बाल एकाङ्की : साथी ! मेरो पाँच रुपियाँ, तिम्रा लागि

~कार्तिकेय घिमिरे~kartikeya ghimire

स्थान – एउटा घरको बैठक कोठा
समय – दिउँसो
पात्रहरु
आमा : ३५ वर्षकी अधबैंसे ।
छोरी : ११ वर्षकी ।

(पर्दा खुलेपछि रङ्गमञ्चमा एउटा घरकोे बैठक कोठाको दृष्य देखिन्छ । घरमा कुनै चलहपहल देखिँदैन । बैठक कोठामा आमा पुराना लुगा बोराको थुप्रो छेउमा बसेर ती लुगा पट्याउँदै बोरामा हालिरहेकी हुन्छिन् । त्यसैबेला एउटी ११ वर्षकी छोरीको आगमन हुन्छ ।

छोरी ः आमा ! आमा !! आमा !!!

आशा चिच्याउँदै आमा छेउमा आइपुगिन् । उनले खुसी हुँदै आमालाई आफ्नो जाँचको मार्कसिट देखाउँदै भनिन् – थाहा छ नि आमा, यसपालि त म पूरै कक्षामा फस्ट भए नि !
छोरीको यति राम्रो कुरा सुनेर आमाले उनलाई नजिक डाकेर गम्लङ् अंगालो मार्नु भयो । प्रथाले खुसी हुँदै आमाको गालामा चप्प म्वाईं खाइन् ।
फेरि आमा पहिला जस्तै गरी बैठक कोठाको कुनामा बसेर पुराना लुगा पट्याउँदै बोरामा हाल्न थाल्नु भयो ।

होइन आमा यो के गर्न लाग्नु भएको ? पुराना लुगा बेचेर चटपटे खाने हो कि क्या हो ? – प्रथाले आमालाई जिस्काउँदै मस्किदै भनिन् ।

खै छोड, आफू त पुराना लुगा लगेर पानी पुरी खाइन्छ – आमाले पनि मुसुक्क हाँस्दै भन्नुभयो ।

एकछिन पछि आमा छोरी दुबै एकअर्कालाई हेरेर गलल्ल हाँसे ।

त्यसपछि आशा आमाको नजिकै आएर बसिन् । आमाले कराउँदै भन्नु भयो – नानी, तिमी उता जाऊ । यो लुगाको धूलोले रुघा लाग्छ । मैले यो थन्क्याएपछि सँगै बसूँला ।

यति भनेर आमा फतफताउँदै कराउँनु भयो – होइन यी मेरा दुईजना छोराछोरीको पनि कति धेरै लुगा हो । दुई बोरा पो भयो ।

आमा खुइया गर्दै उठ्नु भयो र अलि परका तीन चारवटा लुगा टिप्न थाल्नु भयो ।

आशालाई त्यहाँ बसेर आमाको गन्थन सुन्दा–सुन्दा दिक्क लाग्यो । उनले टेलिभिजन छेउमै रहेको रेडियो खोलिन् । रेडियोमा मै छोरी सुन्दरी कसरी भरुँ पानी बोलको गीत बजिरहेको थियो । प्रथा कम्मर मर्काइ–मर्काइ नाच्न थालिन् । आमा छोरीको ढङ्ग नमिलेको नाच हेरेर मरी–मरी खितित्त हाँस्न थाल्नु भयो ।

होइन हो मेरी पुतलीलाई पनि के सुर चढ्छ हँ ? खै बाटो छोड त नानी, म तलको स्टोर कोठामा यो पुरानो लुगाको बोरा थन्क्याएर आउँछु ।

आमा एउटा बोरा बोकेर कोठाबाट बाहिर निस्कनुभयो । प्रथा गीतको तालमा रमाइरहेकी हुन्छिन् । अचानक गीत बन्द हुन्छ र समाचारको टुई टङ् टङ् टङ्को धून आउँछ । एकछिन पछि रेडियोमा समाचार सुरु हुन्छ । प्रथाले त्यति वास्ता नगरी समाचार अलिअलि सुनिरहेकी हुन्छिन् । तर अचानक आफ्नो घर छेउको चौरको नाम आएर त्यहाँ एउटी सात वर्षकी बालिका जाडोमा न्यानो लुगा लगाउँन नपाएर मरिन् भन्ने समाचार सुनेपछि उनी झसङ्ग हुन्छिन् । त्यसपछि उनले निकै ध्यान दिएर त्यो पूरै समाचार सुन्छिन् ।

समाचार सकिएपछि प्रथा थचक्क सोफामा बस्छिन् । उनको मनमा ओहो ! न्यानो लुगा लगाउँन नपाएर सानी बहिनी मरिन् भन्ने कुरा खेलिरहन्छ ।

आमा अझै फर्कनुभएको छैन ।

प्रथा आमाले पुरानो भनेर फाल्नलाई थुपार्नु भएको एक बोरा लुगा हेरेर आफू आफैसँग बोल्छिन् – मेरो घरमा यति धेरै बाक्लो लुगा छ । तर त्यो बहिनीसँग एउटा पनि बाक्लो लुगा नभएर ऊ मरी त ? – यति भन्नासाथ प्रथा गम्भीर हुन्छिन् । उनी हतार–हतार बोराभित्र हात छिराएर बाक्ला, मोटा र न्याना लुगाहरु निकाल्न थाल्छिन् । उनी तीन चारथरी मोटा लुगा सुइटर, ज्याकेट एकातिर थुपारेर त्यही भूँइमा थचक्क बस्छिन् । अनि उनी एक्लै कराउँदै भन्छिन् – होइन, यस्तो किन भएको हो ? म पनि केटी । ती बहिनी पनि केटी । मसँग लुगा फालाफाल छ । तर ती बहिनीसँग एक जोर पनि छैन ।
यस्तो किन भयो ? – अचानक प्रथा जोडले चिच्याउँदै कराइन् । आमा, दौडदै कोठाभित्र छिर्नु भयो । उहाँले अचम्म मानेर प्रथालाई हेर्नु भयो । फेरि उहाँको ध्यान पुराना लुगातिर गयो । आफूले मिलाएर बोरामा हालेको लुगा छोरीले निकालेकी देखेर उहाँले रिसाउँदै भन्नु भयो – होइन, नानी तँ किन मात्तिएकी ? यो लुगा किन निकालेकी हँ ?

प्रथा आमाको कुरा सुनेको नसुन्यै गर्छिन् । उनको आँखा अचानक बुवाले बिहान ल्याउँनुभएको नागरिक पत्रिकामा प¥यो । त्यो पत्रिकामा रेडियोमा समाचारमा भनिएको बहिनीको फोटो छापिएको थियो । फोटोमा माघको जाडोमा च्यातिएको फ्रक र कट्टु गन्जी मात्र लगाएर कठांग्रीएर मरेकी सानी बहिनीको तस्बीर थियो । त्यो देखेर प्रथा एकदमै ब्याकुल हुन्छिन् । समाचारको अन्तिम लाइनले उनको मन एकदमै छटपटाउँछ । त्यो अन्तिम लाइनमा ती सानी बहिनी विद्यालय पोशाक नभएर स्कुल नगएकी, उसकी आमा बिरामी भएर तीनदिन देखि भोकै र छिमेकी महिलाले काममात्र लगाएर आमा बिरामी भएपछि खान नदिएको भन्ने कुराहरु हुन्छन् ।

त्यो समाचार पढेपछि प्रथा झन दुःखी हुन्छिन् । उनको मन धरधरी रुन्छ । त्यही बेला आमाले ल छोरी हलुवा खाऊ भनेर हलुवा ल्याएर दिनुहुन्छ ।

प्रथा घरी हलुवालाई त घरी भूँइमा फिजाइएका पुराना कपडालाई हेर्न थाल्छिन् । एकछिन पछि खै सोचेर हो प्रथा जुरुक्क उठ्छिन् । उनी फेरि बोराबाट पुराना मोटा लुगा निकाल्न थाल्छिन् ।

आमालाई छोरीको यो चाला देखेर एकदमै रिस उठ्छ । उहाँले ए काली तैले मलाई हेपेकी भनेर दुई झापड हिर्काउँनु हुन्छ ।

प्रथा आँखाभरि आँशु पारेर राता–राता आँखा पार्दै ठिङ्ग उभिन्छिन् । उनी जोडले चिच्याउँदै कराउँछिन् – हो, मैले तपाईंलाई हेपेकी हुँ । आज बिहान मेरै टोलकी एउटी बहिनी मोटो न्यानो लुगा लगाउँन नपाएर मरी । उसले तीनदिन देखि केही खान पाएकी थिइन । तपाईं किन यसरी पुराना लुगा घरमै सढाउँनु हुन्छ आमा ? किन आमा, किन तपाईं मेरै छोरा छोरीले मात्र खाउँन्, मेरैले मात्र लाउँन् भनेर अरुलाई वास्ता गर्न हुन्न ? अस्ति बिहान त्यो चिम्सी बहिनीकी आमाले खाना माग्दा तपाईंले किन दिनुभएन ? यति धेरै पुराना नाना उसकी छोरीलाई किन दिनुभएन ? समाचारको छिमेकी तपाईं नै हो आमा ?

आमाले ट्वाल्ल परेर हेरिरहनु भयो ।

प्रथाले झन जोडले घुक्क घुक्क रुँदै भनी – आमा, के गरीबहरु मान्छे होइनन् र ? के गरिबहरु मान्छे होइनन् र (उनी रेडियो भूइँमा फाल्दै कराइन्)

अनि प्रथा समाचार छापिएको पत्रिकालाई गम्लंग अंगालो मारेर ठिङ्ग उभिन् र दर्शकतिर फर्किएर भनिन् – म आजदेखि एउटा बाचा गर्छु ।

त्यसपछि उनले आफ्नो खल्तीबाट पाँच रुपियाँको नोट निकालिन् र त्यो नोट समाचारमा छापिएको फोटोमाथि राखेर उनले भनिन् – साथी ! मेरो पाँच रुपियाँ, तिम्रा लागि । म अबदेखि सँधै हरेक दिन आफ्नो खाजा खर्चबाट पाँच रुपियाँ जोगाएर तिमी जस्तै गरिब साथीहरुलाई सहयोग गर्नेछु ।

के तपाईं यसको लागि तयार हुनुहुन्छ ? – प्रथाले दर्शक साथीहरुलाई सोधिन् ।

त्यसपछि अचानक,
प्लिज नाईं नभन्नुस् । त्यता हेर्नुस् न है भन्दै उनी आफू पनि सडकतिर हेर्न लागिन् ।

सडकमा बिहान जाडोले कठाङ्ग्रीएर मरेकी बहिनीको लास बोकेर मानिसहरु रामराम सत्ते हो भन्दै हिडिरहेका हुन्छन् ।

(स्रोत : केटाकेटीअनलाईन डट कम)

This entry was posted in बाल एकाङ्की and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *