लघुकथा : सङ्घीयताको रूप

~प्रदीप नेपाल~

रेडियोबाट साझा सवाल कार्यक्रम आइरहेको थियो । विषय थियो सङ्घीयता । सबै आफ्आफ्ना तर्कहरू प्रस्तुत गरिरहेका थिए र आफूले भनेजस्तो सङ्घीय संरचना नभए संविधान नै अस्वीकार गर्ने उद्घोष गरिरहेका थिए । मिठै लाग्दै थियो बहस तर बहस नसकिँदै फुस्स निदाएँछु म ।

ठूलो मैदानमा झण्डै सय जनाजति मानिसहरू गच्छे अनुसारको कुर्सी र भुइँमा बसेका थिए । कुर्सीमा बसेकाहरू चलनचल्ती अनुसार ठूला हुने भैहाले । भुइँमा बस्नेहरू श्रीरामका भरत हुने भैहाले । म मैदानको ढोकाबाट भित्र पसेको मात्र के थिएँ, उद्घोषकले आसन ग्रहणको अनुरोध गरिहाले ।

हाम्रो सङ्घीय लोकतान्त्रिक नेपालको यो चलन पनि राम्रै हो । अतिथिको आसन ग्रहण गर्ने मुखिया कार्यक्रम सकिने बेलामा आए पनि उसलाई अतिथिको आसन ग्रहण
गराउनै पर्छ ।

कुर्सीमा बस्न मात्र के पाएको थिएँ, आयोजकले फ्याट्ट सोधे एउटा प्रश्न, “तपाईं कति प्रदेशको सङ्घ बनोस् भन्ने पक्षमा हुनुहुन्छ ?”

म तयार थिइनँ प्रश्नोत्तरमा भाग लिन तर अतिथिको आसन ग्रहण गरिसकेपछि उत्तर दिन्न भन्न पनि नपाइने । त्यसैले मैले आयोजकसँग सोधेँ– “तपाईं कुन चरित्रको सङ्घको बारेमा सोध्दै हुनुहुन्छ ?”

“चरित्र भन्नाले ?” आयोजकको प्रश्न सुनेपछि मैले छुट्टै ब्याख्या गर्नु पर्ने भयो ।

“सङ्घीयताका भिन्नभिन्न रूप र चरित्र छन् । एउटा अहिले नेपालमा चलिरहेको राजनीतिक चरित्र । तपाईँको प्रश्न राजनीतिक चरित्रमा केन्द्रित छ भने छ प्रदेशदेखि आठ सय जिल्ला जति बनाए पनि हुन्छ । सकभर बढी नै बनाइयोस् । जतिधेरै राजा उति धेरै खाजा । …

…होइन तपाईंले सामाजिक सङ्घीयताका बारेमा सोध्नु भएको हो भने त्यो सङ्घ, हाम्रो नेपाली सामाजिक ब्यवहारसँग मेल खाने हुनुपर्छ । एउटा गाउँमा बाहुन, क्षेत्री, नेवार, तामाङ, दर्जी, मिजार, सुनार, लोहार आदि इत्यादि दर्जनौँ जातहरू शताब्दियौँदेखि मेलमिलाप गरेर बस्तै आएका छन् । यो मेलमिलापलाई झन् बलियो हुने गरी सङ्घीयताको संरचना निर्माण गरिनु पर्छ ।

… होइन तपाईंले साहित्यिक सङ्घीयताका बारेमा सोध्नुभएको हो भने, सबैभन्दा सजिलो उत्तर हुन्छ – हाम्रा राष्ट्रकविले भन्नुभएको, जय जय जय हे नेपाल ! सुन्दर शान्त विशाल ।

… यो पनि होइन र तपाईंको प्रश्न इतिहाससँग जोडिएको सङ्घीयताका बारेमा सोध्नु भएको हो भने सुन्नुस रामरी । ऐतिहासिक सङ्घीयतामा सेना हुनुहुँदैन, पुलिस र कर्मचारी प्रशासन पनि हुनुहुँदैन, राजा, राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री, न्यायाधीश आदि इत्यादि शोषणका कुनै औजार हुनु हुँदैन । त्यो सङ्घमा समुदाय नै सर्वेसर्वा हुन्छ र उसैले आफ्नो शासन प्रणाली सञ्चालन गर्छ …”

म बोल्न खोज्दै थिएँ, परररररर ताली बज्यो । म निद्राबाट झसङ्ग ब्यूझिएँ ।

तर रेडियो निदाएको थिएन । त्यसले आफ्नो मुखबाट गीत गाइरहेको थियो, “विरानो देशको माटोभरि छ नेपाली नाम लेखेको, कहिँ भीरपहराले छेकेको, कहीं पैँतालाले टेकेको …।

(स्रोत : मधुपर्क २०६९ साउन)

This entry was posted in लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *