नियात्रा : मन दुख्यो लोमन्थाङ्गमा

~प्रदीप नेपाल~

धेरैका टिप्पणी, परिचयात्मक लेख र चियोचर्चाहरूले लोमन्थाङ्गलाई मेरो स्वप्नसंसार बनाइदिएका थिए । हिँडेर जाने जाँगर टरेको हुनाले ससानो टिम बनाएर जाउँ कि भन्ने त लागेन, तर अवसर पाइयो भने एकपल्ट त्यो लोमन्थाङ्ग कस्तो रहेछ भनेर थाहा पाउन चाहिँ मन लागिरहृयो । ढिलोढालो हिसाबले त्यो अवसर जुट्यो । ०६६ साल असौज ३१ गतेको शनिबार प्रधानमन्त्री माधव नेपाल तथा बनमन्त्री दीपक बोहराको टोली अन्नपूर्ण संरक्षण क्षेत्र छुँदै नेपालको उत्तरी सीमानासम्मै पुग्ने योजना थाहा पाउने बित्तिकै हेलिकोप्टरमा ठाउँ मिले म पनि जान पाउँ भनिहालेँ । बेलैमा भनेको हुनाले ठाउँ पनि मिल्यो । माथिल्लो मुस्ताङ्गको हवाई निरीक्षणको अवसर पनि जुर्यो ।

असौज ३१ गते बिहानको ७.१५ बजे नेपाली सेनाको एमआई हेलिकोप्टरबाट हिमाललाई दक्षिणतिरबाट पछ्याउँदै पश्चिम-उत्तर लागियो । शुरूमा ८,५०० फीटमा झण्डै पोखराको उत्तरसम्म उडियो । त्यसपछि कास्की जिल्लाको निकै चर्चित सिक्लेसलाई देब्रेतिर छोडेर घोडेपानी पुग्दा हेलिकोप्टर अरू दुई हजार फिट माथि उक्लिएको जानकारी पाइयो । अठार वर्ष अघि जोमसोमसम्म जाँदा एभरेस्ट एयरको फुच्चे डोर्नियर विमान चढेर जाँदा पनि मैले घोडेपानी माथिबाटै उड्ने मौका पाएको थिएँ । डोर्नियर विमानलाई मैले ‘राम्री भँगेरी’ उपनाम दिएको थिएँ उतिबेलै । हामी चढेको १५ सिटको हेलिकोप्टर भँगेरी भन्दा ठूलै थियो । देब्रेतिर सिरानको धवलागिरी र कालीगण्डकी किनारका लेते, कोबाङ्ग (कोबाङ्ग सुप्रसिद्ध नेपाली कवि भूपी शेरचनको जन्मथलो हो) र मुस्ताङ्गलाई नै आफ्नो दोश्रो घर बनाएका जापानी बाजे तोरू कुन्दुको बासस्थान हेर्दै हामी जोमसोमतिर लाग्यौँ ।

लोमन्थाङ्ग

हाम्रो पहिलो गन्तब्य लोमन्थाङ्ग थियो । त्यसैले हामी जोमसोम रोकिएनौँ । कालीगण्डकी खोलैखोला हेलिकोप्टर हामीलाई उडाउँदै उत्तरपूर्वतिर लाग्यो । जान्ने साथीहरूले देब्रेतिरको कालो क्षितिजको भुईँमा मनकामना देखाउनु भयो । मनकामना त पुग्नु नै थियो, त्यसैले मैले त्यता आँखा दौडाइन । बञ्जर पहराहरूतिर प्रख्यात मुस्ताङ्गी गुफाहरूको झलक पाइन्छ कि भनेर म निरस भित्ताहरूतिरै टासिएँ । के को देख्नु गुफा हेलिकोप्टरबाट ! त्यतिबेला चाहिँ दुःखै गरेर भए पनि हिँडेरै आउनु पर्ने रहेछ जस्तो लाग्यो । बुटवलको नरबानरले हाम्रो आदिम इतिहासको परिचय दिएजस्तै मुस्ताङ्गका गुफाहरूले पनि हाम्रो अतिप्राचीन इतिहासको जानकारी दिनसक्ने चर्चा मैले धेरै ठाउँमा पढेको थिएँ । साहित्यकार विजय चालिसेले केटाकेटीका लागि लेखेको मुस्ताङ्गका गुफाहरू पढेर मैले त्यता हजारौँ वर्ष पुराना गुफाहरू भेटिन्छन् भन्ने जानकारी पाएको थिएँ ।

हामी लगातार उडिरहृयौँ उत्तरतिर । तल ठूलो बाटो देखियो धुले राजमार्ग भन्न सकिने खालको । “यो तिब्बत जाने बाटो हो, लोमन्थाङ्गसम्म उत्तरबाट मोटर आउँछ,” हामीलाई ठाउँ ठाउँको चिनारी दिइरहेका सैनिक भाइले भन्नुभयो ।

‘अर्थात लोमन्थाङ्गदेखि तिब्बतसम्म मोटरबाट यात्रा गर्न सकिने रहेछ,’ मेरो मन लोभियो, मानसरोबर सम्म्झिएर ।

“त्यो डाँडोको पानीढलो नेपाल चीनको सीमाना हो,” जुद्ध गुरूङ्गले मलाई भन्नुभयो, “हेलिकोप्टर अब यहीँबाट फर्किन्छ । दाहिनेतिर देखिएको त्यो बस्ती नेपाली सीमानाको अन्तिम गाउँ, नेचुङ्ग हो ।”

“जुद्धजी, पहिलोपल्ट म जोमसोम आउँदा सबैभन्दा उत्तरको विद्यालयको शिक्षक भनेर एकजना सरले आफूलाई चिनाउनु भएको थियो । त्यो गाउँको नाम छोसेर हो जस्तो लाग्छ ।”

“हामी छोसेर माथिबाट उडेर आयौँ,” जुद्धले भन्नुभयो, “मुस्ताङ्गको प्रख्यात गुफा भनेको पनि त्यही छोसेर ओरिपरिको गुफा हो ।”

बुद्रुक्क उफ्रिएर छोसेरको टाउकामा हाम फालौँ कि जस्तो लाग्यो तर त्यो त मनको लगाई न थियो । मेरो मनको चित्त दुखाउँदै हेलिकोप्टर फनक्क फर्किएर ओरालो लाग्यो ।

लोमन्थाङ्गमा हरियाली देखियो माथिबाट हेर्दा । ससानो जङ्गल, गहुँ, जौ अथवा वा फलाइने खेत भएको लोमन्थाङ्ग नपत्याउनेका लागि मरूभूमिको मृगतृष्णा लाग्ने रहेछ । तर हाम्रो हिमाली मरूभूमिको त्यो एउटा सुन्दर यथार्थ नै थियो ।

उचाइको अप्ठ्यारोप्रति निकै सतर्क थिए सबै सैनिक भाइहरू ! मलाई त्यस्तो लागिरहेको थिएन । हिउँदमा हिउँ पर्ने सुन्तलेको बाटो धेरै पटक काटेको र स्वीट्जरल्याण्डको ३,७०० मिटर भन्दा अग्लो गेस्टाड डाँडामा बसेर दिउँसोको खाना खाएको अनि पटक पटक ३,००० मिटर भन्दा माथिको बदरीनाथ पुगेको हुनाले मलाई केही हुँदैन भन्ने नै लागेको थियो । लोमन्थाङ्गको उचाई ३,७२० रहेछ । त्यहाँ मलाई अक्सीजन नपुग्ला भन्ने लाग्दै लागेन ।

धेरैले बखान गरेको लोमन्थाङ्ग घुमियो । पर्खाल भित्र धेरै र पर्खाल बाहिर थोरै । पर्खाल भित्रै मार्फत गाविसका आठ वटा वडाहरू रहेछन । नवौँ वडा मात्रै बाहिर रहेछ । त्यसैले पर्खाल ठूलो लाग्ने नै भयो । लोमन्थाङ्ग बस्तीको छेउ भेटिने बित्तिकै धेरैले प्रशँसा गरे । मलाई नमिठो लाग्यो । त्यस्तै नमिठो अमृत बोहराले पनि देखाउनु भयो । लोमन्थाङ्गका पूर्व राजा नेपाली, पूर्व रानी तिब्बती, पूर्व युवराज नेपाली, शुद्ध नेपाली बोल्ने पूर्व युवराज्ञी पनि तिब्बती । लोमन्थाङ्गको वर्तमान संरचनामा न नेपाल भेटियो, न त तिब्बत अथवा चीन नै देखियो । त्यहाँ भारतीयहरूले दुई करोड भन्दा बढी खर्च गरेर बनाएको विद्यालय भेटियो भने अमेरिकीहरूले बनाएको छात्राबास पनि देखियो । अन्तर्राष्ट्रिय सहयोगमा खडा भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) लाई छोडिदिने हो भने नेपाल त कतै भेट्नै पाइएन । किनभने विद्यार्थीहरू पनि सबै भिक्षु भेषमा थिए र मैले लोमन्थाङ्गको एउटा भित्तामा दलाई लामाको ठूलो टाउको भएको फोटो पनि देखिसकेको थिएँ ।

अन्तर्राष्ट्रिय सहयोगको मात्रै कुरा गर्ने हो भने अमेरिका र भारत आएको ठाउँमा चीन पनि आउनै पर्ने थियो । चीनले ध्यान दिने हो भने अहिले पनि त्यो मौका छ । किनभने बाहिरकाहरूको आश नगरी त नेपाललाई सुखै छैन, तर कम्तिमा पनि सन् १३८० मा निर्माण भएको ठूलो पर्खाल र राजाको दरबारको संरक्षण चाहिँ नेपाल सरकार आफैँले गर्नुपर्ने हो । दरबार जिर्णोद्वार गर्नुपर्ने अवस्थामा पुगिसकेको छ भने पर्खालहरू पनि ठाउँ ठाउँमा चिरिएको देखिन्छ । लोमन्थाङ्ग दरबारलाई किल्ला बनाएर छेकारो मार्ने दुई हजार चार सय बहत्तर (२,४७२) फिट लामो र छब्बीस (२६) फिट अग्लो पर्खाल नेपालकै लागि पनि गौरवको विषय हो । तल छ (६) फीटको आधार र माथि तीन (३) फीटको धुरी भएको यो पर्खालमा चालिस (४०) फिट अग्ला चौधवटा निगरानी टावरहरू पनि छन् ।

यो पर्खाल र यसका निगरानी टावरहरूले नेपालका प्राचीन गढी, किल्ला र युद्धको रूपको चिनारीलाई जीवित राख्ने हुनाले यस्ता पुरातात्विक सामग्रीहरूको सुरक्षामा कसैको ख्याल नगएको देख्ता दुःख लाग्छ ।

लोमन्थाङ्गको अवकासप्राप्त राजपरिवार काठमाण्डौको वौद्धमा बस्छ भन्ने पहिले नै सुनेको थिएँ । बुढा नेपाली नबुझ्ने, छोरा असाध्यै राम्रो नेपाली बोल्ने पुस्तान्तरको यो अङ्श पनि रमाइलो लाग्ने नै भयो ।
दुई घण्टा अलमल गरियो लोमन्थाङ्गमा । विद्यालय र छात्राबास, राजाको दरबार, प्रमुख दुई गुम्बाहरू तथा एक्यापको अफिसको सर्सरती अवलोकन भयो । प्रधानमन्त्री माधव नेपालले भन्नुभयो, “केही गर्नेगरी आउने हो भने कम्तिमा पनि एकदिन यहीँ बस्नुपर्ने रहेछ ।”

श्रोताहरूले आशा र अपेक्षाको ताली बजाएर प्रधानमन्त्रीको अर्को आगमनको सम्भावनालाई स्वागत गरे ।

त्यतिबेलासम्म अमृत बोहरा र मैले प्रधानमन्त्री र मन्त्रीलाई नेपालको उपस्थिति चाहियो लोमन्थाङ्गमा भन्न भ्याइसकेका थियौँ । हामीलाई अन्तिममा विदा गर्नेमा पूर्वयुवराज र भिक्षुभेषमा उभिएका उनका कान्छा छोरा थिए ।

पूर्वराजाले आफूलाई नागरिक बनाउन कष्ट महसुस गर्नुपरे पनि पूर्वयुवराज, पूर्वयुवराज्ञी तथा उनका सन्तानहरू नेपालका असल नागरिक हुने रहेछन् भन्ने सोचेर म आफैँ दङ्ग परेँ ।

मेरा लागि लोमन्थाङ्गको उपहार नून चिया नै रहृयो । त्यो मौलिक चियालाई भविष्यमा तलतिरको चिनी चियाले बिस्थापित गर्ला कि भनेर मेरो मन डराइरहृयो । किनभने आफ्नो संस्कृतिलाई त्यहाँ प्रवेश भइरहेको पश्चिमा र दक्षिणा संस्कृतिले किच्तै लगेको छनक रामरी नै देख्न पुगिएको थियो ।

मुक्तिनाथ
लोमन्थाङ्गबाट सिधै दक्षिण पर्दोरहेछ मुक्तिनाथ तर उचाई भने अलिक माथि । लोमन्थाङ्गको उचाई ३,७२० मिटर थियो भने मुक्तिनाथको उचाई ठ्याक्क ३,८०० मिटर रहेछ ।

(स्रोत : शनिबार, गोरखापत्र कार्तिक १४, २०६६)

This entry was posted in नियात्रा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.