अमर त्यागीका आठ मुक्तकहरु

~अमर त्यागी~amar-tyagi

धुकधुकी हो राष्ट्रियता हृदय हो देश मेरो
शरीर हो सम्प्रभुता संस्कृति हो भेष मेरो ।
पुर्खाको पसीना र शहीदको रगतले सिंचेको
यो मृत्तिकामै रम्नसकूँ जिन्दगानी शेष मेरो ।।

ढुंगालाई देवता बनाउँछन् र आफूलाई ढुंगा बनाउँछन् मान्छे
निर्धाको बली चढाउँछन् र आफूलाई महान् जताउँछन् मान्छे ।
संवेदनाहीन भए अब मानवताहीन निठुरी भए हजुर सबै
अगाडि गला लगाउँछन् र पछाडिबाट छुरी चलाउँछन् मान्छे ।।

जीवनमा खुशी सबै रित्तिएझैं भा’छु आज
भुत्ते खुकुरीले गर्दन रेटिएझैं भा’छु आज ।
अति प्रिय आफन्तैले विश्वासघात गरेपछि
आफ्नो स्वत्वअस्तित्वनै लुटिएझैं भा’छु आज ।।

मेरो जीवनको औंसीमा उदाएकी जून हौ तिमी
मेरो हृदयभित्रको धुकधुकीको धून हौ तिमी ।
जस्तै दु:खपीडा पनि सन्चो लाग्छ तिम्रो साथमा
म बाँच्नुको पूर्णता हौ अनमोल गुन हौ तिमी ।।

आफ्नैले पस्केर दिएको जहर पिउनसक्नु पो महान् हो
आफ्नैको चोटले फाटेको मन सिउनसक्नु पो महान् हो !
रमेर सधैं कर्म-कर्तव्यमा बाँडी स्नेह-सद्भाव सबैसबैमा
लोभ,ईर्ष्या र अहंविनाको जीवन जिउनसक्नु पो महान् हो !!

मान्छेमा नैतिकता निख्रेको देखेर फिक्रीमा छ जिन्दगी
लिलाम बढाबढ छ स्वाभिमानको बिक्रीमा छ जिन्दगी ।
बाध्यतैबाध्यतामा बाँच्नुपर्छ स्वार्थैस्वार्थको यो संसारमा
समस्या,परिस्थिति र परिबन्दको सिक्रीमा छ जिन्दगी ।।

चाहेजस्तो ठाउँमा पुग्न छल र धोका बबाल नै हुनुपर्छ
कि त नाता,भेटीघाटी वा मोलाहिजा कमाल नै हुनुपर्छ !
यहाँ सोझा स्वाभिमानी प्रतिभाको कदर नै हुनछाड्यो
ठूला पद र पुरस्कार पाउन अब दलाल नै हुनुपर्छ !!

म त्यागमा छु, समर्पणमा छु, हरजिन्दगानीमा छु
म कर्ममा छु,कर्तव्यमा छु,जीवनको हरकहानीमा छु !
म मातृत्व हुँ,ममता हुँ,करूणा हुँ,अनन्त स्रोतस्विनी हुँ
म सृजनामा छु,सौन्दर्यमा छु,समयको हरसिम्फोनीमा छु !!

पूर्वः गजलगुँड,
कलैया, बारा,

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.