कविता : टाङ्टाङ् टुङ्टुङ्, भाङ्भाङ् भुङ्भुङ्

~सिद्धिचरण श्रेष्ठ~

(१)
चन्दागिरिमा ढाक्रे हिंड्छन् ।
यू.एन्.ओ. मा वहस छ छिन् छिन् ।
पाटन गाउँछ दिनभर टुङ्टुङ् ।
भारी खोल्दछ सँगा भांज्याङ् ।
(२)
भटमास मकै गुन्द्रुक सीतन ।
जल्छ चितामा हरहर भृतजन ।
बोकी यात्री हिंड्दछ रेल ।
गाडा तान्दछ बूढो वैल ।
(३)
‘हुँ मणिपद्ध्मे‘ भज्दछ लामा ।
रोगी बस्दछ एक थलामा ।
एउटा आउँछ, अर्को जान्छ ।
कुकुर भुक्छ, बूढो खोक्छ ।
(४ )
साहुलाई छलि हिड्छ ऋणी ।
युवकहरुले ताक्छन् तरुणी ।
“बालक बबुरो “ घोक्छन् बालक
आगोलाई भन्दछ पावक ।
(५)
चामल थाप्‌छ वीरवहादुर
गर्छ हिसाब पूर्णबहादुर ।
चालामाला यस्तै यस्तै ।
टाङ्टाङ् टुङ्टुङ्, भाङ्भाङ् भुङ्भुङ्
(६ )
इच्छाहरु क्यै कोर्कार पारी,
अनुभवहरु क्यै भूलले जोरी,
भित्र अलीकति जोश खन्याई,
मानिस रच्‌दछ विधिले बाबै !
(७ )
आँधी आउँछ, उर्लन्छ नदी,
गर्जन्छ मेघ, वर्षन्छ झरी,
प्यासी जीभ्रो मृत्यु निकाल्छ,
तैपनी मानिस बाँकी बच्छ ।
(८)
जन्म मृत्यु दुइ छेउ समाती,
वर वरु आई, पर पर भागी
मानिसले नै सृष्टि लम्यायो,
रोइ मिलाउन नसकी रोयो ।
(९)
मर्न जनानी मानिस ज्यूँछ
ज्यून नजानी मानिस मर्छ,
कस्तो, कस्तो, के, के, के, के, ?
तह नमिलेको दुनिया हे हे ।
(१०)
संस्कृति भन्छ, इज्जत भन्छ,
यथार्थताको पर गै बस्छ,
अलमल भैकन अलमल पारी,
दुनियाँ चल्दछ बूझ पचाई ।
(११)
दुनियाँ यसरी चल्दछ बाबै,-
भैडा जस्तै, बाख्रा जस्तै,
बुद्ध, क्राइष्ट गान्धीहरुको
आलोकमहाँ धुलो छर्दै ।
(१२ )
कलिजुग आयो पाप बढायो,
खान नपाई पेट सुकायो,
मनमा नौतह पाप छ भित्र,
बाहिर केवल भेष रँगायो ।
(१३)
इतिहास यही छोड्छ तराना-
खोज्दै हिंड्दै दाना माना,
मानिस कसरी राक्षस बन्छ,
खान नपाई कसरी मर्छ ।
(१४ )
हा हा हू हू गर्दै दगुर्योग,
“माछा माछा केवल भ्यागुतो”
जता हेर्योा उतै यस्तै –
टाङ्टाङ् टुङ्टुङ्, भाङ्भाङ् भुङ्भुङ्

(उद्योग – ‘लेखक परिचयङ्क‘ बाट )

(स्रोत : पं. बदरीनाथद्वारा सम्पादित पुस्तक “पद्य-सङ्ग्रह” बाट सभार)

This entry was posted in कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *