एकाङ्की : देश हराएको सूचना

~नन्दलाल आचार्य~

पात्रहरू:
सूत्रधार : ४० बर्से खाइलाग्दो अधबैंसे
युवक : ३० बर्से जवान युवक
युवती : २८ बर्से युवती
वृद्ध : उमेर ५०/५२ तर बुढ्यौली देखिने आकृति भएको

(सुनसानजस्तै सडक, कतै-कतै स-सानो गाइगुइँ आवाजमात्र । सडकभरि टायर बालेका काला टाटाहरू स्पष्ट देखिन्छन् । घरिघरि एकाध मानिस देखिन्छन् तर तिनीहरूमा उदासिनता, अन्योलबाहेक अर्थोक भेटिन्न । त्यतिकैमा सूत्रधारको प्रवेश हुन्छ । ऊ बोल्दै जान्छ, दर्शकहरू पनि थपिँदै जान्छन् । यातायातका साधन वारपार नहुने गरी सडक जाम हुन्छ ।)

सूत्रधार : (एक्कासि ठूल्ठूलो स्वरमा बोल्दै) देश खोज्दाखोज्दै म यहाँ आइपुगेँ । एउटा झिनो आशा पलाएको छ । अवश्य मेरो हराएको देश यस ठाउँमा भेट्नेछु । देशका टुक्राटुक्री सबै भेला पारेर पुन: अर्को संरचना तयार गर्ने धोको छ । नयाँ देश निर्माण गर्ने लक्ष्य छ । आउनुस्, झट्टै आउनुस् । यस महान् कार्यमा एकजुट भएर आउनुस् । तपाईंहरू हातमा हात र काँधमा काँध मिलाएर आउनुभए मात्र (शून्यलाई देखाउँदै) यो पालुवाविहीन वृक्षमा पालुवा पलाउँछन् । यसलाई मलजल गर्ने मात्र हैन, यसका निम्ति प्राणवायु बन्ने काम हाम्रो हो । थाहा छ, तपाईंहरूलाई ? यो वृक्ष रोइरहेछ । प्राण र अस्तित्व रक्षाका निम्ति हात पसारिरहेछ । हर घडी भनिरहेछ – ‘मलाई काट्न, ढाल्न यहाँ अनेकन गुट उपगुट सक्रीय छन् । म शताब्दीदेखि चोट खपेर बसिरहेछु । अँझै चोट दिन्छौ भने पनि सहन्छु तर ढल्न चाहन्नँ । टुक्रिन चाहन्नँ । म चोइटिन मन पराउँदिनँ । कुरो बुझ्नुभो ? पानी बग्नेतर्फ कुलो बनाउँदै जाने हो भने अस्तव्यस्तभित्र पनि सूर्यको किरण छिराउन सकिन्छ । सकिन्छ, देश भेट्न सकिन्छ । एक भए अनेक एक बन्दछ ।

युवक : (प्रवेश गर्दै) म आफ्नै पाइतालामुनि अस्तित्व खोजिरहेछु । मेरा हर पाइला सार्थक चिनो छाड्न आतुर छन् तर म आँखा देख्दिनँ । कान सुन्दिनँ । मसँग आफ्नै मस्तिष्क छैन । म सोच्नै सक्तिनँ । भलै तपाईंहरू मसँग आँखा, कान जस्तै हरेक अङ्ग-प्रत्यङ्ग भएको देख्नुहोला तर भएर मात्र नहँुदोरहेछ । उपयोगमा ल्याउने अवसर नपाएपछि यता पनि रित्तो, उता पनि रित्तो हुँदोरहेछ । जताततै शून्य-शून्य ।

युवती : (युवकलाई धकेल्दै) भो-भो आदर्शको पगरी तान्ने समय यो होइन । आँखा र कानले काम नगरेर के भो त ? हात र गोडा त सद्दे छन् । यिनै हात र गोडाले पहाडलाई मैदान, मैदानलाई पहाड बनाउन सक्छन् । हेर, मेरा निम्ति तिमी औजार हौ । यही औजारले म अगाडिका सारा पर्खाल तोड्न सक्छु । तिम्रो र मेरो नवीन इतिहास बनाउन सक्छु ।

सूत्रधार : हेर्नुस्-हेर्नुस् (एक वृद्धलाई देखाउँदै) यी वृद्ध र यी वृक्षमा केही फरक छैन । वृक्ष वनस्पति हो, वृद्ध मानिस हो । फरक अक्सिजन र कार्वन डाइअक्साइडको लेनदेनमा छ तर दुवै जीवन उस्तै हो ।

युवक : वृद्ध प्रतिनीधि नायक हुन् । समय पचाएका र वसन्त धेरै फुलाएका व्यक्ति हुन् । वृद्धको पीर आफ्नै प्रकारको होला । मेरो चांिहँ भिन्दै प्रकारको छ ।

युवती : मेरो झन् विशेष प्रकारको छ ।

सूत्रधार : पीरैपीरको पहाड हाम्रा सामु खडा छ । त्यो पहाड भत्काउन हामीसँग आँट छ, साहस छ तर क्रियाशीलता छैन् । यसअघि मचाहिँ मेरो देश खोजिरहेछु । हरेक मनमष्तिस्कमा क्रियाशीलताको वसन्त फुलाउनु छ । त्योभन्दा पहिले म देश खोजिरहेछु । के तपाईंहरू कसैले देश भेट्नुभयो ?

वृद्ध : (बोल्न खोज्छ तर लामो खोकीले सताउँछ । ऊ मुर्छित हुने गरी खोकिरहन्छ । जबसम्म चेतना रहन्छ तबसम्म खोकिरहन्छ । चेतना हराएपछि ऊ ठाउँको ठाउँ ढल्छ । केही दर्शकले उसलाई उठाएर लैजान्छन् । मञ्चमा एकक्षण शून्यता छाउँछ ।)

नेपथ्य : सबैसँग सबै खाले पीडाको सगरमाथा छ । पीडितलाई पीडा सुनाउनु हुन्न । पीडितलाई पीडाबाट मुक्ति दिलाउने उपाय सुनाउनुपर्छ । पीडा सुन्नासाथ पीडित उम्लिन्छ । उम्लेपछि यस्तै हुन्छ ।

(नेपथ्यबाट आवाज आउन्जेल दर्शकको ध्यान उतै केन्द्रित हुन्छ ।)

सूत्रधार : आज पीडा सुन्ने र सुनाउने क्षण हो । पीडाबाट मुक्ति हुने र गराउने क्षण हो । आउनुस् आ-आफ्ना पीडा साटासाट गरौँ ।

युवक : (अघि सरेर) म एम.ए. पास गरेको युवक हँु । मसँग ज्ञान छ । ज्ञानको उपयोग गर्ने ठाउँ छैन । बेरोजगारीले गाँजेको छ । म अहिले वन उपभोक्ता समितिले वनरक्षा गर्न खटाएको कर्मचारीका रूपमा बिहान दश बजेदेखि साँझ पाँच बजेसम्म काम गर्छु । मासिक एकहजार पाउँछु । मलाई यो काम गर्न मन छैन । कामको खोजीमा छु । मलाई योग्यता अनुसारको काम दिनुस् ।

सूत्रधार : काम-काम-काम । काम ठूलो हँुदैमा नाम ठूलो हुन्न । सानो कामले पनि ठूलो नाम कमाएका धेरै उदाहरण छन् । सुनसरीका सेबइलाल चौधरी प्रतिनीधि नायक हुन् । उनले वन बढाउन, संरक्षण गर्न र प्रत्येकमा चेतना भर्न आफृ्लाई व्यस्त पारे । उनको जीवन त्यही जन्मियो, फुल्यो र फल्यो । अब तपाईंको पालो आयो । वनमा मन लगाएर नाम र धन दुवै कमाउनुस् । शुभकामना छ । अँ, झन्डै बिर्सेँछु ! के तपाईंले मेरो देश देख्नुभयो ?

(युवक तीन छक्क पर्छ ।)

युवती : (अघि सर्दै) मसँग ज्ञान छ, जोश छ तर सहयात्री छैन । म सँगसँगै हिँड्न चाहन्छु । मसँग जीवनको सहयात्रामा सहभागी हुने कोही छैन । म एक्लै उराठलाग्दो जीवन बिताउन सक्तिनँ । मेरो कुरूपताबाट तर्सेर नजिक आएकाहरू पनि भाग्छन् ।

(युवकलाई देखाउँदै) यो युवक, जसलाई म मन पराउँछु, ऊ पनि मलाई मन पराउँथ्यो । ऊ अहिले बेरोजगार छु भन्छ । सहयात्रा गर्न रुचाउँदैन । म भित्रभित्रै जलेकी छु ।

सूत्रधार : व्यथा छ भन्दैमा अधकल्चो सुनाएर हुन्न । पूरै सुनाऊ । सुन्नेले सुनेपछि उपायको खोजी हुन सक्छ ।

युवती : म त्यतिकै सहयात्री खोजिरहेकी छैनँ । छाडा केटी पनि होइनँ । छाडाजस्तो हुनु मेरो बाध्यता हो ।

सूत्रधार : भूमिका चाहिन्न ।

युवती : ठिक छ । मेरा पिता पुरानो सोचाइका मानिस हुनुहुन्छ । मलाई दरबारिया भारदारकी बुहारी बनाउन चाहनुहुन्छ । त्यसका लागि उहाँले एक मानसिक अपाङ्ग अधबैँसे छान्नुभएको छ । धन भएपछि सुख गोडामै आउँछ भन्नुहुन्छ । मैले इन्कार गर्दा १५ दिनभित्रै तँ यस घरपरिवारबाट बाहिरी; नत्र म जे चाहन्छु, त्यही हुन्छ भन्ने घोषणा गर्नुभएको छ । तसर्थ म बच्न चाहन्छु । म सामन्ती संस्कारले युक्त परिवारसँग सम्बन्ध गाँसेर अस्तित्वको तिलाञ्जली दिन चाहन्नँ । म चाँडै नयाँ संसार सृष्टि गर्न चाहन्छु । म मानसिक र शारीरिक रूपमा साङ्ग हँु । अपाङ्ग बन्न चाहन्नँ ।

सूत्रधार : विचार सुन्दर छ । क्रियाशीलता छैन । संसारमा तिमी एक्लै आयौ । समयसँग सङ्घर्ष गर्दै अघि आयौ तर यस विन्दुमा तिम्रो जीवन अल्मलियो । तिमी आफै चुक्यौ । अब तिमीलाई पढ्न कठिन छैन । सधैँभरि साथ दिन्छु भन्छ तर एकपटक त्यसले पनि अवश्य छाडेर जान्छ । तिमीले पनि छाडेर जान्छौ । नचाहँदानचाहँदै जानुपर्छ । बिधान टारेर टर्दैन ।

(बीचमै युवती बोल्न थाल्छे ।)

युवती : हैन ! मलाई उपाय चाहियो । मलाई मेरो सहयात्री चाहियो ।

सूत्रधार : म भन्दै थिएँ । तिमी सुन्दै थियौ । अब तिमीले फुकिफुकी पाइला चाल्नुपर्छ । आफ्नो सामर्थ्यले आफ्नै खुट्टामा उभिनुपर्छ । तिमी स्वाबलम्बी बन । थोरै भए पनि कमाऊ । त्यसैले तिमीलाई प्रतिष्ठा दिन्छ । त्यसपछि युवकमात्र होइन पिताश्री पनि तिम्रा अगाडि झुक्नुपर्छ किनकि आफ्नै खुट्टाले धर्ती टेकेको मान्छेले यस संसारका हरेक तगारा तोड्न र फोड्न सक्छ । साँच्चै ! मैले त भुसुक्कै बिर्सेँछु ! के तिमीले मेरो देश देख्यौ ?

नेपथ्य : दास हुनुपर्छ भनेर हरायो । टुक्रिनपर्छ भनेर निसास्सियो । खिइँदै जानुपर्दाको पीडा देशसँग छ । दशगजा र कालापानीमा देश रोगाएको छ ।

(हतारिँदै भीडतिर जाँदै)

सूत्रधार : खै देश कहाँ छ ? कहाँ छ ? अढाई शताब्दीदेखि हराएको देश खोजिरहेछु । जेठमा भेटिन्छ भनेर कान ठाडो बनाएँ, असारमा भेटिन्छ भनियो । असार आउँदा नआउँदै मङ्सिरमा भेट्लास् भने । किचलैकिचलो निस्कियो । अब चैत्रमा भेट्छस् भन्दै छन् । मूलधारमा नआई देश भेटिएला ?

(एकक्षण सन्नाटा छाउँछ ।) जोखना हेर्ने ज्योतिष ढँटुवा निस्किए । अब ज्योतिषबाट विश्वास उठ्यो । त्यसैले म मेरो हराएको देशको हुलिया बताउँदै छु । फेला पार्नुहुने जोकोही महानुभावले कृपया सूचना दिनुहोला ।

देशको नाम – लोकतान्त्रिक गणतन्त्र नेपाल,

संघीय राज्य – …………………………,

सार्वभौमसत्ता – पूर्ण रूपले जनतामा अन्तर्निहित,

राजकीय हर्ताकर्ता – आधा नरमा आधा नारीमा/दलित, उपेक्षित, जनजाति आदिवासी एवं अल्पसङ्ख्यक जातिको हर अङ्गमा सम्मानजनक अस्तित्व/समानुपातिक प्रतिनीधित्वमार्फत समावेशीको पूर्ण प्रत्याभूति/धार्मिक कुसंस्कार, रूढिवादी एवं छुवाछुत प्रथाको समूल नष्ट ।

(सबै दर्शकहरूलाई जम्ला हात गर्दै)

धन्यवाद, नमस्कार ।
नन्दलाल आचार्य

(स्रोत : शब्दाङ्कुर, पूर्णाङ्क ७५, पुस २०६४)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in एकाङ्की and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *