कविता : क्रान्ति

~बाबु त्रिपाठी~babu-tripathi

कसैको मन नदुखाइकन
कसैको झुपडी नजलाइकन
कसैलाई टुहुरा नबनाइकन
क्रान्ति गर्नु पो क्रान्ति।

क्रान्ति त-
बामे सरिरहेका नानीहरू गर्दैछ्न्
कलिला पाउले जमिन टेक्न खोजेर ।

क्रान्ति त-
बैशाखी टेकेका खुट्टाहरु गर्दैछन्
बैशाखी फालेर ।

हरियो क्रान्तिका लागि
सबेरै हिंडेका छन्-
हलो र जुवाहरु ।

क्रान्ति त-
कुटाे र कोदालोहरु गर्दैछन्
बगरलाई गरामा परिणत गर्न ।
फाँटहरुमा फलिदिन्छन्
सुनका बालहरु ।

पग्ले पनि-
होचो नहुने क्रान्तिमा छन् हिमालहरु
जस्तै आपत्-विपतमा पनि
देश छाडेर प्रवासतिर
गएका छैनन् पहाडहरु ।

झोलाभरि-
विचारको हतियार बोकेर हिंडेका छन् कविहरु ।

जातभन्दा माथि उठेर
मानिस-मानिस बन्न खोजिरहेछ ।

कसैको मन नदुखाइकन
कसैको झुपडी नजलाइकन
कसैलाई टुहुरा नबनाइकन
क्रान्ति गर्नु पो क्रान्ति।

क्रान्ति त-
मेरी बिधुवा आमाले गरेकी छिन्
रातो चुरा लगाएर ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.