यात्रा संस्मरण : कस्तो लाग्यो कसरा ?

~निर्मोही व्यास~Nirmohi Vyas

दिउँसो ठीक १२ बजेको साइतमा रामपुर कृषि क्याम्पसको परिसरबाट भटटटट कसरातिर कुद्यो शारदाजीको ‘बजाज एम ८०’ नाउँको वायुपङ्खी घोडा अलकत्रे चिल्लो सडकमा वैशाखे घामको झाँको झार्दै र मेरो मन–मुटुभरि वासन्ती मादकता भर्दै । ‘साइत’ किन भनेको भने यो अवसर सजिलै र तात्तातै जुरेको नभएर लामो समयदेखिको व्यग्र प्रतीक्षा र प्रयासपछि बल्ल हात लागेको थियो । यो मिति थियो २०५५ साल वैशाख ४ गते शुक्रबार ।

वैशाख १ गते मङ्गलबारका दिन नववर्षको उपलक्ष्यमा त्रिनेत्र प्रतिष्ठान, गैँडाकोटको परिसरमा बरपीपलको बाक्लो छहारीमुनि आयोजित साहित्यिक कार्यक्रममा भेटिएकी हँसिली, फरासिली र चौपट्टै सहयोगी स्वभावकी मेरी साहित्यिक मित्र सुश्री शारदा पौडेलको न्यानो निमन्त्रणामा आजको यस यात्राको अवसर जुरेको हो मलाई । कसरा हेर्ने मेरो रहर २०४८ सालमा ठोरी पुगेको बेलादेखिकै हो, तर त्यस ताका त त्यो सम्भव भएनभएन, त्यसको छ वर्षपछिसम्म पनि सम्भव भएन । आजभन्दा ठीक १३–१४ दिनअघि अर्थात् २०५४ सालको चैत २२÷२३ गते रामनवमीको अवसरमा कसरामा विक्रमबाबाको स्थानमा लाग्ने वार्षिक मेलाको मौका पारेर मलाई आफ्नो मोटरसाइकलमा चढाई त्यहाँ घुमाउन लैजान खोज्नुभएको थियो हिक्मत थापाभाइले । तर, मलाई त्यस दिन फुर्सत नभएकोले हिक्मतभाइसितको कसरायात्राको त्यो सुनौलो मौकालाई मैले गुमाउनुपरेको थियो ।

हिक्मतजी त्यसताका टाँडीदेखि केही उत्तरतर्पm पिठुवा गाउँमा रहेको ‘यमयम चाउचाउ’ को कारखानामा खाद्यप्रविधिज्ञ (फुड टेक्नोलजिस्ट) र प्रबन्धक समेत हुनुहुन्थ्यो । म चाहिँ भरतपुरको सप्तगण्डकी क्याम्पस केन्द्रमा त्रि.वि.द्वारा सञ्चालित प्रमाणपत्र तह र स्नातक तहको वार्षिक परीक्षाको पर्यवेक्षणको लागि एकमहिने काजमा खटिएर कार्यरत संस्था ठाकुरराम बहुमुखी क्याम्पस, वीरगन्जबाट चैतको १९ गते भरतपुर आइपुगेको थिएँ । र, सम्बन्धित क्याम्पस–केन्द्रका केन्द्राध्यक्ष एवं मेरा चिरपरिचित साहित्यकार मित्र हरिहर खनालको स्नेह–सौजन्यबाट ससम्मान उपलब्ध गराइएको भरतपुर–बाइपास रोडमा मालपोत कार्यालयअघिल्तिर अवस्थित आशिष गेस्ट हाउसको दोस्रो तलाको ९ नम्बर कोठामा बस्तै आएको थिएँ ।

मेरो त्यस कोठाले त्यसताका साहित्यकार–मिलनकक्षकै रूप पाएको थियो । परीक्षा परेका–परेका दिन क्याम्पसमा बिहान ७ बजेदेखि १० बजेसम्मको तीनघन्टे ड्युटीपछि अर्को परीक्षाका दिन बिहान ७ बजेसम्मका लागि मलाई पूरै फुर्सतैफुर्सत हुन्थ्यो । त्यसैले टाँडीदेखि गैँडाकोट र अझ देवघाट र बर्दघाटसम्मका मेरा कैयौँ साहित्यकार र प्राध्यापक मित्रहरू मलाई भेट्न त्यहाँ दिनदिनैजसो आइरहनुहुन्थ्यो र बेलुकासम्मै हाम्रो साहित्यचर्चा र कविगोष्ठी चल्ने गथ्र्याे । मेरा ती मित्रहरू हुनुहुन्थ्यो — गोविन्दराज विनोदी, कपिल अज्ञात, निर्मला रेग्मी, हिक्मत थापा, शारदा पौडेल, केदार खनाल, नारायण खनाल, देवीभक्त ढकाल, हरिहर खनाल, सागर शर्मा (शिवदत्त ढकाल), लक्ष्मी श्रेष्ठ, घनश्याम न्यौपाने ‘परिश्रमी’ र विष्णुप्रसाद सापकोटा । त्यस्तै कुनै दिन उहाँहरूमध्ये कसैको हार्दिक निमन्त्रणमा म पनि उहाँहरूको गाउँघर चहार्न पुग्थेँ र उतै रात पनि बिताइदिन्थेँ । मैले त्यस्तो रातै बिताउने घर÷डेरा चाहिँ हुन्थ्यो प्रायः कपिल–निर्मला, विनोदी, देवी ढकाल र हिक्मत थापाको ।

यस सत्रदिने अवधिमा कहिले हिक्मत थापा, गोविन्दराज विनोदी, शारदा पौडेल, केदार खनाल, नारायण खनाल र देवी ढकाललगायतका अनेक स्नेही मित्रहरूको सौजन्यमा पालैपालो उहाँहरूकै मोटरसाइकलमा सबार भएर एक्लौटी पारामा त कहिले संयुक्त रूपमा पनि खूबखूब चहारेको थिएँ मैले पुलकित हुँदै पूर्वी र पश्चिमी चितवनका विभिन्न कुनाकाप्चा र छिचोलेको थिएँ सौराहादेखि बर्दहा र देवघाटदेखि गोलाघाटसम्मको नारायणी वारि–पारिको विस्तृत सेरोफेरोे । मेरो मनको निर्मल आकाश सुनौला सूर्य, रुपौला चन्द्र र झिलमिली नौलाख ताराहरूको संयुक्त प्रकाशले अपूर्व रूपमा झल्मलाइरहेको हुन्थ्यो ती यात्राहरूमा । सपना हो कि बिपना ? छुट्याउनै गाह«ो पथ्र्याे मलाई । र, लाग्थ्यो— कहाँको मान्छे र कुन अवस्थाको मान्छे म आज यति बेला कताकताका मायालु मित्रहरूसित अप्रत्याशित रूपले भेटघाट, चिनजान र आत्मीयता गाँसिएर यीे नयाँ ठाउँहरूमा सहयात्रा गर्दै आइपुगेँे संसारको सारा अस्तित्वलाई र स्वयं आफ्नो अस्तित्वलाई समेत चटक्कै बिर्सँदै । मेरो जीवनमा यस्तो परमानन्दको क्षण फेरि झुल्केला नझुल्केला ! त्यसैले, मेरो सुकुमार हृदय पुकारा गथ्र्याे अविदित, अद्वितीय र सर्वशक्तिमतीसित— हे देवी ! ‘यदि यो बिपना हो भने अहिलेको यो क्षण ट्याप्पै यहीँ रोकियोस् मेरो जीवनभरिका लागि र यो यात्राको कहिल्यै कहीँ अन्त नै नहोस् ।’

छ महिनाअघि मात्र मेरी श्रीमती कल्पनाको देहावसान भएको थियो । म आलो शोकमा चुर्लुम्म डुबेको थिएँ र विधुर जीवनको पीडाले रन्थनिएर भोक–निद्राविहीन भएको थिएँ । एक्लोपनले सुरसा बनेर निल्न खोज्थ्यो मलाई । कतै एक्लै पर्नासाथै रुन थालिहाल्न्थेँ । त्यसैले घरपरिवेश र जागिरको वातावरणको एकरसताबाट केही दिन मुक्त भएर जीवन–ऊर्जा सँगाल्नका लागि नै त्रि.वि.बाट एकमहिने परीक्षा–काज मिलाएर यहाँ आएको थिएँ र यहाँ पनि एक्लै पर्दा रातदिन रोइ नै रहन्थेँ । पहिलेपहिले म आपैmँलाई झर्को लाग्ने हल्लीखल्ली नै अचेल छमहिनायता मेरो निम्ति सञ्जीवनी सिद्ध हुन पुगेको थियो । मेरो व्याकुल हृदय बालकृष्ण समको रणदुल्लभ एकाङ्कीकी मल्लिका देवी भएर पोखिने गर्दथ्यो—

“मलाई शान्ति चाहिन्न चूपचाप मसानको
म बोली सुन्न चाहन्छु झगडा नै भए पनि”

त्यसो हुनाले मित्रहरूसितको मेरो यो दैनिक भेला र घुमफिर मेरो निम्ति अखण्ड ऊर्जा बनिरहेको थियो ।

ज्या, कसरा–यात्राको कुरा गर्न लागेको मान्छे, भरतपुरबसाइको कुरातिर पो अल्मलिएछु । तर, केही छैन त्यो पनि असान्दर्भिक चाहिँ होइन, किनभने त्यही साहित्यिक मित्रमिलन र घुमघामको लामो शृङ्खलाकै एउटा महत्त्वपूर्ण कडीका रूपमा त थियो कसरा राष्ट्रिय निकुञ्जको यो यात्रा पनि । र, यस यात्राले ममा थप ऊर्जा भर्र्दै थियो ।

परीक्षा नपरेकोले बिहान नौबजे खानपिनपछि होटेलबाट निस्केर चौबीसकोठीचोकमा गई रामपुर क्याम्पसमा जान मेघौलीको बस चढेको थिएँ । मेरी आजकी आतिथेय शारदाजी सहायक प्रशासक हुनुहुन्थ्यो त्यहाँ ।

अँ, रामपुर क्याम्पसबाट हामी चार जना निस्केका थियौँ यात्रामा र मोटरसाइकल थिए दुइवटा । एउटामा शारदाजी र म थियौँ भने अर्कोमा थिए महोत्तरी निवासी, मैथिलीभाषी, श्यामल अधबैँसे सत्यनारायण तिवारी र गोरी कल्कलाउँदी चितवने युवति बालकुमारी न्यौपाने । तिवारी र न्यौपाने दुवै जना शारदाजीका सहकर्मी मित्रहरू । अनि, बालकुमारी त अझ शारदाजीकी नाताकी बहिनी पनि । मेरा लागि भने दुवै जना नितान्त अपरिचित । तर, यसो भए तापनि झन्डैझन्डै समान स्वभावका भएकाले चिनजानसँगै हामी आपसमा नून–चिनी–पानी भइहाल्यौँ नि । बालकुमारीजी मेरै थरकी चेली भएकीले पनि मलाई त्यसरी छिटै खुल्न वा घुल्न बढी सहयोग पुगेको थियो ।

रामपुर छाडेपछि हाम्रा वाहनहरू बाटोको अवस्था र चालकको इच्छाअनुसार कहिले समानान्तरमा र कहिले अघि–पछि हुँदै हुइँकिन थाले । रामपुरपछि क्रमशः सूर्यनगर, पार्वतीपुर, जगतपुर र पटिहानी नाउँका गाउँहरू पर्दा रहेछन् त्यस बाटोमा । मलाई रमाइलो लाग्छ ती गाउँहरूको नाउँ सुनेर । अनि त झुत्ती खेल्दै एकपछि एक मेरो सम्झनामा आउन थाल्छन् र फुतुफुतु निस्कन थाल्छन् मुखबाट चितवनका अरूअरू पनि थुप्रै नगर र पुरहरू— ब्रह्मनगर, रत्ननगर, रामनगर, शिवनगर, वैदिकनगर, कैलाशनगर, पारसनगर, गीतानगर, पृथ्वीनगर, चम्पानगर, शारदानगर, दिव्यनगर, ज्योतिनगर, गुञ्जनगर, भरतपुर, कृष्णपुर, माधवपुर, पदमपुर, शरद्पुर, कल्याणपुर, नारायणपुर लक्ष्मीपुर, मङ्गलपुर, रामपुर, बखानपुर, जितपुर, सीतापुर । बाप्m रे…! भो, सम्झेर के साध्य ! चितवनमा नगर र पुरको के कमी ! त्यसो त सिङ्गो नेपाल नै बग्रेल्ती नगरैनगर र पुरैपुरले ढाकिएको छ । तैपनि गणना नै गरिहेर्ने हो भने पुर र नगरहरूको मामिलामा अरू जिल्लाको दाँजोमा फस्ट चाहिँ त चितवन जिल्ला नै पो होला कि ! त्यो सुनेर शारदाजी खितखिताउँदै छल्छलाउनुहुन्छ — “ओहो…! चितवनका कतिका गाउँ–ठाउँको नाउँ फररररै आउँदो रेछ सरलाई त ! यति त हामी चितौनेलाई पनि आउँदैन बाई ।”

बाटो कहिले मूलसडकैसडक त कहिले नहरको डिलैडिल । सूर्यनगर नाघेर पार्वतीपुरतिर अघि बढेपछि मूलसडकभन्दा नहरको डिलमाथिको बाटाको कलेवर आकर्षक लागेर हाम्रा यानहरू अब त्यही नहरको डिलैडिल कुद्न थाले । यता लागेपछि सहयात्रीहरू केही अघि भए र हामी केही पछि प¥यौँ । गुडानका नाउँमा उडान भरिरहेको यानको वायुवेगले गर्दा बेलाबेला बत्तिन खोज्थ्यो जम्माजम्मी ३६ किलो वजनको मेरो जिउ । सीटबाट दाहिनेतिर चिप्लिँदैचिप्लिँदै गएर पछारिन खोज्थ्यो । सम्हालिनै हम्मेहम्मे पथ्र्यो मलाई । जति नै अप्ठ्यारो परेको भए पनि चालकलाई केही नभनी आपैmँ सकीनसकी कसैगरी सन्तुलन मिलाउने सफल–असफल प्रयास गर्दै गएँ म केही बेरसम्म । तर, कठै ! कतिन्जेल ? त्यस क्रममा एक ठाउँमा मेरो शारीरिक सन्तुलन नराम्ररी गडबडियो र नहरको डिलछेउमै गिर्खे बाटोमा भ्यात्तै पछारिन र लछारिन पुगेँ । दाहिनेतिर कोल्टे परेर पछारिए–लछारिएको हुँदा त्यसतर्पmको केही भागमा थोरै दखल प¥यो । घँुडा र कुहिना केही तछारियो । तै, दुर्घटनाको पीडा त्यतिमा मात्रै सीमित रह्यो, जिउको अरू भागलाई भने केही पनि भएन । त्यसका निम्ति आफ्नो नियतिलाई लाखलाख धन्यबाद अर्पे मैले !

हरे शिव ! अब मेरो कसरा–यात्रा गन्तव्यमा पुग्दै नपुगी बीच बाटोमै यत्तिकै टुङ्गियो । साँच्चै, त्यतिमै चित्त बुझाउनुपर्ने भयो मैले । किन ? किनभने मलाई बोकेर आएको स्कुटर त उही वायुवेगमै अघिअघि उडेर मेरो आँखाबाट ओझेल भइहाल्यो नि । पछिल्तिर बसेको एउटा फिस्टे यात्री वाहनबाट बाटोमै कतै झरेर अलपत्र परेको घटनाको त चालकलाई सुइँकोसम्म पनि भएन । आपूm भुइँमा थचारिनासाथ कराएर उहाँलाई जानकारी दिन खोजेको त हो नि मैले । तर, बिचरा उहाँले त्यो सुनेको भए पो त पछाडि फर्केर हेर्नु र रोकिनु ! त्यसको भेउ नै पाउनु भएन ।

अब म रुनु न हाँस्नु भएँ । बलैले उठेर लुगा टक्टक्याई धूलो झारेँ, पसिना पुछेँ र जिउ सुम्सुम्याएँ । शरीरको दुखाइको पीडा त खासै थिएन, तर मनको दुखाइको पीडा भने पर्याप्त थियो । लामो योजना र तयारीपछि बल्लबल्ल हात लागेको र त्यतिबिधि फुर्पुmरिँदै थालिएको यात्रा लक्ष्यमा पुग्नै नपाई अत्तोनपत्तोसित अचानक बिथोलियो । शारदाजी स्कुटर घुइँक्याएर कति टाढा पुगिसक्नुभयो । सूर्यनगरदेखि नै हामीभन्दा अघिअघि हुइँकिएका तिवारीजी र बालकुमारीजी त झन् कुन चाहिँ बाटो लागेर यति बेला कहाँकहाँ पुगिसक्नुभयो होला ! अब उता जानलाई मसित भने अब कुनै उपाय नै नास्ति । त्यसैले जीवन यस्तै रहेछ भनेर मैले चित्त बुझाएँ । मन मारेर भरतपुर फर्कने योजनातिर आफ्नो ध्यानलाई एकोहो¥याएँ । र, आफ्नो असमर्थताका निम्ति प्रिय गन्तव्यसित त्यहीँबाट मनमनै पुकारा गरेँ—‘लौ कसराकी प्रकृति ! लौ विक्रम बाबा ! तिमीहरूलाई अब यहीँबाट कोटिकोटि नमस्कार ! बाँचिरहेँ भने र फेरि कुनै दिन चितवन आउन पाएँ भने त्यति बेला दर्शनका लागि जसरी पनि आउँछु है !, आज अहिलेलाई भने यो फिस्टेको विवशता बुझेर क्षमा गर !
किन्तु, कसरातिर जानलाई जस्तै भरतपुरतिर फर्किहाल्नलाई पनि त मसँग उपाय थिएन । त्यहाँबाट सार्वजनिक सबारीसाधन सुलभ थिएन । त्यसो हुँदा निन्याउरो र एकतमासको अनुहार लिएर अघिल्तिरै हेरिरहेँ । साथी थियो टन्टलापुर घाम र खल्खली पसिना । हेर्दाहेर्दै मेरा आँखाले एउटा स्कुटर देखे आउँदै गरेको । मनमनै सोचेँ — अब यसका चालक पुरुष वा महिला जो भए पनि र अचिनारु नै भए पनि यिनै चालकलाई अनुरोध गर्छु रामपुरसम्म लगिदिन । त्यसपछि त भरतपुर पुग्न केको फिक्री ? यसरी आशावादी भएर एकटकले हेर्दै जाँदा स्कुटर क्रमशः नजिकिँदै आएपछि त्यसको चालक पुरुष नभएर महिला भएको बुझियो । अनि आँखा च्यातीच्याती अभैm हेर्दै जाने क्रममा अघिल्तिर छेउमै आएर स्कुटर रोकिँदा त आहा ! काटिकुटी आफ्नै मित्र शारदाजी पो ! यो त अचम्मै भयो ! र अचम्म मात्रै पनि कहाँ र ? चमत्कारै पो भयो त !

अब हस्याङफस्याङ गर्दै उहाँले मलाई सहानुभूति र क्षमायाचनापूर्वक स्पष्टीकरण दिनुभयो — “कठै बिचरा ! मलाई माफ गर्नोस् है सर ! तपाईँ कति बेला स्कुटरबाट लड्नुभयो भन्ने नै थाहा भएन मलाई र अभैm कति बेलासम्म थाहा हुने पनि थिएन । म त तपाईँसँगै एकोहोरो कुरा गर्दै आफ्नै तालमा कुदिरहेकी थिएँ । पार्वतीपुरको छेवैमा एउटा रुखको सियाँलमा बसेर थकाइ मार्दै हामीलाई कुरिरहनु भएको रहेछ तिवारी सर र बालकुमारी बैनी । म पुगेपछि उहाँहरूले एकै स्वरले ‘खोइ त व्यास सर ?’ भनेर सोध्नुभयो । छक्क पर्दै पछिल्तिर हेर्दा त तपाईँ साँच्चै देखिनु भएन । अनि त खङ्ग्रङ्ङै भइहाले नि म । दुब्लो–पातलो ज्यानको मान्छे, पक्कै कतै बाटोमा झर्नु भयो मलाई थाहा नै नहुने गरी र निकै चोटपटक पो लागेको छ कि भन्ने पीर र डर लागेर ।” र, त्यसपछि सहानुभूतिका साथ मलाई स्कुटरमा बसाउँदै उहाँले फेरि पनि क्षमायाचना गर्नुभयो । मैले कृतज्ञ हुँदै भनेँ “नआत्तिनोस् र यति पिरिँदा पनि नपिरिनोस् स्नेही मित्र ! यो त एउटा सामान्य संयोग मात्र हो । दुःखद तर सामान्य संयोग । आफ्नै सुरमा वायुवेगले अघि बढिरहेको चालकलाई पछिल्तिर बसेको फुकिढले ज्यानको सहयात्री मोटरसाइकलबाट अप्रत्याशित रूपमा झरेको थाहा नहुनु त एकदमै स्वाभाविक कुरा हो । अनि, यो तपाईँको भूल कसरी हो र ? बाँकी रह्यो मेरो चोटपटकको कुरा । बेतोडले गुडिरहेको सवारी साधनबाट मान्छे लडेपछि चोट त लाग्छ नै । त्यो पनि स्वाभाविक कुरा हो । तर, म भाग्यमानी रहेछु अलिअलि सामान्य चोट मात्र लागेको छ । म एकदम ठीक छु । बरु त्यसरी अचानक लडेपछि मैले कराउँदा पनि गाडीको आवाजका कारणले त्यो सुन्न नसकेर तपाईँ आफ्नै तालमा कुदेर आँखाबाट हराउनु भएपछि कसरा–यात्राको आफ्नो उखर्माउलो धोको आज मेटिन पाउने कुराको चाहिँ अब मैले ठ्याम्मै आशा मारिसकेको थिएँ । तर त्यति टाढा पुगिसकेर पनि यो टन्टलापुर घाममा मित्रको मायाले हस्याङफस्याङ गर्दै फर्केर आउनुभयो तपाईँ । म धेरै धेरै आभारी छु ।”

र, त्यसपछि फेरि यथावत् अघि बढ्यौँ हामी । अब भने शारदाजीले यानको गतिलाई सामान्यभन्दा बढ्नै दिनुभएन । आत्तिएर हामीलाई पर्खिरहेका तिवारीजी र बालकुमारीजी पनि अब आश्वस्त भएर समानान्तर गतिमा गुड्न थाल्नुभयो । हामीले केही बेरमा पार्वतीपुर नाघ्यौँ, जगतपुर छिचोल्यौँ र पौने २ बजे स्पर्श ग¥यौँ पटिहानीको भूमिलाई । चितवनको पटिहानीमा आइपुग्दा मलाई महोत्तरीको मटिहानीको मीठो सम्झना भयो । दक्षिणतर्पm बग्दै थियो रापती नदी र त्यसको पारिकिनारबाट हामीलाई मायालुभावले नियाल्दै र निम्त्याउँदै थियो प्रख्यात र विशाल कसरा राष्ट्रिय निकुञ्ज ।

पटिहानी गाउँदेखि पश्चिमपट्टि टाँस्सिएर रहेको फराकिलो चौरभरि थुप्रैथुपै्र पातका थाल, कागतका फोहर प्लेट र प्लास्टिकका पातला झोलाहरू बिस्कुनभैmँ छरिएका थिए र त्यसै गरी ठाउँठाउँमा छरिए–पोखिएका थिए अनेक चीजबीज र भोज्यपदार्थका अवशेषहरू पनि । मैले त्यो देखेर उत्सुकता पोखेँ शारदाजीसित । उहाँले बताएअनुसार —“एकसाता अघि विक्रमबाबाको थानमा लागेको वार्षिक मेला–जात्राको बजारी क्षेत्र रहेछ रापतीको वारितीरको त्यो चौर । त्यसैले ती वस्तुहरूले मेलाको ताजाताजी विगतको सम्झना गराउँदै रहेछन् । अब हाम्रो मोटरसाइकले यात्राको अन्तिम बिसौनी पनि पटिहानी गाउँको त्यही पुछार नै रहेछ । त्यसउता रापतीनदी डुङ्गामा तर्नुपर्ने र पारि निकुञ्जको कार्यालय र अन्य दर्शनीय स्थलहरू भएकाले वाहनहरूलाई अब त्यहीँ वारि नै थन्क्याउनुपर्ने रहेछ सरकारी नियमअनुसार ।

दुवै मोटरसाइकलहरूको उचित व्यवस्थापनपछि हामी पैदलै लाग्यौँ रापतीको किनारतिर र पुग्यौँ डुङ्गा लाग्ने घाटमा । दुइवटा ठूल्ठूला डुङ्गा थिए वारितीरमा छेउलगाइएका । उसै गरी नजिकै नदीको बीच प्रवाहमा दुइवटा जब्बरजब्बर भाले गैँडा रमाईरमाई आहाल खेल्दै थिए । मैले जीवनमा यति नजिकबाट गैँडा देखेकै यो पहिलोचोटि थियो । यतिबेला आफ्नो छेउमै आहाल खेलिरहेको अवस्थामा तिनलाई देख्न पाएर हुनसम्म पुलकित भए मेरा आँखा र मन । हामी देब्रेतिरको डुङ्गामा चढ्यौँ । थारू जातिका स्थानीय भुस्तिघ्रे र श्यामवर्णका माझीदाइले डुङ्गा खियाउन थाले । तीव्र वेगवती नदीका चञ्चल लहरहरूमा ढलपलढलपल गर्दै डुङ्गा लहराउन थाल्यो । र, त्यससँगै म चाहिँ सपनाको संसारमा हराउन थालेँ—

अहा…! सरल–कञ्चन प्रकृति र सदा सहयोगी प्रवृत्ति भएकी मित्र शारदाजीको सौजन्यले मैले उहाँसँग मग्मगिँदै टाँडीदेखि लिएर नारायणी वारि–पारि टाढाटाढासम्मका अनेक गाउँठाउँ त बारम्बार डुले–चहारेकै थिएँ, अब आज फेरि फुर्पुmरिँदै रापतीपारिको यो कसरा राष्ट्रिय निकुञ्जमा, यो नितान्त नौलो ठाउँमा पनि यायावरी यात्रा गर्दै आइपुगेँ म । र, अहिले डुङ्गामा चढी रापतीगङ्गा तर्दै छु । बगिरहूँ म, बगि नै रहूँ म यसै गरी सलललल….सलललल…अबाध र अनन्त–अनन्त । पारिकिनार कहिल्यै नछोओस् डुङ्गाले, खालि हिँडिरहोस् हिँडिरहोस् मात्र ।’ …….

तर…उप्m ! ठीक त्यतिबेलै आँखा झिमिक्क हुन नपाउँदै अचानक एउटा त्रासद प्रसङ्ग आइलाग्यो । त्यो के त भन्दा रापतीको घाटमा प्रवाहको उल्टो दिशामा पानीभित्र मजाले आहाल खेलिरहेका ती दुइवटा अजङका भाले गैँडाले राँकिँदै आएर छालमाथि छाल उठाइदिई डुङ्गै पल्टाइदिन थाले । चार दशकअघि जाउलाखेलको चिडियाखानामा टाढैबाट देखेर सुधो प्राणी ठान्दै आएको गैँडाको जातलाई यतिबेला आफ्नो छेउमै आहाल खेलिरहेको अवस्थामा देख्न पाएर एकैछिनअघि त्यसरी हुनसम्म पुलकित भएको थियो मेरो मन । तर, त्यही गैँडाको जातलाई अहिले फेरिे छिनको छिनमै अचानक त्यस्तो आक्रामक र ज्यानमारा मुद्रामा देख्न–बेहोर्न पर्दा भने अब मन–मुटु र मगज नै थरर्र काँप्यो, सातोपुत्लै पो उड्योे मेरो । र, उस्तै काला–नीला भए सहयात्रीहरूका अनुहार पनि । बाबै नि !

अब मेरो सपनाको सुनौलो संसार तुरुन्ताको तुरुन्तै बिपनाको कठोर फलामे संसारमा परिणत भयो । अत्तालिएँ म सहयात्रीहरूसँगै । अब के गर्ने हँ ? कसरी ज्यान जोगाउने ? नदीको प्रवाहमा उल्टो दिशातिर हाम फाल्ने ? गैँडाहरू भने कुनकुन जुनीदेखिको साटो फेर्ने पारामा झन् झन् सुरिँदै डुङ्गासित सिँगौरी खेल्न पो तम्सिएँ । हाम्रा माझीको पनि सुद्धिबुद्धि नै हरायो एक निमेष त । तर उत्तिखेरै हाम्रो डुङ्गा र अर्को डुङ्गाका समेत सूरा र खली खाएका दुई–तीन जना माझीदाइहरूको पौरखले गर्दा तै कसैगरी गैँडाहरू लखेटिए र हाम्रो ज्यान जोगियो । सकुशल पारिकिनारमा टेकेपछि बल्ल ढुक्कको सास फेर्न पाए हाम्रा ढक्क फुलेका मुटुले र केही निमेषअघिको हाम्रो विचित्रको दशा यसरी छचल्कियो मेरो हृदयभरि—

“राप्तीमा गैँडा चल्मल, डुङ्गा छालले ढल्पल
डरले मन विह्वल, आँखा आँसुले टल्पल”

त्यसपछि तारेको शुल्क दिन खोजेँ मैले माझीलाई । शारदाजीले रोक्तै भन्नुभयो — “यहाँ डुङ्गामा नदी तारेको भारा माझीलाई यात्रीले दिनुपर्ने चलन छैन सर ! यी डुङ्गाहरू यात्रीहरूको सजिलोको लागि सरकारद्वारा निश्शुल्क रूपमा चलाइएका हुन् । माझीको पारिश्रमिकको व्यवस्था सरकारले नै गरेको छ ।”

यात्रीहरूप्रतिको यस्तो हार्दिकतापूर्ण सहयोगी चलन रहेको थाहा पाउँदा लाग्नसम्म खुसी लाग्यो मलाई ।

अब हामी पस्यौँ निकुञ्जभित्र र सहयात्रीहरूको प्राथमिकता–सूचीअनुसार पहिले सरासर गयौँ विक्रमबाबाको थानमा । वन्यभागभित्रको सामान्य भूमिमा रहेको त्यो स्थान त मलाई खासै केही पनि लागेन तर मान्छेहरूको त्यस ठाउँप्रतिको आस्था र श्रद्धा चाहिँ निकै ठूलो लाग्यो । आखिर आस्था र श्रद्धाले नै त हो नि ढुङ्गालाई देवता बनाइदिने गरेको र निर्जन र उजाड भूमिलाई पनि धर्तीको गजुर तुल्याइदिने गरेको ।

एकसाताअघिको मेला–जात्राको अवशेष पारिपट्टि पटिहानीको चौरमा त यत्रतत्र छरिएको थियो भने यो ठाउँ त झन् मेलाको केन्द्रविन्दु नै भएकोले यहाँ त्यसको उपस्थिति अझ टड्कारो हुने नै भयो । मूल थानमा सेतो विभूतिकोे थुप्रो थियो । मैले अलिकति उठाएर लगाएँ आफ्नो ललाटमा । साथीहरूले जिस्किँदै भन्नुभयो —“लौ है सर ! यहाँ त जे बर मागे पनि मिलिहाल्छ, फरकै पर्दैन, त्यसैले मन लागेको कुरो मागिहाल्नोस् है ! नत्र पछि फेरि चुकचुकाउनुहोला !” त्यसपछि घुम्दै फिर्दै हामी पुग्यौ अलिक परको गोही प्रजनन केन्द्रमा ।

स्वच्छ पानीले भरिपूर्ण कृत्रिम तालमा उत्पादन गरेर हुर्काइएका–पालिएका कुनै चुच्चे र कुनै बुच्चे विविध रूप–रङ्ग र आकार–प्रकारका गोही–मगरका नाना प्रजातिहरूको त्यस प्रजनन केन्द्रमा सिलिङ्मिलिङ् गरिरहेका बाल अवस्थाका गोही–मगरहरूलाई देख्ता आम्मै नि ! मभित्र वात्सल्य र भयानक दुवै रसको सञ्चार एकसाथ हुन पुग्यो ।

त्यसपछि हामी निकुञ्जको अलि भित्रसम्म पसेर चहार्न थाल्यौँ केही बेर । अनि त म त्यस निकुञ्जको सीमित क्षेत्रभरि कहिले काफलचरी भएर डुलेँ, कहिले लोभ्याइला फूलका थुङ्गाहरूसँगै फुलेँ । कहिले माहुरी भएर पूmल–पूmलका रसमा भुलेँ, कहिले कुनै रुखको हाँगामा बसी मनको मुरली बजाएँ । अनि कहिले कोइली भएर गुन्जिएँ वनैभरि, मनैभरि । मेरो मन मेरै वशमा रहेन । सारा थकाइ बिर्साइदिए मनकै रुपौला रहरहरूले । उसै गरी वनका लहराहरूले पीङ भएर मलाई झुलाइदिए । वैशाखीे सिमलुभुवाहरूले बादलु–देशमा उडाई लगे र मेरा फुलेका केशमा पालुवाहरूले रङ्ग भरिदिए ।

भौँतारिने क्रममा देखियो त्यतै नजिकै रहेछ कसरा दरबार पनि । यो दरबार पहिले तीनतले थियो रे । यसको हालको रूप भने त्यस पुरानो दरबारको भग्नावशेषको पुनर्निर्मित रूप हो रे । ‘यो दरबार कसले बनाउन लगाएको हो ? यसको नाउँ ‘कसरा’ कसरी भयो ? र कसराको अर्थ के हो त ?’ भनेर निकुञ्जका कर्मचारीसित सोध्दा उनीहरूले केही पनि बताउन सकेनन् । यता घुम्न आउने क्रममा अस्तिका दिन प्रसङ्गवश भरतपुरको वीरेन्द्र क्याम्पस र सप्तगण्डकी क्याम्पसका नेपाली विषयका प्राध्यापक मित्र विष्णुप्रसाद सापकोटासित कुरा चल्दा उहाँले भनेका कुराको अहिले झलक्क सम्झना भयो मलाई । उहाँले बताएअनुसार ‘कसरा दरबार’ केसर समसेर ज.ब.रा.ले शिकार शिविरका रूपमा प्रयोग गर्नका लागि बनाउन लगाएको हो रे । स्थानीय दराई–बोटे जातिका नरनारीले तिनै ‘केशर’ को अपभ्रंस रूपमा उच्चारण गर्ने गरेको शब्द हो रे ‘कसरा’ । त्यसै अपभ्रंस शब्द ‘कसरा’ लाई नै दरबारको नामका साथै राष्ट्रिय निकुञ्जको नामका रूपमा पनि प्रयोग गर्न थालिएर पछि त्यही नै प्रचलित हुन पुगेको हो रे । यो उहाँले पनि कतैबाट सुनेको रे । तथ्य के हो खै कुन्नि !

अब फर्कने उपक्रममा हाम्रो टोली निकुञ्जको कार्यालयछेउ पुगेपछि त्यहीँ ढोकैनेर एक्लै ठिङ्ग उभिएको गैँडाको एउटा सानो केटोलाई देखेर त्यसमाथि उर्लिन पुग्यो निर्मोहीको मोहको उत्ताल छाल । लगत्तै निकुञ्जका एक कर्मचारीबाट थाहा भयो — हरे…! त्यो निर्बोध केटो त माउबिनाको टुहुरो पो रहेछ । त्यसपछि झन् त्यसलाई आफ्नै कान्छो सन्तानको दर्जामा राखेर केही बेर स्नेहले सुम्सुम्याएँ मैले । यतिञ्जेलमा पाँच बजाइसकेको थियो घडीले । त्यसैले, अब झ¥यौँ सबै जना मुन्तिर छेउमै बगिराखेको रापतीको घाटमा र चढ्यौँ फेरि त्यही डुङ््गा । अघि हाम्रो सातो उडाउने महिषासुरजस्ता ती दुइवटा गैँडा अहिले चाहिँ घाटमा नभएर माथि केही पर रापतीकै किनारमा चरिरहेका थिए । त्यसपछि फेरि उसै गरी प्रतिपल ढलपल–ढलपल गर्दै बग्न थाल्यो डुङ्गा र उसै गरी सलललल गर्दै उड्न थाल्यो मेरो मन पनि अघि जाँदाभन्दा पनि धेरैधेरै सपनाका पखेटा हालेर बादलुदेशमाथि ।

पटिहानी आइपुगेपछि त्यतै केही खाजासाजा खाएर फेरि हुइँकिए हाम्रा मोटरसाइकल । म अहिले पनि उसैगरी शारदाजीकै मोटरसाइकलमा पछाडि बसेको थिएँ । तर अघि जाँदा जस्तो बकबके नभएर यात्राको तृप्तिबोधले आत्मविस्मृत अवस्थामा मौन थिएँ अहिले । मजस्तो बकबके मान्छेलाई त्यसरी धेरै बेरसम्म नबोलेर शान्तभावले बसिरहेको देखेर होला शारदाजीले मौन भङ्ग गर्दै भन्नुभयो — “सर ! कस्तो लाग्यो त कसरा ?” जबाफमा मेरो हृदय छचल्कियो—

“के भनूँ मित्र ! पाएर डुल्न निकुञ्ज कसरा
यो मुटुभरि छ उर्लिएको तृप्तिको असार
फुरुङ्ङ परी भन्दछ मेरो मनको मुनियाँ
पाइ नै रहूँ यसरी उड्न, चाहिन्न दुनियाँ”

०००

(स्रोत : ‘नव प्रज्ञापन’ पूर्णाङ्क ६६, २०७१)

This entry was posted in नियात्रा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *