कविता : भुतुचा

~भवानी भिक्षु~

जन्म, जीवन सम्झनाको मार्गले
‘जीवनी’ उत्री रहेछ
आज यस मेरो व्यथामा ।

सेती ‘भुतुचा’ कलिली, राम्री,
रक्त रातो आङमा उम्ली रहन्छ;
त्यहाँ छ रमणीत्व बन्दी मौनतामा,
तैपनि, झल्की रहन्छ;
वेगमय पुरुषत्व, पौरुषयुक्त नरताको गरम उच्छ्वासमा
— मुछिई,
भुतुचा के बफायेकी नहोली उम्लिएको श्वासमा ?
रात्रिको न्यानो अंगालो
वर चिसो मैलो वछ्यानमा,
हेर उ, ‘सुकुचा’की पत्नी, त्यही हो,
तलको रछानमा ;
त्यहाँ उद्वेलन छ केही,
पक्रनलाई,
भनाईको यस कथामा ?
जन्म, जीवन सम्झनाकी मार्गले
‘जीवनी’ उत्री रहेछ
आज यस मेरो व्यथामा ।

X X X

भुतुचा रमणी,
वासना तर आज उसको भाग होइन,
भुतुचा राम्री,
कल्पना तर आज उसको तार होइन;
दुइटा पञ्जर-हाड छन्-
कमनीयताको करकमलमा,
घृणित सारा सोर्नु नै हो मात्र भुतुचा
भूमि तलमा;
मानवी भुतुचा,
मनुजता तर त्यहाँ के आज उसको साथमा छ ?
कामिनी भुतुचा,
तर कमिनीयता के आज उसको गाथमा छ ?
मात्र अवगुण, मात्र मिथ्या –
हुन्, सबै सुन्दर त्यहाँका,
अर्थ, उद्वेलित रहित छन्, मृत सबै –
राम्रा त्यहाँका ।

X X X

सुन्दरी होओस् भुतुचा,
“छिः छिः” को त्यो व्यञ्जना हो;
राम्री होओस् भुतुचा
नारिको त्यो वञ्चना हो;
भुतुचा—
त्यो नारीत्वलाई पार्ने लज्जित, कला हो,
भुतुचा किन देखिन्छे कोमल ?
होइन, यो हो ‘छल’ प्रकृतिको;
हुन्छे राम्री कसरी भुतुचा ?
यो उपद्रव हो प्रकृतिको ;
हेर भुतुचा गन्हाउँदी छ,
कतै नारी पनि गनेहाउँछन् ?
मूत्र मल नै त्यो नुहाउँछे,
के यसरी नारी नुहाउँछन् ?
घृणाले आकार धारण गरेकी,
के होइन भुतुचा ?
ली रछाने जन्म
उद्भिज यो रछान्‌को होइन भुतुचा ?

X X X

प्राण होला,
वीर युगहरुले सबै खाई सकेछन्;
कामनाका क्रम सबै
मनुष्यत्वले मारी सकेछन्;
अश्रु झार्दैनन् त्यहाँका चक्षु[,
ती हेरी रहन्छन्;
साम्य हुनुमै –
आश अभिलाषा,
मजासित पूर्ति लिन्छन्;
उसको सृजनाकी नियम –
“आकार पाउनु “ मात्र नै हो,
उसको ‘गीता-कर्म —
खर्पन, कुचो, सोर्नु मात्र नै हो;
ढुकढुकी दुर्गन्ध उसको “प्राणवायु“ साँस होइन !
“नाक च्याप्न लाउँछे साराको“
यत्तिकै उसको चेतन ।

X X X

दिन्हौ ल्याउँछे जुठो भुतुचा,
स्वाद, रस छन् पेट अथवा भोक,
क्लान्ति-श्लथ तनको विवशता,
‘पल्टिनु ‘
त्यो सुत्नु झैं श्रम-तोप ;
चक्षु, मुटुको लोभ ‘सुकुचा,‘ लोग्ने
भुतुचा-प्राप्तिको ‘नर‘ मात्र,
वासना, उच्छवास, तीव्रोद्वेग-
कुन्नि !
रीति झैं त्यो काम-आग्रह-पात्र ।

उठी व्याहानै, उठाउँदै हाड, सम्झन्छे कुचो,
“भगवान्“ भन्छे !
काँधमा खर्पन र ‘थुप्रो‘ नेत्रमा—उसको रछाने स्वर्ग,
त्यै तिर छिटो लम्कन्छे;
दुवैतिर छन् स्वर्ग लहरै उभिएका,
त्यहाका अप्सरा औ देउता उन्मत्त
हेर्दछन् –
गै रहेकी तिनकी विधान, तिनको कुइगंध
तिनको विहित, संत्रस्त ।

X X X

संकुचित खुम्चयेकी त्यी मूकता;
के यहि भुतुचा–कुचो, सोर्नु, हाड ?
होइन होइन,
देखिएकी मात्र भुतुचा होइन, खोज्ने त्राण;
किन्तु भुतुचा जो हो –
हाँक दिन हुन्न त्यसलाई,
नहुङ्कार कतैले हेर !!
सोरि दिन्छे नत्र –
देउता,
त्यही तिम्रो हाडले –
कङ्कालको यो ढेर,
तिम्रो स्वर्ग, तिम्रो विहित, उज्ज्वल सबैः
भुतुचा आडनाको राप;
घृणा बलले नै उठेर नाश पार्छे—
स्वर्ग सुख –सन्ताप ।

[‘भुतुचा’- एउटी पोडेनीको सामाजिक व्यथा हो]
(“शारदा“ २००६ कार्तिक )

(स्रोत : पं. बदरीनाथद्वारा सम्पादित पुस्तक “पद्य-सङ्ग्रह” बाट सभार)

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *