बाल कथा : ताली

~कार्तिकेय घिमिरे~kartikeya ghimire

रमेशले पुरस्कार पाउँदा सबैले ताली बजाएको सुवासले हेरिरहेको थियो । उसलाई त्यतिबेला खल्लो लागिरहेको थियो । उसले मनमनै सोच्यो – “मैले खेल्न सक्ने खेल पनि भइदिएको भए, मैले पनि यसरी नै पुरस्कार पाउँथे होला ।” यिनै कुरा सोच्दासोच्दै उसको मन कटक्क खायो । उसले अँध्यारो अनुहार लगाएर आˆनो वैशाखीमा हेर्‍यो ।

“म किन लङ्गडो भएँ हुँला, मलाई भगवान्ले किन लङ्गडो बनाएका होलान् ?” सुवास यिनै कुरा सोच्दै निक्कै टोलायो । उसलाई सबै साथीहरू पुरस्कार जितेर अबीर लगाई रमाउँदै हिँडेको देख्दा रोऊँरोऊँजस्तो लाग्यो । ऊ दुःखी भयो ।

यसरी सुवास एकोहोरिएको श्याम सरले हेरिरहनु भएको थियो । उहाँले उसलाई बोलाउँदै सोध्नुभयो – “के छ सुवास, के भयो तिमीलाई ? उदास देखिन्छौँ नि ?”

सरको प्रश्न सुन्नासाथ सुवासले अँध्यारो मुख लगायो । उसको अनुहार खिसि्रक्क पर्‍यो । आँखाबाट तपतप दुई थोपा आँसु खस्यो । सरले उसको टाउको मुसार्दै फेरि सोध्नुभयो – “भन न लाटा, तिमीले नभनी हामीले कसरी थाहा पाउने, तिमीलाई के भयो ?”

सरको कुरा सुनेर सुवास घँुक्क घुँक्क रुन थाल्यो । उसले रुँदै भन्यो – “मैले पनि भाग लिनसक्ने खेलमा किन प्रतियोगिता नगराएको सर ?” सुवासको प्रश्नले श्याम सर झसङ्ग हुनुभयो । उहाँले आफूले गल्ती गरेको कुरा मनमनै स्वीकार्नु भयो । सुवासको टाउको मुसार्दै मायालु स्वरमा उहाँले भन्नुभयो – “बाबु, यसपल्ट कार्यक्रमको तयारी गर्दा मैले गल्ती गरेँ । अर्कोपल्ट कार्यक्रम गर्दा चेस प्रतियोगिता राख्छु है ? तिमी राम्रोसँग तयारी गर्नु ।”

श्याम सरको कुरा सुनेर सुवास मुसुक्क हाँस्यो ? उसले कल्पना गर्‍यो । चेस प्रतियोगितामा विजयी भएर ऊ पुरस्कार थाप्न स्टेजमा गएको थियो । सबैले ताली बजाइरहेका थिए ।

कल्पनामा हराउँदा-हराउँदै सुवासको मुखबाट प्याच्च बोली निस्कियो – “सर, ताली बजाउनु है ।” उसको बोली सुनेर श्याम सरले पुलुक्क हेर्नुभयो र मुसुक्क हाँस्नुभयो । सुवास पनि मुसुक्क हाँस्यो । उसलाई त्यसपछि विद्यालयको कार्यक्रम कहिले होला भनी खुबै चासो हुन थाल्यो ।

(स्रोत : मुना २०६६ जेठ)

This entry was posted in बाल कथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *