पुस्तक समीक्षा : एकलव्य साधकको सजीव कृति

~निर्मोही व्यास~book cover - Ram Parajuli - Jutta ko Siran - samsmaran

संस्मरणकार राम पराजुली सिन्धुपाल्चोकको अनकन्टार गाउँमा जन्मी, हुर्की कलकलाउँदो नवयुवाकालमा तराईको निजगढमा बसाइँ आएका हुन् । उनी स्वाध्ययनका भरमा साहित्य–सृजनमा एकलव्य भावले समर्पित प्रतिभा हुन् । सरलता, विनम्रता र हार्दिकताका त्रिवेणी वा नुन–चिनी–पानी व्यक्तित्व हुन् । कहिल्यै कसैको कत्ति पनि मन नदुखाउने र आफ्नो स्वाभिमानलाई रत्ती पनि नझुकाउने रसिला, फरासिला, मिलनसार, इमानदार र स्नेही स्वभाव भएका आँखामा राख्दा पनि नबिझाउने रातीगेडी तुल्य प्राणी हुन् ।

बाहिरबाट हेर्दा नपत्याइँदा लाग्ने पराजुली भित्रबाट भने संस्मरण–सृजन कलामा पारङ्गत स्रष्टा हुन् । सृजनका सन्दर्भमा साधना, धैर्य र समर्पणसित तर्सिने र कनिकुथी जस्तोतस्तो लेखिटोपलेकै भरमा आफूलाई विशिष्ट स्रष्टा ठानी पुरस्कार–सम्मान प्राप्तिको लागि उचित–अनुचित यावत् उपायहरूको अवलम्बन गर्नेजस्तोNirmohi Vyas दुष्प्रवृत्तिको भाइरसले ग्रस्त जमातको यत्रतत्र बाक्लो उपस्थिति रहेको वर्तमान बीभत्स परिप्रेक्ष्यमा आत्मप्रशंसा र आत्मप्रचारको असहज–अस्वाभाविक र अमानुषिक तृष्णादेखि टाढा रहेर एकान्त साधनामा रमाउने कतिपय तपस्वी स्रष्टाहरूलाई देख्ता हामीलाई वर्णनातीत आनन्दको अनुभूति हुन्छ । यस कृतिका स्रष्टा राम पराजुली पनि तिनै एकान्त साधकहरूमध्ये एक हुन् ।

सृजनका क्षेत्रमा पराजुलीको प्रतिभा अनेक विधामा भँगालिएको भए पनि उनको मूल क्षेत्र भने संस्मरण नै हो भन्न सकिन्छ । उनले आफ्ना यात्रापरक रचनाहरूलाई पनि नियात्रा वा यात्रासंस्मरण आदि केही नभनेर र तिनको छुट्टै पुस्तक प्रकाशनतर्फ चासो नदिएर संस्मरणकै दर्जामा राखी पुस्तकहरूमा छ्यासमिस रूपले सँगाल्दै आएको पाइन्छ । त्यस प्रसङ्गबाट र उनका त्यस्ता यात्रापरक रचनाहरूमा पनि स्मृतितत्वको प्रबलता एवम् शैलीगत संस्मरणात्मक मनोहारिताको पर्याप्त मात्रामा उपस्थिति पाइएबाट पनि संस्मरण विधाप्रतिको उनको विशेष मोहको पुष्टि हुन्छ । उनको पहिलो पुस्तक ‘स्मृतिका क्षणहरू’ हो, जुन २०५८ सालमा प्रकाशित छ । दोस्रो पुस्तकका रूपमा प्रस्तुत ‘जुत्ताको सिरान’ रहेको छ ।

‘संस्मरण’ भनेको आफ्ना अतीतकालीन अनेक प्रसङ्गहरूमध्ये स्मृतिपटलमा अङ्कित विशिष्ट प्रसङ्गको कलात्मकतापूर्वक गरिएको शाब्दिक उत्खनन हो । संस्मरण सिर्जना गर्ने सीप भरिभराउ छ पराजुलीमा । संस्मरणलाई सजीव र स्वादिलो तुल्याउने कलालाई खेलाउन सिपालु छन् उनी । तर, त्यो सीप उनले औपचारिक रूपमा कुनै विश्वविद्यालयमा प्रकाण्ड प्राध्यापकको व्याख्यान सुनेर वा धुरन्धर साहित्यशास्त्रीहरूले लेखेका सैद्धान्तिक ग्रन्थ पढेर वा कतैबाट सृजनात्मक प्रशिक्षण पाएर सिकेको पटक्कै होइन । न त कुनै बौद्धिक, साहित्यिक सहरिया परिवेश, वातावरण र ज्ञानदाता गुरुको सान्निध्य वा सङ्गत पाएरै हो । उनी त आज नेपाली समाजका असङ्ख्य असङ्ख्यले छ्यासछ्यास्ती पाउँदै आएको औपचारिक शिक्षार्जनको सौभाग्यबाट समेत वञ्चित व्यक्ति हुन् ।

उनले महाविद्यालय त के, विद्यालयको अनुहार पनि देख्नै पाएनन् । उनको त जीवन नै विश्वविद्यालय हो र जीवन नै प्राध्यापक पनि । स्वाध्ययनका क्रममा समेत शास्त्रीय सिद्धान्त उनको रुचिको विषय पटक्कै होइन । उनले पढेर होइन, परेर बुझेका हुन् । सिद्धान्त पढेको भए सम्भवतः उनको सिर्जना यति सजीव हुने नै थिएन किनभने सैद्धान्तिक ज्ञान र सृजन–कर्म नितान्त भिन्न कुराहरू हुन् । सिद्धान्तको पछि लागेर र प्रयासपूर्वक सृजनामा संलग्न भएर कोही कहाँ हुन सक्छ सुन्दर स्रष्टा ! त्यसैले यो कला उनलाई विशुद्ध रूपमा नैसर्गिक उपहार नै हो । औपचारिक शिक्षाको सन्दर्भमा विद्यालयको पनि अनुहार देख्न नपाएका र बारा जिल्लाको एउटा अन्तरकुन्तर, चारकोसे झाडीबीचको गाउँठाउँमा निवास गर्ने राम पराजुलीको बारेमा त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभाग, कीर्तिपुरबाट केही वर्षअघि स्नातकोत्तर तहमा शोधपत्र लेखिइसकेको छ, जुन आफैमा एउटा गर्विलो प्रसङ्ग हो ।

पराजुलीले धेरै लेखेका छैनन् । कृतिको साहित्यिक सौन्दर्य र मूल्य सङ्ख्या वा परिमाणमा नभएर गुणात्मकतामा पो निहित हुन्छ त । त्यो कृतिगत साहित्यिक सौन्दर्य, मूल्य, गुणात्मकता वा प्राणवायु पराजुलीका संस्मरणमा पर्याप्त मात्रामा पाइन्छ ।

उनको पहिलो पुस्तक ‘स्मृतिका क्षणहरू’ (२०५८) मा एघारवटा संस्मरण तथा नौवटा नियात्रा गरी जम्मा बीसवटा रचना सँगालिएका छन् । ती रचनाहरू बहुपक्षीय दृष्टिले अत्यन्त मनोहर छन् । तिनले पराजुलीको उच्च संस्मरणकार व्यक्तित्वको परिचय प्रस्तुत गरेका छन् । भूमिकाकार प्रा.डा. केशवप्रसाद उपाध्यायज्यूका अनुसार पनि पराजुलीका ती रचनाले निजात्मक मूल्य प्राप्त गरेका छन् । अधिकतर रचना भावात्मक रूपमा अन्तस्करणदेखि द्रवित भएर लेखिएका छन् । भाव, भाषा, र शैलीमा समन्वय भएकाले संरचनात्मक दृष्टिले सुसङ्गठित छन् र त्यसैले सुन्दर छन् । संस्मरणको महत्वपूर्ण पक्ष सत्यानुभव र इमानदारी हो र स्रष्टा पराजुली यस सन्दर्भमा इमानदार देखिएका छन् । उनका ती रचनामा अनुभूति तीक्ष्ण छ र अभिव्यक्ति सरल, सरस एवम् प्रभावकारी छ ।

पराजुलीको ‘जुत्ताको सिरान’ शीर्षक यस दोस्रो पुस्तकमा सत्रवटा संस्मरण अनि चारवटा नियात्रा गरी जम्मा एक्काईसवटा रचना सङ्गृहीत छन् । यी सबै थरी रचनामा सम्बन्धित परिवेश, प्रकृति र व्यक्तिविशेषका बहुविध विशेषताहरूको अङ्कन सजीव रूपमा भएको छ । साथै, स्रष्टाको निजात्मकता (वैयक्तिकता, अनुभूति र चिन्तन) प्राणवायुकै रूपमा सर्वत्र व्याप्त छ । कञ्चन, कलकलाउँदो, सरल, सजीव, अनौपचारिक र मनमोहक ज्यूँदो भाषाशैलीमा सिर्जिएका यी संस्मरणहरू पर्याप्त मात्रामा चित्रमय छन्, कलात्मकता, कल्पनाप्रवणता, रसात्मकता, रोचकता, स्वच्छन्दता जस्ता गुणले आप्लावित छन् र कुतूहलमय छन् । त्यस्तै भावात्मक, रागात्मक, आह्लादमय र उन्मुक्त शैलीको अवलम्बनका कारणले संस्मरणकार पराजुलीको प्रस्तुतिमा बेग्लै स्वाद र सम्मोहन छ ।

धर्म र संस्कृतिका नाममा प्रचलित कुसंस्कार र अन्ध–मान्यताको उग्र विरोध, प्रचुर मानवीय संवेदना र मानवप्रति मात्र नभएर मानवेतर प्राणीप्रति समेत उत्तिकै स्नेहभाव, निम्न र उपेक्षित वर्गप्रति तीव्र सहानुभूति, अग्रजहरूप्रति अपार श्रद्धाभाव, प्रकृति र जीवनप्रतिको प्रगाढ प्रेम तथा सदा सकारात्मक चिन्तन संस्मरणकार पराजुलीका वैचारिक प्रवृत्तिगत विशेषता हुन् ।

यस पुस्तकमा सङ्कलित एक्काईसवटै रचनामा उपर्युक्त गुणहरूको टड्कारो उपस्थिति पाइन्छ । यी रचनामध्ये ‘शेषचरु’, ‘जुत्ताको सिरान’, ‘बाको बाकस’, ‘बकैयापूजा’, ‘गुरुङ दाजु’, ‘गुन्यूचोलो’, ‘शुभारम्भ’, ‘पूर्ण यात्रा’, ‘आमाजस्ती छोरी’, ‘मेरो दूधे बालक’, ‘आफ्नै गनगन’, ‘डल्ली फुपू’ आदि कतिपय संस्मरण विशेष स्मरणीय छन् । र, यीमध्ये पनि ‘शेषचरु’, ‘बकैयापूजा’, ‘मेरो दूधे बालक’, ‘आमाजस्ती छोरी’, ‘बाको बाकस’ र ‘डल्ली फुपू’ संवेदनाका दृष्टिले अभैm उच्चकोटिका छन्, जसको पठनका क्रममा म कतिपय स्थलमा आँसु–आँसु भएको छु ।

पराजुली अत्यन्त इमानदार, तरल, सरल, सहज र सुन्दर संस्मरणकार हुन् । उनका कुनै पनि संस्मरणमा कृत्रिमता र बेइमानीको लेश पनि पाइँदैन भन्ने कुराको साक्ष्य यस पुस्तकभित्रका रचनाहरूले नै गरेका छन् । अघिल्लो कृतिमा देख्न पाइएको उनको छवि यस कृतिमा झन् उज्यालिएको छ ।

एक आत्मीय व्यक्ति हुनाका नाताले म स्रष्टा पराजुलीको जीवन–शैली र सृजन–शैली दुवैसित लामो समयदेखि परिचित छु ।

नेपाली संस्मरण साहित्यको गौरवमय भण्डारमा एउटा अर्को मनोरम कृति थपिएको यस माङ्लिक अवसरमा म स्रष्टालाई धेरैधेरै बधाई दिँदै शैली–शिल्पगत परिष्कार–परिमार्जनका साथ अथक भावले उत्तरोत्तर सुमधुर संस्मरण–सृजनका निम्ति अनन्त शुभकामना व्यक्त गर्छु ।

साथै, आफूले दुःखजिलो गरी सँगालेको अर्थराशिलाई पतिको पुस्तक प्रकाशनमा अर्पण गर्नेजस्तो अनुकरणीय कार्यका निम्ति बहिनी सृजना पराजुलीको मुक्त कण्ठले प्रशंसा गर्छु र उज्ज्वल भविष्यको कामनासहित हार्दिक धन्यवाद अर्पन्छु ।

०००

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *