बाल कथा : लोभको परिणाम

~रमेश पटेल~

एउटा गाउँमा एकजना मध्यमवर्गीय किसान बस्दथ्यो । किसानका तीनजना छोराहरू थिए । छोराहरू यौवनावस्थामा पुगिसकेका थिए । किसानले आफू बुढेसकाल लागेपछि जेठो छोराको विवाह गरिदिएको थियो । किसानसँग एक बिघा जति खेत थियो तर घडेरी सानो थियो । त्यसैमा तीन कोठाको एउटा घर बनाएको थियो । तीन कोठाको उक्त घरको एउटा कोठा जीर्ण अवस्थामा पुगिसकेको थियो ।

बिस्तारै बूढाबूढीको आयु छिप्पिदै गयो र एक वर्षकै अन्तरालमा दुवैजनाको मृत्यु भयो । आमाबुबा जीवित छँदासम्म तीन भाइछोराहरूले कहिल्यै झगडा गरेनन् । जेठाको नाम पुष्कर, माहिलाको सन्देह र कान्छोको नाम बहादुर थियो । पुष्कर र सन्देह बाठा थिए भने बहादुर अलि लाटो थियो । बहादुरलाई गाउँका अधिकांश मानिसहरूले लाटो भनेर बोलाउँथे । आमाबुबाको मृत्युपश्चात् सन्देहले पनि बिहे गर्‍यो । त्यसपछि घरको कामलाई लिएर पुष्कर र सन्देहका पत्नीहरूबीच दिनहुँजसो झगडा हुन थाल्यो । दिन बित्दै जाँदा पुष्कर र सन्देहले आ–आफ्नो पत्नीको पक्ष लिएर झगडा गर्न थाले । दुवैजनाले अलग–अलग खाना बनाएर खान थाले । आफ्नो पक्षमा नबोलेको भन्दै लाटोलाई पुष्कर र सन्देह दुवैले कुनै वास्ता गरेनन् ।

अब एकै ठाउँमा बस्ने अवस्था रहेन । भागबन्डा गरेर तीनैजना अलग–अलग बस्न थाले । कान्छोले जीर्ण अवस्थामा पुगेको घर र कम उब्जाउ हुने ५ कट्ठा खेत मात्र पायो । तर पुष्कर र सन्देहले राम्रो घर र उब्जाउ खेतहरू लिए । खेतको उब्जनी झन् बढाउन उनीहरूले आ–आफ्नो खेतमा बढी रासायनिक मल छर्न थाले । एकअर्काभन्दा धनी बन्नलाई मल छर्ने होडबाजी नै चल्यो । लाटो एक्लै भएकोले कम उब्जनीले पनि उसलाई वर्षभरि खान पुग्थ्यो । त्यसैले ऊ खेतमा कमसेकम रासायनिक मल छथ्र्यो । केही वर्षपछि पुष्कर र सन्देहको खेतको उत्पादन ह्वात्तै घट्यो । सिंचाइ र गुणस्तरीय बीउको सुविधा पाउँदै गएपछि लाटोको खेतको उत्पादन बढ्दै गयो । जब पुष्कर र सन्देहको खेतको उत्पादनले बिहान–बेलुकाको छाक टार्न पनि धौंधौं पर्न थाल्यो । त्यसपछि उनीहरूले लाटोको घरबाट खाद्यान्न र पैसा चोर्न थाले । लाटो एक्लै भएकोले घरमा ताला लगाएर आफ्नो काममा जान्थ्यो । तर जीर्ण अवस्थामा पुगेको लाटोको घरमा अनेक प्रकारका ढोकाहरू थिए, जुन दिनरात खुल्लै रहन्थ्यो । दिनहुँजसो चोरी बढ्दै गएपछि लाटोलाई पनि बिहान–बेलुकाको छाक टार्न धौंधौं पर्न थाल्यो । घर बनाउन जम्मा गरेको सबै अन्न र पैसा चोरी भएपछि लाटोले रिसाएर आफ्नो घरमा आगो लगायो र त्यहाँबाट हिंड्यो । आगो लागेको कुरा गाउँभरि फैलियो र गाउँलेहरू आएर आगो निभाउन थाले । आगो निभाउन्जेलसम्म लाटोको घर पूर्णरूपले जलिसकेको थियो तर लाटोको घरसँगै टाँसिएको सन्देहको घरमा नाममात्रको क्षति भएको थियो । बेलुका लाटो घर आएपछि रिसमा आएर घर जलाएकोमा पछुतो मान्न थाल्यो । अब लाटोले कुनै विकल्प सोच्न थाल्यो ।

भोलि मध्यरातमा यही गाउँ भएर राजाको बहुमूल्य वस्तु भित्रिने कुरा उसको दिमागमा आयो । राजाको बहुमूल्य वस्तु बोकेको टायरगाडाको ठाउँमा आफ्नो घरको खरानी भएको टायरगाडा छोड्ने र बहुमूल्य वस्तु भएको टायरगाडा झिक्ने उसले विचार गर्‍यो । ऊ चोर्न सजिलो हुने खालको टायरगाडा र गोरु खोज्न राति नै हिंड्यो । खोज्दै जाँदा गाउँको मुखियाको गोठमा टायरगाडा र गोरु ढोका खुल्लै रहेको अवस्थामा देख्यो र फर्केर आयो । बिहान भएपछि लाटोले एउटा नयाँ पाल किनेर ल्यायो । अघिल्लो रातको योजनाअनुसार मध्यरातमा सबै मान्छे मस्त निद्रामा सुतेपछि मुखियाको टायरगाडा र गोरु खोलेर ल्यायो । टायरगाडाभरि खरानी राख्यो र पालले सिलबन्दी गरी राजाको टायरगाडा आउने बाटोमा लगेर रोक्यो । मध्यरातको समय भएकोले चारैतिर एकदमै सुनसान थियो । लाटोले गोरु हिंडेको आवाज सुनेपछि आफ्नो गोरु पनि बिस्तारै हाँक्न थाल्यो । राजाको धेरै टायरगाडा भएकोले अघिपछि को छ भन्ने कुरा राजाका पहलमानहरूलाई थाहा थिएन । लाटोको टायरगाडा राजाको टायरगाडासँगै केही पर पुगेपछि लाटोले आफ्नो गोरुको डोरी बेस्सरी तानेर पिट्न थाल्यो । गोरुको डोरी बेस्सरी तानेकोले जति पिटे पनि गोरु हिंड्दैन्थ्यो । एकछिनमा सबै टायरगाडाहरूको लाम लाग्यो । सबैभन्दा पछिल्लो टायरगाडाको पहलमान आवश्यकताभन्दा धेरै बाटो र फुर्तिलो थियो । बाटो जाम हुनेबित्तिकै आफ्नो टायरगाडा छोडेर अगाडि आयो । गोरु हिंड्न नमानेको कुरा लाटोले उसलाई बतायो । त्यसपछि लाटोलाई ओराल्न लगाइ आपैंm लाटोको टायरगाडामा चढ्यो । टायरगाडामा चढ्ने बित्तिकै उसले गोरुलाई बेस्सी पिट्यो । त्यसपछि गोरु दौड्न थाल्यो । “मेरो टायरगाडा सबैभन्दा पछाडि छ लिएर आउनुस् है,” त्यो पहलमानले लाटोलाई भन्यो । लाटोले पनि हुन्छ भन्यो । सबै टायरगाडाहरू अघि बढिसकेपछि लाटोले आफू चढेको टायरगाडा पछाडि फर्काएर आफ्नो घर ल्यायो । घर जलिसकेकोले लाटोले सबै बहुमूल्य वस्तुहरू पाल टाँगेर राखेको थियो ।

भोलिपल्ट बिहान पुष्कर, सन्देह र उनीहरूका पत्नीलाई लाटोको सम्पत्ति हेर्ने बित्तिकै लोभ लाग्यो । यतिका धनसम्पत्ति कहाँबाट ल्याएको भनी उनीहरूले लाटोसँग सोध्दा उसले भन्यो,“पल्लो गाउँका मानिसहरू धेरै धनी छन् । उनीहरूले खरानीसँगै आफ्नो बहुमूल्य वस्तु साटिदिन्छन् । मैले त्यहीबाट साटेर ल्याएको ।” केही नसोची लाटोको कुरामा विश्वास गरी उनीहरूले आ–आफ्नो घरमा आगो लगाएर खरानी बनाए । टायरगाडा भाडामा लिएर जम्मै खरानी राखे र पल्लो गाउँ पुगे । तर, त्यस गाउँका मानिसहरू निकै गरीब थिए । खरानीसँग बहुमूल्य वस्तु साट्ने कुरा सुन्दा गाउँलेले उनीहरूलाई पागल भनी गाउँबाट लखेट्यो । घर फर्कने बेलामा उनीहरू बीच बाटोमा आइपुगेपछि जोडले हावा बग्न थाल्यो र हावाले जम्मै खरानी उडाएर लग्यो । त्यसपछि उनीहरू रुँदै घर आए । आ–आफ्ना पति रोएको देखेर दुवैका पत्नी पनि रुन थाले । यो सबै देखेर लाटो मुस्कुराइरहेको थियो ।

लाटोले धोका दिएको भन्दै पुष्कर, सन्देह र उनीहरूका पत्नीले लाटोलाई तह लगाउने विचार गरे । उनीहरूले लाटोलाई बोरामा बन्द गरी नदीमा बगाउने विचार गरे । योजनाअनुसार उनीहरूले लाटोलाई बोरामा बन्द गरी नदीको छेउमा पुर्‍याए । हात्तीमा सवार एकजना व्यक्ति आइरहेको देखेर लाटोलाई नदी छेउमैं राखेर उनीहरू भागे । तर हात्तीमा सवार मान्छेले केही पनि देखेन । किनभने ऊ आपैंm रिसले चूर थियो । कुनै कारणवश उक्त मान्छे हात्तीमा चढेर मर्न आइरहेको थियो । आफूसँगै हात्तीलाई किन मार्नु बरु यो बोरा भएको वस्तु निकाली आफू बोरामा पसेर नदीमा हाम फाल्दा छिट्टै मर्छु र बढी छटपटाउनुपर्दैन भनी विचार गर्‍यो । हात्तीबाट ओर्लेर बोरा खोली लाटोलाई बाहिर निकाल्यो र लाटोसँग केही नबोली बोरामा पसेर नदीमा हाम फाल्यो । त्यसपछि लाटो हात्ती लिएर घर आयो ।

लाटोले हात्ती ल्याएको देखेर चारैजना छक्क परे र सोधे । उनीहरूको कुरा सुनेर लाटोले मनमनै विचार गर्‍यो,“अब तिमीहरूको अन्तिम समय आइसकेछ,” उसले भन्यो,“म खोलाभित्र जाँदा धेरै हात्तीहरू थिए । बोराको मुख खोलेपछि जम्मै हात्तीहरू भाग्यो र एउटा मात्र समात्न सकें । भोलि फेरि मलाई त्यसरी नै गर्नु म अरू हात्ती समातेर ल्याउँछु ।” लाटोको कुरा सुनेपछि यसरी त हामी पनि हात्ती समात्न सक्छौं भन्दै दुईवटा बोरा लिएर चारैजना नदीतिर लागे । दुवैजनाका पत्नीले आ–आफ्नो पतिलाई बोरामा बाँधेर नदीमा फाले । पतिहरू हात्ती लिएर निस्कन्छन् भनी पत्नीहरू साँझसम्म पर्खेर बसे तर पतिहरू निस्केनन् । यत्तिकैमा एउटा माझी माछा मारेर त्यही नदीको किनार भएर आइरहेको थियो । माझीलाई आफ्नो कुरा सुनाएपछि माझीले तिमीहरूका पति हात्ती लिएर हैन, उनीहरूका मृत शरीर आउने बताएपछि पत्नीहरू रुँदै घर फर्के ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in बाल कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *