कविता : चढूँ नित्य आत्मीयताको उकाली

~निर्मोही व्यास~Nirmohi Vyas

छ यो मेदिनीसङ्ग नाता पवित्र
यही स्वर्ग मेरो, यही पुण्य तीर्थ
नखाऊँ कसैको कहीँ गाँस खोसी
सकेमा अरूको बसूँ प्राण पोसी

म आस्था बिसाऊँ सधैँ पात्रतामा
र बाँचूँ म निष्पाप–निर्लोभितामा
उचालूँ मनुष्यत्व, बुद्धत्व ढोगूँ
गरी नित्य सत्कर्म सौभाग्य भोगूँ

नखोजूँ म कैल्यै कुनै सम्प्रभुत्व
नबोकूँ म दासत्र्व बिर्सेर स्वत्व
न रोजूँ म ऐश्वर्य, रोजूँ शिवत्व
र देखूँ सबैमा म सत्–सुन्दरत्व

नखुम्चूँ म सङ्कीर्ण सिद्धान्त पाली
बनूँ खालि मान्छे म जातित्व फाली
पचाएर निन्दा, प्रशंसा सँगाली
जिऊँ जिन्दगी जिन्दगी झैँ सम्हाली

सिकूँ ज्यूँन आँधी–हुरी लाख खप्तै
सयौँ सिर्जना–राग नौला अलाप्तै
सदा स्वाभिमानी शिरै यो उचाली
चढूँ नित्य आत्मीयताको उकाली

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : कविता | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *