संस्मरण : रेलमा लम्पट, लबी र सार्त्र

~मनोज बोगटी~Manoj Bogati_1

बबाल कविता लेख्दै गरेका र हाइटमा चुलिँदै गरेका कविमित्र निमा शेर्पा 27 जुनमा कालेबुङ आए। कविताकुरामा कफिकप रित्तियो। चिलड्रेन्स अफ गड नामक डोकुमेन्ट्रीले कलात्मकरुपले टिपेको नेपालको आर्यघाटमा जीवन गुजार्नेहरूको पीडाले हामीलाई कसरी हल्लायो, कुराको चुरो थियो। नेपालका राम्रा किताब यता आएपछि भारतीय हुन्छ। किताबको कुरा आउँदा हामी पसलमा थियौं। कृष्ण धरावासीको निबन्धहरू जम्मै, नयनराज पाण्डेको लू र पुण्यप्रसाद प्रसाईको सार्त्र मैले टिपे। निमाले टिप्यो लू र पाण्डुलिपि। नेरु दाम लेखिएको पुस्तकलाई भारु तिर्‌यौं। हामीले नेपाली मूल्य कहिल्यै तिर्न पाएनौं। स्वाद लाग्छ सोंच्दा वेस्वाद भन्दा धेर। हज्जारौं भारु खर्च गरिरहेका छौं नेपाली पुस्तकमा। यो यताको यस्तो बाध्यता हो, जसलाई पन्साउन मिल्दैन। विरोध गर्‌यो कि किताब आउँदैन। धेरै पैसा तिरौं र किताब पढौं-संस्कार उठाउँदैछौं।

मैले लू र सार्त्र व्यागमा हालेँ र सिलगढी हानिएँ। कालेबुङ छोडेपछि शुरु भयो गर्मी। कवि राजा पुनियानी सिलगडीमा मलाई पर्खिरहेका छन्‌। कवि मनप्रसाद सुब्बा एनजेपीमा भेट्‌नेछौं। आदिकवि भानुभक्त आचार्यको 198 औं जन्म जयन्ती र परदेशी साहित्यिक पत्रिकाको 15 वर्ष पुगेको अवसरमा अगमसिंह गिरी संस्थान सलुवा र नेपाली वाणिज्यदूतावास कतकत्ताले बोलाएको सम्मान कार्यक्रममा भोलिपल्ट पुग्नु थियो हामीलाई। 28 जूनको सॉंढेेआठबजी राती हामी चिम्टामा लाब्रेजस्तो कञ्चनकन्या चढिरहेका थियौं। सुब्बा कविको नाक रातो थियो। गरम चढेर।

………

इलिट बुद्धिजीवीहरूको उपस्थिति र सत्ताचेतना के हो, के हो उसको भुईँ? सार्त्रले बुझाइरहेको थियो मलाई। दार्जीलिङमा इलिट बुद्धिजीवीहरू जुन राजनैतिक केन्द्र स्थापनमा छन्‌, त्यो उसको सुरक्षा घेरा बन्दैथियो। म ती बुद्धिजीवीहरूको महत्वाकांक्षा फुटाएर उसको बुद्धितत्व बुझ्दै थिएँ। जातीय एकिकरण र अर्थनैतिक रुपान्तरणमा उनीहरूले खेलेको उल्टो नाटक हेर्दैथिएँ। व्यागबाट सम्पादक पुण्यप्रसाद प्रसाईँको सार्त्र नामक वायोग्राफी निकालेँ। रेलको छुकछुकमा हल्लिरहेको मैले अक्षर ठिम्याउने प्रयास गर्दैगर्दा राजा पुनियानीले के हो? सोधे। वास्तवमा हाम्रो यात्रा सार्त्रमय थियो। किन भने राजा पुनियानीले पनि व्यागमा सार्त्र नै बोकेका थिए अनि मनप्रसाद सुब्बाले पनि बोकेका थिए सार्त्रमाथि लेखेका आफ्नो कविता। हिन्दीमा प्रभा खेतानको सार्त्र पढेको थिएँ। नेपालीमा पुण्यप्रसाद प्रसाईँकोे पाएँ- कवि राजालाई भनेँ। प्रसाईँको सार्त्र तिनको हातमा पुग्ने वित्तिकै एक लम्पटको सहस्योद्घाटन भयो। बाबै प्रसाईँले त डा. प्रभा खेतानकै सार्त्रलाई अक्षरस अनुवाद गरेका रहेछन्‌।

‘यी मान्छे त लम्पट रहेछन्‌’-राजाले प्रसाईँलाई देखाए। मैले पनि हेरेँ र दङ्ग परेँ। कवि मनप्रसाद सुब्बा हॉंस्नु भो।

‘कस्तो उपद्रो’-भन्नु भो। प्रसाईँको लम्पटपनलाई पुष्टि गर्‌यो तिनको सम्पादक शब्दले। हुनुपर्ने अनुवादक। हिन्दीका चर्चित कवि हुन्‌ डा प्रभा खेतान। तिनले विश्व अमर ग्रन्थ गाथा श्रृङ्‌खलाको पहिलो संख्यामा नै सार्त्रको वायोग्राफी लखेका हुन्‌। प्रसाईँले त्यही पुस्तक अनुवाद गरेका रहेछन्‌। तर कहीँ पनि अनुवाद भन्ने शब्द पुस्तकमा छैन। जुन सार्त्रले इलिट बुद्धिजीवीको व्याख्याय गर्छन्‌ तिनकै पात्र थिए पुण्यप्रसाद प्रसाईँ। प्रसाईँले कहॉंसम्मको चोरी काम गरेछन्‌ भने प्रभा खेतानलेेे आफ्नो पुस्तक ‘सार्त्र-शव्दोंका मसिहा’मा जुन प्राक्कथन लेखेका छन्‌, त्यो पनि अनुवाद गरेर आफ्नो नाम लगाएछन्‌। अनुवाद लेखेका भए प्रसाईँले भारतीय तिन कविको सलाम पॉंउथे। तर तिनी भए रेलमा हामीसितै चढेका एक लम्पट। नेपालकाले पनि थाहा पाइसेका छन्‌ कि यो कुरा।

भारतीय नेपाली साहित्य संसारमा यसरी हामीले गहिरिएका हेरेका छैनौं। पुण्यप्रसाद प्रसाईँका पुराना-नयॉं संस्करणहरू हाम्रा तिर पनि छन्‌ कि? साहित्यिक चोरीको कुरा नेपालका लेखकहरूले खुब उठान गरेका छन्‌। हाम्रातिर कसैले गरेको सुनिएको छैन। सानो क्षेत्र रहेकोले शीघ्र प्रतिक्रियाको डरले वा लेखकीय सम्बन्धमा आफने फितलोपनले वा ‘केही’ को डरले पो कसैले कुरा नगरेका हुन्‌ कि?

………..

प्रसाईंको लम्पटपनबाट ओर्लेर हामी इलिट राजनीतिज्ञ, भारतीय नेपाली कवितामा पसेका इलिट कवि र संस्थाहरूमा बसेका इलिट महोदयहरूमाथि चिन्ता गरिरहेका थियौं। मलाई कवि जीवन नाम्दुङले कालेबुङमा पुरस्कारको निम्ति लबी गर्नुपर्छ भन्ने जुन अर्ती दिएका थिए। म मौन बसेँ। तिनले भारतीय धेरै लेख्कहरूले मात्र होइन विश्वमा नै लबीको संस्कार रहेको र अब हामीले पनि यसको देखासिकी गर्नुपर्छ भन्ने उपदेश थियो कवि नामदुङको। म छक्क परेको थिए। तर मैले तिनलाई कहिल्यै लबी गरिनँ। मलाई के शंका हुथालेको छ भने, डजसजसले पनि अकादमी पुरस्कार पाउँछन्‌, उनीहरूले लबी गरेरै पुरस्कार पाएका हुन्‌ कि? पुस्तकको स्थारीयता र उचाईँलाई होइन लेखकीय लबीको कारण पुरस्कार पाउनु हो भने, त्यो पुरस्कारको उचाईँ कति हुन्छ? यस्तो पुरस्कार नपाएकै वेश। यस्ता उल्टो संस्कार स्थापना गर्नेहरूले भारतीय नेपाली साहित्यलाई देशमा जुन स्थानमा उचाल्दै लगिरहेका छन्‌, यसबारे मनप्रसाद सुब्बा, राजा पुनियानी र म चिन्ता गरिरहेका थियौं। यो चिन्ता कसैको व्यक्तिगत थिएन। थियो भने नेपाली साहित्यको। यस्तै चिन्ता गर्ने नेपाली महावाणिज्यदूत चन्द्र घिमिरे र विकास कार्कीहरू कलकत्ता र सलुवामा हामीलाई पर्खिएर बसेका थिए। मनप्रसाद सर वर्थमा चढ्‌नु भो। राजा पुनियानी पनि चढे। म भने लू खोलेर बसेँ। इलैयाले हिजो कन्डोमको बेलुन बनाएर उडायो… मात्र के पढेको थिएँ, बत्ती निभ्यो। एक यात्री आफ्नो भाषामा गनगन गरिरहेका थिए। तिनी उज्यालोमा सुत्न नसक्ने, म अँध्यारोेमा पढ्‌न नसक्ने। बत्ती निभेपछि म अँध्यारोमा लू च्यापेर निक्कैबेर बसेँ। उपाय नभएपछि पल्टिएँ। हामी हल्लिरहेका थियौं। रेलले मलाई जति हल्लाइरहेको थियो त्यो भन्दा धेर मलाई तीनवटा कुराले हल्लाइरहेको थियो -त्यो थियो लम्पट, लबी र सार्त्रले।

This entry was posted in संस्मरण and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *