु । उसको आइडिया मलाई सही लाग्यो ।

देउसी खेल्दै हामी टाढाटाढा सम्म पुग्थ्यौँ । मेरो भाइ मलाई पुर्याएर फर्किन्थ्यो । म विहान दुइबजे तिर खुसुक्क झ्यालबाट छिरेर आफ्नै ओछ्यानमा गइ लुसुक्क सुत्थेँ । भोलिपल्ट पनि त्यसै गरेँ । दिउसो जानलाई भनेँ बुवाआमाले अनुमति दिनुभएको थियो ।

यसरी तिहारमा सहयोग गरे पछि मैले ठूलो भाइलाई कहिले पिटिन । सहयोगले सम्बन्धमा आत्मीयता, पवित्रता र स्नेह बढाउदो रहेछ ।

अहिले सम्झन्छु रातभरी नाँचेर ४ घण्टा मात्र सुतेर फेरि दिनभर नाच्दै हिँड्दा पनि थाकेको अनुभूति नै हुदैन थियो, त्यो समय सम्झँदा अहिले पनि अचम्म लाग्छ ।

अघिल्लो साल तिहार आउने बेला सानुभाइले भनेको थियो “दिदी त्यहाँ त ढकमक्क सयपत्री र मखमली फूल्यो होला । देउशी, भैलो, साथी भाइ अहा…गाउँको तिहार त अब सम्झनामा मात्र रहने भयो । यहाँ त भाइटिकाको दिन पनि काममा जानु पर्छ ।”

थुप्रै वर्ष भयो ठूलो भाइ विदेशिएको । ऊ कहिलेकाहिँ आउछ तर ठ्याक्कै दसैँतिहारमा उसको छुट्टी मिल्दैन । सानु भाइ पनि दुई वर्ष भयो विदेशिएको, यसपालीको तिहारमा उसको पनि छुट्टी मिल्दैन रे । म जब लक्ष्मी पूजाको दिन घरमा दियो बाल्छु अनि कल्पिन्छु, मेरा भाइहरुको भविश्य यसरी नै चम्कियोस् । अनि कलशमा पानी भर्छु र कामना गर्छु, मेरा भाइहरुको जीवनमा सधै खुशी यसरी नै भरियोस् ।

देशमा चाँडोभन्दा चाँडो समृद्धि छाओस्, कोही नेपाली दाजुभाई दिदीबहिनी विदेशीनु नपरोस् ।

(स्रोत : ठै प्रहर डट कम)

This entry was posted in संस्मरण and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *