कथा : एउटा जुवाडेको कथा

~कृष्णराज खनाल~krishnaraj-khanal

‘होइन, यस्तो पनि हुन्छ ? सधैँ हारेको हार्‍यै ? म त भन्दिया छु है-अब त म पैसासैसा दिन सक्दिन । जहिले पनि हार्‍या छ, हार्‍या छ । ल अब मसँग लास्ट यही दुइटा हात्ती बचेको छ छोराको फि तिर्नको लागि राखेको, के गर्ने हो गर्नुस् ।’

श्रीमतीको जवाफ सुनेपछि ट्वाँ परेँ । के गरुँ कसो गरुँ भयो । एकपटक थचक्क बसँे र श्रीमतीको निन्याउरो अनुहार हेर्न थालेँ । ऊ फनक्क फर्किएर बाहिर निस्की । हात्तीको सेतो सुँड खाटको तन्नामा लम्पसार परिरहेको थियो । मैले एकपटक गम खाएँ, नजिकैको ऐनामा अनुहार हेरेँ मुख चलाएँ, हैन, किन सधैँ हारेको होला ? कहिलेकाहीँ त जित्नु नि । आज त जित्छु, मैले पूरै विश्वासका साथ भनेँ र लम्पसार परेका दुवै हात्ती गोजीमा छिराएँ । एउटा छोरो बाहिर खेल्न गएको थियो, अर्कोचाहिँ झोलुङ्गोमा थियो । झोलुङ्गोको बच्चालाई हेरें-ऊ मस्त निद्रामा दूध चुसिरहेको थियो ।

घडी हेरेँ, बिहान कट्न ३१ मिनेट बाँकी थियो । १२ नबज्दै बस्नुपर्छ है, फेरि घडीकट्टामा परिएला भनेर साथीहरूले हिजै चेतावनी दिइसकेका थिए । आफूलाई पनि दिनभरि खाटमा धुपौरै बस्नुपर्ला भन्ने पीर छँदै थियो । तारन्तार साथीहरूको फोन आइरहेको थियो । मैले निस्कने निधो गरेँ । लुगा लगाएँ, मोजा लगाएँ र जुत्ता लगाउन बाहिर निस्केको मात्रै थिएँ, भर्‍याङबाट ओर्लदैँ गरेकी घरभेटी आमैले सोधिन्-कता कृष्ण बाबु ?

मेरो सबै सपना त्यही एउटा प्रश्नले तुहियो ।

एक त लाग्यो-जता गए पनि तपाईंलाई के खाँचो ? दसैँको मौकामा म जहाँसुकै जाउँ ….तर यसो भनेर जवाफ फर्काउन पनि सकिन । अनि सहजै भनेँ-बिदा छ, ताससास खेल्न जाउँ भनेर । ए, ल ल भन्दै उनी अगाडि बढिन् ।

मलाई भने जाउँ कि नजाउँ भयो । साइतमा कहाँ जाने भनेर कसैले सोध्यो भने साइत पर्दैन भन्छन् । नखाउँ भने दिनभरिको शिकार खाउँ भने कान्छाबाबुको अनुहार ! जस्तै भयो । आज त जित्छु भन्ने पूरै विश्वास थियो । झ्याप्प आएको कहाँ जाने ? भन्ने प्रश्नले म अत्तालिएँ । आज पनि राम्रो लक्षण देखिन, मेरो मनले ठ्याक्क भन्यो । यस्तो साइत गरेर कोठाबाट निस्कँदा पनि सोचे न सम्झे त्यो प्रश्नले मलाई जाउँ कि नजाउँ बनायो । मेरो मन दोमन भयो । दाँतले जिब्रो टोक्दै चोरी औँलो नाकमा घुसाएँ र जुत्ता फुकालेर कोठाभित्र छिरेँ ।

अब के गरेर बस्ने ? मलाई बडो समस्या भयो । सुत्न खोजे पनि कहाँ निद्रा पर्दछ र ? साथीहरू खेलेको झल्झली आँखामा आइरहेको छ, अनि कहाँ सुत्न सकिन्छ र ? ह्या भैगो, आज जान्न । सपना पनि त्यति राम्रो देखेको छैन । कोठामै बस्छु । फिल्मसिल्म हेर्छु….। मैले यही निर्णय गरेँ र टिभी खोलेँ । एकैछिनमा लाइन पनि गयो । उता, फोनको घण्टी बज्न थाल्यो । उठाएँ । उताबाट श्रीधरको त्यही परम्परागत स्वर आयो-के दसैँको बेलामा २१ पत्ती हेर्न छाडेर टिभी हेरेर बसेको । ल छिटो आउनुपर्यो, नत्र फेरि सिट नपाइएला नि ।

भो जान्छु । यो मोरो टिभी भोलिपर्सी हेरे पनि हुन्छ । दसैँको बेलामा म्यारिज नखेलेर भुत्राको टिभी हेर्ने ? मान्छेहरूले देखे भने पनि के भन्लान् ? पैसा सबै हारेछ क्यारे, अनि खेल्न नगएको होला भनेर भन्लान् भन्ने डर !

जुरुक्क उठेँ र लुगा लगाएँ । जान्छु बरु आज धुपौरै मात्र भएर अलिअलि हल्ला गरेर बस्नुपर्ला भन्ने सोचले निस्केँ र सरासर गएँ म्यारिज स्टेसनतिर ।

मैले सबैलाई अभिवादन गरेँ । कोरम पूरापूर थियो । कसैको अनुहार कालो भइसकेकेा थियो, कसैको हँसिलो । हार्नेहरूले मेरो अभिवादन पनि नसुनेझैँ गरे । म सरासर खाटमा गएँ र धुपौरैको भूमिका निर्वाह गर्न थालेँ ।

सिकाउन पाइन्न है-निरौलाले भन्यो ।

सिकाउन पाइँदैन है, यहाँ मान्छे हारिरहेको छ-कालो अनुहार लगाउँदै प्रकाशले थप्यो ।

तैँले पनि सिकाएको थिइस् त हिजो । आफूचाहिँ सिकाउने अनि अरूलाई चाहिँ नसिका भन्ने ? मैले ठाडो प्रतिवाद गर्न खोजेँ ।

ल ल हल्ला नगर-अधिकांश जुवाडेको स्वर आयो ।

तीर्थले माल काट्यो । थुक्क साला, यो पटक पनि केही परेन ।

त्यही त अघि पनि ग्वाम्मै तिरियो, अहिले पनि ग्वाम्मै तिर्नुपर्ने भयो-प्रकाशले भन्यो ।

तेरिमा टाउके हो, ल तिर अब ! २२ को मालसहित गेम । खुसीले रम्दै बाजी गर्नेले भन्यो र थप्यो-कसैले प्वाइन्ट नढाट्ला भन्ने चेतावनी दिँदै सबैको एक एक गदर्ैै प्वाइन्ट गन्न थाल्यो । कोही अल्टर माल ढुस भएको देखाउँदै थिए भने कोही जोकर ढुस पारिदिएकोमा बाजी गर्नेलाई गाली गर्दै थिए ।

साँझ ढल्दै गयो । चन्द्रमाले चन्द्रागिरिको डाँडोमा आफ्नो अनुहार लुकाइसकेको थियो । कोही घडी हेर्दै थिए । कसैको मोबाइलमा छोराछोरीहरू बाबा, कति बजे आउने भनेर सोध्दै थिए भने कसैको मोबाइलमा श्रीमतीको घर आउने आग्रह, घुर्की र धम्की आएको प्रस्टै सुनिन्थ्यो । कोही दूध दुहुने बेला भइसक्यो चाँडो आउनुस् भनेर भनिरहेका थिए । कोहीकोहीको जवाफ त यस्तो थियो-यहाँ तास नपरेको बेलामा के फत्फत् कराइरहेकी ? आइहाल्छु नि ।’

तासमा जितेकाहरू निस्कने उपायको खोजीमा थिए भने हार्नेहरू अझ लिप्त देखिन्थे ।

रात छिप्पिँदै गयो । दुई-तीन जना एकैचोटि उठे । अनि हरूवाहरूले मतिर हेर्दै भने-ल ल आइज, एकछिन खेल्ने हो ।

मैले घडी हेरेँ, सुईले रातको नौ बजाइसकेको थियो ।

हैन, यसबेला पनि कहाँ बस्ने ? बस्दिन म त । मैले भनेँ ।

के बस्दिन भन्या ? ल खुरुक्क आइज, उसले जोड गर्दै भन्यो ।

हैन, यसबेला पनि के खेल्ने ? भो म त खेल्दिन ।

यो त बिरालाले मुसा खान्न भनेजस्तो भयो नि । सबै जना गलल्ल हाँसे ।

तिमीहरू जे भन । अब घर जाने बेलामा के बस्नु त । बरु हिँड जाउँ ।

दसैँ भन्ने थाहा छैन कि कसो ? तीर्थले भन्यो ।

दसैँ भयो भन्दैमा घरै नजाने त ? मैले थपेँ ।

धत् के डिस्कस गरिरा । नखेल्ने भनेपछि के कर गरिरहेको ? श्रीधरले थप्यो ।

कर गरेपछि जित्छु भनेर होला नि ? कि पैसा छैन ? छैन भने भन् म हाल्दिन्छु । निरौलाले भन्यो ।

एकपछि अर्कोको छेडपेच र घोडपेच सहेपछि म विस्तारै खाटबाट ओर्ले । एकपटक घडी हेरेँ । साँढे नौ बजिसकेको रहेछ । छोरा र श्रीमतीको फोन पनि आउन छाडिसकेको थियो ।

ल ल बाँड न त एकछिन खेलौँ-मैले भनेँ ।

मेरो कुरा सुनेर एकपटक सबै गलल्ल हाँसे ।

कस्तो तास बाँड्छ हो ? न माल दिन्छ, न सिक्वेयन्स नै । धत् । श्रीधरले भन्यो ।

निरौलाले पनि त्यही कुरा दोहोर्‍यायो ।

प्रकाशलाई पनि परेनछ, तास हुर्र फाल्यो ।

बल्ल बल्ल कर गरेर खेल्न बसेको मलाई पनि मालले टेरेन । कतिखेर कान समाएर तान्छु, कतिखेर भुइँमा झ्याप्प पल्टाउँछु तर अहँ मसँग कसम खाएजस्तै गरी मालले अनुहार देखाएन । तास खोल्छु जतिखेर पनि अघिल्लो पटकको माल बग्रेल्ती देखिन्छन् ।
गोजीको पैसा सकिँदै गयो । रात पनि छिप्पिँदै गयो । अन्ततः मेरो गोजी रित्तियो । सरसापट खोज्ने मान्छे पनि कोही छैन ।

ल यत्ति हो है ! म अब खेल्दिन-गोजीको सबै पैसा झारझुर पार्दै मैले भनेँ ।

कहाँ त्यसरी हुन्छ ? हामीले पनि त हारिराछ । बाँकी त हुन्न है-तीर्थले भन्यो ।

नभएर के गर्ने त आफूसँग भएको सबै सकियो त । मैले भनेँ ।

ह्या छोड्दे । त्यति प्वाइन्ट पनि के कराइरहेको ? अर्कोपटक कटाए भैगो नि-श्रीधर बोल्यो ।

निरौलाले मनले मान्दा नमान्दै पनि स्वीकार गर्नुपर्‍यो ।

गोजी टक्टकिएपछि मलाई घर पनि जाउँ कि नजाउँ भयो । फेरि मध्यराति पनि हुन लागिसकेको थियो । श्रीमतीको कचकच सुन्नुभन्दा बरु यहीँ सुत्छु भनेर म त्यहीँ खाटमा पल्टेँ ।

जोकर, माल र सिक्वेयन्स-सपनामा पनि त्यही देखिन्छ । कतिखेर जुरुक्क उठ्छु उनीहरू तीन जना जमिरहेका छन् ।

ए, सपनामा माल देखिस् कि के हो ? श्रीधरले जिस्क्यायो ।

म केही नभनी फेरि पल्टिएँ । एकछिन निद्रा लागेन । अनेक विचार आयो । अब कसरी घरमा मुख देखाउने होला ? दसैँका यी महìवपूर्ण दिनहरू कसरी बिताउने होला ? घरमा नून, तेल, बेसार र तरकारीको जोहो कसरी गर्ने होला, छोरोको फि कसरी तिर्ने होला भन्ने ठूलो चिन्ताले सतायो, सताउँदै गयो । कुखुरा बासिसकेको थियो । जुवाडेहरू अझै खालमै थिए । म हत्तपत्त उठेँ र घरतिर लम्केँ । श्रीमती बाहिर कसेर लगाउँदै थिइन् मैले ढोका खोलेँ र लुसुक्क बिरालाको चालमा खाटमा गएर पल्टेँ । र, कसम खाएँ अब जुवा……।

– गुणादी, तनहुँ

(स्रोत : मधुपर्क २०६६ असोज)

This entry was posted in नेपाली कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *