नियात्रा : क्षणिक दृश्य र धुमिल धर्साहरू

~भेषराज रिजाल~

आफ्नै देशको कर्णाली नदेख्नेले परदेश कल्पेर किन लोभिने, देश निकाला भएको भए पो वाध्यता हुन्थ्यो परदेशको आश्रय परदेश मोह हुने साथीलाई भनेथेँ कुनै दिन मैले ।

२०६८ सालमा जुम्ला सदरमुकाम र आसपासका एकाध गाउँमा पाइला टेकेबाहेक मैले पनि कर्णाली देखेको थिइनँ । संयोगवश मिल्यो कर्णालीको प्रकृति नियाल्ने सुनौलो अवसर, त्यो पनि कहिल्यै नचढेको हेलिकप्टर चढेर । सहयात्री हुनुभयो हेम अर्याल ।

सम्बत् २०७० साल कार्तिक २८ गते एकाबिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र छिरेथ्यौँ हामी । सुदूर र मध्यपश्चिमका केही जिल्लामा पु¥याउनुपर्ने निर्वाचन सामग्री लोड भएपछि भुइँकुहिरो जसरी थुम्काका

चुचुरोमा आत्मीय उच्छ्वास पोख्दै उडेथ्यो सेनाको स्काइ ट्रक । एकैछिनमा पोखरा उत्रिएर फेरि उचालिएथ्यौँ हामी ।

पोखरा छोडिएपछि फेवाको विशाल छातीले विदाइ गर्‍यो । कास्की, पर्वत र बागलुङका केही चिनेका गाउँबस्तीमा नजर परेथे । मोदी र कालीका नीला नागबेली छोडिएथे । आहा, आफू जन्मेहुर्केको गाउँ देखिएथ्यो ।

त्यो गाउँबाट झिसमिसेमैँ निस्केर हिँडिरहेको ठिटो मल्याङ्दी तर्‍यो, ज्ञादी पार गरेर ओरालो झरी मोदी तर्‍यो र उकालो लाग्यो । दुर्लङको उकालोको सल्लेरी छहारीमा कुश्माबाट भर्खरै किनेर ल्याएका पत्रपत्रिका र पुस्तक बिच्छ्याएर सारा संसार बिर्सेझैँ सुस्तायो धेरैबेर । एकदिनभर तड्केर हिँड्दा पुगिने क्षितिजमा टाँगिएको छ गन्तब्य भन्ने आभासले जर्फराउँदै उठेर हिँड्न थाल्यो फेरि । हलहले गाउँ छोडेर फेरि ठडियो संघर्षको उकालो जहाँ संसार भिजाउनेगरी पाइलापाइलामा रसाएको छ मेहनतको सहश्रधारा । फूलपाती चढाएको देउरालीको चौतारोबाट पूर्वतिर फर्केर जसै हेर्दछ, भक्कानिन्छ डहरेको लेकमुन्तिर दूर क्षितिजमा लमतन्न फैलिएको आफ्नो गाउँ देखेर । शायद सोच्दो हो प्यारो गाउँ छोडेर धेरै दिनको लागि जाँदैछु धेरै टाढा । धर्तीको अर्कै छेऊ जस्तो गाउँबाट डेढदुई महिनापछि फर्केर आउँदा तिनै डाँडापाखा देखेर फेरि रसाउँथे आँखा । यसैगरी बितेथे किशोर वयका कलिला दिनहरू । विछोडमा पनि, मिलनमा पनि हरदम आँखाका नुनिलो पानीले धोएर कञ्चन भई हृदयमा टाँसिएको त्यही डहरेको लेक र वरपरका गाउँबस्ती हेरेथेँ आँखा तानीतानी । मेरो बाल्यकालको पूर्वी क्षितिज थियो डहरे । त्यसलाई सम्झेर लेखेथेँ कुनै दिन

आँगनबाट हेर्दा

थुम्काले सधैँ क्षितिज चुम्थ्यो

क्षितिजले थुम्कालाई काखमा राखेर

उसको हरित केश मुसाथ्र्यो

मलाई लाग्थ्यो

यस्तै समर्पण नै प्रेम हो

यसको प्रत्यक्ष्य साक्षी सूर्य

मायालु चुम्बन छर्दै

दिनहुँ सुन्दर दिवसतर्फ उठ्न चाहन्छ

हजारौँ रश्मिपुञ्ज फ्याँकेर

धर्तीआकास ब्युँझाउन चाहन्छ

र त,

त्यही थुम्काबाट

हात पसारेर

सूर्य टिप्न

मन लाग्थ्यो मलाई !

ढोरपाटनको विशाल मैदान देखिएथ्यो हामीमुन्तिर । बर्खा गोठ बनाएर बस्दोरहेछ ढोरपाटन । हिउँदमा तुषारो परेका परेली लत्राएर उदासउदास झोक्राएझैँ लाग्यो ढोरपाटन । स्काइ ट्रकको एकोहोरो आलापसँगै क्यामराका पर्दामा देखिएको त्यसको उदासी मेरो मनमुटुमा पनि छोइयो । हात पसारे डाँडाकाँडा छुन सकिएलाझैँ गरी उडिरहेथ्यो जहाज । निर्जन चउरको फराकिलो एकलास सुस्ताएपछि देखिन थाले फाट्टफुट्ट बस्तीहरू । भर्खर पलाएका ठुटा दाँतजस्ता हिमचुलीहरू अजीर्ण चिसो हिमपात उँघिरहेथे ।

सुरूमा घाट्टिएका मात्र थिए, पछि सहनै नसक्नेगरी दुख्न थाले कान । घरि मुखबाट ठूलो सास फेरेर त घरि कानै बन्द गरेर लिइरहेथेँ सास । आफै रोगी भएपछि स्वतः घट्दोरहेछ भोगप्रतिको चाहना कान थुन्दै आँखा चिम्लेर भनेथेँ मनमनै ।

धेरैबेरपछि अवतरण भएथ्यो सुर्खेतमा जहाज ।

पश्चिमी पहाडमाथि 

दिउँसो चारसिटे सानो हेलिकप्टर उड्यो मङ्गलसेन पुगेर फर्कन । दुईजना ठिटा पाइलट छन् ककपिटमा । पछिल्लो चारसिटमा म एक्लै छु । क्षेत्रीय प्रशासकलगायतका अधिकारीलाई मङ्गलसेनबाट दिपायल पु¥याउनुपर्ने भएकोले छोडिनुभएको थियो हेम ।

होचो भएर उडिरहेछ हेलिकप्टर । निर्जन वन र नीलो नदी छ दायाँतिर । सुन्दर बस्ती छ बायाँतिर । क्षितिज ताकिरहेछ नदीले । नदीमाथि छ एक धर्सो बादल । देखिए काला पहाडहरू । ती माथिबाट देख्दा जति काला देखिन्थे, तिनको गरिबी र विकटता पनि उत्तिकै भयावह होला सोच्छु खोजेँ मनमनै । पहिरोको धर्सा देख्दा मनको भित्तामा पनि दरफर्‍याउँदै काँडाले कोरेझैँ भयो ।

रातोमाटोले पोतेका घरहरू देखिए । सल्लोको दाह्री पालेका बूढा पहाडहरू छोडिए । डाँडामा कुप्री पर्दै लौरो टेकेर हिँडेको मान्छे रोकिएर हे¥यो हेलिकप्टर । युद्धकाल भए शायद छेलिँदो हो त्यो कतै । नदीले बनाएको बगरभन्दा कुरूप देखिए मान्छेले जङ्गल फाँडेर खुइल्याएका सिरिखुन्ने पातलहरू । हाँसेका हिमाल धेरै टाढा छन् मबाट जसरी मनमा छोइँदैन खुसी मेरा सुखहरूमा । घामले छड्के हेरेर उदासी पोखिरहेछ एकापट्टि । सल्लाको पाखामा हामी चढेको हेलिकप्टरको छाया दगुर्‍यो ।

पातला छन् बस्ती, घना छन् थुम्का, सफा छ आकास, सफा छन् हिमाल । प्रकृतिका अनुपम वरदान देखेर आनन्दको उन्माद पिएको छु मैले ।

घाम छड्के पर्नाले घुर्मैला देखिएका छन् पाखा । सिञ्चाइ नपाउनाले फुस्रा देखिएका छन् खेत । कतैकतै टीकाले सिंगारेका नारी मुहार जस्ता गोबरका थुप्रा पाँजिएका खेतबारी पनि देखिन्छन् । देउरालीमा देखिन्छन् पार्टीका झण्डा । कहिँकतै देखिँदैनन् राष्ट्रिय झण्डा । एकजुट हुनुपर्ने बेलामा गुटउपगुटमा छिन्नभिन्न आफ्नै सन्तानलाई देखेर मौनतामा रूँदा कति दुखेको होला नेपाल आमाको मन ? सोच्छु, झण्डाहरूको लाइनमा राम्ररी पहराउन नसकेको राष्ट्रिय झण्डा देखेर दुखेको मेरो मनजस्तै भएको होला उनको मन पनि ।

एकताका युद्धले नराम्ररी खाएको मङ्गलसेन युद्धविरामपछि पाखोमा निश्चिन्त लडिरहेको भेटियो । बाटोले जोडिए पनि अर्कै भूगोलमा कता हो कता हराएझैँ लाग्यो त्यसको रङ उडेको अनुहार ।

एकैछिन सुस्ताउन नपाउँदै हेलिकप्टर फेरि उड्यो दिपायलतिर । हेलिकप्टरबाट भर्खरै देखेथेँ उकालीओराली गरेको भित्तामा गुडुल्किएर टाँस्सिएको बाटोको डोब, तरेली परेका गराकान्लाको आकृति, थुम्काथुम्का उचालिएर थामिएको सगर, तुवाँलो छिचोल्दै आएको जस्तापाताको उज्यालो, बजारमाथि पातलिँदै गएको पहाडी जङ्गल । कसैले सोधे मैले भन्ने मङ्गलसेनको हुलिया यत्ति नै हुनेछ शायद, पर पुगिसकेको हेलिकप्टरबाट छेलिइसकेको मङ्गलसेनलाई हेर्दै सोचेथेँ मैले ।

डोल्पा र सेरोफेरो 

अर्कोदिन बिहान डोल्पालगायत कर्णालीका विभिन्न जिल्लामा पु¥याउन हामीलाई उचाल्यो हेलिकप्टरले । डाँडाहरूको अनन्त श्रृङ्खला हेर्दाहेर्दै कम्प्युटरमा गेम खेलेजसरी ठूल्ठूला पहाडका खोचबाट उड्न थाल्यो हेलिकप्टर । अलिकति दायाँ वा बायाँ गए सकिन्छ गेम । हात पसारे छोइएलान् जसरी ठडिएका छन् अजङ्गका पहाडहरू । टेके भेटिएलाझैँ छ तल नदी । आकास कहाँ टाँगिएको छ थाहा छैन । घरिघरि हिमाल देखिन्छ पहाडको सिउर भएर । यस्तै दुर्लभ दृश्य हेरेर निकै रोमाञ्चक अनुभूतिमा डुबेको हुन्छु म । ती दृश्यसँग मिसिएर आएका अनुभूतिको टिपोट मनमनै बनाउन चाहेथेँ । उत्साहसँग उम्लनु मेरो मनको विशेषता हो । मेरा टिपोटहरू छरपस्ट पार्दिँदै मन बेतोडले हल्लिरहेथ्यो जसरी हेलिकप्टरले आकास र आसपासका वस्तुलाई थर्कमान पार्दै सोझै अगाडि देखा परेका पहाड छलेर गहिरो खोच भित्रभित्र हुर्रिइरहेथ्यो ।

मुन्टै मर्कलाजसरि घरि पछाडि फर्केर त घरि घाँटी तानेर अगाडिको झ्यालबाट हेर्न छोडेको छैन । विकट पहाडका अनुहार छरिएका छन् जताततै । बस्तीशून्य निर्जनता छरिएको छ सर्वत्र । केही खनजोत भएका खेत ग¥हा र घरहरू देखिन्छन् । ती अनुभूतिसँग साटेथेँ सामान्य दुखाई । ती दृश्य सम्झेर एउटा छुट्टै रमाइलो संसार सिर्जना हुन्छ मभित्र ।

हिमाल मसँग आत्मीय हाँसो हासे पनि यस क्षेत्रको गरिबीसँग भने उपेक्षाको हाँसो हाँसेझैँ लाग्यो । एडभेन्चरका लागि निम्ता दिइरहेथ्यो प्रकृतिले । अजङ्गका पहाड हेर्न लालायित विश्वलाई आकर्षित गर्न सरर गुड्ने पूर्वाधार चाहियो भनिरहेझैँ लाग्यो त्यसले ।

हिउँद लागेर होला, हिमाल वरपरका डाँडाहरूमा समेत हिउँ थपिएर झन् सुन्दर देखिएका छन् । झ्यालमा तेर्सिएका क्यामरामा देख्छु स्फटिक जस्तो स्निग्ध अनि चिसो र शान्त सुन्दरता ।

खसिरहेछ भीर, उठिरहेछ हिमाल र झोक्राइरहेछन् बस्तीहरू । प्रकृतिसँगको यो अनुपम मेल हृदयमा बज्रिरहेछ घरि सुखद त घरि दुखद अनुभूतिमा सङ्गालिएर । त्यसले दिएका अविच्छिन्न तरङ्गले छोइरहेछ मुटुका तारलाई झङ्कृत बनाउँदै ।

एउटा गाउँबाट अर्को गाउँ जोड्ने गोरेटो देखेर म स्तब्ध हुन्छु, कमिला हिँड्ने जस्तो साँघुरो देखिन्छ बाटो । ठाडो भीरले बनाइदिएको दुरुह पथ गरिबहरूको जीवन गोरेटोजस्तै लाग्छ मलाई ।

खोचमा एउटा बस्ती खसेछ, मेरो पछाडि । हिमालहरू बिलाएछन् खसेर सुख्खा मरुभूमिमाथि । जर्जर सुख्खापन अड्किन आइपुग्छ घाँटी निमोठ्नेगरी । तब, उर्लँदो खहरे जस्तो बन्छ हृदय र भत्काउन खोज्छ आस्थाका साँध सिमानाहरू । एउटा प्रश्नले रेट्न खोज्छ छातीकसैले सबै लुटेर छोडे जस्ता कसरी बन्छन् यी बस्ती अनि कसरी थुप्रिन्छ सम्पन्नता सहरमा मात्र ?

मरुभूमि जस्तो पहाडको खोचैखोच उड्दै थियौँ हामी । अलि बाक्ला बस्ती  देखिन थाले । डोल्पा जिल्लाको सदरमुकाम दुनै बजार देखियो । वरपरका पहाडलाई छुन सकिएलाझैँ गर्दै उडिरहेथ्यौँ, ओर्लिन थाल्यो उडान । हेलिकप्टर ओर्लियो छेउछाउका रुखविरुवा र धुले माटोमा चक्रवाती तुफान मच्चाएर । हामी ओर्लेको ठाउँ रहेछ सुलीगाड । एउटा सैनिक गुल्म रहेछ त्यहाँ ।

चारैतिर सुख्खाले निलेका डरलाग्दा पहाड देखिए । एकातर्फ हिमालको श्वेत चुचुरो देखिएको छ, अर्कोतिर सुसाइरहेछन् खोलाहरू । फोक्सुण्डोबाट निसृतः खोला र ठूलो भेरीको संगम छ नजिकै । एउटा पुल छ त्यहीँनेर । पुल पारिको अजङ्गको पहाडको फेदीमा भर्खरै ट्र्याक खोलिएको बाटो छ । पहाडबाट खसेका ठूल्ठूला ढुङ्गा थुप्रिएको बाटो देखेर मनमा त्यसैत्यसै विरह चलिरहेछ । त्यो बाटोमा अडिएको एउटा गाडी र केही मान्छेहरू देखे पनि सडक अस्तित्वप्रति आशंका छ मनमा ।

चिसो स्याँठले स्पर्श गरिरहेछ अलेली । खोला सुसाइरहेछ नेपथ्यमा । खुला चौरमा बसेर चिया बिस्कुट खाँदै थियौँ क्याप्टेन ले.क. किरण थापा, मेजर कुशल गुरुङ, मेजर सेनानी हिमकान्त पण्डित र म ।

मैले टिपोट बनाएको देखेका कुशल गुरुङले सुनाउनुभएथ्यो एकाध गीत गजल । बदलामा मैले सुनाउनुपरेथ्यो मरुभूमिजस्ता बस्तीका बारेमा भर्खरै लेखेका मेरा एकाध हरफ । अनायास हुने साहित्यिक परिचय पनि रोमाञ्चक यात्राजस्तै लाग्छ मलाई ।

भित्तामा घोडा डोर्‍याएतिर नजर डोरिए सबैका । बाटो देखिएको थिएन मरुभूमिको पहाडजस्तो भित्तामा । थाहा भयो, बाटो रहेछ त्यहाँ पनि । अरू हिँडेपछि मात्र देखिन्छ यो दुनियाँको जोखिमपूर्ण बाटो । हिँड्नेहरू धुलिसात् भएर पत्ता लागेको त्यो बाटो त्यसै पुरिएको र कुबाटोमा आरोपित भएको देख्दा मन पोल्दछ बेस्सरी ।

एउटा भनाइ सम्झेर चित्त बुझाउँछु सिँढी चढ्नु थियो अँध्यारोमा, शिष्यले गुरुसँग मागेको बत्ती लिएर जसै सिँढी चढ्न थाले, एक सिँढी नचढ्दै गुरुले बत्ती निभाइदिए र भने अँध्यारामा स्वयं बाटो खोज्नुपर्छ, बाटो खोज्न आफ्नै हृदयको बत्ती बाल्नुपर्छ

फोक्सुण्डोबाट फर्कँदै गरेको श्रीएअरको हेलिकप्टर देखियो । कुशल बोल्नुभो हाम्रै पूर्व पाइलट हो नि त्यो हेलिकप्टरको क्याप्टेन । कीर्तिमानी पाइलट मदन के.सी.सँग बिहान भेट भएथ्यो सुर्खेतको होटेलमा । होटलदेखि एअरपोर्टसम्म सँगै आएथ्यौँ गफिँदै ।

सुलीगाडबाट रुकुमको सल्लीबजारका लागि उड्यो हेलिकप्टर ।

चोखो प्रकृतिको काख

भर्जिन प्रकृति । गरिब बस्ती । दुर्लभ दृष्य । उड्दा भीर पनि सुन्दर, भोग्दा मात्र कहालीलाग्दो । विकटता पनि सुन्दर हुँदोरहेछ भोग्न नपरी आनन्दले हेर्दा । प्रकृति कुरूप हुन सक्दैन, त्यो जस्तोरूपमा भए पनि सुन्दर देखिन्छ भन्ने सिद्धान्त प्रमाणित भइरहेथ्यो । यहाँको जीवनस्तर सुधारेर विकटता जोगाउन सके यी ठाउँहरू विश्व कीर्तिमानमा दरिँदा हुन् । विश्वको पहिलो गन्तब्य हुँदो हो नेपाल ।

पहाडको छाया सूर्य रश्मीसँग मिसिएर दृष्यमा झिमिकझिमिक आइरहेथ्यो । आँखा टट्टाउनञ्जरी हेर्न लालायित थियो मनमस्तिष्क । त्यतिबेला मैले केही भावना उरालेथेँ हेलिकप्टरको चर्को स्वरजस्तै मनमनै ।

लेकाली थुम्काहरू घरिघरि मात्र हाराहारीमा छन् नत्र उचै लागिरहेछन् ।

उचा मरुभूमिका बीचबीचमा भासिएका गाउँहरूबारे सोच्दै टोलाएको हुन्छु, सल्लीबजार आइपुगेछ ।

भर्खरै पीच भएको एअरपोर्टमा टेकिनासाथ उड्ने तरखर गर्दै थियो हेलिकप्टरले साथै ल्याएको सामग्री जिल्ला निर्वाचन अधिकारी गोकर्ण पन्थीलाई बुझाएर हात हल्लाएको थिएँ मैले । बतासिँदो हावाका भोक्कासँगै विदा हुनुभएथ्यो उहाँ । क्षणिक भेटघाटले स्तब्ध भएथ्यो मन । एउटा अनुभूति सङ्गालेथेँ छुट्टिइहाल्नुपर्ने मिलन नभएकै जाती

मनमा फेरि तर्क चलेथ्यो, ‘घात अन्तरघातमा फेरिइरहने मिलनभन्दा क्षणिक मिलन वेश । रङ र स्वाद फेरिएको मायाभन्दा क्षणिक माया वेश । त्यसैले त, क्षणिक बिसाउनी जस्तो जिन्दगीमा एकछिन भेटिएर छुट्टिनु वेश । दुबै तर्कसँग सहमत भएथेँ म । जीवन पनि त दुईपाटामा विभाजित छ सधैँ; मिलनविछोड, हर्षविष्मात्, उल्लासउदास, चिच्याहटमौनता, …

झ्यालतिर फर्केको थिएँ, देखिन थाले धमिला धर्सा कोरिएजस्ता बस्तीहरू फेरि । धर्सा त हाम्रा ललाटमा पनि छन् जुन खुम्च्याउन र फैलाउन मिल्दछ । जसरी कोरिएका भए पनि ललाटका धर्सा कहिले धमिला त कहिले चम्किला हुन्छन् तर यी बस्तीका धर्साहरू ? कयौँ युग बिताए धमिलिएरै यिनले । न पुग्ने बाटो छ सजिलो । न खोस्रने माटो छ मलिलो । न हेर्छ राज्यले मायालु नजरले । भोक चपाएर बिरामी पचाएर केबल गरिबी बाँचेका छन् तिनले ।

ती धमिला बस्तीका उदासी बिर्सन अर्कैतिर नजर लगाउँछु, तल देखिन्छ धर्सै जस्तो नागबेली नदी । सङ्लो नदी बालुवा टल्काएर बगेको छ तलतल । नदी वर्षात्मा धमिलिए पनि प्रायः सङ्गलिन्छ तर बस्ती ! म विस्मित हुन्छु । यी बस्तीलाई कसले देखेको होला राम्ररी ? तिनकै प्रतिनिधि भनिने नेताले, स्थायी सरकार मानिने कर्मचारीले वा डलरको खेती गर्दै समाज सशक्तिकरण गरेको ठानिने एनजिओ आइएनजिओहरूले ? एक मनको सवालमा अर्को मनले जवाफ दिइहाल्यो तत्कालै अहँ, सर्पका खुट्टा सर्पले मात्र देखिरहेछ ! अरूका दुःख पीडा देख्ने कोही छैन यहाँ ! 

हाम्रो आकासेचरी जाजरकोटको सैनिक व्यारेकनेरको थुम्कामा ओर्लियो । उत्तरबाट आएको भेरी क्षितिजतिर हुन्हुनाइरहेथ्यो । कसैले भने भेरीले छुट्ट्याएको छ रुकुम र जाजरकोटजोडेको पनि त छ होला नि ? मनमनै भनेथेँ मैले । डाँडाका ढाड पनि जोडिँदै उठ्दै गरेर वरपरबाट घेरेका छन् नदीलाई । मिलाएरभन्दा छुट्याएर हेर्ने र पृथक देख्ने प्रचलन छ दुनियाँमा ।

डाँडाबाट पारिपट्टि देखियो जाजरकोट बजार । बजारको टाउकामा देखियो जाजरकोटे दरबार जहाँ अहिले जिल्ला प्रशासन कार्यालय रहेछ । भर्खर कच्ची ट्र्याक खुलेको सुर्खेतबाट आउन लाग्छ रे पाँचछ घण्टा । जाजरकोटमा त्यसको छाया पर्ला जसरी नजिकै उभिएको थियो हिमाल । त्यो हिमालको नाम मैले पाइलट किरण थापालाई सोधेँ । चुलीको नाम थाहा छैन भन्ने जवाफ पाएँ । काठमाडौं नजिकको पाखामा पुग्दा यीभन्दा धेरै सुन्दर डाँडाकाँडा कति छन् कति हाम्रो जाजरकोटमा भन्ने साथी चक्र बूढालाई सम्झेँ । उहाँले सातआठ वर्ष पहिले भन्नुभएको सम्झेँ सिस्ने हिमालको फेदी हो जाजरकोट

म चिच्चाएँ त्यो सिस्ने हिमाल हो । मेरो उत्सुकता देखेर नजिकिएका एकजना सैनिक बोले खेतीपाती नै छैन चौरजहारीबाहेक आसपासमा के खाएर बस्छन् बिचराहरू । दुर्गम भूगोलमा जागिर, व्यापार वा अन्य आयस्रोत नभएका गरिब गाउँलेलाई नै भनेका होलान् बिचरा, मनमनै तर्क गरेथेँ र चित्त बुझाएथेँ ।

मेरा गाउँले साथी हरि शर्मा भेटिनुभयो त्यहीँ । सहायक प्रमुख जिल्ला अधिकारी हुनुहुँदोरहेछ जाजरकोटमा ।

के छ ? सेभ नभएको नम्बरबाट परिचितजस्तो स्वर सुनिएथ्यो मोबाइलमा ।

के छ र मसँग अरू ? एउटा आत्मविश्वास र केही भावनाहरू । ती भावनाले कहिले मर्माहत हुने गरी भित्रैसम्म चोट दिन्छन् त तिनैले दिन्छन् फेरि तुरुन्त निको हुनेगरी मल्हमपट्टि पनि । र त, अरूजस्तै सद्दे देखिएर हिँड्न सकेको छु, भनिदिएथेँ ठट्टा गर्दै ।

सकारात्मक बुझे साँच्चै लाग्ने नभए बहुलट्टी सनक भनिदिए हुने मेरो झटारो कसलाई प¥यो थाहा नपाउँदै बन्द भएथ्यो मोबाइल ।

सुर्खेत फर्कन थाल्यौँ हामी । उक्लिरहेका र ओर्लिरहेका गोरेटाहरू हेर्दा कहाली लाग्छ । अपरिचित डाँडामा गुमनामजस्तै भएर फेरि उदाउँदैअस्ताउँदै गर्ने गोरेटो जस्तो जीवन कल्पेर रन्थनिन्छु । हेलिकप्टरले त्यो सबै वेवास्ता गर्दै उडिरहेछ निरन्तर । गड्गडाहटले टालिँदै र खुल्दै गरेका कानमा हल्का पीडासमेत थपिएको छ । मस्तिष्कमा चस्का दिने दुर्गम गाउँका दुर्लभ दृष्यहरू कैद गरिरहेछु क्यामरा र मनमस्तिष्कमा लगातार ।

फुस्रो पहाडमा कोरिएको बतासको पदचिन्हजस्तै, भोगेर पनि प्राप्तिहीन, देखेर पनि अदृश्य र छोइएर पनि अतित्वहीन भएर उभियो कर्णाली मेरो नजरमा । धन भएर निर्धन र जीवन भएर निर्जीव कसरी हुन सक्छ कोही । अरूले जीवनबुटी सबै ओसारेर शुष्क र जीवनविहीन बनेका उर्बर हिमशैलका कुनाकन्दरा बिझाइरहे आँखामा । वर्षेनी भत्किरहेको खण्डहर पहाडहरू दुखिरहे हृदयमा । परदेसिएको आफ्नो मान्छे वर्षौंसम्म नफर्केपछि रुँदारुँदै बेहोश भएका वृद्ध आमाबाबु जस्ता बस्तीहरू छटपटाइरहे छातीमा । म निरुत्तर हेरिरहेँ रमितेजस्तै भएर ।

साना खोलाखोल्सा नदीमा रूपान्तरित हुँदै गन्तब्य तय गरिरहेथे । हाम्रो उडानको सुरक्षित अवतरण भएथ्यो सुर्खेतमा । हेलिकप्टर अवतरण गर्दा छिप्पिइसकेको थियो घाम । जानु छ अर्को गन्तब्य, रोकिएको छैन अविराम जीवन यात्रा ।

अर्को संविधानसभा निर्वाचनमा खटिँदा लेक लागेर उद्दार गरिएका हुम्लाका एकजना कर्मचारी पनि हामीसँगै हेलिकप्टरमा चढेका थिए हुम्ला ओर्लिन । उनले क्याप्टेनलाई देख्नासाथ उठेर नमस्कार गरे । ती कर्मचारीको स्वास्थ्य अवस्थाबारे उनीहरूका आत्मीय भलाकुसारी भए । लाग्यो, सद्कर्मले हुँदोरहेछ चिनजान र आत्मीयता । हुन पनि क्याप्टेन उनका जीवनदाता रहेछन् । केही दिन अगाडि हिउँ परेको उचाइबाट उद्दार गरेर नेपालगञ्ज ल्याइएको रहेछ उनलाई ।

हेलिकप्टर उड्यो फेरि । उसलाई फर्कनु थियो कालीकोट, हुम्ला, मुगु र जुम्ला पुगेर, मलाई पनि फर्कनु थियो क्षितिज र आकास चुम्दै सम्झनाका कुँइनेटाहरूमा पुगेर ।

नयाँ बनेका सुर्खेती संरचना र समथर उपत्यका हेरेर रमाएँ एकैछिन । सहरबाट गाउँ पसेको मोटर बाटोको धर्सो हेर्दाहेर्दै बिलायो कतै, जसरी मेरो मनमा क्षणिक आनन्द भएर हराउँछ खुसी । एउटा सानो तर नीलो नदी दृष्टिगोचर भयो झ्यालमुन्तिर । कर्णाली वा त्यसको कुनै सहायक नदी हुनुपर्छ त्यो । क्षितिजमा हिमालका लहर उभिएका छन्, जसरी मुस्कान छर्दा देखिन्छन् नवयुवाका बत्तिसी । साँघुरो डाँडामा बजार देखियो, कालीकोटको सदरमुकाम मान्म रहेछ त्यो । हेलिकप्टरले एकफन्को लगाएर साँघुरो चौरमा जसै टेकियो मात्र, निर्वाचन कार्यालयका मणिजीका हातमा केही सामग्री पर्नासाथ त्यो फेरि हावासँग कुरा गर्दै आकास मार्गमा बेपत्ता भयो ।

खुइलिएका सुख्खा पहाडको सक्कली रङ मात्र देखिन थाल्यो । खोचमा बगेको नीलो नदी र शिखरको सफा हिमाल नभए कस्तो हुँदो हो यो भूगोल ? पैह्राले झन् उदेक लाग्दो बनाएको छ गाउँबस्तीका दृष्य, मानौँ यहाँको ललाटमा कोर्न मिल्ने एउटा श्रृङ्गार त्यही मात्र हो । खिच्दा सुन्दर देखिन्छ क्यामराका स्क्रिनमा तर आँखाले देख्छ उराठलाग्दो उजाड भूमि सर्वत्र । अझ मन लगाएर हेर्न थाल्यो भने मुटुमै बिझाउँछन् गेग्रेटाहरू ।

हावाले छुँदा धुलिसात् होलान् जस्ता देखिने ती जर्जर मरुभूमि पहाड कसरी ठडिन सकेका होलान् ? मनको प्रश्न सुनेर मनले नै उत्तर दियो कडा चट्टान छ नि ती पहाडको भित्री चुरो

बर्खा लाग्दा पुलले नथाम्ने भेल र हिउँद लाग्दा सहनै नसकिने चिसो सिरेठो फैलाइदिन्छ मेरो छातीमा हिमालले । पर्वतराज बन्ने ध्याउन्नमा मलाई ओझेलमा पारेर निष्ठुरताको साम्राज्य फैलाएको छ यसले पहाडले विरह पोखेझैँ लागेर फेरि बिग्रियो मन ।

कतैकतै माटाले छाएका एकछाने घरहरू देखिन्थे । केहीबेरमा देखिन थाले हिमालभन्दा अग्ला डाँडाहरू जसका कापकापमा कहिल्यै हिउँ नपग्लने ओसिला हिमाली खर्कहरू छन् । ती खर्कको कुमारीत्वका प्रमाण जस्ता लाग्दथे सल्लोका एकाध रूखहरू जसरी कसिलो शरीर र रक्तिम गालाले वैँशालु देखिन्छन् युवतीहरू । आफ्नो सुगन्धको खोजीमा यस्तै खर्क र पहाड डुल्दो हो कस्तुरी । कस्तुरीको सुवासले लठ्ठिएर गुराँसे पाखाभर नाच्दो हो डाँफे चरी । तिनीहरूका पयरको सुवास पोखिएको माटोमा फुल्दो हो पाँचऔले, निरमसी, यार्सागुम्बा, … ।

हिमाली चिसो खाएर ध्यान तपस्याले अजर अमर बनेका शिव भेटिन्छन् कि कतै जिउँदै भन्दै प्रकृतिलाई अद्भुत रहस्यमय बनाएर विचित्रका रूपाकृतिमा कल्पिरहेको थिएँ मैले । बाल्यकालमा मरेका मान्छे लिएर हिँडेका मलामी देख्दा ठान्थेँ, म त मर्दिनँ कहिल्यै । शायद त्यस्तै मनोबल कायम रहने भए सयवर्ष त पक्कै बाँच्दो हो हरेक मान्छे जसरी यहाँको प्रकृतिमा युगौँयुग बाँचिरहेछ शिवत्व ।

एकदुई दिन हिउँ खेलाएर बसौँ जस्ता चौरहरू आइरहे । जडिबुटी र सौन्दर्यका ती अद्वितीय भण्डार राज्यको उपेक्षा सहेर पल्टिरहेछन् वर्षौँ वर्षदेखि यसरी नै ।

रसास्वादनमा लठ्ठ परिरहेका बेला हेलिकप्टर सिमकोटमा ओर्लियो । धन्य मेरा पयर, सिमकोटे भूमि छुन पाए । इटाकार नेपालको एउटा बिन्दुमा उभिन पाएकोमा गर्व र हर्षले आह्लादित भइरहेको थिएँ म । एअरपोर्टदेखि माथितिरका केही घरहरू, नीला जङ्गल, जङ्गलमाथिका हिमचुलीहरू दृष्टिगोचर हुनपाए क्षणिक सपनासरि ।

सिमकोट बजारलाई घेरेर उभिएका ती हिमाल, ती नीला वनेली छायाँहरूलाई अनिच्छापूर्वक हात हल्लाएँ मैले । सिमकोटमा हावा लाग्न सक्छ, धेरैबेर नगरी उडिहाल्नुपर्छ भन्नुभएथ्यो क्याप्टेनले पहिल्यै । मतदान केन्द्रतर्फ जाँदा यारीमा फसेका कर्मचारीलाई उद्दार गर्ने उहाँको योजना हावा लाग्ने डरले नै तुहिएको थियो । एउटा नामुद नाका यारी दर्शन हुने भयो भनेर कम्ती खुसी भएको थिइनँ सुरुमा । त्यो खुसी चिरस्मृत हुन नपाए पनि त्यसको रोमाञ्चक उचाइले मनका भित्तामा एउटा रमाइलो झङ्कार दिएर छोड्यो । अर्को दिन आउनुपर्ला बिहानै भन्दै हुनुहुन्थ्यो क्याप्टेन । एकाबिहान हावा नलाग्दै पुग्नु पर्दोरहेछ त्यस्ता उचा र हावादारी ठाउँमा ।

राराको जललहरी

हेलिकप्टरले मुगु पुग्ने बाटो पहिल्याउँदै थियो । खैरा पहाड र सल्लाको हरियाली आँखाबाट छिरेर मनमुटुमा वारपार गरिरहेथे, नीलो जलसागर टल्कियो । सास रोकेर हेरिरहेथेँ, सृष्टिको जम्मै सुन्दरता निचोरेर खन्याएछ प्रकृतिले त्यहाँ ।

रारा पो रहेछ त्यो । इन्धन रिफिल गर्न भन्दै राराको किनारमा रहेको सैनिक गुल्मछेउको हेलिप्याडमा केहीबेरका लागि अवतरण भएथ्यो हेलिकप्टर ।

आहा ! म रारा किनारमा उत्रिएँ ।

सुगन्धित वन फूलका चम्किला पुष्पपत्र जसरी रारा मुस्कुरायो लहरलहर बनेर । त्यसको मुस्कान माधुर्य छर्दै तरङ्गियो दिलको सुनसान ठाउँ । संगीतको धुनसरि छचल्किएछन् रोमाञ्चक पाइलाहरू । वेग हान्दै आएको नौरङ्गे डाँफेचरी छेउमै टक्क अडिएझैँ एउटा अपेक्षा जन्मेछ मनमा दुई पाइला चालेर भए पनि यस्तै प्रकृतिका काखमा लडिबुडी खेल्न पाए सधैँ

हावाका झोक्काले सुस्तरी छुँदा तरङ्गित जलधिका नीला, वैजनी आदि अनेक रङका रश्मीपुञ्ज देखेर म मोहित भएँछु । वनेली छायाँ, हिमालको स्वच्छता, बतासको शितल स्पर्श पाएर मदहोश भएँछु । धारिलो चलमलाहटमा चम्किलो टलकले लोभ्याइरह्यो । खुसी र बेचैनीले भरिएको मनलाई शान्त पार्न एकअञ्जुली राराको शितल जल शरीरमा छर्केको थिएँ मैले ।

मैले आजसम्म देखेको भन्दा विछट्ट सुन्दर थियो रारा किनारको प्रकृति ।

खिचिएको थिएँ दाँजिएर रारा र त्यसको सुन्दरताका पहरेदार डाँडापाखा अनि हिमालहरूसँग । शब्द थिएन मसँग सजीव दृष्य हुँदा आँखा र हृदयभरि । मवीवि शाहको राराकी अप्सरा का केही हरफ रहेछन् ओठमा फुस्फुसाइरहेका । सुनिरहेथ्यो ओठको चल्मलाहट निःशब्द हृदयले

देखेँ जसै तिमीलाई …

माथिबाट …

अफसोस ! तैपनि

कहाँ देखेँ र तिमीलाई …

न तिमीलाई न तिम्रो गहिराईलाई, न सौन्दर्यलाई !

झरि दर्केर थामिएपछिको जस्तो झिल्मिलाइरहेको आकास भेटियो रारामा, जसरी मेरो अन्तरहृदयमा पनि आँसुमा पीर बगेर गएपछि भेटिन्छ कहिलेकाहीँ यस्तो आकास । रित्तो आकास निरर्थक अन्धकार हो भन्दै त्यहाँ उर्लिरहे अनगिन्ती छाल, टिल्पिलाउँदा तारागण जसरी । तर, राराका छालमा छचल्किएको सुन्दरतामा के के नपुगेझैँ कोक्याइरह्यो मनभित्र । शायद त्यस भेगको गरिबी, अभाव, कुपोषणका चित्कारहरू उर्लिरहेथे त्यहाँ ।

सरर गुडेर आउने बाटाहरू भइदिए, नेपालको सबैभन्दा ठूलो ताल रहेको नेपालको सबैभन्दा गरिब जिल्ला मुगु र आसपासका गाउँबस्तीको मुहारमा किञ्चित खुसी फेरिँदो हो । मनले सोझो बाटो समातिरहेथ्यो तर मुलुकको बक्र राजनीतिको कलुषित ग्रहण लागिरहेथ्यो त्यहाँ पनि ।

एकातिर, सलहले निलेको आकासझैँ भएको छ नागरिकको जीवनाकास जहाँ, समस्या, पीडा, व्यथा, शोक, संवेदनाका काला छाया मडारिइरहेका छन् । आफ्ना पीडा, दुःखसँग रमाउँदै जीवनभन्दा मृत्युको भरोसा गरेर बाँच्नुपरेको छ । अर्कोतिर, शोक, रोग, भोक र अभावसमेत बोधै नहुने मूर्तिहरू बसेका छन् कुर्सीमा । पूरै मूर्तिमा फेरिए बरु ईश्वर भनेर पुज्नहुन्थ्यो तिनीहरूलाई । शासित भने अभिशप्त इतिहासले दिएको गाथा फलाकेर श्रापित जस्तै आफ्ना व्यथा छातीभित्र गाँठो पार्न विवश छन् ।

रारा छोडेर गमगढी ओर्लिँदै थियौँ हामी । नीला जस्तापाता ओढेर चङ्खेलीको लेकमुन्तिर जलवियोजन र कुपोषणले मरणान्त लडिरहेझैँ देखियो गमगढी । राज्यले उपेक्षा गरेको गुनासोमिश्रित विदीर्ण अनुहार क्षितिजतिर फर्काएझैँ लाग्यो चङ्खेलीको लेकले पनि । मुगुकर्णाली पातालमा एकधर्को नीलो सर्पजस्तै बेरिए पनि खैरा पहाडको उराठलाग्दो रङ आँखामा बिझाउन आइपुग्यो । झिँगा भन्किएको, सिंगान लत्पतिएको, फोहोरी, ख्याउटे र रूञ्चे लागेको नानी जस्तो वा रूँदारूँदै थाकेकी विधवा जस्तो देखियो गमगढी ।

घुच्चीको लेक र डाँफे लेक पार गर्दै हेलिकप्टर जुम्लामा अवतरण भयो । दोस्रोपटक जुम्ला ओर्लिँदा काञ्जिरोबाले परिचित नजरले हेरेझैँ लाग्यो । जुम्लाबजार, कर्णाली प्राविधिक शिक्षालय र चन्दननाथको आँगन टेकिसकेको छु, तिला कर्णालीको सङ्लो पानी छोइसकेको छु भन्ने आत्मगौरवले द्रविभूत भएर होला घाम ढल्केर झन् बढेको चिसो स्याँठको कुनै प्रवाह नगरी कफीको चुस्की लिँदै टहलिएको थिएँ म । जुम्ला बजार र आसपासको फुस्रो पहाडलाई पृष्ठभूमिमा राखेर क्याप्टेन किरण थापा र कुशल गुरुङसँग फोटो खिच्दै थिएँ मैले, सुदूर र मध्यपश्चिमको धेरै ठाउँ हेर्न, अझ विशेषगरी रारालाई छुन सकेको संतृप्त मन लिएर ।

कर्णाली र आसपासका पूर्वाधारविहीन गाउँबस्ती सम्झँदा भने मन कोक्याइरह्यो ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नियात्रा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *