निबन्ध : मान्छे र रूख

~त्रिभुवनचन्द्र वाग्ले~

वर र पीपलका रूख रहेकाले ‘वरीपिपल’ नामाकरण गरिएको छ मेरा पितापूर्खाले चर्चिएको बारीलाई । हुनुपर्ने थियो–वरपीपल । हाल त्यो बारी चौर भएको छ । सुरुमा यसको नाम वरपीपल थियो र क्रमशः जनजिब्रोले यसलाई वरीपीपल बनाएको छ । यसलाई अपभ्रंश भनिएला व्याकरणमा । कमसे कम म चाहीं अपभ्रंश भन्ने पक्षमा छैन । पुस्तौं वक्ताजिब्रोले बनाएका शब्दलाई सम्मान गर्नुपर्छ । भाषाको यो जनजिब्रीकरणलाई अपभ्रशं भनियो भने हाल हामीले लगाउने पाइन्ट सुरुवालको अपभ्रंश हुनसक्छ । हाम्रा चेतना, बुझाइ, मूल्य, मान्यता सबै अपभ्रशं हुसक्छन्, जो हिजोभन्दा भिन्न छन् । मेरा पुर्खाले पूज्ने चन्द्रमामा आज आवास योजनाका घडेरी प्लटिङको तयारी गरिनु उहाँहरूको दृष्टिकोणमा मानव चेतनाको अपभ्रशं हुनसक्छ । त्यसैले कुनै पनि शब्दको अपभ्रंश हुन्छ भन्ने कुरा म मान्दिन । बरु त्यसको स्थानीयकरण, जनस्तरीकरण भएको मान्नुपर्छ । नाम जे राखिए पनि त्यो वरपीपलको रूखमुनि धेरै गोठालागाठालीले मायाप्रेम गाँसेका छन् । टिनको ट्याङ्का टल्काउँदै आउने र सुहँुरे भञ्ज्याङतिर लाग्ने कैयन लाहुरेहरूले त्यस चौतारोमा विश्राम लिएका छन् । थकाइ मारेका छन् । खेतालाखेतालीले मायाप्रेम, विरह र धैर्यका गीत गाएका छन्–

आउन नानी जाउँ उधौं उधौं
कैले रुदै कैले मन बुझाउदै ।

जे सुकै नामले उच्चारण गरे पनि त्यो चौतारोको धर्म अपभ्रंश भएको छैन । सबैलाई बराबर शीतल दिन्छ । चैतमा केही पात खस्छन्, फेरि भरिन्छन् बैशाखमा । प्राकृतिक धर्ममा ती रूख विचलित छैनन् । म वर–पीपललाई विष्णु र लक्ष्मी भन्न रूचाउन्न तर तिनले पालना गरेका नियमिततालाई धर्म भन्न चाहन्छु । कृष्णले अर्जुनलाई प्रकृति धर्मका बारेमा जे जसरी व्याख्या गरेका छन् त्यसको निष्कर्ष हो– नियमित र स्वाभाविक रूपमा हुनुपर्ने काम नै प्राकृतिक धर्म हो । जस्तै रूखको पात हरियो हुन्छ, त्यो धर्म हो । रूखले सबैलाई बराबरी शीतल दिन्छ, त्यो धर्म हो । घाम पूर्वमा उदाउँछ, पश्चिममा अस्ताउँछ, त्यो पनि धर्म हो । जुन काम करोडौं वर्षदेखि हुँदै आएका छन् । नियमित प्राकृतिक कार्य नै धर्म हो भने त्यो चौतारो आफ्नो धर्ममा विल्कुल अडिग छ । मान्छेको सन्दर्भमा पनि यो व्याख्या उपयुक्त हुनेछ । रूखले धर्मयुद्ध लडेको सुनेको छैन । रूखले धर्म परिवर्तन गरेको पनि मैले जानेको छैन । मैले पढेको छैन, कुनै पनि रूखले धर्म निरपेक्षाताको घोषणा गरेको अखवारी समाचार तर मानिसलाई यस्ता सन्दर्भमा रूखसँग तुलना गर्ने हो भने उसको स्थान कहाँ रहला मलाई पत्ता छैन । व्यापारको सिलसिलामा मलेसिया गएको भारतीय हिन्दु मुस्लिम भएको छ । वङ्लगादेशमा राजश्व छुटको सुविधा दिने÷नदिने दबाब वा प्रलोभनमा हिन्दुहरूलाई मुस्लिम बनाइएको छ । भारत र पाकिस्तानको विभाजनपछि पाकिस्तान नगएका कतिपय मुस्लिमले सुरक्षाका लागि आफूलाई क्रमशः हिन्दुकरण गरे । नेपालका गाउँगाउँमा इसाई धर्म प्रचारका लागि मण्डली स्थापना भएका छन् तर एउटा पनि रूखले आफ्नो धर्म परिवर्तन गरेको उदाहरणमा मलाई कन्भिन्स् गरियोस्, म त्यसै दिनदेखि अक्षरको खेतीबाट अवकाश लिनेछु । हो, इच्छा अनिच्छा कोरलीलाई कृत्रिम गर्वाधान गराउने मानवले आँप र ओखरलाई कलमी गरेर वर्णशङ्कर उत्पादन गर्छ भने म यसलाई रूखले धर्म परिवर्तन गरेको मान्दिन ।

पिताजीका शिवलाल उपाध्याय वाग्लेले त्यो चौतारो लगाउनु भएको हो, आफ्नो जग्गाको पुच्च्छरमा । शिवलाल मेरा चारौं पुस्ताका वंशवृक्ष । पिताजी बालचन्द्र, पितामह टीकानिधि, प्रपितामह लक्ष्मीप्रसाद र शिवलाल हाम्रा पुस्ता हुन् । शिवलालले नै उक्त चौतारो लगाउनु भएको यकिन प्रमाण छैन । खोज्न आवश्यक पनि छैन । रूख आफैमा एउटा अज्ञात जीवन हो । यसको अज्ञातपनलाई भर्जिन रहन दिनुपर्छ । वंश पहिचानको नाममा बाबुको परीक्षण गर्नु पूर्वीय दर्शन होइन । नोवल पुरस्कार (१९४६) विजेता, गौतम बुद्धमाथि लेखिएको ‘सिद्धार्थ’ उपन्यासका रचयिता हरम्यान हेस्ले भनेजस्तै आफ्नो सामथ्र्यमात्र रूखलाई थाह हुन्छ तर उसलाई आफ्ना पिता वा पूर्खा को हुन् भन्ने जानकारी हुँदैन । साथै, हरेक वर्ष ऊबाट अपल हुने उसका हजारौ बालबच्चा (काण्ड, हाँगा÷पात) बारे पनि ऊ अज्ञात नै रहन्छ । मानिसमा दूरदिृष्टको क्या भ्रम छ । ऊ आफुलाई जान्नेसुन्ने ठान्छ तर श्राद्धमा तीन पुस्ताको नाम लिनु नपर्ने हो भने कैयनले आफ्ना तीनपुस्तेको नाम बिर्सने थिए । अनि फेरि मानिसले दशौं पुस्ताको नाम जान्यो रे, के लछारपाटो लाग्छ त त्यसबाट ? मान्छे र रूखको भिन्नता यही हो । अझै पनि हाम्रा केही पुस्ता त्यी वरपीपलका रूखभन्दा चाडौ अलप हुने छन् यस धरतीबाट । भगवान श्रीकृष्णको गीता संवादलाई विश्वास गर्ने हो भने–पीपल अविनाशी छ । यो संसारजस्तै । संसार र नाश–विनाशको परिभाषा तय नहुँदासम्म म गीताका यो भनाइमा सहमत हुन सक्दिन तर एउटा सत्य के हो भने वरपीपल दीर्घजीवी वृक्ष हुन् । मानिस त हरम्यान हेस्ले भनेजस्तै रूखबाट अपल हुने हजारौ उसको सन्तान अर्थात पातपतिङ्गर काण्ड र हाँगा हुन्, जसको लेखोट रूखलाई हुँदैन ।

पूर्खाले लगाएको चौतारोको बिबाह गरिदिनु पर्ने धर्म हजुरबा लक्ष्मीप्रसादले निवार्ह गर्नुभएको रहेछ । राम्रो कर्मकाण्ड÷विधि पु¥याएर । त्यो चौतारोको बिबाह गरिएको आफूले सुनेको हजुरआमा धनमायाले पिताजीहरू बा र ठुलाबा (बालचन्द्र, पूर्णचन्द) लाई सुनाउनु भएको रहेछ । मैले यो कुरा छोराछोरीलाई सुनाएँ भने– उनीहरूले पक्कै पनि सोध्नेछन्– वरपीपलको लभ म्यारिज कि अरेन्ज म्यारिज । यसले के स्पष्ट गर्छ भने हजुर बा लक्ष्मीप्रसाद र छारोछोरी पारुपुरुमा विबाहलाई बुझ्ने दृष्टिकोणमा व्यापक भिन्नता आएको छ । विगत अर्थात हजुरबा पुस्ता थोरै भए पनि उपकारमा विश्वास गर्दथ्यो र चौतारो लगाउने तथा त्यसको बिबाह गरिदिने परम्परा पालना गर्दथ्यो । छोराछारी पुस्ता अर्थात वर्तमान उपभोगमा बढी विश्वस्त छ । त्यसैले वर्तमान पुस्ताले विवाहलाई सोह्र संस्कार वा पितृऋण तिर्ने माध्यम मान्दैन । यो पुस्तालाई कलेजमा पोलिस मानवशास्त्री ब्रोनिस्लाभ म्यालिनोस्कीको विचार घोकाइएको छ । जसले भनेका छन् ‘बिबाह बच्चा जन्माउने र तिनीहरूको रेखदेख गर्न गरिएको सम्झैता हो’ । म्यालिनोस्कीको विचारमा सहमत हुने हो भने बिबाह उपभोगका खाँतिर गरिन्छ । पूर्वीय दर्शन पढ्नु हुन्छ भने बिबाहलाई उपयोगितावादको परिभाषाले निरुपण गर्न सकिदैन । बिबहालाई संस्कार भन्नेहरूको विचारमा सम्झौता भन्नेहरू अपभ्रंश हुन् । म मान्छु यो साँस्कृतिक परिवर्तनले ल्याएका अलगाव हुन् । त्यलैले परिवर्तनलाई अपभ्रंश भनियो भने अनर्थ हुन्छ ।

मान्छे र रूखको सम्बन्ध धेरै पुरानो हो । शिवजीलाई सङ्कट पर्दा बयरको रूखमुनि लुकेर बस्नु परेकाले बदरीनाथ (बद्री) धाम बन्यो । ऋषिमुनिले रूखमुनि तपस्या गरे । गौतम बुद्धले बोधिवृक्षमुनि बुद्धत्व प्राप्त गरे । यतिमात्र होइन रूख बिरुवा मानिसका जीविकोपार्जनका साधन पनि हुन् । आँपको रूख, केराको थाम, धानको गाँज, मकैको बोट, बाँसको झ्याङ आखिर सब मानिसका पेट पालनका साधन हुन् । तर यस्तो सम्बन्ध आपसी (रेसिप्रोकल) रह्यो कि रहेन ? त्यो विवेचनाको अर्कोपाटो हो । मानिसले रूख काट्दै गरे, रूखले अक्सिजन दिदै गरे । मानिसले घाँस काट्दै गरे बोटले छहारी दिदै गरे । मानिसले दाउरा मार्दै गए, सट्टामा आँपले फलेर बैगुनीलाई गुनले मार्ने प्रयास ग¥यो । विज्ञानले दुबै अर्थात मान्छे र रूखलाई जीवित मानेको छ । यसलाई अस्वीकार गर्ने वैज्ञानिक ज्ञान मसँग छैन । बाध्यतावश म चुप बस्न पर्छ । के यो मेरो चुप ‘मौनम सम्मति लक्षणम्’ हो ? पक्कै होइन । हो भने पनि मैले अहिलेसम्म चित्तबुझ्दो उत्तर पाएको छैन– जीवित त दुबै हुन् तर दुबै क–कसका लागि बाँचे ? विज्ञानले भनेको छ, रूखले दिने अक्सिजन बिना मानिस बाच्न सक्दैन । अर्थात बाँच्नका लागि मानिसलाई रूख चाहिन्छ तर मैले आजसम्म यस्तो विज्ञान पढेको छैन जसमा मानिस बिना रूख बाँच्न सक्दैन भनेर लेखिएको होस् ।

मानिसले आफूलाई निकै सफल प्राणी ठान्छ । पछिल्ला सफलताका कारण मानिसको आयु पनि बढ्दै छ तर पनि उसले पीपलको रूख जति आयु पाएन । मैले देखेको छु– रूखको साँधसीमामा मान्छेले झगडा गरेका । एउटाले भन्छ, यो रूख मेरो हो, अर्को त्यसै भन्छ । तर रूख भन्दो हो– तिमीहरू दुईटै मेरा हौ, ममा निर्भर अनाथहरू । यति क्षणिक, कच्चा, निर्दो मानिसले कहिल्यै पनि आफूलाई रूखभन्दा कमजोर ठानेन । सायद मानिसको सबैभन्दा कमजोरी यही हो ।

शारदा बर्ष ३ अंक ११ पूर्णाङ्क ३५ फागुन २०७३ मा प्रकाशित

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in निबन्ध and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *