छन्द कविता : मेरो राष्ट्र

~गोविन्ददेव आचार्य~Jaydev Gobinda Acharya

छन्द :- शार्दूलविक्रीडित

झुल्कोसाथ मुसुक्क उत्तर दिशा हाँस्छन् हिराका धुरी
झुल्छन् स्वर्णसमान दक्षिण धरा भर्दै पहेँला मुरी
मेची पूर्व खन्याउँछिन् मधुरिमा काली उता पश्चिम
मेरो राष्ट्र अपूर्व यो प्रकृतिको सर्वोच्च हो हाकिम ।।

बेसी-टार थचक्क आसन लिई बस्छन् पलेटी कसी
थुम्का शैल-मधेशका कनकमा दिन्छन् अनौठा “कसी”
फुल्दै लाख बगानका कुसुमले छर्छन् प्रभा-माधुरी
मेरो राष्ट्र कुबेरको महल हो “सम्पन्नताको पुरी ” !!

गर्छन् निर्झर नाद पर्वत कुँदी सेता हिराहार झैँ
झुल्छन् चामरतुल्य पत्र लतिका शृङ्गार-झङ्कार झैँ
नौला सुन्दर पालुवासित मिली खुल्छन् पखेरा, वन
मेरो राष्ट्र-अगाडि धूलसरि छन् ती स्वर्गका आसन ।।

“लक्ष्मी”, भानु र लेखनाथ, सम वा “मोती” यहीँ देखिए
उम्दा दर्शन, काव्य, नाटक सयौँ गाथा यतै लेखिए
चोखा, ग्रन्थ-पुराणका हरफले मष्तिष्क चोख्याउँछन्
मेरो राष्ट्र नियाल्न देवगण नै पालो गरी आउँछन् ।।

भोलेनाथ हिमालका शिखरमा बस्छन् चुमी पार्वती
गङ्गा घण्टसमान छङ्छङ बगी गर्छिन् सधैँ आरती
खुल्छिन् हेमसमान इन्दु नभमा सौहाग शोभा बनी
मेरो राष्ट्र छ शिल्पमा, प्रकृतिमा वैकुण्ठभन्दा धनी ।।

सीता दक्षिण नाच्दछिन् र भृकुटी चम्काउँछिन् उत्तर
“पृथ्वी” भूमि बढाउँछन् दस दिशा माला उनी सुन्दर
गोर्खाली इतिहा वीर रसको गाढा मिठो छत्र छ
मेरो राष्ट्र विशाल यो भुवनमा सर्वत्र सर्वत्र छ ।।

टिप्छन् स्वर्ण किसान कर्मबलले खोस्रेर आफ्नो धरा
रोपी वीज रमाउँछन् अधरले मोती टिपी अप्सरा
यो सम्पन्न विशुद्ध भूमि बलियो स्याहार आधार हो
मेरो राष्ट्र मधेश-शैल-हिमको सम्पूर्ण संसार हो ।।

थाल्छन् राष्ट्रियगान लाख चिडिया ठोक्छन् अरू मादल
ठोक्छन् पत्थर डम्फु, ढोलक उता घन्काउँछन् बादल
फुक्छन् मन्द बयार तिर्र मुरली भर्छन् गुफा गायन
मेरो राष्ट्र घुमेर देवगणले भुल्छन् स्वयम् नन्दन ।।

– विदुर न•पा• 3 शेरा, नुवाकोट ।

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *