संस्मरण : कमैया र कवि

~निभा शाह~Nibha Shah

ए! ज्यामीहरु
तिम्रा बच्चाहरु
भोकले मरुन्
या कुपोषणले मरुन्
या त
तिनका आमाहरु
भोकले सुकेर काँटा बनुन्
हेर त,
मैले यति भन्दा भन्दै
भुइँमान्छेहरु
चिसो सिरेटोले भकाभक मरे
ए! ज्यामीहरु
यही त गुलामी हो
यही त दासता हो –कवि शेली

‘सबै प्राणीहरुको उत्पत्ती एउटै जातिबाट भएको हो। यो एउटैै मूल जातिमा निरन्तर तर, विस्तारै विस्तारै परिवर्तन हुँदै गयो। जसकारण प्राणीहरुमा भिन्दा–भिन्दै रुपहरु पैदा हुँदै गए।’

यो मत चिनियाँ जीव वैज्ञानिक त्सो त्सेले बुद्धकालमै भनेका थिए।

यो मत चाल्र्स डार्बिनको मतसँग धेरै हदसम्म मिल्छ। तर, संसारभर त्उयतिबेला जडसुत्रवादी पुरातनपन्थीहरुको सत्ताभित्रको हालिमुहालीलृ गर्दा यो मतले आफूलाई संसारसमक्ष ल्याइपु¥याउन साढे दुई हजार वर्ष कुर्नुप¥यो।

सन् १९९५ मा जब मैले पहिलोपल्ट जवाहरलाल नेहरु लिखित ‘विश्व इतिहास की एक झलक’ खण्डभित्रको ‘डार्बिन र विज्ञानको विजय’ शीर्षक पढ्दै थिएँ, त्यतिबेलै मैले चिनियाँ जीव वैज्ञानिक त्सोन त्सेको नाम पढेँ। त्यतिबेला मलाई आफूप्रति टिठ लागेर आयो। सोचेँ, हामीले पढ्ने पाठ्यक्रमहरु कति हठी र पूर्वाग्रही छन्। सत्तालाई टिकाउने र ढोग्ने सनातनी सँस्कृतिका ठंगुरहरु। हो, ठ्याक्कै त्यस्तै सोचेर मेरो दिमागका नसाहरु तन्किँदै थिए।

ठिक त्यही बेला त्यही पुस्तकभित्र शेलीको कविता ‘अराजकताको नकाव’ पढ्न पुग्छु। हो, म मेरो जीवनमा कविता पढेर पहिलोपल्ट सचेत बहुलाएको पनि यही कविताले हो। शेलीको यो कवितालाई अरु कविताभन्दा कमजोर मानिन्छ। तर, त्यही कविताले मेरो दिमागलाई बेस्सरी हल्लाएको थियो। शेलीको कविताको भुइँचालोलाई मेरो हृदयले अहिले पनि कम्पनसहित छुवाइको महसुस गर्छ। हेर त, सन् १९९५ देखि २०१७ सम्म कति वर्ष बिते?

स्वतन्त्रताको नकाव :

स्वतन्त्रता के हो?
के चिज हो गुलामी
यसको व्याख्या
तिमीले जति कसैले गर्न सक्दैन
किनकि, यस नामको संगीत नै
तिम्रो ओठको गुन्जन हो
यही त दासता हो।

तिमी मात्र यति ज्याला लेउ
जुन ज्यालाले
तिम्रो तनमा प्राण अड्की राखोस्
र, तिमी बन बँधुवा मजदुर
ए! ज्यामीहरु
रगत–पसिना चुस्ने अत्याचारीहरुका हित गर्ने बँधुवा बन
हल, तरवार, फाउडा चलाउ
र, जुट
मालिकको रक्षामा
तिनको पोषणमा
बिना सोच
यो तिम्रो इच्छा हो कि होइन?
यही त दासता हो
यही त गुलामी हो
ए! ज्यामीहरु
तिम्रा बच्चाहरु
भोकले मरुन्
ए! ज्यामीहरु
तिम्रा बच्चाहरु
भोकले मरुन्
या कुपोषणले मरुन्
या त
तिनका आमाहरु
भोकले सुकेर काँटा बनुन्
हेर त
मैले यति भन्दा भन्दै
भुइँमान्छेहरु
चिसो सिरेटाले भकाभक मरे
ए! ज्यामीहरु
यही त गुलामी हो
यही त दासता हो

ए! ज्यामीहरु
जुन भोजनका लागि
तिमी वञ्चित छौ
त्योभन्दा मिठो भोजन
साहुको मोटो कुकुरले खाएर
मस्त सुतिरहन्छ
यही त गुलामी हो
ए! ज्यामीहरु
तिम्रो आत्मा दास बनेको छ
बिना आफ्नो सोच र समय
अरुले जस्तो बनाउँछ, तिमी त्यस्तै बन्छौ
र, जब तिमी अन्तमा अति भएर
यो संरचनाको विरोध गर्छौ
अत्याचारीहरुमा नोकरहरुले तिमीलाई र तिम्रा जोईहरुलाई
घोडाले खुरमुनि कुल्चिएर
घाँसमाथि रगताम्य पार्छन्
यही त गुलामी हो
यही त दासता हो…

अब प्रश्न उठ्छ, यो कविताले मलाई यतिविघ्न किन छोयो? जबकि, यो कविता लेखिएको लगभग दुई सय वर्ष हुन आँट्यो। यति पुरानो कविता मेरो प्रियतम कविता बन्न कसरी पुग्यो, यसको पृष्ठभूमितिर जाउँ। आजभन्दा तीस वर्षअघिको घटनाक्रमलाई म यहाँ उद्धृत गर्दैछु।

छोटका थारु। कैलाली जिल्ला धनसिंहपुर गाविसमा कुनै जमिनदारको घरमा ‘कमैया’ (बँधुवा मजदुर– जसलाई माघ महिनामा किनबेच गरिन्थ्यो।) बसेका थिए। यिनै छोटका थारुले कमैयाले पाउनुपर्ने धान (एक तिहाइमा एक भाग) त्यही धान पनि पाएनन्। आफ्नो भागको धान नपाएपछि छोटका गाउँका ठूलाबडाका घर घरमा न्याय माग्दै पुगे।

‘म र मेरी बुक्रिनी (श्रीमती) मिलेर दिनभर धान बत्ताएर साँझपख खलियानमा राखेका थियौं। रातारात त्यो धान जमिनदारले आफ्नो भकारीमा लगेर खन्याए। अब हामीले के खानु? बालबच्चा भोकले मर्ने भए हजुर,’ उनको यो गुहार कसैले सुनेन।

आफ्नो गुहार कसैले नसुनेपछि उनले रुँदै भने, ‘कबुतो हमार बात सुनल जाइ। हमरे फे मनैया हुइटी (कहिलेकाहीँ त हाम्रो कुरा पनि सुन्ने गर, हामी पनि त मान्छे हौं।)

यसपछि जमिनदारी सभा बस्यो। तर, छोटकाको पक्षमा होइन। जमिनदारहरुले पुलिस बोलाएर रगताम्य हुने गरी कुट्न लगाए।

जब मैले २२ वर्षअघि दिल्लीको माटोमा कवि शेलीको ‘अराजकताको नकाव’ पढेँ, कैलालीका छोट्का कमैयाको भोको रगताम्य शरीर, उसको बालबच्चाको कुपोष्ति अनुहार, छोटकी थरुनीको सुकेरा काँटा भएको ज्यान मेरा आँखामा झल्झल्ती आए। यी सबै दृश्य सिनेमाको रिलझैं फनन घुम्दै मेरो दिमागमा आइपुगे। र, मैले आफैंलाई सचेत बहुलाई भएको घोषणा गरेँ। यदि, कविले उत्पीडितको हृदयको आवाज बोल्छ भने त्यो कवि र कविता यो धर्तीमा मानव जाति ज्युँदो रहेसम्म रहन्छ।

उत्पीडितको आवाज अराजकताको नकावसँगै रंगिएको म मेरो बाल्यकालको बिर्सनै नसक्ने सम्झनातिर जान्छु। म त्यस्तै ६/७ वर्षको हुँदो हुँ। म त्यतिबेला कैलालीमा बस्थेँ। एकाबिहानै यसो खेततिर हेर्छु। थुप्रै मान्छे खेत जोत्दै थिए। मैले एकजना आफन्तलाई भनेँ, ‘हेर्नु त सबै मान्छेहरु खेत जोतिरहेका छन्।’

‘यो बहुलाई कि क्या हो?’, ती आफन्तले भने, ‘ती कहाँ मान्छे हुन् र? ती त थारु हुन्। कमैया हुन्।’

त्यसैले त जबदेखि मैले वर्ग संघर्ष बुझेँ, त्यस दिनदेखि मैेले घोषणा गरेँ, ‘मान्छेले मान्छेलाई मान्छे नदेख्ने हाम्रा संस्कार र सँस्कृतिहरु फोहरका डंगुर हुन्।’

शेलीको यो कविता थारुहरुको महान उत्सव ‘माघी’ (स्वतन्त्रता दिवस) को उपलक्ष्यमा ती सबै कमैयाहरुमा समर्पित छ, जो दासताको विरुद्ध लडे र लडिरहेका छन्। ती छोट्का र छोट्की सबै कमैयामा समर्पित छ हो यो कविता।

‘ना होई गोचा
ना होई गोचाली
ना होई मनैया
एक दिन मैं बड्की हे कहनु
हेरो त बड्की
कैसी न उज्जर–उज्जर फूला फूल्लल बा
उपर–उपर हिमालयमे
बडकी महल
तुहिन बिलगाइट वह उजर फूला
मोर भुकाइल पेट
उहिन उजर चावर देखत।’

(गोचा–महिला साथी, गोचाली–पुरुष साथी, छोटका–कान्छो, मनैया–मान्छे, ना होइ–होइन त, बिलगाइट–देखिनु, बड्की–जेठी, उजर–सेतो, चावर–चामल, फूला–फूल, तुहिन–तिमीलाई, मैहिन–मलाई, कैसिन–कस्तो)

(स्रोत : सेतोपाटी डट कम)

This entry was posted in संस्मरण and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *