निबन्ध : कविता मोह

~रोशन खड्का~

कविता पढ्छु म । किनकी यसप्रति मेरो अत्यन्तै मोह छ । यो मोहलाई लेखुँ–लेखुँ लाग्यो । मैले कहिले देखि कविता पढ्न थालेँ ठ्याक्कै भन्न सक्दिन । यो असमर्थता भित्र केहि सम्झनाहरु मात्र छन् । जसलाई यसरी लेखिरहेछु ।

त्यतिखेर ओखलढुङ्गाको अति बिकट स्कुल च्युरीडाँडा प्रा.वि.मा पढ्थें । मलाई पढाउने इन्दिरा मिसलाई आजपर्यन्त सम्झिरहन्छु । यसको कारण छ ।

भर्खरै दुई कक्षा चढेथें । इन्दिरा मिस गाउनुहुन्थ्यो । उहाँको मधुर आवाजले मन्त्रमुग्ध बनाउथ्यो मलाई । सुनिरहन्थेँ । त्यो गीत माधबप्रसाद घिमिरेको “घामछाँया” कविता थियो । कविताभन्दा पनि मलाई इन्दिरा मिसको गीत मनपथ्र्यो । उहाँले सिकाउनुभएको लयमा आफ्ना सहपाठीसँगै ठूलो ठूलो स्वरमा गाउथेँ म, “कति राम्रो घाम कति राम्रो छाँया……..।” त्यतिखेर मैले बुझेथेँ, कविता भनेको त गाउने कुरा रहेछ ।

जसै कक्षा चढ्दै गएँ, ईन्दिरा मिसको आवाज पनि छुट्दै गयो । मैले गाउने घामपानी गीत पनि ओझेल पर्दै गयो । यो ओझेलले मैले बुझेको कवितालाई छोपिदियो । झनहरी सर कविता घोकाउनुहुन्थ्यो । भुलेका प्रत्येक अक्षरको बदला एक लौरो खानुपर्ने भयले कविता खुब घोक्थें म । स्कुलमा घोकेका धेरै कविता आज पनि मुखाजप छ । यसरी दश कक्षासम्म पुग्दा म भित्र कविता सम्बन्धि अर्कै बिचार उब्जिएको थियो । म सोच्थें, कविता त घोक्ने कुरा रहेछ ।

दश पास गरेँ । अङ्ग्रेजी र गणितको आतंकले त्रसित म लुरुलुरु नेपालीको शरण परेँ । बाह«मा बीसवटा कविता पढनु पथ्र्यो । पढ्थें । यतिखेरसम्म कविताले म भित्र स्पष्ट अनुभुत गर्न नसक्ने भावको तरङ्ग सञ्चार गर्न थालेका थिएँ, स्पष्ट हुन मन लाग्थ्यो । पाठ्यपुस्तकमा दिईएको समिक्षा पढ्थें । समिक्षा मेरो स्पष्ट भावमा घन भएर बजारिन्थ्यो । मैले अलिअलि बुझेको कविता र समिक्षाको व्याख्या कतै मेल खान्थेन । त्यतिखेर म सोच्थें, कविता भनेको पुस्तक लेख्ने मान्छेले मात्र बुझ्ने कुरा रहेछ । आफुभित्र कविता बुझ्ने चाहना हुर्किएको थाहा पाउदा एक पटक आग्रह गरेथेँ, “सर, भिखारी कविता बुझ्नेगरी बताईदिनुस् न ।” गुरु त अझै अप्ठ्यारो लाग्ने गरी समिक्षामै लेखिएका कुरा दोहो¥याउनुहन्थ्यो । म बुझ्दिनथें । त्यसपछि महसुस भएथ्यो, म बोधो छु, । बोधो मान्छेले कविता कहिल्यै बुझ्दैन । म भित्र फेरी कविता सम्बन्धि अर्कै धारणा विकास भयो । कविता भनेको नबुझिने कुरा पो रहेछ ।

यसैगरी समय बित्दै गयो । बितेका समयसँग म भित्र कविताप्रतिको मोह चैँ बढि रह्यो । एकोहोरो पढिरहें । यसबीच मैले अनुभुत गरेको कविता गाउने कुरा, घोक्ने कुरा र नबुझ्ने कुरा बिस्तारै बिलाउदो थियो । पढिरहँदा कविताले अनौठो आनन्द दिन थाल्यो, नौलो संसार देखाउन थाल्यो । यो खुसीमा मैले भानुभक्तलाई पढेँ । लेखनाथ र देवकोटालाई पढें । रिमाल, भुपी र मोहन कोईरालालाई पढेँ । अनि बैरागी काँईला र अरु अरु थुप्रै कविलाई पढेँ । यी मध्ये कतिलाई बुझेँ कतिलाई बुझिन, अझै बुझ्दिन । अलि अलि बुझेर अनि अलि अलि नबुझेरै पनि मैले रिमाल र भुपीलाई असाध्यै मन पराएँ । यी दुई प्रिय कविका कविताले नै मलाई कविता पढिरहन प्रेरित गरे । त्यसपछि मलाई थाहा भयो, कविता नबुझ्ने मात्रै हुँदारहेनछन् । सजिलो भाषामा पनि बुझिने कविता लेखिँदा रहेछन् । त्यसैबेला देखि कविताले निरन्तर तानिरहेछ मलाई आफुतिर ।

साहित्यमा कथा र उपन्यास मनपर्छ मलाई । संस्मरण र निबन्धात्मक कृतिमा पनि उत्तिकै रुचि छ । तैपनि कहिले अति नै, कहिले केहि कम मात्रामा म कविता नै पढ्छु । कतै हिड्नु परे झोलामा कविता नै बोक्छु । गाडीमा यात्रा गरिरहँदा बदलिरहने दृश्य र कविता मलाई उत्तिकै रोमाञ्चक र प्रिय लाग्छ । एकै सँग्रहका कवितामा हुने संबेदनाका फरक फरक अनुभुतिलाई म शब्दले व्यक्तै गर्न सक्दिनँ ।

भनिहाले नी म कवितै पढ्छु धेरै । फेसबुक चलाउन थालेपछि यो क्रम अझ बढ्यो । फेसबुकमा जोडिनुभएका साहित्यीक मनहरुसँगको सम्बादले मेरो पाठकिय चेतलाई परिपक्व र फराकिलो बनाउन निकै मद्दत गरेको छ । फेसबुकबाटै घनिष्ट भएका कैयौं मित्रहरुसँग साहित्यबारे हुने लामा फोन संबाद मेरा अबिस्मरणीय क्षण हुन् । अप्रकाशित सर्जकहरुलाई प्रकाशित हुने प्रिय संसार हो फेसबुक । यसमा दिनहुँ प्रकाशित हुने सिर्जनाहरुबाट अरुले जस्तै मैले पनि प्रशस्त लाभ प्राप्त गरेको छु । बिशेष गरी कविता पढिरहने मेरो चाहनाको निम्ति फेसबुक अमुल्य प्राप्ती भएको छ ।

अहिले पढ्नकै लागि काठमाण्डौँ आएको छु । यता आउने बेला आमाले गालि गर्नुभएथ्यो, “अरु पढेर जागिर खान्छन् । तँ चाहिँ जागिर छोडेर पढ् अब । खुब ठूलो काम गर्ने भईस् ।” पढ्नुको अर्थ जागिर भनी बुझ्नुभएकी मेरी आमाको गाली मुसुक्क हाँसेर सुने मात्र ।

अतः आजकाल म पढ्न भनेरै काठमाण्डौँमा छु । यहाँ पनि कवितै पढिरहेछु । केहि साथीसँग मागी, केहि आफैले किनेर निकै कविता पढेँ । पढेका मध्ये बुद्धिसागरका कविता, ल्याम्पपोष्टबाट खसेको जून, हतारमा यात्रा, गार्मेन्टकी गायत्री र मलाई असाध्यै मन परे ।

पछिल्लो समयका यी प्रभावशाली कविताले मलाई बुझाएका छन्, कतिपय कवि सरल लेख्ने ध्याउन्नमा कलालाई भुल्दा रहेछन् । कतिपय चैँ कलात्मक बनाउने मोहमा सरल र बोधगम्य कविता लेख्न चुक्दा रहेछन् । उल्लेखित कवितामा यी दुवै कुराको अभाव पाएँ मैले । कला र विचारको सन्तुलनले यी कविता म बारम्बार दोहो¥याईरहन्छु ।

कविता पढेको निकै समय पछि मैले बुझेको छु, ईन्दिरा मिसले झैँ कवितालाई कसैले लय हालिदिनु नपर्ने रहेछ । यसमा आफैँ एउटा मधुर लयको सिर्जना हुदोरहेछ । यो कसैले घोकाउने गुरुकुलिय वेदका मन्त्र पनि होईन रहेछ । सुन्दर कविताका पंक्तिहरु त मुटुलाई छोएर आफै हृदयमा बस्दारहेछन् । अझ कविता कुनै पण्डितको पुराण त हुदै होईन रहेछ, अरुले अथ्र्याईदिए पछि मात्र बुझ्ने । यो त सबैले आफ्ना लागि आफ्नै आफ्नै विवेकले बुझ्न सक्ने बृहत ज्ञान भण्डार पो रहेछ ।

यसरी म भित्र दिन प्रतिदिन कविताप्रतिको मोह निरन्तर आकासिंदो छ । अतः सूर्यमुखि फूल सूर्यप्रति आकर्षित भएझैँ म पनि कवितासँग आकर्षित छु । फलामका कणहरु चुम्बकसँग तानिएझैँ म पनि कवितासँग तानिदो छु । नदीको लागि समथर भूमीझैँ मेरो लागि पनि कविता निरन्तर हिडाईरहने जीबनको गति भएको छ । यसर्थ भनेको हूँ कविताप्रति मेरो निकै मोह छ ।

This entry was posted in निबन्ध and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *