कविता : विश्वासघाती समय

~मणिराज सिंह~Maniraj Singh

चारैतिर उज्यालो छ र पनि
किन केही देखिँदैन कतै पनि
सून्य केबल सून्य फिँजिएझैँ
सबैतिर एकनाश छाएको छ सन्नाटा
भाङ्ग, धतुरो खाएर लर्बराइरहेको बिहानी
रेबजिग्रस्त बहुला कुकुरझैँ
पानीसँग डराएर
भीर–भीर ढुन्मुनिदै
आत्महत्याको प्रयासमा
बमसँग वसन्त साटिरहेछ
आफ्नै लाशमाथि कात्रो
सजाइरहेछ ।

रित्ता पेटहरूको युद्ध
र नाङ्गा आङ्हरूको हड्तालले
तिमी र ऊ बीचको अन्तर
झन–झन फराकिलो हुँदैछ
अन्धकारमा हुरी–बतास सँगसँगै
बाढी र पहिरोले गाजेझैँ
कोर्रा, सुम्सुम्याउँदै समय
ह्वाहर्वार्ती बलिरहेछ
आफैँभित्र गुम्साएर संवेदना
सपनासँग बम साटिरहेझैँ लाग्छ
आफैँलाई आश्वास्त पार्न
थपथपाएर आफ्नै बिद्रोह
विश्वासघात गरिहेझैँ लाग्छ ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.