संस्मरण : बराहक्षेत्रका महिमा गायकहरू

~प्रदीप नेपाल~

हाम्रा नेपालीले असाध्यै धेरै भक्तिभाव राख्ने बदरीनाथधामको यात्रा संस्मरणमा मैले बराहक्षेत्रको महिमाका बारेमा लेखेको थिएँ झण्डै दुई दशक अघि । बदरीनाथ यात्रामा जाँदा मैले थाहा पाएँ – हाम्रा नेपालीहरूमा बदरीनाथप्रति जति भक्तिभाव हुन्छ, त्योभन्दा धेरै भक्तिभाव हुँदोरहेछ बराहक्षेत्रप्रति भारतीय मनहरूमा । बदरीनाथधाम रहेको गढवालमा त बराह भगवानको दर्शन गरेपछि बदरीनाथको दर्शन गर्नै पर्दैन भन्नेसम्मको बोली मैले सुनेँ तर नजिकको तीर्थ हेला गर्ने हामी नेपालीमा पाइने प्रवृत्तिजस्तै भारतीय धर्मावलम्बीहरूमा पनि त्यस्तो चेतना रहेको होला भन्ने लागेको थियो त्यतिबेला मलाई ।

जे भए पनि गढवाल, धार्मिक पर्यटनको नमूना हो भन्दा हुन्छ । धार्मिक पर्यटन प्रवर्द्धन गर्ने हो भने हामीले गढवालबाट सिक्नु पर्छ । गढवालमा सामान्य नागरिकदेखि सम्पन्न तिर्थालुहरूका लागि फरकफरक हैसियतका धर्मशाला, पर्यटन कार्यालयद्वारा सञ्चालित मध्यमवर्गीय गेष्टहाउस र होटल अनि सम्पन्नहरूले बस्न मन पराउने तारे सुविधा भएका होटलहरू पनि छन् । ०४९ मा पहिलोपल्ट जाँदा हामी प्रतिबेड २० रुपियाँ पर्ने होमस्टेमा बसेका थियौँ ।

सार्वजनिक यातायातको राम्रो सुविधा छ त्यहाँको बाटोमा । अप्ठ्यारो बाटो भएकोले हो वा सभ्यताले पाइला चालेका कारणले हो बसको छतमा मान्छे बसेको भेटिँदैन थियो । पाँच/सात जनाको टोलीमा जानेहरू जिप भाडामा लिएर जान्थे । भारतमा अहिले पनि यहाँका भन्दा धेरै धनी, सयौँ राजा रजौटाहरू छन् । तिनीहरूका लागि हेलिकोप्टर सुविधा पनि उपलब्ध हुने कुरो सुनेको थिएँ मैले । बदरीनाथको आर्मी क्याम्पभित्र हेलिकोप्टर बसेको पनि बदरीनाथ मन्दिरको आडैबाट देख्न पाएको थिएँ ।

बराहक्षेत्रको महिमा सुनेपछि बदरीनाथको यात्रामा जाँदा आफ्नो मनको आँखाले गरिब बराहक्षेत्रको निन्याउरो अनुहार झलझल्ती देख्थेँ म । नेपालीहरूले बराहक्षेत्रको महिमा गाएर उता जाने धार्मिक पर्यटकको चौथाइ प्रतिशत मात्र बराहक्षेत्रतिर ल्याउन पाए नेपालको कल्याणै हुन्थ्यो होला भन्ने लाग्थ्यो प्रत्येक पटकको बदरीनाथ यात्रामा ।

दुई पटक लेखेँ हुँला मैले धार्मिक पर्यटनका लागि बराहक्षेत्रको महिमा गाएर । कसैले चासो नदिएकोजस्तो लाग्दैथियो । त्यसै बीचमा विश्व हिन्दू महासङ्घको सन्दर्भ जोडेर एउटाले प्रतिक्रिया पठायो – गीत गाउने होइन, काम गरेर देखाऊ । त्यसपछि मलाई लेख्न पनि जाँगर चलेन । आफू धर्ममा आस्था नराख्ने व्यक्ति हुँदाहुँदै पनि बराहक्षेत्रको प्रतिष्ठामाथि उठोस्, कम्तिमा पनि भारतभरि त्यसको ख्याति फैलियोस् भन्ने सोच पालेर सामान्य नागरिकको हिसाबमा त्यसको प्रचार-प्रसारमा संलग्न रहन चाहेको थिएँ तर आफूलाई विश्व हिन्दू महासङ्घको परिचयसहित मलाई गाली गर्ने महानुभावले हाम्रो क्षेत्रमा आँखा नला भनेर गाली गरेपछि मैले आफ्नो प्रचारयन्त्रलाई टक्कै रोकेँ ।

केही वर्ष त्यत्तिकै बिते । एक दिन म बराहक्षेत्र पुगेँ । बराहक्षेत्र मेरालागि नयाँ थिएन । पाँच, सात पटक त्यो बाटो भएर म भोजपुर, धरान, आउजाउ गरिसकेको थिएँ । चिनजान पनि थियो स्थानीय बासिन्दासँग । एउटा पसलमा बसेर म धार्मिक पर्यटनको गीत गाउन थालिहालेँ ।

“मन्त्रीज्यू, परार तपाईंले तारजाली दिनु भएको हुनाले अहिलेसम्म कोसीले हान्न सकेको छैन । (२०५२ सालमा म छोटो समयका लागि जलस्रोत मन्त्री भएको थिएँ) अब आउने वर्ष त बराहक्षेत्रको अस्तित्व नै समाप्त हुने खतरा छ । त्यसैले अहिले मन्त्री नभए पनि तपाईंले माथि भनसुन गरेर तारजाली उपलब्ध गराइदिनु पर्‍यो ।”

त्यही कुराकानीका बीचमा एक जना युवाभाइले मसँग चिनारी गर्दै भने, “मेरो नाम योगेश भण्डारी हो । हामी बराहक्षेत्रका पुजारी हौँ । दाइले लेख्नु भएको लेख मैले पढेको छु । बराहक्षेत्रका बारेमा लेखिदिनुभएकोमा म हार्दिक धन्यवाद दिन चाहन्छु । म पनि यसको विकास होस् भन्ने चाहना राख्ने मान्छे हुँ । म पुराण वाचन गर्छु र प्राप्त आम्दानी यहीँको विकासमा लगाउने गरेको छु । अहिले एउटा धर्मशाला निर्माणको काममा लागेको छु । यसो समय छ भने हेर्न जाउँ न ।”

स्थानीय समुदायको पहल र लगानीमा बन्दै गरेको धर्मशालाको निरीक्षण गरेर म फर्किएको थिएँ, तारजालीको बन्दोवस्त मिलाइदिने वचन दिएर तर म अत्यन्तै प्रभावित भएको थिएँ योगेश भण्डारीबाट । छुट्टनिे बेलामा उनले भनेका थिए, “दाइ यसो कतै सहयोग जुटाउन सकिन्छ भने यो बराहक्षेत्रको परिचय बनेको ढुङ्गाको सुरक्षा गर्ने सोच राखिदिनु भए हुन्थ्यो ।”

मैले असफल कोसिस गरिरहेँ । योगेश भाइले भिन्नभिन्न मित्रमार्फत् मलाई सम्झना पठाइरहे । झण्डै दसंै वर्ष लाग्यो होला आफ्नो सहयोगको जोगाड गर्न । चेक बोकेर योगेश भाइलाई भेट्न गएको त आफूले गर्नुपर्ने भनिएको ढुङ्गाको सुरक्षाको राम्रो बन्दोवस्त भैसकेको दर्शन पो गर्नुपर्‍यो ।

दाताले बराहक्षेत्रको नाममा सुम्पिनुभएको पैसा फिर्ता लैजान मिल्दैनथ्यो । योगेश भण्डारीका पिताले भन्नुभयो, “योगेश अहिले बराहक्षेत्र, चतरा, पिण्डेश्वरको महिमा गायक पथिककवि लक्ष्मी आचार्यको शालिक स्थापना गर्ने अभियानमा लागेको छ । यो सहयोग त्यसैमा लगाउन सकिन्छ ।”

लाज बच्यो आफ्नो भन्ने लाग्यो मलाई । योगेश भाइले पथिककविको शालिक अनावरण गर्ने कार्यक्रममा निम्तो दिएका छन् । समय मिलाएर मैले योगेशलाई साथ दिनुपरेको छ । बराहक्षेत्रको महिमा गाउने ती सामान्य नागरिक योगेश भण्डारीबाट हामी धेरैले सिक्नुपर्छ भन्ने लाग्छ मलाई । उनी बराहक्षेत्रको एकजना महिमा गायक हुन् ।

शिक्षामन्त्री थिएँ त्यतिबेला म । बालसन्त महाराजजी आउनु भयो । आफूले सञ्चालन गरिरहेको गुरुकूलप्रति सहयोगको अपेक्षा राखेर । उहाँले गुरुकूल खोल्नुभएको रहेछ बराहक्षेत्र गाविसकै चतरामा । चतरामा उहाँको लगानी पनि राम्रै रहेछ । बालसन्तजी चतरालाई वास्तविक हरिद्वार भन्ने प्रचार अभियानमा लाग्नु भएको छ भनेर मैले कतै पढेको थिएँ । उहाँले कुम्भ स्थापना गर्नु भएको रहेछ र बाबाधाम भनेको पिण्डेश्वर हो भन्ने अभियान पनि चलाउनुभएको रहेछ । सँगै आएका मेरा मित्रले भने, “बालसन्त महाराज बराहक्षेत्र चतराधामको विकासमा समर्पित हुनुभएको छ । उहाँकै कारण बोलवम बाबाहरू भारत नगएर अहिले पिण्डेश्वर-कौशिकी-पिण्डेश्वरमा बोलबम गाउन थालेका छन् । मन्त्रीज्यूले महाराजको गुरुकूललाई सहयोग गर्नै पर्छ ।” चालीस वर्षभन्दा लामो समयदेखि जानकारीमा रहेको र यत्ति लामो समयमा खासै विकास गर्न नसकेको चतराको सानो बजारले चतराधामको सम्मान पाएकोमा मैले सन्तोष गरेँ । बालसन्त महाराजको अभियानले बराहक्षेत्रको धार्मिक पर्यटनलाई प्रोत्साहित गर्ने निष्कर्ष निकालेर मैले उहाँले सञ्चालन गरेको गुरुकूललाई विधिसम्मतको सहयोग पनि गरेँ । झाडीझुडी भित्र पुरिएको जमिनमा आश्रम खोलेर ढुक्कैले बस्ने वालसन्त महाराजलाई पनि बराहक्षेत्रको महिमा गायकका रूपमा चिन्नुपर्छ भन्ने लाग्छ मलाई ।

बराहक्षेत्र चतराधामको विकासको अर्को कडी हुन आइपुग्नु भयो – स्वामी कृष्णदास सिद्धबाबा । योग, ज्योतिष र आयुर्वेदमा आचार्य तथा आयुर्वेद द्रव्यगुणमा भिषगाचार्य (यो भनेको पी.एच.डी. हुँदोरहेछ) गर्नुभएका स्वामी कृष्णदास सिद्धबाबालाई मैले चतरामा स्वास्थ्य शिविर सञ्चालन गरिरहेको अवस्थामा भेटेँ । त्यही छोटो समयमा उहाँले मलाई आफ्नो उद्देश्यका बारेमा बताउनु भयो । उहाँको उद्देश्य थियो – बराहक्षेत्रमा एउटा आयुर्वेद विश्वविद्यालयको स्थापना गर्ने । आयुर्वेद द्रव्यगुणमा भिषगाचार्य गर्नुभएका स्वामीजीको चाहना आयुर्वेद विश्वविद्यालयको स्थापना हुनु स्वभाविक पनि थियो ।

नेपालमा एकैचोटि विश्वविद्यालय स्थापना गर्नु भनेको फलामको चिउरा चपाउनु जत्तिकै गाह्रो विषय हो । सरकार स्वयम् आफैँले पहल गरेर स्थापना गरेको लुम्बिनी विश्वविद्यालय दस वर्षदेखि बिजोक अनुहार देखाएर बाँचिरहेको छ । चितवनमा कृषि तथा वन विश्वविद्यालय स्थापना गर्ने कोसिस पटकपटक असफल भैरहेको छ । मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चलका प्रस्तावित विश्वविद्यालयहरू पनि बिजोक गाएर बसिरहेकै छन् ।

आफूले बेहोरेको हण्डर सम्झिँदै मैले कृष्णदास महाराजलाई बराहक्षेत्रमै बस्नुपर्ने कारण पनि सोधेँ । उहाँले आयुर्वेद विश्वविद्यालय खोल्न पाए बराहक्षेत्रको महिमा बढ्ने, वरिपरिको जङ्गलमा जडीबुटी खेती राम्ररी फस्टाउने, नेपालमै आयुर्वेद विश्वविद्यालय स्थापना गर्न सकिएमा नेपालको स्वाभिमान बढ्ने जस्ता कुराहरू गर्नुभयो । सँगै बसेका गाउँलेहरूले महाराजजीमा अभूतपूर्व ज्ञान भएको, बाथले कक्य्राककुक्रुक पारेर हलचल गर्न नसकेका रोगीलाई होटेल मालिक भएर जीविका चलाउन सक्ने गरी सक्षम तुल्याएको, असाध्य मानिने रोग, अर्बुद (क्यान्सर) को उपचार पनि गरिरहेको जस्ता तत्कालका लागि अनपत्यारिलाजस्ता लाग्ने कुराहरू पनि सुनाउनु भयो । स्वामीजीले आफैँ जडीबुटीको खेती पनि गर्नु हुँदोरहेछ । उहाँले तीन, चार रोपनीमा फैलिएको जडीबुटी खेती र त्यसको छेउमा बन्दै गरेको रसायनशाला देखाउनु भयो । आफू योगी भएको हुनाले आफूले स्थापना गर्ने विश्वविद्यालयको संरचना पनि संस्कृत विश्वविद्यालयको जस्तै हुने कुरो राख्नु भएपछि मैले उहँाको अभिनन्दन गर्नुपर्ने सत्यवोध गरेँ । उत्तरकाशी र बदरीनाथधाममा तपस्या र साधनारत भएको एउटा नेपाली युवा आफूले पाएको शिक्षालाई नेपालमा, त्यसमा पनि बराहक्षेत्रमै कार्यान्वयन गर्ने सपना बोकेर नेपाल आउने कुरो हामी सबै नेपालीका लागि अत्यन्तै गौरव र सम्मानको विषय थियो । आयुर्वेद विश्वविद्यालय चतरामा स्थापना हुनसकेमा बराहक्षेत्रको महिमा हामी कसैले नसोचेको उचाइमा उठ्ने थियो भन्ने मलाई लाग्यो । मैले स्वामी कृष्णदास महाराजजीलाई सघाउने निर्णय गरेँ ।

विश्वविद्यालय स्थापनाको लामो झञ्झट र करिबकरिब असफल प्रयत्न हुने सत्य बुझेको हुनाले मैले क्याम्पस तहको शिक्षाबाट पढाइ आरम्भ गर्नुपर्ने सुझाव दिएँ । मैले नेपाल संस्कृत विश्वविद्यालयका तत्कालीन उपकुलपति विदुरप्रसाद पौडेलसमक्ष एकपटक स्वामी कृष्णदास महाराजसँग भेट्न र अधिकतम सहयोग गर्न अनुरोध गरेँ । स्वामी महाराजको होस्टेमा हैँसे थपिदिन मैले आयुर्वेदका डाक्टर मोदनाथ प्रश्रतिजीसँग पनि अनुरोध गरेँ । उपकुलपति विदुर पौडेल पहिलो भेटबाटै यत्ति प्रभावित हुनुभएछ कि आयुर्वेद विद्यापीठ स्थापनाका लागि सम्बन्धन मात्रै होइन, दाङमा संस्कृत विश्वविद्यालयको स्वामित्वमा रहेको जमिनसमेत उपलब्ध गराउने प्रस्ताव राख्नु भएछ तर स्वामी कृष्णदासजी महाराजको इच्छा बराहक्षेत्रको गौरव बढाउने भएको हुनाले उहाँले जति सकिन्छ त्यति सहयोग बराहक्षेत्रमा नै भैदिए राम्रो हुने प्रस्ताव राख्नु भएछ ।

सबैभन्दा बढी गर्व गर्नुपर्ने भनेको सुनसरी जिल्लावासीले हो, जसले यस्ता रत्नहरू पाएकोे छ । बराहक्षेत्रको विकासबाट प्रत्यक्ष लाभ प्राप्त गर्ने पहिलो जिल्ला भनेको सुनसरी नै हो । सुनसरीको स्थानीय तहबाट स्वामीजीलाई यथासक्य सहयोग भएकै जानकारी पनि पाइयो । बराहक्षेत्रका प्रतिनिधि तथा नेकपा एमाले संसदीय दलका मुख्य सचेतक भीमप्रसाद आचार्यले पनि आयुर्वेद विद्यापीठको पूर्वाधार निर्माणका लागि अर्थ मन्त्रालयसँग रकमको सिफारिस गरेको जानकारी मलाई गराउनु भयो । जनस्तर र विश्वविद्यालयबाट सहयोग प्राप्त भएपछि अब पालो सरकारको हो भन्ने निष्कर्षमा पुगेको बेला म यो महिमागान लेख्दैछु । जुन जमिनमा बालसन्तको कुम्भ स्थापना भएको छ र जहाँ स्वामी महाराजको जडीबुटी खेतीका साथै रसायनशाला र योगस्थल निर्माण भएको छ – त्यो नेपाल सरकारको स्वामित्वमा छ । नेपाल संस्कृत विश्वविद्यालयले बराहक्षेत्र आयुर्वेद विद्यापीठ स्थापनाका लागि जस्तो अनुमति दिएको छ, त्यसका लागि पूर्वाधार निर्माण गर्नका लागि अर्थमन्त्री भरतमोहन अधिकारीसम्म एक करोड रुपियाँको प्रस्ताव जिल्ला विकास समितको सिफारिसमा पुर्‍याइसकिएको छ । बराहक्षेत्र चतराधामको सिरानको जङ्गलमा आवश्यक जडीबुटीको खेती गर्न सकिन्छ । नजिकैको धरानमा पिण्डेश्वर क्याम्पसमा संस्कृतको पढाइ हुने भएको हुनाले बराहक्षेत्र आयुर्वेद विद्यापीठ र भविष्यमा स्थापना हुने आयुर्वेद विश्वविद्यालयको सहकार्य पनि बढी सहज हुने सम्भावना देखिन्छ ।

त्यसैले बराहक्षेत्र आयुर्वेद विद्यापीठको स्थापना, निर्माण र सञ्चालनमा सहयोग पुर्‍याएर बराहक्षेत्रको महिमागान गाउने अभियानमा सहयोग पुर्‍याउनु सबै नेपालीको साझा दायित्व हो भन्ने मलाई लागेको छ ।

-स्वयम्भू, काठमाडौँ ।

(स्रोत : मधुपर्क २०६८ साउन)

This entry was posted in संस्मरण and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *