संस्मरण : थ्री बी, ह्याङओभर र भर्जिनिटी

~मनोज बोगटी~Manoj Bogati_1

कवि-गायक अनिल फागोले बिहे नगरेको भए टिनटिनमा थ्री बीले बबाल गर्ने थिएन। यो बबाललाई ऐतिहासिक मान्ने कवि सरण खालिङ जुरुकजुरुक उफ्रिने थिएनन्‌-कवि भूपेन्द्र सुब्बाको टेलिफोनिक ह्याङओभर थियो यो। भर्खर आँखा डाक्टरलाई देखाएर आएको, देब्रे आँखाको नानीमा घाउ बोकेर म सुनिरहेको थिएँ। कविताले मात्छ भनेर कहीँ सुनेको, म त्यसैको ह्याङओभरमा थिएँ भूपेन्द्र जस्तै। अनिल तेलैजा कतिदिन त्यही घटनाले मातिए। निमा शेर्पा र आशिष राईको हालत पनि उस्तै थियो। फेसबुकमा म पढिरहेको थिएँ-आशिष ह्याङओभरको टल्किने विम्ब-

थाह छ तिमीलाई?
म बजिया आँखाहरुलाई चिन्छु त
अनि चिन्छु बिजनबारी, छोटा रङ्गीत, टिनटिन कम्प्लेक्स।
म सप्पै सप्पै चिन्छु।
सूरजले नै छर्छ सुनौलो दिनको ‘धड्कन’
त्यसपछि त पलाउँछ है
जताततै अक्षर।
कर्णको विरह मैले इतिहासमा होइन अर्थशास्त्रमा पढेको।
अनि राजालाई भेटौँ लाग्दा
राजा यो दिनको इतिहासमा कुन्नी किन थिएन।
तिमी छक्कै पर्छौ होला
मैले हुर्कंदै गरेको लेखनाथलाई देखें।
बाउको पसिनामा चोबेर
लेख्दैथ्यो उसले ‘उन्मुक्त सुगा’।
विनोदले रोपेको रुखको हॉंगामा बसेर
मच्चिमच्चि थप्पडी मार्ने मै त हो।
ठुलो कुरा गरेको होइन कि
म अनिलले त्यसबेला हामीलाई ‘हेर्नू’ भनेर खोलेको
कविताको खिड्कीबाट हीरो भएर आउने मनोजलाई त चिन्छु।
हो म मनोज बोगटीलाई चिन्छु।
मनोजको
पसिनाको छाला पिल्सिन्दा
उठेको गीतको रिस देखें।
विसन्चो भएरै सन्चो भएका
घाउका रङहरु
अनि त्यही घाउका रङहरुले
सजेको बिम्बगोष्ठी देख्छु,
हुनसक्छ
उसको बिम्बले मलाई सधैँ देख्दैन
तर म चाहिँ
बिजनबारी, बोगटी र बिम्ब
जिन्दगीभर देखिरहन्छु।

-यही थियो थ्री बीको बबाल ह्याङओभर। मलाई थाहा छैन किन नेपालका कवि मित्र स्वप्निल स्मृतिलेे मलाई काठमाण्डौमा भनेका थिए-तपाईँको कवितालाई भर्जिन कविता भन्छौं। कवि नाकिमा नाकिमले पनि त्यसैलाई सही थपे। उनीहरूलाई भर्जिन लागेको मेरो कविता तर आफ्नै मुलुकमा उस्तो भर्जिन थियो त? मलाई मेरो कविताको भर्जिनिटी केलाउन मन लागेको थियो। ‘एस्‌को कविता पप हो, कविता भए कै छैन’-भन्ने आलोचकहरूले मेरो कवितामाथि गर्ने आह्रिस, रिस र अन्यायले कहिले पनि भावुक नहुने मेरो कविलाई सधैँ लाग्यो, नाथु आलोचकहरूको मेरुदण्ड लगाएर कहॉं हिँड्‌छ मेरो कविता? यस्ता लुतेखुइरे आलोचकहरूलाई थाहा छैन, उसको उभिने जमीन भनेको नै कविताको छाला हो। ‘यो यो खास कविता’-को ‘ट्याग’ लगाइदिने अथोरिटी हुन्‌ र आलोचक? तर मैले उनीहरूको यो कर्म-माथि कहिल्यै नकरात्मक आँखा लगाइन। किन भने धेर मेरो कविताले तानेका पाठकहरूको भीडमा हुन्छु म। उनीहरू त्यो भीडमा पुग्न त के सोंच्न पनि सक्दैनन्‌। देख्नेले धेरै के के देख्छन सक्छन्‌, तर आँखा हुनुपर्‍यो, आँखा भएर पुग्दैन, हेर्ने चेतना हुनुपर्‍यो। अहिलेसम्म आलोचकहरूको आफ्नो कुरा कहिले पढिएन. पढियो सबै विदेशी हेराई स्वदेशी शब्दमा।

………

मेरो कवितालाई भर्जिन देख्ने स्वप्निल र नाकिमालाई मैले कहिल्यै सोधिन भर्जिनिटीको जरा कता छ। उनीहरूले भर्जिन देखिसकेको मेरो कविता आफ्नै परिवारमा बलात्कृत भइसकेको हो कि भन्ने भ्र्रम मलाई सधैँ रहनेछ। कवि मोहन ठकुरी, राजा पुनियानी, मनप्रसाद सुब्बा, राजेन्द्र भण्डारी, सूधीर छेत्री, रेमिका थापाहरू मलाई उचाल्छन्‌। मेरो कविताको मातको स्वाद बेग्लै चाखेको कुरा गरिबस्छन्‌। एउटा अनिल तेलैजा छन्‌, जसले मेरो कवितामा के के नपुगेको कुरा गरिबस्छन्‌। यतिले नै म कविताप्रति गम्भीर हुन पाइरहेको छु। तर मलाई अनुशासन मन परेन। अनुशासनले मेरो कविताको स्पेस हडपेको छ। कविताको अधिकार खोसेको छ। कवि सूधीर छेत्रीले त्यसैलाई ‘मिठो अनुशासनहीनता’ देखे। अनुशासनमा नबस्नेलाई धेरैले हेप्छन्‌। हेप्ने कोसिस गर्छन्‌। मेरो यो ‘सुपरइगो’ कविताबाट निकालिदिए म खुट्टा चुँडेको फट्याङ्‌ग्रा नै हुन्छु। अनुशासनहीनलाई अर्को अनिशासनहीनले छुन सक्छ। यसलाई कवि भूपेन्द्र सुब्बाले भाइब्रेसन भन्छन्‌। राजा पुनियानी, भूपेन्द्र सुब्बा अनि मनोज वोगटीबीच कस्तो भाइब्रेसन छ हँ?-तिनले मलाई टिनटिन कम्प्लेक्समा अङ्गालो मारेरै सोधेका हुन्‌। त्यही भाइब्रेसनको कमाल थियो थ्री बी। ‘नेपालका कवि मित्र प्रकाश आङ्‌देम्बेसित एकदिन’ भन्दै सिलगढीमा कवि राजा पुनियानीले हामीलाई निम्ताएका थिए। त्यहीँ कवि भाइ कर्ण बिरहले झोलाबाट बिहेको कार्ड थमाउँदै भनेका थिए, ‘यो बिहेमा कवि गोष्ठी प्लस म्युजिकल प्रोग्राम हुन्छ। त्यसको निम्तो।’

अनिल फागोको बिहे थियो त्यो। उहिलेदेखि सँगै लेख्ने गरेका तर भेेट्‌दै नभेेटेका मेरा प्रिय मान्छे थिए फागो।

बिहेमा कवि गोष्ठी?

यस्तै थियो बिहे। फरक। यो अनुशासनहिनताको भ्र्राइबेसन थियो। कतिबेला भूपेन्द्र सुब्बाले सोंचे मलाई थाहा छैन। तिनले फोनमा रहस्य खुलाए ‘तपाईँ बिजनबारी चढ्‌दा केही गर्ने भएँ’। फेसबुकमा कर्ण विरहले मेरा एउटा लामो कविता किताब घाउका रङहरूको खोल मागे।

मैले सोधेँ-‘किन चाहियो?’

‘चाहिएको छ।’

‘किन?’

‘एकछिन है।’

उ अल्पियो। र एक मिनट बित्दा भन्यो-‘अब हेर्नुस्‌।’

फेसबुकको भित्तामा कविता लेखिरहेको मेरो फोटो र त्यसको शीर्षक थियो ‘बिजनबारी, बोगटी र बिम्ब।’अर्थात थ्री बी।

यो मेरो पहिलो एकल कविता बाचन कार्यक्रमको शीर्षक थियो।

कवि भूपेन्द्रले मेरो कविताको भर्जिनिटीको परीक्षा गर्ने भए। कविताको भर्जिन्‌नेसले कसरी छोइएला? सुन्नेहरूले कसरी लेला? स्रोता कुन कुन लेयरबाट उप्केर आउलान्‌। जम्मैलाई मेरो कविताको भर्जिनिटीले कतिको समात्ला, म नै अन्योलमा थिएँ। मेरा कविताशक्तिलाई कवि भूपेन्द्रले दार्जीलिङको सेन्ट्रल होटलमा फेला पारेछन्‌। मेरो कविताले नेपालका फेसन डिजाइनर निल डेविड समेतलाई उफारेको थियो। कताको फेसन डिजाइन र कताको कविता श्रवन। तरै पनि निल डेविडलाई कविताले एकैपल्टमा समातेर राख्न सकेकोमा मलाई उति आश्चर्य लागेन तर भूपेन्द्र सुब्बालाई यो घटनाले निक्कै हल्लाएछ। धेरै दिनसम्म निमा शेर्पाले सेन्ट्रल होटलमा मलाई पारेको अभरमा भेट्टाएको कविताशक्तिको कुरा दाजु भूपेन्द्रले मसित गरिरहे। ‘कवितामा शक्ति छ, त्यो देखाउनुपर्छ’ भन्ने वाक्यको बीज भूपेन्द्र सुब्बामा सेन्ट्रल होटलमा नै फुट्यो। कवि राजेन्द्र भण्डारी, मनप्रसाद सुब्बा अनि विचन्द्रको नेपाल-भारतमा भएको एकल कविता बाचनको हल्ला राम्ररी फैलाइएन। किन? म जान्दिन तर नेपालमा टिकटमा कविता पढिसक्दा यता एकल पनि भइरहेको छैन। वास्तवमा कविताले त्यो रौनक गुमाएको श्राप हो यो शुन्यता। झुर कविता र गॉंठो कविताले श्रोतालाई मञ्चमा कि त सुताउँदै आइरहेको छ कि त मञ्चबाट खेदाइ सकेको छ। यस्तोमा घाटाको काम कसले गर्ने? तर भूपेन्द्र सुब्बा एउटा यस्ता प्राणी थिए जसले अघिल्ला फ्रिज युगलाई नै चुनौती दिइरहेका थिए, त्यो पनि म जस्तो लुते मान्छेको कविताको भरमा। त्यो अख्राट छाती चिरिएन भने?

मेरो त दुर्गति हुने नै भयो भूपेन्द्रले पनि गाउँमा सधैँभरको निम्ति विश्वास गुमाउनेछन्‌।

म यहीँनेर कॉंपेको थिएँ।

……..

अनिल फागोको बिहे बारीको कन्लामा थियो। त्यहीँ खाना खॉंदै गर्दा अनिल माइक्रोफोन लिएर बसिसकेका थिए। अघि दिउँसो त्यहीँ तिनले निधारको अक्षेतासित नै नयॉं जीवनको आर्शिवाद थापेका थिए, त्यसैलाई तिनले मञ्च बनाएका थिए।
बेहुला फागोले आफ्नो सुन्दर बेहुलीको नरम हात समातेर गाइरहेका थिए-
‘थामे पनि छुटे पनि जिन्दगी कॉंचको चुरा रहेछ
माया त धारिलो छुरा रहेछ।’

यति मिठो बिहे मैले कहीँ खाएको थिइनँ।

………

यो दिन नआएको भए बिजनबारीमा भूपेन्द्र सुब्बाहरूले टिनटिन कम्प्लेक्स आधा दिन मेरो कविताको निम्ति सुरक्षित गर्ने थिएनन्‌। यो टिनटिनमा मानिसहरू रक्सी, सितन र भुजा लिन्छन्‌। भोकाएकाहरू यहीँ पस्छन्‌। तर त्यो दिन कविता पिउन छिरेको थियो बिजनबारी। कहिल्यै कविता नसुन्नेहरू, सँधै कविता नै सुन्दै आइरहेकाहरु एकै ठाउँ थिए। टम्म भरिएको टिनटिन कम्प्लेक्समा भूपेन्द्रको छटपट्टी अनुहारमा छ्‌याङ्गै थियो। सुरज धडकनसित उनी खासखुस गरिरहेका थिए। अल्छि मान्दै भूपेन्द्रको निम्तो टार्न नसक्नेहरू मिलेर बसेका थिए। व्यानरमा थियो ‘बिजनबारी, बोगटी र बिम्ब।’ व्यानरै दार्जीलिङमा पहिलो अचम्म थियो। मनप्रसाद सुब्बा जस्ता कविको रातदिनको सास डुल्नेे ठाउँमा यो व्यानरले एउटा रहस्य टॉंगेको थियो। मेरो कविताको भर्जिनिटीको टेस्ट गरिरहेका थिए एकलो भूपेन्द्र। मेरो कवितामाथिको एक्लो विश्वास च्यापेर भूपेन्द्र छटपट गरिरहेका थिए। कथाकार सुरज धडकनले कुरा थाल्दा मेरो धडकन तेज थियो। तिनले मलाई फुर्काएर चिलाउनेको टुप्पामा पुर्‍याएका थिए। कविताको चिरफार हुनेवाला थियो। कविता सुन्दा हाइ काड्‌नेहरू कविता शुरु नभइ हाई काडिरहेका थिए। उनीहरूसित नै थियो मेरो युद्ध। कविता सुनेर हुर्किएकाहरूलाई अग्लो स्वाद दिनु जस्तो ठूलो परीक्षा कसैले बसेका छैनन्‌। म बस्दै थिएँ। चिलाउनेका रुखहरूभन्दा पनि बलियो कविताको रुख चढिसकेकाहरूलाई मेरो कविताको बोटले थामेर राख्नु, मेरो कविताको भर्जिनिटीको सबैभन्दा ठूलो शैैल्यक्रिया थियो। कवि विनोद प्रधानको रुखले सबैलाई हल्लायो। म हल्लिएँ। वाहवाहीको फुलपातले विनोद पुरिए। कवि लेखनाथ छेत्रीको बाउको पसिनाले सबैलाई खलखली बनाइदियो। मेरो निधारमा पसिना उम्रिसकेको थियो। थप्पडीका थोपोहरु अनुहारबाट उज्यालो भएर खसिसकेको थियो। म थिएँ, गीतको रिस्‌ र पसिनाको छाला बोकेर पहेंलो।

……….

म कविता सुनाइरहेको छु। सबै उफ्रिरहेका छन्‌। कहिल्यै कविता नसुकेका प्रभात सेवाको मुख फारिएको फारिएकै थियो। श्रोताको उफ्राइ, मेरो गर्हौस्वर अनि कविताको परफरमेन्सले खोतलेको काव्यानन्द टिनटिनभित्र कैद थियो। त्यो रौनक टिनटिन बाहिर फुत्किनु नी, मलाई लागिरहेको थियो। जिन्दगीमा कहिल्यै कविता नसुनेका एमबहादुर सुब्बालाई यस्तो अचम्म कहीँ लागेको थिएनछ। तिनी जुरुकजुरुक उठेका थिए। कविताले तिनको रौं ठाडो पारिदिएको थियो सायद। लगभग चार घण्टा टिनटिन कम्प्लेक्स कविताले उचालियो। प्रभात दाजुले पहिलोपल्ट कविको फोटो खिचिरहेका थिए। कवि सरण खालिङ उफ्रिरहेका थिए। कहिल्यै कविता नसुन्ने, कर गर्दा कार्यक्रममा उपस्थित हुने दिपक सुब्बा र प्रभात सेवाहरू थप्पडी बजाउँदै मलाई यसरी हेरिरहेका थिए, जस्तो म कुनै जादू गरिरहेको छु। एकएक कविताले खोलेको रहस्यले उनीहरूको आँखा फारिएको फारिएकै थियो। कवि भूपेन्द्र सुब्बा युद्ध जितेको खुशीमा जति उफ्रिएका थिए, त्यति कोही उफ्रिएनन्‌। तीस प्रति गीतको रिस र पसिनाको छाला कहिल्यै किताब नकिन्नेहरूले हारालुछ गरे। किताब नपाउनेहरू बिच्किए।

सुन्यौ मनोज भाइ, मैले रहर गरेर यताको किताब किनेको यही पहिलो हो-प्रभातले भने।

……………..

म बिजनबारीमा नै थिएँ, तर लाग्थ्यो म कहीँ छैन। म श्रोतासित अनुवाद भइसकेको छु। हराइसकेको छु म। यो मिराकल बिजनबारीमा भइरहेको थियो। लगभग चार घण्टामा लगभग 40 कविता पढिसकेको थिएँ। कुनामा बसेका निमा शेर्पा उकुसमुकुस थिए। आशिष राई छक्क परिरहेका थिए। कमल भट्टराई, रमेश, सुजनहाङ, धिरेन गुरुङ, कर्ण विरह, महेश दाहालहरू मातेर लट्ठ थिए। कार्यक्रम भवनमा बसेका नेपालका तीन बहिनी तुलसा आङ्‌देम्बे, रुपा र सम्झनाहरू मलाई आँखा झिम्म नगरी किरकिर हेरिरहेकी थिइन्‌। उनीहरूले जस्तो जन्तु फेला पारेकी थिइन्‌, जो कविताको आगो बालेर न्याने दिइहेको छ। त्यो बद्मास म थिएँ। टिनटिनमा खाना खान आएकाहरू घिच्रो तन्काइतन्काई मेरो कविताको सर्कस हेरिरहेका थिए।

मैंले कविता सकें।

सुन्नेहरू उठेनन्‌।

कविताको रौनक उनीहरूको अनुहारमा थियो।

भूपेन्द्रको जित भयो।

…….

कविताको शक्तिको के हो? अब बिजनबारीले सहजै उत्तर दिन सक्नेछन्‌। अब उनीहरू कविताको निम्ति तडि्‌पनेछन्‌। कविताको दिन फर्किसकेको थियो अनि मेरो कविताको भर्जिनिटी बिजनबारीले खोतलीसकेको थियो। बॉंझो जोतिसकेको थियो अनि त्यहॉं कविताको नयॉं बीज परिसकेको थियो।

……..

यो कविताको नयॉं अवतार भूपेन्द्रको खोज थियो। म थिएँ निमित्त।

कविताले रन्थनिएकाहरू घर गइसकेका थिए। घर-घर कविता गइसकेको थियो। बिजनबारीले मलाई त्यो दिन अशोक स्तम्भ दियो।

म अशोक स्तम्भ जस्तै अग्लो थिएँ। त्यो भन्दा अग्लो थियो कविता।

टिनटिनमा कविता सकेर पनि बेरातसम्म हामी थियौं। अघिको ह्याङओभर बल्झाइरहेका। कवि मनप्रसाद सुब्बा, राजा पुनियानी अनि रेमिका थापाले अनुपस्थितिको चुकचुक सेल्फोनिक थियो। म घर आइसक्दा पनि बिजनबारीमा नै थिएँ। कविताको यो पहिलो ह्याङओभर थियो। रन्थनिएका कवि निमाले भटाभट कविता लेखेछन्‌। आशिष राई थ्री बी सधैँभरि देख्ने भइसकेका थिए। बिजनबारीमा कविता नसुन्नेहरूले टेलिफोनिक बेस्वादहरू पठाइरहे। कवि विचन्द्र मिरिकमा भूपेन्द्रले जस्तै मलाई बोलाउने भइरहेका छन्‌। निमा दार्जीलिङमा मेरो एकल गर्ने तयारीमा छन्‌। बिजनबारी सप्तश्री एकाडेमीका प्रिन्सिपल सञ्जय राईले फोनमा नै भनिरहेका छन्‌-‘तपाईँको ठूलो एकल फेरि गर्छौं।’

चित्रकार नवराज राई अनि योगेन्द्र राईले थ्रीबीको ह्याङओभर अझ पनि खन्याइरहेका छन्‌।

यो थ्री बीको ह्याङओभर सधैँ बस्छ? म मेरो कविताको भर्जिनिटीलाई सोधिरहेको छु।

तर सॉंच्ची, पहिलो कविता ‘घर फर्कनलाई’ भनेर मैले 1996 मा लेखेको थिएँ। छ्‌यामा सावित्री कटेलले त्यो पढेर भनेकी थिइन्‌-‘हाम्रो मनोज त कवि पो हुन्छ कि क्या हौ।’
मलाई छ्‌यामा बिजनबारीमा हुनु नी लागिरहेको थियो त्यो टिनटिन कम्प्लेक्समा ग्लास सेयर हुँदा पनि।

This entry was posted in संस्मरण and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *