छन्द कविता : झुठो आत्मरति

~डा. लेख निरौला~Dr Lekh Niraula

छन्द : स्रग्धरा

उस्तै नै देश देख्दा तन-वदन सबै क्रोधले चूर्ण हुन्छ
नौला नौला हजारौँ यतिउति गरिए भन्नु धिक्कार हुन्छ
देखेथे स्वप्न राम्रो जति पनि जगमा वीर पुर्खाहरूले…
गर्लान् झैँ छैन केही मुलुक हित हुने पूर्ण बाँकी अरूले ।।

कुर्सीको मोह मात्रै रगत जति बगोस् लक्ष्य कुर्सी सदा नै
आफू आफ्नो र आफ्नै मन वचन सबै आफूमै सर्वदा नै
आफ्ना नै मात्र भन्दै मुलुक हित हुने कर्म केही भएनन्
पैलो यो राष्ट्र भन्ने विषयतिर यहाँ व्यक्ति कोही गएनन् ।।

मन्त्रीले गर्नुपर्ने कुन विषय यहाँ बोल्नुपर्ने कुरा के
बोल्दै छन् हेर आफै अनि पनि सहजै राष्ट्रको हुन्छ के के
ढर्रा उस्तै पुरानो विधि नियम नयाँ भन्नु बेकार मात्र
झुक्दै छन् त्रास बोकी किन किन यसरी राष्ट्र नेतृत्व पात्र ।।

शिक्षामा छैन केही सुलभ अझ यहाँ लुट्न उस्तै तयार
पैसाले मात्र बाँच्ने क्षणहरू बनिए स्वास्थ्य पैसा हजार
सेवाको भावना नै गजवसित गयो स्वार्थ मानौँ छ बाँकी
के हो कर्तव्य हाम्रो अलि पनि नहुँदा राष्ट्रको छैन झाँकी ।।

शिक्षाको चाल देख्दा गति शिथल यहाँ विश्व अर्कै छ जस्तो
सत्ताको हाल उस्तै दिनहुँ कलह नै छैन संस्कारजस्तो
भ्रष्टाचारी बढेका कति कति जगमा राष्ट्र नै भ्रष्टजस्तो
आफै धामी र झाँक्री मनुज कति यहाँ कर्म नै द्वैधजस्तो ! ।।

केही नै पूर्णताको पथ नगिच हुने चिह्न नै देखिँदैन
मान्छेले बेच्छ मान्छे कति सहजसितै मान्छे मानौँ हुँदैन
भन्छन् उस्तै अझै नै प्रगति पथतिरै देश यो लम्किँदै छ
खाने, बाँच्ने र पढ्ने कहर बरु नयाँ चालमा चम्किँदै छ ।।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *