पत्रकथा : माइतीको पत्र

~शर्मिला खड्का दाहाल~Sharmila Khadka Dahal

आदरणीय दिदी भेनाजु
नमस्कार

सात समुन्द्र पारि, म बहिनीको धेरै–धेरै सम्मझना । तपाईहरु त्यहाँ सपरिवार सकुशल हुनुहुन्छ होला भन्ने भगवान श्री पशुपति नाथसँग प्रार्थना गर्दछु ।

खै दिदी भगवान श्री पशुपति नाथ स“ग के भनेर प्रार्थना गर्नु र ? उनलाई पुज्ने कस्ता कस्ता देवत्व भएका ब्यक्तिलाई त उनले रक्षा गर्न सकेनन् भने तपाई हामी साधारण ब्यक्तिलाई के रक्षा गर्लान र ?

दिदी, अब यताको हालखवरतिर लागौँ। यताको हालखवर त बारम्बार इन्टरनेटबाट थाहा पाई रान्नुहुन्छ होला । हत्या, हिंसा, आन्दोलन भिडन्त र अपहरण विनाको समाचार अब नुन विनाको तरकारी जस्तो भइसक्यो । गाउँ पहाडतिर गइनसक्नु छ । पहाडतिरका आफन्तहरु सबै बसाई सरिसके । गाउँ पहाडहरु ढुब्लाउदै गएकाछन् । गाउँका शुद्ध खानेकुरा र फलफुलहरुको पौष्टिकता बन्दुक र बारुदले शोसिसकेको छ । शहरहरु मोटाउदैछन् । हामीले हाम्रो माइति घर धरानमा उफ्रेका चउरहरु अनि बगौचाहरु घरहरुले ढाकिसकेका छन् । घरहरु प्राय पुरुषविहिन भएका छन् । हाम्रा दाज्यू , भाइहरु ठेक्का व्यापारहरु ठम्प भएर कोही अरव कोही मलेसिया पसिसकेका छन् । विदेश नगएका दाज्यु भाइहरु आर्थिक बोझले थिचिएर, किचिएर चिनी नसक्नुका भइसकेका छन् ।

दिदी हामी पढ्ने स्कुलहरु रोगले दुब्लाउदै गएका छन् । हामी स्कुलमा पढ्दा “तरवार भन्दा कलम ठूलो” भनी बादविवाद गरेर जित्थ्यौ । तर अहिले कलम भन्दा तरवार ठूलो भएको छ । शान्तिका लागी कति कलम चलाउँदा चलाउँदा हामी थाकिसक्यौ । जताततै क्रन्दन छ, पीडा छ अनि विलाप छ । यसको समाधान कसरी होला ? उतबाट सहयोगकालागी धेरै रकम चन्दा आएको सुनिन्छ । तर त्यो आउँदा आउदै प्रसान्त महासागरको हावाले उडाएर उतै पु¥याउँछ क्यारे । नत्र भने त्यसको महकले मात्रै पनि कतिको घरवार सुवासित हनु सक्थ्यो होला।

दिदी , हामीलाई आमाले कथा सुनाउनु हुन्थ्यो सतीले मर्ने बेलामा हाम्रो देशलाई सरापेको छ अरे अनि यहाँ भलो गर्नेको भलो हुदैन रे भनेर । सायत यही उखान चरितार्थ हुनलाई होकि कसैको विवेकमा पनि चेतनाको बीज उम्रन नसकेको । हुन त म यति सानो मान्छे भएर यति ठुलो कुरा गर्न नहुने तर पनि चारैतिर रगतको खोला बगेको बेला कसको हृदयले नबोल्ला र यस्तो कुरामा ?

दिदी, तपाई यहाँ हुँदा हामी सवै मिलेर प्रजातन्त्र ल्याएका थियौ । हामी धेरै खुशी भएका थियौ । तर आज त्यही प्रजातन्त्र उकुस पल्टेको घाऊ जस्तै भएर हामीलाई दुखाई रहेछ । एण्टिवायटिक पेनाकिलर र टिन्यरबेन्जिनले हामी थिलथिलो भइसकेका छौ । निको हुने नामै छैन । दवाईको साइड इफेक्टले साइड टेन्सन शुरु भइसकेको छ । राम्रा डाक्टरहरु त्यतातिर भए पठाइदिनु होला ।

दिदी, हाम्रो र्दशमा कोही हात्तीमा रमाएर कुदनेहरु पनि छन् नभएका होइनन् । तर एउटै थालमा खाने र एउटै छत मुनि बस्ने कोही चाहि खच्चर चढ्न पाएका छैनन् । अनि हात्तीले खाने खुराकीको केही अंश पनि उनीहरुको पेटमा परेको हुँदैन । अनि यस्तो बेलामा मानविय संवेदना र उत्कण्ठा संम्प्रेषित हुँदै डाँडा काट्न खोज्छन् । अनि मानवताका नारा लाउँदै चुचुरोबाट कराउन उत्प्रेरित हुन्छ यो मन ।तर के गर्नु यो सब हुनुको कारक हामी नै हौ । हामीले हामीलाई जसरी पनि एडजस्ट गर्न सकौला रे । तर हाम्रा नानीहरु ? मेरी सानी छोरी अलिक ठुलो आवाज आयो भने बम पड्कयो भनेर मुख छोप्छे । सानो नानीको स्थिति यस्तो छ । भर्खर हुर्कदै गरेका छोराछोरीको मानसिकता कस्तो होला । हामी (बुवा, आमा) घर बाहिर गएका छौ भने घर नआउञ्जेल चिन्तित हुन्छन् । हत्या अपहरण, डर र त्रासले उनीहरुलाई हर समय गाँजिरहेको हुन्छ । भविष्यको कर्णघार हाम्रा छोराछोरीहरुले कसरी समाज र देश विकासका लागी काम गर्न सक्लान र ?

हडताल अनि विरोधको शैक्षिक क्षेत्रलाई सुलुत्त निलेको छ । कहिले तीन दिन बन्द अनि कहिले पाँच दिन बन्दले होटेल चलाउने हाम्रा सानोवुवा, मामाहरु ऋणमा चुर्लुम्म डुवेका छन्। सम्पन्नताले भरिपूर्ण भएका हाम्रा माइतका कति काका, दाज्युहरु आजको छाक टुट्यो , भोलि के खाउ भन्ने स्थिति छन् ।

दिदी, तपाईले छोडेर जानु भएको माइत त्यो बेलाको जस्तो छैन । हामी हाम्रो वुवाको जन्मथलो तेह्रथुम र पहाड घुम्न गएका थियौ । हामी कति रमाई रमाई घुमेर आएका थियौँ । आफन्तका घर–घरमा पसेर दुध, दही ध्यू भात खाँदै हिँडेका थियौँ । तेह्रथुम, हात्तीपोखरीको मही, मकै अनि बदाम रमाई रमाई खादै कुदथ्यौँ । यासोकको रानीवनमा लालीगुराँस टिप्दै हामी कति रमाउथ्यौँ । रानीवनको सिद्धकाली मन्दिरमा पूजा लाउँदा गाउँले सवै भेला भएका थिए ।अनि हामीहरुले रातभरि आमाहरुलाई काम सघाएका थियौ । विहान उषाको किरण ब्युझाउन हामीलाई कोठा भित्र आइपुग्थ्यो । अनि हिमाल लाजले रातै भएर हामीसँग साउती गरिरहेको जस्तो लाग्दथ्यो । ढुकुर, मुनाल, डाँफे देख्दा हामी रमाइ – रमाई नाच्थ्यौँ । तर यो सब अब कथा जस्तो भएको छ । खोलाले गीत गाउन छोडिसकेको छ । सल्लाहरु सुसाउन छोडिसकेको छन् । हिमाल रोइरहेछ । रानीवनमा ढुकुर ,मुनाल हैन, बाज र चिल मानिस भन्दा हामी विवेकी छौ भन्दै नाच्न थालेका छन् । धेरै घर, गोठहरु खण्डहरु भइसकेका छन् हाम्रा आफन्तहरु सवै पलायन भइसकेका छन् । पहाडको त्यो रौनकता, त्यो सुन्दरता अब केही रहेन ।

विपन्नताले पराकाष्ठा नाघिसकेको छ । हाम्रा घेरै मामाकी छोरीहरु अनि फुपूकी छोरीहरु विघवा भएका छन् । हाम्रा धेरै भदा भदैनीहरु टुहुरा, अनाथ अनि अपाङ्ग बनेका छन् । वुवा आमाको माया पाउन नसकेर उनीहरु सडकमा भौतारिरहेका छन् । पहिले हामी समाचारमा कुनै देशमा गृहयुद्ध भयो र यति मानिस म¥यो रे भनेको सुन्दा कति अचम्म मान्दथ्यौ हैन दिदी । तर आज आफनो देशमा यो सव भइरहेछ । शान्तिको देश नेपाल, बुद्धको देश नेपाल भनेर चिनिने हाम्रो देशलाई आज आफनै स्वयम्भूको आँखा लागेको छ । यसो त्यो देशमा झारफूक गर्ने राम्रा घामी झाक्री छन् भने यतातिर पढाइदिनु होला । देश दुखेन भने मुटु पोलेन भने कतै हाम्रँ बूढा बुढी हुन लागेका वुवा आमाको मुखमा खुशीका लहर देख्न सक्छौ कि । अनि हाम्रा छोरामछोरीहरु शान्तिका प्रतिक परेवा मकै आगँनमा रमाई रमाई नाच्दै बाच्न् सक्छन् कि ।

दिदी अब त देशले राजनीति निकास पाउछ भनी हामी लोकतन्त्र पनि भर्खरै ळ्याएको छौ तर खै अझ अशान्ति चुलिएर हिमाल छुन खोजेको छ । महँगीले लक्ष्मणरेखा नै नाघिसकेको छ ।

अरु धेरै के लेखु । पीडाको भारी जति विसाए पनि उही नै हो । पशुपतिनाथले हामी सवैको रक्षा गर्न नसके पनि हामी सवैलाई सद्बुद्धि दिऊन् । आजलाई यति ।

उही दुखी पिडीत बहिनी

“शरु”

पत्र पढी सक्दा नसक्दा उषाका आँखाबाट बलिन्द आँसुका घारा झारे । सावने भेल झै भएर बगेको बाढी थाम्न धेरै गाह्रो भयो उषालाई । बैनीले यस्तो पत्र किन पठाएकी होली ? एक मनले भन्यो “नपठाएकी भए पनि हुने ” अनि अर्को मनले कल्प्यो , “ठीकै त भयो यो पत्र पढ्न नपाएको भए म कति कुरा थाहा पाउने नै थिइन् । यिनी दोघारे भावनाबाट उचालिदै पछारिदै गर्दा समय बितेको उनलाई थाहा नै भएन् ।

“मम्मी ढोका खोल्नुस न” जेठी छोरीले ढोका ढकढकाउँदा उनी झस्किन् । “ओहो छोरीहरु लिन जान पनि बिर्सेछु मनमा गल्ती भएको आभाष उमार्दै ढोका खोल्न पुग्छिन् ।

“मम्मी हामीलाई लिन किन नआउनु भाको” जेठी छोरीले नेपालीमा अप्ठ्यारो गर्दै बोली , “हेर न छोरी नेपालबाट चिठी आएको थियो तिम्रो आन्टीको म त बिर्सेछु । मलाई माफ गर है ।” अमेरिकामा छोराछोरी सँग पनि माफ माग्नु पर्ने औपचारिकता पूरा गरिन् उषाले ।

छोरीहरुलाई कपडा बढलेर खाजा खुवाई सक्दा उनको श्रीमान् पनि आइपुगे । उनको श्रीमान् ओकावोको विश्वविद्यालयमा पि.एच.डी. गर्दैछन् त्यसैले उनीहरु सपरिवार यता बस्दै आएको करीब चार वर्ष भइसक्यो । साँझ सम्म उनको मन खुल्न सकेन । मुहारमा दुखका प्रतिबिम्वहरु छरिरहे । मनभरि पत्रका शब्दहरु कालो बादल भएर घुमिरह्यो । उनी आफ्नो मनको भारी कहाँ बिसाउने भनेर चौताराको अभावमा भट्किरहिन् । छोरीहरु सानै छन् । श्रीमानलाई पढाइ र घरपरिवारको बोझ छ त्यसैले आफ्नो बोझ थपेर दुखी बनाउन चाहिनन् ।

बेलुकाको डिनर पछि घरघन्दा सकेर सबैजना ओछ्यानमा पल्टे । उनको मस्तिष्कमा माइतीघर नेपाल नाचिरह्यो । चिठीका एक–एक हरफले उनलाई माइतघर पु¥याएको थियो । माइती सँग यतिका दिन सम्म भेट्न नपाएको विरानोपनले गाजिरहेको बेलामा यस्तो पत्र पढ्दा उनको मन थामि नसकनु भएको थियो । मेरो देश किन यस्तो भयो । उनी कल्पनामा डुब्न थालिन् – “बिदेश गएपछि थाहा हुँदो रहेछ आफ्नो देशको माया । प्रत्येक ढुकढुकीमा देशको स्पन्दन हुदो रहेछ । आफ्नो गाउठाउ, टोल, छरछिमेकसँग छुट्टिएर विरानो देसमा आउँदा यो मन त्यसै ओइलाएको पहेँलो साग जस्तो हुदो रहेछ । हिड्ने बेलामा साथीभाइ, आफन्तले दिएको शुभकामनासहितको उत्प्रेरणा कहाँ सधै हरियो हुदो रहेछ र ? अझ अमेरिकामा नेपाली भएर बाँच्नु परेको पीडाले देशको महत्वलाई उजिल्याउदो रहेछ । मेरो देश नेपाल पनि अमेरिका जस्तै विकसित र भौतिक सुविधा सम्पन्न भइदिए कस्तो हुनथ्यो होला ।” नेपाल गरीबी र अशानित सम्झेर उनलाई औडाहा भएर आयो । निन्द्रा पटक्कै लागेन । “के बहिनीले पत्रमा लेखे जस्तै भयो मेरो माइत गाँउ ? अब मैले मेरो माइत पहिलाको जस्तो देख्न पाउने छैन । उनको मनमा पीडा र बेदनाका ज्वारभाटा चलिरहे ।

“शायद यो सबको दोषी हामी नै हौ । किनभने हामी पढेलेखेका नेपालीहरु पनि विदेशमा नै पलायन भएर बसिदिन्छौ । अनि राष्ट्रियतालाई भौतिक सुविधा सँग बेचिदिन्छौ अनि कसरी देश विकास हुन्छ । हामीले पनि पढाई सकेर अमेरिकामा नै बस्ने सोच बनाएका छौ, यसरी हुदैन । मेरो श्रीमानले जसरी भए पनि आफ्नो देशको माटोमा नै बैद्धिक ज्ञान छर्नु पर्छ अनि सीप र सिर्जना प्रस्फुटन पार्नु पर्छ । मैले पनि मेरो देशमा शान्तिकोलागी कलम समाउनु पर्छ अनि समाजसेवा गर्नु पर्छ । विदेशमा राष्ट्रियता गुमाएर अस्तित्वविहीन भएर बाँच्नु भन्दा देशको माटोकोलागी कुस्ती खेल्दै मर्नु नै जीवनको सार्थकता हुन्छ ।”

उनी पढाई सकेपछि अमेरिकामा जीवन विताउने उदेश्यलाई त्यागि दिन्छिन् । अनी आफ्नो देशको माटोकोलागी केही गर्ने कल्पना गर्दा गदै निन्द्रादेवीको शरणमा पुग्छिन् ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : नेपाली कथा, पत्र साहित्य | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *