छन्द कविता : शहीदको आत्मालाप

~हुसैन खाँ~hussain-khan

छन्द : शार्दूलविक्रीडित

भुल्छन् शासक मर्म-पिर जनको सत्ता चलाए पछि
वाचा-वन्धन तोड्दछन् छिनछिनै नाच्छन् पताका सरी ।
रम्छन् शासक वर्ग स्वार्थ पथमा टेकेर अल्कापुरी
उठ्छन् झुण्ड बनाइ शोषितहरू पड्कन्छ ज्वालामुखी ॥

आगो शोषणको बलेर कहिल्यै अन्याय मेटिन्न रे !
अत्याचार सधैँ रहन्छ बलियो तूफान रोकिन्न रे !
घोच्ने कण्टकको स्वभाव त भने छुट्दैन् कैल्यै पनि
फालौँ खाडल नै खेर गहिरो अन्याय हट्ने गरी ।।

लड्नै पर्दछ युद्ध वीरहरूले यै देशको खातिर
बाँच्नै पर्दछ गर्व साथ जगमा आफ्नो उठाई शिर ।
गर्ने छन् पथभ्रष्टले अझ बढी आनन्दले शोषण
खोस्छन् अंश र आय-आर्जन सबै पाइन्न है पोषण ।।

हाम्रै रक्त र स्वेदले मुलुकको माटो भिजेको अनि
पोखी पौरख लोकतन्त्र जगमा आयो उज्यालो बनी ।
हाम्रै प्राण र रक्तबाट अहिल्यै बन्दो छ साजीवनी
खासेका अधिकार औ हक सबै पाइन्छ पक्कै पनि ।।

फुल्नै पाउनु पर्छ बोट-बिरुवा आ-आफ्नै रङ्गमा
अत्याचार कतै बढ्यो अझ भने उठ्लान् सबै जङ्गलमा ।
गर्नेछन् प्रतिकार भोलि सबले धोका दिएछौ भने
होला घोर विरोध नै सबतिरै कर्तव्य बिस्यौ भने ।।

माटोमा अधिकार हुन्छ सबको तथ्यै स्वयम् सिद्ध छ
सेवामा हक हुन्छ-हुन्छ सबको बाटो भने बन्द छ
कस्तो कारणले भुल्यौ कि जन हो इच्छा लुकायौ किन
सत्तामा हक हुन्छ-हुन्छ सबको चाहिन्छ सम्बोधन

माटोको ममता भरी ह्यमा उड्दा महाशून्यमा
बोकी आस स्वदेशकै प्रगतिको डुल्दैछु यै सिन्धुमा ।
बाँडी अंश समानुपातिक गरी बस्नै पर्यो भूमिमा
गर्ने हो सहकार्य आज सबले सद्भावको बिन्दुमा ।।

मेरा सुन्दर यी हिमाल चुचुरा राखेछु यै आत्मामा
बस्ती-गाउँ जताततै सहरमा बस्नेछु है साथमा ।
अर्ती औ उपदेशले मुलुकको बन्ला नयाँ जीवन
नौलो नोश नयाँ-नयाँ प्रविधिले गर्छन् नयाँ सिर्जना ।।

कालो मेघ चिरेर आत्म-दिले षड्यन्त्र छाडी कन
प्यारो राष्ट्र बनाउनै छ बलियो दायित्व ठानी कन ।
सत्ता लोभ र दाउपेचहरू नै टाढा धपाईकन
छाओस् शान्ति भनेर देशभरि नै गर्दैछु यै कामना ।।

हूसैन खाँ
गणेशमार्ग नारायणगढ चितवन ।

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.