लघुकथा : एकता

~एकदेव अधिकारी~Ek Dev Adhikari

आज देवमाया खुसीले गद्गद् छिन्।

अब देवमायाको परिवारमा खुसीको वातावरण आउनेछ। उनका छोराहरू घर फर्कँदै छन्।

देवमाया त्यो दिन अझै सम्झन्छीन् जब उनका छोराहरू एक-एक गर्दै पुर्ख्यौली घर छोडेर बाहिरिएका थिए। उनका छोराहरू सबै पौरखी छन्, आ-आफ्ना कार्यक्षेत्रमा अव्वल तथा दक्ष छन्, तर उनलाई आफ्नो गुँड कमजोर हुँदै गएको हेक्का थियो। उनको पुर्ख्यौली सम्पत्तिको नाममा भएको घर र घरसँगै जोडिएको पाखो बारी छिमेकीको अतिक्रमणबाट पेलिँदै गएको हेक्का थियो।

केही भाइहरू साथमा उनीसँगै बसिरहेको जेठो छोरो प्रति पनि उनलाई विश्वास थियो तर त्यो विश्वास कहिलेकाहीँ डगमगाउँथ्यो – कहिले उनलाई लाग्थ्यो कि उनको जेठो छोरो छिमेकीसँग नजिकिँदैछ, कहिले उनलाई लाग्थ्यो कि उनका केही भाइ छोराहरू त्यो छिमेकीसँग नजिक छन्। उनलाई छोराहरूको त्यो छिमेकि प्रतिको हेलमेल मन परेको थिएन किनकि उसको आचरण व्यवहार ठीक थिएन। उसको गिद्दे दृष्टी त्यो पुर्ख्यौली घर तथा पाखो बारीमा लागेको थाहा थियो। उनलाई त्यो दुष्ट छिमेकीले त्यो घर-बारी हडप्ने डर थियो।

जेठो छोरो पनि कहिले काँही आफ्ना भाइहरूसँग मिले झैँ गर्थ्यो। कहिलेकाहीँ कुनै भाइलाई घरमै बोलाउँथ्यो कहिलेकाहीँ घर अर्को भाइलाई जिम्मा लगाएर बाहिर बस्थ्यो। देवमाया आफ्ना सबै छोराहरूलाई सँधै सँगै राख्न चाहन्थिन् तर उनलाई उनका सबै भाई छोराहरू एकैपटक उनीसँगै बस्न नसक्ने ज्ञात थियो। उनीहरूको बीचको मत-भिन्नता उनीहरूलाई त्यसो गर्न दिन्थेन। अनि उनलाई थाहा थियो क्रियासँगै प्रतिक्रिया पनि चाहिन्छ नत्र जीवन निरस हुन्छ। उनी खुसी नै देखिन्थिन्।

देवमाया सबै छोराहरूको भलो चाहन्थिन्। छोराहरूको उन्नति-प्रगतिमा औधी खुशी हुन्थीन्। उनका छोराहरू मूलघरबाट छुट्टिए पनि उनकै वर-पर थिए। उनीहरूको जीवन-यापनमा भएका उतार-चढावको उनी जानकार थिइन्। छोराहरू पनि बाहिरै बसेर भए पनि आमाको सेवा गर्नमा कुनै कसर बाँकि राख्थेनन्। तर उनका छोराहरूको फुटको अवसरको फाइदा उठाउन छिमेकी अग्रसर भएको उनलाई ज्ञात थियो। उनलाई लाग्थ्यो उनका छोराहरूलाई फुटाउन छिमेकीले राम्रै भूमिका खेलेको छ।

आज उनले खबर सुनीन् उनको एकभाई छोरा अरू भाइहरूसँग एकताको लागि भेट्न गएको छ। अब उनको परिवारले पूर्णता पाउनेछ, खुसीको दिन फर्कनेछ।

उता छिमेकी भने यो कुरा सुनेर विचलित भएको छ।

सौराहाद्वार, रत्ननगर, चितवन
२०७४ आश्वीन १७

(स्रोत : रचनाकार स्वयम्ले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *