कथा : मलाई नलागेको रोग

~रजित ओझा~Rajit Ojha

“पहिला वहाँ सँग कुरा गर्छु अनि मात्र तपाईँहरुसँग ,प्लिज एक छिन बाहिर निस्किदिनुस ल “

सेतो कपडा लाएको फुच्चेले म माथी हक जताउँदै भन्यो मैले उ सँग कुरा गर्नै पर्छ जस्तो गरेर ।साइक्याट्रिष्ट भन्छन् क्यार त्यो फुच्चेलाई ,आफ्नो दिमाग पाक्न भ्याएको छैन अरुको दिमाग जाँचेको ढोङ्ग गर्ने ढोङ्गि हो त्यो ! मेरो इच्छा के थियो कसैले सोधेनन् ,मानौँ म त्यहाँ उपस्थित भएर पनि अनुपस्थित छु ।शंका लाग्यो के म अद्रिश्य छु ?छैवैको ऐना हेरेँ त्यहाँ म देखिइरहेको थिएँ ,मेरो भुँडि ले त्यो कुर्सि थिचि नै रहेको थियो ,मेरो शर्टमाँ लागेको आलो मसि नसुकेको समेत ऐनाले देखाइरहेको थियो ,थोरै ढुक्क भयो ।

“पहिला परिचय गरौँ है ,म डक्टर अशोक ।”उस्को सौहाद्रता दङ्ग गनायो मलाई ,औपचारिकता सँधै हिलो जस्तै गनाउँछ मलाई ।के सौहाद्र छ र उ?मात्र बेच्छ सौहाद्रता भएको ढोङ्ग हरेक सँग ! नभए के म सँग मुस्कुराउनु जरुरि छ र उस्ले ?चिनजान नै नभएको ठाउँमा मुस्कान को के अर्थ ?

“म राहुल ,राहुल शर्मा “मैले शिष्टता निभाएँ ।

“तँपाईको नाम मैले प्रेस्क्रिप्सन मैँ पढीसकेको थिएँ ।”उ हास्यो एउटा आडम्बरि हाँसो ।उस्ले गरेको परिचय मात्र उ डक्टर हो भनेर चिनाउनलाई रहेछ ।

“तपाईँ बिमारि हो जस्तो लाग्छ आफुलाई ?”

“मैले नै भनिदिए तँपाईले पत्ता लाउने चाहिँ के नि ?”यस्पाली मैले पनि ठाडो जवाफ फर्काएँ।

“तै पनि ।”उ लाचार भयो अनि म बिजयी ,उसको खोक्रो आडम्बरको खोल त्यहिँ टेबल छैवैमा पछारिए झैँ लाग्यो ।अनि लाग्यो कोहि मलाई अबिर लिएर त्यो ढोका बाहिर लगाउनलाई तैयार बसिरहेछन् म मुन्टो थोरै मात्र निहुर्याउने छु अनि धेरै मालाहरु मेरो गला मा हुनेछन् ।अघिको ऐनामाँ आफ्नो मुख हेरेँ म गजक्क थिएँ ।

“लाग्दैन ,धेरै पहिले तँपाइ जस्तै फुच्चे ले मलाई डायबिटिज छ भनेको थियो ।”बिजयध्वज गाडेपछि म सामान्य भएँ ।

“अनि मानसिक रुपमाँ नि?”

मैले उस्का आँखाहरु हेरेँ चश्मा भीत्रका साना साना आँखा ,मेरा शब्द शब्द माँ चम्किन्थे ।बल्ल मैले उपस्थिति जनाएछु झैँ लाग्यो ।

“तँपाईले मलाई पागल भन्न खोज्नु भएको ?”म जङ्गिएँ ।

“मैले मात्र तँपाईको राय जान्न खोजेको ! अरुले त्यस्तो भन्छन् तर मलाई त्यस्तो लाग्दैन । “

उ पछि हट्यो ,धेरै अघि देखी उ घुम्ने कुर्सिमाँ अघिपछि अघिपछि गर्दै थियो लाग्थ्यो उ र कुर्सि एकै भएर पनि एक आपसमाँ प्रतिस्पर्धा गर्दैछन् ।तल घुम्ने चक्का हरु निरस स्वरले कुईँकुईँ गर्दै दुवैको युद्द मा सरिक भइरहेछन् ।

म थोरै मुस्कुराएँ ।

“म मौका दिनेछु तँपाइलाई मलाई चिन्ने ।एउटा मलाई घटेको घटना सुनाउँछु ,जस्लाई कसैले पत्याएनन् मेरो पागलपनको संग्या दिए र त्यो घटना को विवरण मैले जो कोहिलाई पनि सुनाएँ उस्ले मलाई पागलनै भन्यो ।तै पनि म तँपाईलाई सुनाउँछु ,सुन्नुहुन्छ?”

उसले गहिरएर स्विकारोक्ति मात्र टाउको हल्लाएर गर्यो ।

“त्यो रात म फेरि नयाँ पात्र बिउँझाउने सोचमाँ कलम र कागत लिएर टेबल ल्याम्प अघि बसेँ ।”

“तँपाई लेख्नु पनि हुन्छ?”

“म लेख्दिन ,म जिउँछु म मसि बनेर तप तप चुहिएर क्यान्भास पोत्छु ।लेख्नै मात्र त जस्ले पनि लेख्छन् ।”

“सरि ! भन्नुहोस न अड्किनु किन भयो ?”

“मेरो ढोका ढकढकियो त्यति नै खेर !”

“को थियो ?”

“त्यतिखेर सम्म त मैले नै चिनेको थिइन तँपाईलाई म कसरि चिनाउँ ?तँपाईँ मेरो क्रम भङ्ग नगरिदिनुस् ।”

“हुन्छ ।”उस्ले ग्यानि बच्चाले झैँ मैले भनेको मान्ने प्रतिबद्दता जनायो ।

“मेरो ढोका अघिको आक्रिति केटीको हो भन्ने सम्म पत्ता लाएँ मैले त्यतिखेर ,त्यो रात गजबको झरि परिरहेको थियो ,निस्पट्टतामा उ खडा थिइ अग्यात उ ! हावा उस्को कपाल लाई यताबाट उता उता बाट यता दिशा दिइरहेका थिए जस्ले गर्दा उस्को अनुहार देखीएको थिएन ।”

“त्यसै त रातको अँध्यारो कसरि देख्नु हुन्थ्यो त?”डक्टरले मेरो गल्ति सपार्न खोज्यो ,यो पेशा नै त्यस्तै हो सबै आफै जान्ने हुँ भन्ने सोच्छन् ।

“झरि मा परेको चट्याङ्ग को निमेशमाँ मैले उस्लाई खुट्याउन खोजेको तर सकिन ।तर उ किन किन परिचित झै लाग्यो ।”

“अनि?”डक्टरमाँ कौतुहलता देखियो ।

“भित्र बोलाउनुहुन्न ? उस्ले मलाई सोधी ।”म एक छिन चुप भएँ

“अनि तँपाईले के भन्नुभयो?”

“के भन्ने ?मैले तँपाईलाई चिन्न सकिन भने नि !”

“मेरो सोचको बारेमाँ ,मेरो बनावटको बारेमाँ मैले गुजारेका रातका बारेमाँ लेख्ने तँपाईले मलाईनै चिन्न सक्नु भएन भन्दै उ म तिर खिस्सि गर्दै हाँसि ।”म निराश भएँ ।

डक्टर कुर्सिबाट उठ्यो अनियन्त्रित भए झै अनि भित्ता नियाल्दै भन्यो

“त्यतिखेर त चिन्नु भयो होला पक्कै पनि ।”

“चिनेँ उ त मेरो सन्तुष्टी रैछ ,मेरा कथाहरुकी आत्मा रहिछ ,जस्लाई मैले जन्म दिएँ भनेर गर्व गर्थेँ उ त्यो रहिछ ,मेरै कथाकि पात्र रहिछ ,रचना यहि नाममाँ मैले उस्को कथा जन्माएको थिएँ उ असन्तुष्ट भएकी रहिछ जुन ढङ्गले मैले उस्लाई प्रस्तुत गरेँ त्यसमाँ ।”

“मतलब तँपाइले आफुले लेखेको पात्र भेट्टाउनुभयो ।”डक्टरले थचक्क उहि पुरानो कुर्सिमाँ बस्दै अनिश्चित भावमा सोध्यो ।

“हो मैले आफैले लेखेको पात्र त्यो रात साछ्यात्कार गरेँ तँपाई पत्याउनुहोस् नपत्याउनुहोस् मैले आफैले लेखेको पात्र त्यो रात साछ्यात्कार गरेँ”मैले द्रिढ भएर जवाफ फर्काएँ ।

“अनि ?”

डक्टर अझै शायद पत्याउने नपत्याउने को दोसाँधमा थियो म कल्पनामा रम्ने लेखकलाई त पहिलो चोटी कल्पनाकि रचना बिपनामा आएर मलाई हकार्दा त्यो सपना हो कि बिपना सोच्न बिवश भएको थिएँ त्यो भौतिकताको कुवामा डुबेको भ्यागुतालाई के थाहा कल्पना का ताराहरु कति टिलपिल गरेर चम्कन्छन् भनेर ।

“तिमी दुखि छ्यौ जस्तो छ ।मैले बुझे जस्तै गरेर उसलाई त्यो रात सोधेको थिएँ ।”

म एकछिन चुप भएँ मेरो घाँटी अवरुद्द भए जस्तो भयो ।

“पानी पिउनुहुन्छ?”डक्टरले सान्त्वना जतायो म माथी ।मैले अहँ भन्दै टाउको हल्लाएँ ।

“उसले म तिर एक टक हेरेर फेरि खिस्स हाँसी ,मानौँ उ मात्र मलाई गिज्याउनलाई त्यहाँ आएकी थिई ,मेरो कलमको आत्मा झुटो हो भन्न आएकी थिई ,मैले पोतेका रङ्गहरु अँध्यारा छन् भन्न आएकी थिई ।”

“उसले केहि बोलिन त ?” डक्टर ले फेरि मलाई सोध्यो ।म भने आफ्ना आँशुहरु लुकाउन भित्तातिर फर्किएँ । किन देखाउँ म उसलाई आँशु ?उ भन्दा त बरु भित्ताले बुझ्ला मेरो आँशुको मोल उ त फगत उसले जानेका कुरा हरु म माथी प्रयोग गर्दैछ ,म मात्र प्रयोगशालाको एउटा स्पेसिमेन हुँ उस्को लागि ।मुसा ,भ्यागुतो वा फर्मालिनमा राखिएको अरु कुनै जिव जस्तै ।

“बोली किन बोल्दिनथी ? म सँग बोल्नलाई नै त होला रचना कल्पना बाट बिपनामा आएकी !”

“के भनी त ?”

“तिमीले आफुले आफुलाई कति चिनेका छौ?भनेर सोधी ।”

उसका हरेक प्रश्न प्रश्न फेरि घुम्न थाले जस्तो भयो मलाई त्यो क्लिनिक भरि ,चिनेको छु मैले आँफैलाई नचिन्ने प्रश्न आउँछ भनेर मेरो बोलिमा द्रिढता नभएपनि मैले जोरले भनेर द्रिढता ल्याउने प्रयास गरेको थिएँ त्यो रात!

“गलत सरासर गलत !तिमीले न आफुलाई चिन्यौ न मलाई चिन्यौ मात्र नाटक गर्यौ ,के सोच्छौ तिमी ?तिमीले बनाएकी पुतलि हुँ म ?अनि तिम्रो कलम मलाई नचाउने धागो ? उ आवेशमाँ आई ।”

डक्टरको नजरमाँ पनि चिन्ता का रेखा हरु कोरिए ,मानौँ रचना जस्तै हालको म जस्तै उ पनि पराजित छ हरेक बिजयी एक चोटी पराजित हुनै पर्छ मैले डक्टर माथी बिजयको ध्वज गाडेँ होला ,रचनाले म माथी ,र उसमाथी अरु कसैले ।संसार बिजय पराजयको ब्रित्त हो ,किनकी प्रिथ्वी गोलो छ ।

“मैले तिमी माथी के अन्याय गरेँ मैले यहि सोधेको थिएँ ।”यस्पाली भने मैले डक्टर को आँखा तिर हेरेँ ,उ मेरो पिडामा डुब्दै थियो ।

“तिमी को हौ म माथी न्याय अन्याय गर्ने ।तिमीले वास्तविक म लाई लुकाएर एउटा काल्पनिक म बनाइदिएका छौ ।तिमी त मात्र अफवा को ब्यापारि हौ ,मेरा झुट हरु बन्दगि राखेर खान पल्केका दलाल हौ। उ मलाई आरोप लाउँदै गई ।”

“किन के लेख्नु भएको थियो र रचना को बारेमा ?”

डक्टर थोरै भित्र छिर्न खोज्यो ।

“रचना मेरी नायिका थिई ,जो कहिल्यै नायककी भइन उस्को महत्वाकांछ्याले ,त्यो रात पनि त मैले उसमा मात्र अभिमान देखेँ ।”

“हो ,उ अभिमानी नै हो ।”डक्टरले सहमति जनायो ।

“के म ओछ्यान माँ लोग्ने को तन्ना नहुनु मेरो सतित्वको अपहेलना हुन्छ ,तिमी सबै लोग्नेमान्छे जस्तै सङ्किर्ण छौ ,उसका आरोपहरु बड्दै गए ,डङ्गुर भए ,म उसका आरोपहरुमा पुरिएँ झै लाग्यो म निसासिए झै भयो ।चुप लाग ,मैले तिमीलाई बेचेको छुइन भगवान को लागि चुप लाग ,मैले गिडगिडाएँ ।”

डक्टरको एकाग्रता हेर्न लायक थियो ,म चुप लागेर एकै छिन उसको एकाग्रता भङ्ग गर्ने प्रयास गरेँ ।आफ्नो पसिना पुछेँ रुमाल निकालेर ।

“भन्नुहोस न ! अनि के भयो ?”

“तिमी काँतर हौ ,सत्यको सामना गर्न नसक्ने काँतर ।उसको अर्को आरोप थियो मलाई ।”

“म काँतर होइन भनेर मैले उसको अगाडि प्रमाणित गर्ने कुनै प्रमाण फेला पार्न सकिन ।”

म थोरै सेलाएँ ,अनि फेरि शुरु भएँ ।

“बिस्तारै मलाई उ भित्रको कुरुपताको ग्यान भयो ,उ साचै अभिमानी हो ,नत्र विश्व मा उस्को पहिचान के त म नभए ,दुस्साहसि हो नत्र कसरि साहस गरि किताब बाट ब्युतिएर यत्रो हुँकार गर्ने ,मैले उसलाई रोक्नै पर्छ नत्र मेरो पराजयको खबर भोलि टोल टोलमाँ फैलिनेछ ।

“के गर्नु भयो त ?”

“मैले रचनाको हत्या गरेँ ,खाट छेउमाँ फलामको डण्डि थियो मैले जोरले उसको टाउको मा हाने ,अनि मात्र उ चुप भई !”

डक्टर अचानक कुर्सिबाट जुरुक्क उठ्यो ।शायद यो उस्ले सोचेको अन्त्य थिएन !

चुपचाप नै रह्यौ हामी दुई धेरै बेर सम्म मानौँ समय करेन्ट दौडाइरहेछ र हामी त्यसबाट बच्न प्रयत्नरत छौँ ।

“तँपाईलाई पछुतो भएन ?” डक्टरले धेरै बेरको मौनता चिरेर मलाई प्रश्न राख्यो ।

“के को पछुतो मैले त मात्र उस्को अभिमान मार्ने प्रयास गरेको थिएँ ,उ आफैँ त जिवित पनि त्यति नै सुन्दर देखीन्थी र म्रित पनि ! मैले अझै उसको शरिर मेरै कोठामा राखेको छु ।उसको सुन्दरता त निमेश को लागि पनि परिवर्तन भएको छैन ।”

म मुस्काएँ उसको म्रित शरिरको शालिनता सम्झेर ,चुपचाप ढलेकी उ सम्झेर ,मान्छे आफैँ कहिल्यै कुरुप हुँदैन रहेछ ।कुरुपता त पछि थपिने गुण हो ।अझ भनौँ कुरुपता भित्र हुन्छ मान्छेहरु आवरण बेर्दछन् ,मान्छे वास्तवमा बन्दाकोपि हो फरक यति मात्र छ जति जति उ नाङ्गिदै जान्छ त्यति त्यति उ कुरुप हुँदै जान्छ ।

“तै पनि हत्या त हत्या हो ,समाजको नजरमाँ कानुनको नजरमाँ !”डक्टर आवेशमा करायो ।

“म कहिल्यै रचनालाई अरुको नजरबाट हेर्न चाहन्न ।”यसपालि पनि म अडिग थिएँ ।

“यो कुरा कस कसलाई थाहा छ ?”

“धेरै लाई थाहा छ ,तर जस जसले रचनालाई हेरे मलाई पागलको संग्या दिए ।”

“मलाई पनि शालिन रचना देखाउनु हुन्छ त ?”

उसले मलाई अनुरोध गरको वा ब्यंग्य गरेको मैले खुट्याउन सकिन !

“किन देखाउने मैले तपाईँलाई !रचना बजारमा प्रदर्शनिमा राखेकी गुडिया हो र?उ मेरी रचना हो जिवित म्रित दुवै स्वरुपमाँ !”

“मलाई हेर्न मन छ ,तँपाईको ब्याख्याकि रचना ,अभीमानी रचना अनि शालिन रचना ,के फरक छ मात्र मलाई त्यति हेर्न मन छ ।”

मैले मनमनै रचनालाई भनेँ “तिमी यसलाई अहं ठान्छ्यौ तर कोहि तिम्रो लागि यति ब्याकुल छ त्यो पनि मेरो कारणले हेर तिमी म बाहेक केहि होइनौ ,केहि पनि होइनौ !!!!”

“के सोच्न थाल्नु भयो ?” डक्टरले मेरो क्रमभङ्ग गर्यो ।

“केहि होइन !मात्र तपाईँको गम्भिरता दाँजेको अरु सँग , तँपाई साँचै नै गम्भिर हुनुहुन्छ वा फगत मलाई पागल भन्ने मान्छेको नाममा एउटा अरु नाम थप्ने होडमाँ हुनुहुन्छ त्यत्ति मात्र सोचेको !”

“जाने होइन त ?”

डक्टर जुरुक्क उठ्यो ।म पनि उस्को पछि पछि क्लिनिक बाट बाहिर निस्केँ ।

धेरै दिन पछि आकाश देखेको थिएँ तै पनि आकाश निलै थियो ,हावा आफ्नै गतिमा दौडि नै रहेको थियो ,सबै कुरा सामान्य नै थिए ,त्यहि एउटा घटनाले मलाई असामान्य बनायो ,जुन कुरा मैले देखे अरुले देखेनन् भने म कसरि पागल भएँ ??अन्धाको शहरमा द्रिष्टि पागल हुँदो रहेछ मैले निष्कर्श निकालेँ ।

मलाई मेरो ढोकाको आवाज देखी डर लाग्छ ,मैले त्यहि भएर चाबि डक्टरलाई दिएँ ,महिनौँ देखी उकुसमुकुस भएको अँध्यारो पनि आज खुला आकाशमाँ आए झैँ लाग्यो ।

“खोइ त रचना ?तँपाईकी रचना देखाउनु हुन्न मलाई ?”

“उ त्यो टेबलमाँ हेर्नुहोस त !”

उसले टेबल माथीको बत्ति बाल्यो ,धेरै बेर घोरियो ,रगतै रगत बिचकी रचनालाई पनि हेर्यो अनि आश्चर्य मिस्रित भावमाँ मलाई सोध्यो

“खोइ रचना ??रचना खोई ,यो त कलम हो तँपाईको ,भाँच्चिएको कलम र पोखीएको मसि ,मात्र त्यति हो ?रचना खोइ त?”

“तँपाई पनि अन्धाको भिँडमा थपिनु भयो यस्तो चिसो रगतलाई मसि भन्नु हुन्छ ???रचनालाई भाच्चीएको कलम भन्नुहुन्छ !साँच्चै अन्धाको शहरमाँ द्रिष्टि पागल हुन्छ ।”म आवेशमा कराएँ , उस्को कलर समात्न झम्टिएँ । पछि का पछौटेले डक्टरबाट बिस्तारै बिस्तारै गर्दै मलाई टाढा तानेँ ।

समाप्त ।।।।।

03-22-08 6:35 AM

(स्रोत : साझा डट कम)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *