लघुकथा : सहयोग

~अरुणबहादुर खत्री “नदी”~Arun Bahadur Khatri 'Nadi'

सुमनलाई मोटर दुर्घटना परेर घाइते भएर शिक्षण अस्पतालमा भर्ना गरेको हुँदा सुमनकी आमाले छिमेकी घरको किशोरलाई बोलाएर आग्रह गरिन्,”किशोर तिम्रो मोटरसाइकल छ मेरो छोरा सुमनलाई अस्पताल भर्ना गरेको हुंदा मैले पकाएको खाना पुरुयाइदेऊ न गाह्रो नमानीकन ।”

“अब म बानेश्वर जान लागेको छु आमा । मैले खाना पुरुयाउन सक्दिन,” किशोरले उत्तर दियो।

“बानेश्वर जान लाग्दा मेरो छोरालाई खाना छाडेर गए भइहाल्यो नि !” सुमनकी आमाले फेरि भनिन् ।

किशोरले फेरि उही उत्तर दियो,”मलाई बानेश्वर अहिले तुरुन्तै पुग्नु पर्नेछ । म अस्पताल खाना छाड्न जान भ्याउदिन आमा ।”

“तिमीलाई आजभन्दा दुई वर्ष अगाडि मोटरसाइकलबाट लडेर चोटपटक लाग्दा मेरो छोराले अस्पतालमा लगेर उपचार गराएर मद्दत गरेको तिमीले बिस्र्यौ कि !” आमाले पूराना कुरा खोतलिन्।

आमाले त्यसो भन्ने बित्तिकै किशोर रिसायो,”भुतकालमा के-के भयो सबै कुरा मैले कहाँ सम्झन सक्छु र ?”

“पछि गएर तिमीलाई केही भयो भने मेरो छोराले सहयोग गर्न सक्दैन नि !”

“भविष्यमा मलाई तपाईको छोराले सहयोग गर्नु पनि पर्दैन,” किशोरले उत्तर दियो ।

छ महिनापछि किशोरले दिउँसै रक्सी खाएर सडकमा सुतिरहदा सुमनले देख्यो र किशोरले पनि सुमनलाई देख्न पुग्यो । किशोरले रक्सीको सुरमा अनुरोध गर्यो,”सुमनदाइ मलाई घर पुरुयाइदिनुस् न !” भन्यो ।

“तिमीले मलाई अस्पताल भर्ना हुँदा खाना ल्याउन नमानेको मान्छेलाई म घर पुरुयाउन सक्दिन । तिमी जस्तो मान्छेलाई त म हेर्न पनि सक्दिन” भनेर सुमन आफ्नो बाटो लाग्यो ।

– सामाखुसी मार्ग, ९३५/५४,
काठमाडौं (नेपाल)

This entry was posted in लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *