लघुकथा : परिवर्तन

~एकदेव अधिकारी~Ek Dev Adhikari

सँधै झैँ आज पनि ऊ घरबाट निस्क्यो।

घरबाट बाहिर निस्कनु अघि केही बेर अन्कनाए पनि अन्त्यमा दृढ निश्चय गरेर ऊ निस्किएको थियो। बाटोमा हिँड्नेहरू उसलाई हेर्दै खासखुस गर्न थाले।

ऊ एक परिवर्तनको संवाहक बनेको थियो। आफ्ना आदर्श आफ्ना परिवार भित्र, इष्ट-कुटुम्ब भित्र, मित्रवर्गहरू माथि थोपर्ने गर्थ्यो। बाक्चतूर थियो आफ्ना कुराहरू मनाउन सिपालु थियो। उसको आफ्नो आदर्श अहिले पुरै परिवार, इष्ट-कुटुम्ब, मित्रगणहरूको पनि आदर्श बनेको थियो।

उसको आदर्श नमान्नेहरूलाई रत्तिभर गन्दैनथ्यो। उसको परिवार छरछिमेकमा उसको आदर्श विपरित कसैलाई केही गर्ने छुट थिएन कसैले गरेमा ऊ अनेक हथकण्डा अपनाएर त्यस्ता कार्यहरू निषेध गराउँथ्यो। कसैले अटेर गरेमा उसको उठीबास लाग्थ्यो।

उसको आदर्श? अँ उसको आदर्श थियो सामाजिक, व्यवहारिक, तथा सांस्कृतिक परिवर्तन। धर्म संस्कृतिलाई अन्धविश्वास ठान्थ्यो। मूर्ति पूजा बिरोधि थियो। ऊ भन्ने गर्थ्यो मानिसको असल व्यवहार नै उसको संस्कृति हो। मूर्ति पूजा भन्दा दीन दुःखीको सेवा गर्नु ठूलो धर्म हो। उसका कुरा जायज हुन्थे र त मानिसहरू उसलाई आफ्नो आदर्श मान्दथे र उसको आदर्श बिस्तारै दिन दुईगुणा रात चौगुणा फैलिँदै थियो र मानिसहरू उसको जय-जयकार गर्थे। यस्तो लाग्थ्यो कि मानिसहरू अब मूर्तीको सट्टा उसको पूजा गर्नेछन्। मानिसहरू उसका अघि पछि लाग्थे। अनि ऊ प्रफुल्ल मुद्रामा सबै सामु आफ्ना विचारहरू राख्ने गर्थ्यो, वाहवाही खाने गर्थ्यो तालिको गड्गढाहटले स्वागत गरिन्थ्यो।

बिस्तारै उसलाई गर्व चढ्न थाल्यो। उसले ती सबै मानिसहरूलाई भुसुना सरह मान्न थाल्यो र आफुखुसी मन मौजी भई मत्त भएर हिँड्न थाल्यो।

हिजो परिवर्तनलाई आत्मसात गर्न नसकेको भनेर आफैँले लत्याएर बोलचाल पनि बन्द गरेको उसको पुरानो छिमेकीलाई अँगालो मारेर हिँड्न थाल्यो। मानिसले सोचे – ऊ आखिर परिवर्तनको संवाहक हो अनि उसमा परिवर्तन आउनु जायज नै होला। सुरू-सुरूमा कता-कति बिरोधका आवाजहरू उठे पनि बिस्तारै शान्त भए।

आज बिहानै घरबाट पूजा-सामग्री लिएर नजिकैको मन्दिर तर्फ मूर्ति पूजाको लागि जाँदै गर्दा मानिसहरू उसलाई हेरेर कानेखुसी गर्न थाले। मन्दिरबाट पूजा पश्चात घर फर्कँदै गर्दा ऊ भन्दै थियो – “हेर्नुहोस् मैले आज मलाई धर्म संस्कृति बिरोधी भन्नेहरूलाई गतिलो झापड दिएर आएको छु।”

सौराहाद्वार, रत्ननगर, चितवन
२०७४ आश्वीन १६

(स्रोत : रचनाकार स्वयम्ले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in लघुकथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *