छन्द कविता : आँसु, शोक र शक्ति

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द : शार्दूलविक्रीडित

वर्षा हुन्छ दरर्र बादल चुही आकाश रोएपछि
आत्मा बन्छ पवित्र आँसु झरना दर्केर धोएपछि
रुन्छन् भक्त सभक्ति याचन गरी पूजा गरी मन्दिर
रोई देह तरर्र झार्छ पसिना निर्माणका खातिर ।।

रोइन् धर्धर वस्त्रको हरणमा लज्जा झरी द्रोपदी
हाँस्यो कर्तुत-युक्त नीच शकुनी फैल्याउँदै त्रासदी
उम्ल्यो अग्नि बनेर आँसु रणमा गर्जेर पैँचो तिरी
सारा कौरव मासिए पलकमै घाँटी र छाती चिरी ।।

आफ्नो पाप सकार्छ जो नजिकमा रोई तपस्या गरी
“ढुङ्गा”ले पनि सोच्छ माफतिर !ऊ सङ्लन्छ गङ्गासरि
कालो रोग घमण्डनाशक सुधा उच्चौषधी आँसु हो
भित्री क्लेश सफा गरेर बहने सङ्लो नदी आँसु हो ।।

सीताको भल आँसुले समरमा धूलो बन्यो रावण
रोए बालक सम्झिएर जननी दिन्छिन् मिठो पोषण
जन्मेदेखि समाधिसम्म गहमा खाँचो छ यो आँसुको
जाने जीवन बुझ्न उच्च उपमा साँचो छ यो आँसुको ।।

जन्मी मानिस गर्भबाट जगमा रोएर नै झर्दछ
रोई बाँच्छ अनेक पल्ट वहमा ! रोएर नै मर्दछ
यात्राका हर खण्डमा, कदमका आकारमै आँसु छन्
खोजे प्रेम, सुहागमा, मिलनमा, शृङ्गारमै आँसु छन् ।।

औँल्याई कमजोरको विवशता जो हाँस्छ गिल्ला गरी
चाहे उच्च बरिष्ठ दार्शनिक होस् ! त्यो बन्छ कुत्तासरि
मिल्छन् मित्र अनेक दौलत हुँदा धाएर हाँस्ने तर
सच्चा हुन् भगवान जो विपतमा रुन्छन् सँगै धर्धर ।।

रोई शैल फुटेर मूल जलले ढाकी नदी झर्दछ
जो अन्याय सहेर हाँस्छ उसले विद्रोह के गर्दछ ?
गीताको मृदु सार हुन्छ यसमा श्रीकृष्णको भक्ति छ
सच्चा पौरख मिल्छ ! अश्रुजलमा निर्माणको शक्ति छ ।

सारा आँसु बदल्नुपर्छ बलमा चाहे उठोस् भ्रामरी
मात्रै शोक निमित्त आँसु झरिए त्यो हो “बिथोल्ने झरी”
उठ्लान् उच्च हिमाल आँसुभलले माटो नुहाएपछि
बन्ला दृश्य सुरम्य नव्य लयको नेपाल पाएपछि ।।

सारा जीवन गीत सुन्दर बनून् भाका भरी आँसुले
मेरो सिर्जन सीप तिक्खर बनोस् आभा छरी आँसुले
चोखो जीवनमार्ग, अश्रुजलले निर्दिष्ट गन्तव्य होस्
थोपा आँसु मिलेर जन्म खँदिलो उम्दा महाकाव्य होस् ।

– विदुर न•पा• 3 शेरा, नुवाकोट ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *