व्यङ्ग्य कविता : ए नेताज्यू, एकछिन लजाउनुस् यार !

~योगेन पौडेल~

उता
दक्षिणी छिमेकी मङ्गलमा पानी खोज्दैछ
उत्तरी छिमेकी चन्द्रमामा खानी खोज्दैछ
यता
हजुरलाई टायर बाल्न पुगेकै छैन
रेलिङ्ग भाँच्न पुगेकै छैन
हाम्रालागि हामीलाई
हामीबाटै मुक्ति दिन पुगेकै छैन
ए नेताज्यू, लाठी बिसाउनुस् यार, एकछिन सुस्ताउनुस्
बरु एकछिन लजाउनुस् यार

छिमेकी दाज्यै
उता अमेरिका छिरेर भाषण ठोक्छन्
यता हाम्रो सदन छिरेर अर्ती ठोक्छन्
पानी र जवानी एकै हो भन्छन्
कस्तो राम्रो कुरा गर्छन !!

हजुरलाई पाखुरा सुर्का-सुर्की गर्नबाट फुर्सद भए पो
एक अर्कालाई चिथोरा-चिथोर गर्नबाट फुर्सद भए पो
हजुरलाई उखान-टुक्काबाट
सहकर्मीलाई गद्दार भन्नबाट, दलाल भन्नबाट
हामीले नबुझ्ने केके-केके शब्दले गाली गर्नबाट फुर्सद भए पो
ए महामानवज्यू, ए गालीका भकारीज्यू
कि हामीले नी बुझ्ने सर्वहारा भाषामा गाली गर्नुस्
नत्र हजुरको गाली बन्द गर्नुस् यार, एकछिन चुप्प लाग्नुस्
बरु एकछिन लाजाउनुस् यार

मुर्खहरुले हजुरहरुलाई के के भन्छन् के के !
धार्नी नपुगेका भ्यागुत्ता जस्ता भन्छन्
के हजुर सधै उफ्रेरै बस्ने यसरी ?
आफ्नो गोरुको बाह्रै टक्का गर्ने
तर खासमा आफैं गोरु जस्ता भन्छन
के हजुर सधैं जुधेरै बस्ने यसरी ?
एकले अर्कोलाई बाँदर भन्ने
तर खासमा आफै बाँदर जस्ता भन्छन
के हजुर सधै लडेरै बस्ने यसरी ?
के ङ्यार्र र ङ्युर्र नै गरेर बस्ने यसरी ?
बानेश्वरलाई जाउलाखेल बनाए यार भन्छन्
एक से एक ध्रुवे हात्ती निक्लिए यार भन्छन्
ए हजुर, एकपटक ऐनामा अनुहार हेर्नुस् यार, बरु कपाल मिलाउनुस्
एक पटक लजाउनुस् यार

मेरो घरको धाराबाट मेलम्ची खस्ने कहिले ?
मेची-काली छुक्छुक रेल चल्ने कहिले ?
मेट्रो चढी सहरमा शयर गर्ने कहिले ?
बिजुलीको उज्यालोमा खाना खाने कहिले ?
यो पाराले कहिले सिंगापुर बन्ने हजुर ?
कहिले स्विजरल्याण्ड बन्ने ?
हजुर यी लफडा सबै बिर्सिदिनुस्

एकछिन सुस्तादिनुस्, बरु एकैछिन लजाइदिनुस्
स्कुल जान तुइन चढ्ने नानी हेर्नुस् र लजाउनुस्
ट्युबबाट खोला तर्ने बाबु हेर्नुस् र लजाउनुस्
एयरपोर्ट जानुस् र लजाउनुस्
प्रस्थान कक्षमा खाडी छिर्ने लर्को हेर्नुस् र लजाउनुस्
आगमनमा काठको बाकसमा खसेको चर्को आँसु हेर्नुस् र लजाउनुस्
भावुक नबन्नुस् हजुर, आँसु नबगाउनुस्
नुन बिनाको आफ्नो आँशु त्यहाँ नमिसाउनुस्
हजुरले बस् गिदीमा विवेक मिसाइदिए पुग्छ,
हामीलाई हजुरले बस् लजाइदिए पुग्छ।

(स्रोत : पहिलोपोष्ट)

This entry was posted in कविता, हास्य - व्यङ्ग्य and tagged , , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *