कथा : यो कस्तो माया हो ?

~प्रेम लामा~

“लभ गर्ने बेलामा गरिस् । अहिले नलैजान्न भनेर हुन्छ ?” एक १३ वर्षीया केटी कोपिला (नाम परिवर्तन) ले सबैको सामु भनिन् । तर १५ वर्षिय उनको ब्वाय फ्रेन्ड भनौदो डेबिट (नाम परिवर्तन) को जवाफ थियो–“म तँलाई मन पराउँदिनँ । तँ आफैं मेरो पछि लागेको हो ।” डेबिटको जवाफ भुइँमा खस्न नपाउँदै कोपिलाले ठाडै अस्वीकार गर्दै भनिन्–“त्यसो भए किन घर छाडेर आज राति मसँगै बसेको त ?” डेबिट जवाफविहीन भयो । केटीले लैजानुपर्छ भन्ने अडान कसी भने केटा अक न बक भयो । झन्डै तीन घण्टा दुवै पक्षको चर्काचर्कीले माहौल तात्यो । सारा गाउँले रमिते बने । अधिकांश मानिस केटाले केटीलाई लैजानुपर्छ भन्ने पक्षमा देखिए । कोपिलाको बुबाले पनि छोरी आफ्नो घर नलाने अडान कसे । अन्तत: कोपिलालाई केटाले लानुपर्ने बाध्यता भयो । घट्नाक्रम प्रेम कथामा आधारित फिल्मी जस्तो लाग्न सक्छ । तर, यो घट्नाक्रम यथार्थ हो । असार २६ गते पर्सा जिल्लाको ठोरी गाविसको घट्नाक्रम हो । घट्नाक्रम यसरी सार्वजनिक भयो, कोपिला असार २५ गते राति घर आइनन् । उनका बुबा छोरी खोज्दै गाउँ चहारे । आफन्तको घर सोधखोज गरे । असार २६ गते मध्याह्नसम्म पनि कोपिला फेला परिनन् । अन्तत: छोरी अपरान डेबिटसँगै मकैबारीमा फेला परिन् । डेबिटसँगै छोरीलाई फेला पारेपछि बुबाले केटासँगै जान दबाब दिए । तर केटाले मानेन ।

आमाबुबालाई सोध्नुपर्छ भन्ने एकोहोरो रटान कसे । कोपिलाले आमालाई सोधेर मसँग लभ गरेको थिइस् र ? खुरुक्क मलाई लैजा । अर्काको छोरीलाई लभ गर्दै धोका दिन पाइन्छ भन्दै कोपिलाले र्‍याखर्‍याख्ती पारिन् । कोपिलाको जिद्दी र उनका बुबाको दबाबका कारण डेबिटले पनि साँझ पख कोपिलालाई लैजाने मौन सहमति जनाए । कोपिला डेबिटको पछि लाग्दै प्रेमीको मामाघर हजुरबुबाकोमा पुगिन् । डेबिटका आमाबुबा गाउँभन्दा बाहिर शहरमा बस्ने गरेकाले कोपिलालाई हजुरबुवाको घर लगिएको थियो । त्यहाँ उनीहरू दुई दिन बसे । घटनाक्रम थाहा पाएपछि डेबिटको आमा गाउँ आइन् । केटीको बुबालाई बोलाई आफ्नो छोरी लैजान दबाब दिइन् । अर्काको घर गइसकेकी छोरीलाई कसरी फिर्ता लैजाने भन्दै कोपिलाका बुबाले छोरी फिर्ता लैजान अस्वीकार गरे । डेबिटकी आमाले कोपिलालाई आफ्नो छोरासँग कुनै पनि हालतमा विवाह नगर्ने धम्की दिइन् । छोरीको भविष्य चौपट हुने भयो भन्दै कोपिलाको बुबा महिला अधिकारकर्मी लगायत स्थानीय प्रहरी प्रशासन सामु हारगुहार गर्न पुगे । महिला अधिकारकर्मीसँगै कोपिला लिएर उनको बुबा इलाका प्रहरी कार्यालय ठोरी पुगे । कोपिलाको बुबालाई लागेको थियो छोरीको विवाह अब डेबिटसँगै हुन्छ भनेर । तर, अफसोच त्यसको ठीक विपरीत भयो । किनकि दुवैको विवाह गर्ने उमेर भएको थिएन । महिला अधिकारकर्मीकै सामुन्ने केटाकेटी दुवैसँग सोधपुछ भयो ।

सोधपुछको क्रममा कोपिलाले भनिन्–“डेबिटसँग अफेयर चलेको भए पनि यौनसम्पर्क भने भएको छैन ।” विवाह गर्ने उमेर नपुगेको भए पनि प्रेमको नाटक गरेर डेबिटले कोपिलासँग अनैतिक सम्बन्ध राखेको छ कि भन्ने आशड्ढा प्रहरी र महिला अधिकारकर्मीको थियो । तर कोपिलाले त्यस्तो नभएको बताएपछि सम्झाई बुझाई उमेर पुगेपछि विवाह गर्न प्रहरी र महिला अधिकारकर्मीले दुवैलाई सुझाए । डेबिटसँगै जीवन बिताउने सपना बुनेकी कोपिला डेबिटको घरपरिवार तथा कानुन तगारो बनेपछि अहिले आफ्नै घरमा छिन् भने डेबिट आमासँगै शहर पसेका छन् ।

वास्तवमा लभ अफेयरलाई अहिलेका नयाँ पीढीले एउटा फेसनको रूपमा लिएकाले पनि यस्तो समस्या देखा परेको जानकारहरू बताउँछन् । यस घटनालाई तत्कालका लागि किनारा लगाएका इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक वीरेन्द्र पनेरू भन्छन्– चेतना, अशिक्षालगायत कारणले यस्तो समस्या आएको हो । पनेरूले भने– दुवैको उमेर नपुगेकोले विवाह गराउन कानुनले दिंदैन । दुवैको मन्जुरीमा विवाह गरेको भए समस्या हुने थिएन । बेलैमा आआफ्नो बालबालिकाप्रति अभिभावकहरू सचेत नहुने हो भने यस्तो घटना समाजमा दोहोरिरहने देखिन्छ ।

– ठोरी

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.