अनूदित कविता : मैथुन

~ओक्टाभियो पाज~
अनु : सुमन पोखरेल

मेरा आँखा
नग्न फेला पार्दछन्‌ तिमीलाई
र छोपिदिन्छन्
हेराइको न्यानो वर्षाले।

ओछ्यानबाट तिमी उठ्दै गर्दा
तिम्रो हाँसो,
र अझ बढी, तिम्रो शरीर,
र जूनको तिम्रो चोलीसँगै
रातका तिम्रा तिघ्राभन्दा सेता भएर
उघ्रिन्छ स्वरहरूको एउटा खोर
बिहानतिर।

तेर्सिएको उज्यालो,
नागबेली गुन्गुनाहट
निमेषभरमा स्थापित
चर्खेXXXको
सुकिलो लयमा बेरिन्छ।

मेरो दिन
तिम्रो रातमा पुगेर फुट्दछ।
तिम्रो रुवाइ
धुजाधुजा भएर उड्दछ।
रातले तिम्रो शरीरलाई शरीरभित्रै धोएर फिँजाइदिन्छ,
र फेरि एकपल्ट बाँधिदिन्छ।

उभिरहेको क्षण
घुमाउँछ चम्किरहेका आफ्ना पाङ्ग्रा।
कर्दहरूको बगैँचा
छलहरूको उत्सव मनाउँछ।

तिनै प्रतिध्वनित स्वरहरूका बीचबाट
पस्दछ्यौ तिमी कोमलतासँग
मेरा पाखुराहरूको नदीमा।

अँध्यारामा तिमी
पौडिन्छ्यौ
ज्वरोकोभन्दा चाँडो गतिमा।
सुम्सुम्याहटका बीच
तिम्रो छाया छर्लङ्ग देखिन्छ,
तिम्रो शरीर बिलाउँछ अँध्यारामा कतै।

हिच्किचाएझैँ
कसरी, कहिले, किनभने, र
अँऽ, आँऽऽ, ऊँऽऽऽ का
पार नलाग्ने किनारतिर उफ्रन खोज्छ्यौ तिमी।

तिम्रो हाँसोले
जलाउँछ तिम्रा लुगालाई,
र भिजाउँछ
मेरो निधार, मेरा आँखा र मेरा कामनालाई।
तिम्रो शरीरले जलाइदिन्छ तिम्रो छायालाई;
डरको च्यापमा पिङ खेल्न थाल्छ्यौ तिमी।
न्वारानदेखिको तिम्रो त्रास
ढुङ्गेभीरमा मैथुन गर्दै
हेर्दछ मलाई, तिम्रा विस्फारित आँखाबाट।

पहिलेभन्दा उज्यालो हुन्छ तिम्रो शरीर
पहिलेभन्दा अँध्यारो देखिन्छ तिम्रो छाया
हाँस्दछ्यौ तिमी, मरुन्जेलको हाँसो।

ताछिएको घामको कलेजी जिब्रो
तिम्रा अनिँदा बैँसको साम्राज्य चाट्ने जिब्रो
नबाँधिएको केश
पोताहरूले बोलिएका जिब्राहरूको जिब्रो।
तिम्रो पिठ्ठ्यूँमा खुस्किएको
तिम्रा स्तनमा बाँधिएको।

जोसिलो अक्षरमा तिमी लेख्ने लेखाइले
तिमीलाई नग्नता ओढाइदिने लेखाइले
तिमीलाई रहस्यले बेरिदिने लेखाइले
र त्यो लेखाइले, जसभित्र म मुर्दाझैँ गाडिएको हुन्छु;
एउटा छापो लगाएर
छोडिदिन्छ
तिमीमाथिको स्वामित्वलाई।

खुलेका केशसँगै
अनुपम रात तिम्रो शरीरभरि चाकाचुली खेल्छ।
सङ्कोचको दानाभरि पोखिएको
तातो मदिराको अन्ती
सर्पहरूको गुजुल्टो
अङ्गुरको झुप्पो
जूनको चिस्सिएको मनले कठ्याङ्ग्रिएको
हातहरूको वर्षाले
नग्न, मौन बादललाई गुहार्दै
औँलाहरूको बतास चलाइदिन्छ,
तिम्रो शरीरभरि, मेरो शरीरभरि,
तिम्रो शरीरभरि।

खुलेका केश
अस्थिवृक्षका पातहरू,
घामबाट रात पिउने
जरा नदेखिने वृक्षका पातहरू,
मांसपिण्डवृक्ष र मृत्युवृक्षका पातहरू।

गए राति
तिम्रो ओछ्यानमा
हामी तीन थियौँ:
जून, तिमी र म।

मैले उघारिदिएँ
तिम्रा रातका ओठहरू

निस्कनै नपाई, रित्तियो ओस।
उन्मुक्त पानीको हतारझैँ
प्रतिध्वनित भयो उज्यालो।

निदाउनु; तिमीमा निदाउनकै लागि निदाउनु,
अझ झन्
कालो, गोरो, कालो गोरो
तिम्रो स्वबीच मेरा आँखा उघार्नका लागि ब्यूँझनु
र अनिँदो घाम हुनुले
झिल्का उठाउँछ तिम्रो स्मरणमा।
(र तिम्रो स्मृतिलाई मेरो स्मरण गराउँछ)

फेरि आकाशसँगै उठ्छ प्रेमसुधा
(साल्भिया तिम्रो नाममै आगाको ज्वाला छ)
जुर्मुराउँदै, थर्थराउँदै।
(उष्ण हिउँको वर्षा)

त्यहीँ छ, मेरो जिब्रो
(तिम्रो गुलाफ
जल्दछ हिँउमा)

अब भने
(तिम्रो यौनलाई थुनिदिएँ मैले)
बिहान भैछाड्यो
तमाम जोखिम बढारेर।

(मूल स्पेनिसबाट इलियट विनबर्गरले गरेको अङ्ग्रेजी अनुवादबाट सुमन पोखरेलद्वारा नेपालीमा अनुदित)

(स्रोत : सेतोपाटी डट कम)

This entry was posted in अनूदित कविता and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *