पुस्तक अंश : मुखालफा

~मनोहर काफ्ले~

भुत

भूतको बारेमा पनि डिउटी मा रहदा साथीहरुमाझ धेरै कुरा कानी हुने गर्दथ्यो । कोहि साथीहरुले भुत नै देखेको र अरु कोहि कोहि ले भने अनुभव सम्म गरेको सुनाउथे । यस्तो कुरा सुनाउनेमा कति साथीहरु त अर्कालाई डर देखाउनकै लागि भए पनि भूतको कृतिम आकृति त्ययार गरि मन गढन्त काहानी बनाइ सुनाउथे । उनीहरुको कहानीमा महिला भुत अर्थात भुतनि, पुरुष भुत को तुलनामा अझ हानिकारक र खतरनाक रहेको बताउथे । उनीहरुको अनुसार पुरुष भुत अलिक संबेदनसिल भएका , बाल, बच्चा, बृद्ध हरु प्रति दया भाव भएका साथै उनीहरुको नाम र काम मा पनि त्यत्ति बिबिधता नभएका हुन्थे । महिला भुत मा भने प्रसस्तै नाम मा बिबिधता पाइन्थ्यो जस्तै किचकन्य , चुडैल, डंकिनी , बोक्सी ,पिसाचिनी आदि । यी महिला भुत हरुले पुरुष हरुलाई ज्यादती गर्ने र हत्या सम्म गर्छन रे भन्ने भनाइ हुन्थ्यो । बाटोमा हिडीरहेका पुरुषलाई आफ्नु मायाजाल मा फसाई बलात्कार सम्म गर्ने गरेको र अन्तमा बेहोस बनाइ , बेहोसी अवस्थामै छोडी हिड्ने गरेका किस्सा सुनाउथे ।

‘’यी महिला जातिले जिउदो हुदा त बसी खान दिएनन् , मरे पछी पनि नछोड्ने भए बा , पछ्याई रहे , सताई रहे , शोषण गरि रहे’’ बिष्णु को भनाइ थियो ।

भूतको बारेमा धेरै जिज्ञासा राख्ने मध्ये मा सोम पनि एक हुन् । उनि भुत र यससंग सम्बन्धित कथा पढने , भिडिओ हरु हेर्ने गर्दथे । भुत संग सम्बन्धित हिन्दि र अंग्रेजी फिल्म हरुको नाम उनको जिब्रोमा झुन्डिएको थियो । उनि खरर हरर फिल्महरु का नाम भन्दथे र साथि हरुलाई नि हेर्ने सलाह दिन्थे । उनि भन्ने गर्थे ‘’ भुत को फिल्म त राति मात्र हेर्न बनाको हो , दिउसो भुत आएको कसैले काही देखे, सुनेको छ ? मनमा डर पैदा होस् , भूतको अनुभूति होस् या भुत भएको महसुस होस् भन्नाका खातिर त्यत्रो लगानी गरेर यी फिल्म हरु बनाइएका हुन्छन । त्यसैले भूतको फिल्म को मजा लिन त जुन नभएको अधेरी रात, त्यो पनि एक्लो, छेउ छाउमा कोहि नभएको बाताबरणमा, त्रास को स्थितिमा हेर्नु पर्छ। दिउसो भूतको फिल्मी हेर्ने त कायर , डरछेरुवा भै गयो नि , त्यस्ताको के कुरा गर्नु , भूतको फिल्म को मज़ानै रातमा हुन्छ .‘’

साथिहरुको भनाइमा नेपालि भुतहरु प्रायजसो सेतो कपडामा देखा पर्दछन । उनीहरु गोरा र अग्ला हुन्छन भने महिला भुत हरु खुट्टा उल्टा पट्टि फर्किएका , ढाड मा मासुको सट्टा हड्डी मात्र र कपडाले छोपेका हुन्छन । यस्तै भूतको प्रसंगमा सुनिल भन्ने गोर्खा का मित्रले आफ्नु अनुभब यसरि सुनाए , ‘’म शारजाह सहरको विमानस्थल नजिकै रहेको नेसनल पार्क मा नाइट डिउटी गरेको छु । पार्क भित्र राति १० बजे पछी सबै बत्ती बन्द हुन्छ । २ ओटा गेट मा १/१ जना सेक्युरिटी बाहेक रातमा कोहि पनि हुदैन । बत्ति निभनु भन्दा पहिले पार्क भित्र रहेको रेल आकारको गाडी बाट केहि व्यक्ति भित्र रहे नरहेको पेट्रोलिंग हुन्छ । सबै सुनसान भए पश्च्यात रातको करिब १२ बज्नै लाग्दा एउटा कालो छाया पार्क भित्र रहेको महसुस गरें । राम्ररि नियालेर हेर्दा कालो बुर्का मा महिलाको आकृति भएको अनुभव गरें । म झस्किए । मैले ‘’तिमि को होउ र पार्क भित्र यति राति किन ?’’ भनेर सोध्ने आट गर्न सकिन । अर्को गेट मा भएको साथीलाई तुरुन्त आउन आग्रह गरें । उसले सायद म डराएर बोलाको हो भन्ने बुझिसकेछ क्यार , ‘’ भित्रै बस , बाहिर ननिस्कि’’ भन्ने सलाह दियो । उसले भने अनुसार त्यो बुर्कावाली त भर्खरै उसको मा पनि आएकी थि रे।’’ सुनिल भनि रहेका थिए ।

‘’मेरो सहकर्मी साथी एकराज म भन्दा पुरानु र यो पार्कमा यस्ता अनगिन्ति अरबी भूतहरू देखि सकेको रहेछ । उसले फोनमा भने अनुसार उसलाई त यी यस्ता अरबी बुर्का लगाएका भुत हरुले सेक्स को अफर नै गरेका थिए रे ।’’ सुनिल ले भनेको थियो ।

बैतडी तिर का अर्का साथी कैलाश र उनका सहकर्मी पाण्डे थर भएकाको भुत संगको किस्सा पनि सुन्न लायकको हुन्थ्यो । तिनीहरु कार्यरत स्कुल मा भुत को चल खेल निकै हुन्थ्यो रे । तिनीहरु भन्दा पहिला त्यो स्कुल मा कार्यरत इजिप्ट तिर का साथीहरुले पनि भूतसँग जम्काभेट नै भएको र भुतकै डरले त्यो स्कुल छोडेर राति नै अर्को स्कुल मा सरुवा मिलाएका भन्ने भनाइ थियो । कैलाश र पाण्डे का अनुसार उनीहरु भुतसंग त प्रत्येक रात नै उठ बस हुन्थ्यो । उनीहरु भन्ने गर्थे , ‘’बेलुका आ आफ्नु खाटमा सिरक ओडेर राम्ररी निदाएका हामी दुबै जना बिहान उठ्ता त भुइमा त्यसरी नै सिरक संगै राम्रै तरिकाले भुइमा सुति रहेको पाउथ्यों।’’ पहिला त उनीहरुलाई असाध्येई डर लागेको थियो रे तर दुइजना भएकोले र भुत पनि उनीहरुको भलो चाहने भएकोले पछी पछी बिस्तारै भुत संग बस्न आदत नै भयो रे । ‘’कहिँले राति सुति रहेको बेला मेरो नाम लिएरै मलाइ बोलाउथ्यो’’ कैलाश मुस्कान का साथ् भन्ने गर्दथे ।

‘’कहिले काही डिउटी भएको बेलामा सुतेको ठाउमा घच्घच्याउने र बिउझाउने गर्थ्यो। पछी आखा खोलेर हेर्दा कोहि पनि नभएको र केहि बेरमा सुपरभाइजर साचै चेकिङ मा आइ रहेको हुन्थ्यो । यसरि नै हामीलाई हितैसी भूतले फाइन [मुखाल्फा ] बाट जोगाउथ्यो’’। कैलाश भन्ने गर्थे ।

‘’पछिपछि त हामी लाइ एक्लै बस्न पनि डर लाग्न छोड्यो । बिस्तारै त्यो भुत त हाम्रो सहयोगी , सहकर्मी र आत्मीय लाग्न थाल्यो । कहिले काही भुत संग सम्पर्क टुट्दा या भूतको अनुभूति नहुदा पनि हामीलाई नियास्रो लाग्थ्यो ।’’ पाण्डे कैलाश को कुरा मा, हा मा हाँ मिलाउथे ।

अर्का साथि निमेस कार्यरत स्कुलको किस्सा भने बेग्लै थियो । एउटा स्कुलमा तिन जनाको कंट्राक्ट थियो । निमेस, हिरा र कुमार । निमेस चाहि भुत देखि धेरै डराउने र राति भए पछी भित्र बाट बाहिर निस्कदै ननिस्कने ।

‘’ निमेस लाइ डर देखाउने बिचार गरि हामी दुइजना ले दिउसै प्लान बनाएका थियोउ ।’’ हिरा भन्दै गयो । ‘’ मोबाइलमा भूतको जस्तो आवाज आउने रिंग टन राख्यों , र त्यो मोबाइल उ डिउटी बस्ने कुर्सि मुनि चिप्कायेर, [ टासेर ] लुकाएर राखौं । हामी भोलि मात्र फर्कने भन्दै स्कुल बाट निस्कियोउ । नजिकै रहेको अर्को साथी बस्ने स्कुलमा गएर हामि बसेउ । त्यो साथीको स्कुल भने हामीले कार्यरत स्कुल बाट देखिने दुरीमा थियो । राति १२ बजे पछी भने हामी उक्त मोबाइल मा फोन हान्न सुरु गरेऊ ।’’

‘’ एकै छिनमा निमेस त डिउटी छोडेर कहालिदै हामी बसेको स्कुलमा पो आइ पुग्यो र आतिदै भन्न लाग्यो ‘’ भुत, भुत , कुर्सिनै हल्लायो भुतले , म त जादैजान्न त्याहा त एक्लै ‘’ निमेस चिच्याउदै सबै विस्तृत सुनाउन लाग्यो ।

‘’बिचराको सातो नै गएछ क्यार , तिन दिन सम्म ज्वरो आयो’’ हिरा हास्दै भन्दै थियो । ‘’आज सम्म पनि यो रहस्य रहस्य मै राखेका छोउ , तत्र त सरकार हामि माथि आइ लागी हाल्छन नि ‘’ कुमार ले थपेका थिए । कुमार निमेश लाइ सरकार नामले बोलाउथे ।

भूतको बिषयमा कुरा गर्दा साथी सूरेश , समुन्द्र मा राति पौडी खेल्न जादा कालो बुर्कामा आइमाई, समुन्द्रको पानी माथि टक टक हिडेको टाडा बाट देखेको बताउथे भने सुरेन्द्र र केदार भने साइन्स ल्याब मा झुन्ड्याईएको हड्डी हिडिरहेको देखेको कुरा गर्थे । कोहि स्कुलमा बच्चा रोएजस्तो अवाज आउने गरेको सुनाउथे भने कोहि स्कुलको पिंगमा कोहि झुलिरहेको देख्थे ।

यहि प्रसंगमा बिशान्त भन्ने साथी , आफुले भोगेको बारे यसरि सुनाएका थिए ‘’ एक रात म डिउटीमा हुदा भूतको फिल्म हेर्ने विचार लाग्यो । स्कुल भित्र रिसेप्सनमा रहेको सोफामा बसेर कोठा अध्यारो पारेर फिल्म हेर्न लागेँ । हेर्दै जादा मनमा डर साथै कौतुहल बढ्दै गयो । फिल्म को नाम नै ‘डराउन नपाइ’ भन्ने रहेकोले डराए पनि नडराएको झैँ गरेको थिए । मलाइ डर देखाउन सक्क्षम् रहेकोले फिल्म को सफलता महसुस गर्दै समिक्षा गर्न लागेँ । डर यति बढेछ कि म बसेको सोफा मुनि केहि भएको अनुमान गरें । म डराएँ ,उठेर बत्ति बाल्ने बिचार गरें । फेरी बिचार आयो , दौडेर बाहिर निस्कने । जुरुक्क उठेर ढोका बाहिर तिर दौडन खोज्दा कसैले मेरो हात समातेर ताने जस्तो लाग्यो । मा अगाडी बढ्न सकिन । म अब चिच्याउन लागेँ । देब्रे हात कसैले जोड संग भित्रतिर तानी रहेको थियो । अन्तमा जोड लगाएर ताने , झट्कारेर ताने , सम्पूर्ण बल लगाएर ताने किनकी त्यहा जीवन र मृत्यु को सवाल थियो । अन्तत हात छुटाउन सफल भएं । दौडदै बाहिर बत्तिको उज्यालोमा गएर लामो सास फेरें । कसले तानेछ भनेर बुझ्न कोशिस गर्दा त ढोकाको हेन्डल मा सर्ट को बाहुला पो अल्झिएको रहेछ । जोडले तान्दा त बाहुला नै त्यहि अड्किएर बसेको रहेछ’’।

रामहरी डिउटी को बेलामा सुतेर निन्द्राकै सुरमा ठुलो ऐना अगाडी उभिएर आफ्नै प्रतिबिम्ब लाइ भुत सम्झेर कराउदै भागेको थियो रे । पछी ऐना भएको थाहा पाएर र आफ्नै फोटो देखि डराएको ले ऐना नै फुटाएका थिए रे ।

अर्का साथी समिर ले पनि सपनीमा , मस्त निन्द्रा कै सुरमा सुरेन्द्रलाई निदाइरहेको ठाउमा गएर भुत भुत भन्दै उठाएर कुदायेका थिए रे । पछी बास्तबिकता थाहा पाएर सुरेन्द्र ले समिर को राम्रै मरम्मत गरेका थिए रे ।

भूतको अस्तित्व रहे नरहेको त थाहा भएन ,तर साथीहरुले भुत बारे सुनेका या आफै कल्पना गरेका कथाहरु भनि रहदा , भन्ने व्यक्तिका साथै सुन्ने हरु पनि एकपल्ट पछाडी हेरेर मात्र आफु सुरक्षित् रहेको निश्चित गर्न भने बिर्सदैनन थिए । साथीहरुले यसो भनिरहदा मेरो सानु छोरी नुकुशाले आफै भूतको कथा सुनाउदै आफै पछाडी फर्की फर्की हेर्दै डराएको सम्झना आयो ।

लेख्दै गरेको उपन्यास “मुखालफा” को सानो अंश

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : पुस्तक अंश | , . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *