कविता : बग्दै बग्दै

~निर्मोही व्यास~Nirmohi Vyas

बैसट्ठी वर्ष लागेको यो वार्धक्य उमेरमा
बग्दै समय—गङ्गाको यो अनन्त प्रवाहमा
पाँचपुस्ते थलाबाट चटक्कै चुँडिईकन
म नयाँ ठाउँमा आएँ जिन्दगानी बिताउन

कठै ! नियतिको भोग यो निष्ठुर विडम्बना
तीनछक्क परेको छु पोख्नै सक्तिन भावना
यहाँका निम्ति नौलो म, मेरा निम्ति अरू नयाँ
नयाँ भूगोल, संस्कार, भाषा, भेष सबै नयाँ

न कसैले यहाँ चिन्छन् मलाई, न म चिन्दछु
बकुल्ला–कुलमा कालो कागजस्तै म भिन्न छु
पूर्व–पश्चिम खै कुन्नि कता उत्तर–दख्खिन
विपरीत सधैँ देख्छु सूर्यको गमनागम

त्यसो ता हो त्यही पूर्व जता सूर्य उदाउँछ
तथापि दृष्टिमा मेरो सदा दिग्भ्रान्ति छाउँछ
‘पुर्खौली थातमै रम्ने मान्छेको हुन्न उन्नति
गति जीवन हो हाम्रो, यसमै छ समुन्नति

सर्वदा गतिमान् जो छ पर्दैन कहिल्यै थला
देवता पनि रोकिन्छन् जहाँ, ती बन्दछन् शिला
बितूँ किन त्यहीँ नै म जहाँ पुर्खाहरू बिते
सुतूँ किन महानिद्रा त्यहीँ, पुर्खा जहाँ सुते

यो विस्तृत धरित्रीमा हुन्छ के ठाउँको कमी
चोला बिसाउना निम्ति, मिलिहाल्छ कतै जिमी’
यो ‘अज्ञेय–महावाक्य’, सर्वथा आप्तवाक्य यो
यो जीवन–महाकाव्य,यही अमृतवाक्य हो

हो आकाश उही नै यो, घाम–जून उनै उनै
उही हावा, उही पानी, मेघमाला सबै उनै
उनै पर्वतका ताँती, लता–वृक्ष–वनस्पति
उनै सम्थरका भाँति, उनै सौन्दर्य–सङ्गति

ढङ्गमा जिन्दगानीको उही सादा तरङ्ग छ
त्यसैले मन यो मेरो न दङ्ग–न भरङ्ग छ
मेरै हो मेदिनी सारा, जहाँ जाऊँ त्यही घर
कहाँ जीवनमा अर्को प्रेमभन्दा ठुलो भर !

धन्य जीवनको यात्रा ! धन्य हो नियति–स्थिति
भोग्नैपर्ने यहाँ नाना विसङ्गति–सुसङ्गति
नदेखेको, नरोजेको, नसोचेको थलो रुङी
काटिदिन्छु रमाएर सहजै म यहीँ जुनी !

रचनाकाल र स्थान : २९ भदौ २०७०, इमाडोल—२, ललितपुर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *