नैतिक कथा : अभागी सोमिलक

~उमाशङ्कर द्विवेदी~

कुनै नगरमा सोमिलक नाम गरेको एउटा जुलाहा बस्दथियो । ऊ अनेक प्रकारका र· तथा चित्रकारीयुक्त रेशमी वस्त्र बनाउन निपुण थियो । उसले तयार पारेको रेशमी वस्त्र राजा– महाराजा तथा ठूला–ठूला साहू महाजनहरूले किन्ने गर्दथे तर जति राम्रो र· डिजाइनको वस्त्र तयार गरेर बेच्दा पनि बिहान–बेलुकाको छाक टार्ने तथा मोटो खस्रो लाउनेभन्दा बढी धन कमाउन सक्दैनथ्यो । यसविपरीत अन्य साधारण जुलाहाहरूले मोटो–खस्रो वस्त्र बनाएर पनि मनग्य धन कमाउँथे । उनीहरूको समृद्धि तथा आफ्नो विपन्नता देखेर खिन्न भई एक दिन उसले आफ्रनी स्त्रीसित भन्यो–प्रिये, हेर यी मोटो–खस्रो वस्त्र बनाउने कालिगढहरूलाई । राम्रो वस्त्र बनाउन न जानेको भए पनि यिनीहरू कति समृद्ध छन्, म भने सिपालू भएर पनि कति विपन्न छु । यो स्थान मजस्तो गुणी कालिगढको लागि बस्ने खालको छैन । अत: धन कमाउनका लागि म अन्यत्र जान चाहन्छु । उसकी स्त्रीले भनी–प्रियतम, विदेश जाँदैमा धन प्राप्त हुन्छ तथा आफ्नो स्थानमा धन प्राप्त हुँदैन भन्ने कुरा फजुल हो । अत: मेरो इच्छा छ तपाईं यहीं बसेर कुनै राम्रो उद्योग गर्नुहोस् । भाग्यमा रहेको धन आफ् से आफ् आउँछ । स्त्रीको कुरा नमानेर कौलिक विदेश हिड्यो । हिड्दै जाँदा केही दिनपछि ऊ वद्र्धमान नामक नगरमा पुगेर धन कमाउन थाल्यो । तीन वर्ष त्यहाँ बसेर उसले तीन सय स्वर्ण मुद्रा कमाई थैलामा हालेर घर फर्कन थाल्यो ।

घरतर्फ फर्कंदा आधा बाटोमा पुगे पछि साँझ पर्‍यो । वनमा चोर–लुटेरा तथा हिंसक जनावरबाट जोगिन ऊ एउटा विशाल वटवृक्षमाथि चढेर मोटो हाँगामा गई सुत्यो । राति सुतेको अवस्थामा सपनामा उसले दुईजना भयानक मानिस आपसमा कुरा गरिरहेको देख्यो । उसले ती मानिसहरूको वादविवाद सुन्न थाल्यो । तीमध्येको एकले अर्कोसित भनिरहेको थियो–हे कर्ता, के तपाईंलाई यस कौलिकको भाग्यमा खाना र वस्त्रबाहेक अरू केही न रहेको थाहा छैन ? तपाईंले यसलाई तीन सय स्वर्ण मुद्रा किन दिनुभयो ? जवाफमा अर्कोले भन्यो–हे कर्म, यो कुरा मलाइ थाहा छ तर उद्योगी मान्छेलाई मैले दिनै पर्दछ । त्यसको भाग्यको अन्तिम परिणाम तपाईंकै हातमा छ । जे उचित हुन्छ त्यस्तै गर्नुस् ।

बिहान कौलिक ब्युँझेपछि स्वर्णमुद्रा राखेको थैलो खोलेर हेर्दा रित्तो थियो । थैला रित्तो हेरेपछि कौलिक आफ्नो भाग्यको भत्र्सना गर्दै मनमा सोच्न थाल्यो–ओहो, के कुरा भयो । अत्यन्त कष्टले कमाएर जम्मा पारेको मेरो धन अचानक कहाँ गयो ? हरे, मेरो त्यत्रो परिश्रम व्यर्थै खेर गयो । अब म आफ्नी स्त्री तथा मित्रहरूलाई कसरी मुख देखाउँ ? मनमा यस प्रकारले सोच्दै ऊ फेरि त्यसै नगरमा फर्केर काम गर्न थाल्यो तथा वर्ष दिनमैं पाँच सय स्वर्ण मुद्रा जम्मा पारेर फेरि थैलामा हाली यत्नपूर्वक लुकाई घर फर्कन थाल्यो । हिंड्दै जाँदा फेरि त्यस वटवृक्षसम्म पुग्दा साँझ पर्‍यो । यसवटक धेरै थाकेको भए पनि स्वर्णमुद्रा नष्ट हुने डरले ऊ बाटोमा कत्ति पनि न रोकिई सरासर घर फर्कन थाल्यो । बाटोमा त्यहीं भयानक आकृतिका दुईजना मानिसहरू आपसमा कुरा गरिरहेका देखा परे । त्यसमध्येको एकले अर्कासित फेरि भन्दै थियो–हे कर्ता, तपाईंले यस कौलिकलाई फेरि पाँच सय स्वर्णमुद्रा दिनुभएको हो ? तपाईंले किन ध्यान दिनुहुन्न कि यसको भाग्यमा खान–लाउन बाहेक अरू केही पनि लेखेको छैन । यस प्रकारको कुरा सुनेर अर्कोले भन्यो–हे कर्म, उद्योगी पुरुषलाई मैले प्रचूर धन दिनै पर्दछ । मैले दिएको धनको उपभोगको अन्तिम परिणाम त तपाईंकै हातमा छ । जस्तो उचित हुन्छ त्यस्तै गर्नुस् । उनीहरूको यस प्रकारको वार्तालाप सुनेर आत्तिंदै सोमिलकले आफ्नो थैला खोलेर हेर्दा रित्तो पायो । थैला रित्तो देखेर सोमिलकले मनमा सोच्यो–धनबिना मैले अब बाँचेर के गर्ने । अत: यसै वटवृक्षको हाँगामा झुन्डिएर आत्महत्या गर्नुबाहेक मसित कुनै अर्को विकल्प छैन । यति कुरा मनमा विचार गरेर रूखको हाँगा तथा आफ्नो घाँटीमा डोरी बाँधेर हाम फाल्न के आँटेको थियो, आकाशवाणी भयो–अरे सोमिलक यस्तो दुस्साहस न गर । तिम्रो धन हरण गर्ने मैं हुँ, किनकि तिम्रो भाग्यमा अन्न र वस्त्रबाहेक एक सुको पनि लेखिएको छैन । अन्न–वस्त्र बाहेक तिमीसित केही पनि म रहनैदिन्नँ । अत: तिमी घर फर्किजाऊ । म तिम्रो यस किसिमको दुस्साहस देखेर अत्यन्त प्रसन्न छु । मेरो दर्शन व्यर्थ न होस् भन्नाको लागि तिमीले इच्छाएको वर माग । यस प्रकारको आकाशवाणी सुनेर खुशी हुँदै सोमिलकले भन्यो–यदि तपाईं ममाथि प्रसन्न भएर वर दिन चाहनुहुन्छ भने मलाई प्रशस्त धन प्रदान गर्नुस् ।

आकाशवाणीले भन्यो–हरे मूर्ख, उपभोग गर्न न सक्ने धन लिएर तिमी के गर्छौ ? तिम्रो भाग्यमा अन्न र वस्त्र बाहेक अरू केही लेखेकै छैन । सोमिलकले भन्यो–यद्यपि मेरो भाग्यमा धनको उपभोग गर्न लेखिएको छैन तैपनि मलाई प्रचूर धन चाहिन्छ । तपाईंले आफ्नो वचन अनुसार मलाई धन दिनुहोस् । त्यसको यस प्रकारको आग्रह देखेर आकाशवाणीले फेरि भन्यो–यदि तिम्रो यस्तै इच्छा छ भने फेरि फर्केर वद्र्धमानपुर नै जाऊ । त्यहाँ दुईजना वणिकपुत्र बस्दछन् । एउटाको नाम गुप्तधन (धनको रखवाली गर्ने) तथा अर्काको नाम उपभुक्त धन (धन खर्च गर्ने ) छ । तिमीले दुवैको स्वभाव तथा प्रकृति हेरेर जे बन्न चाहन्छौ म त्यस्तै प्रकारको बन्ने वर दिनेछु । यति भनेर आकाशवाणी बन्द भयो ।

आकाशवाणी सुनेर छक्क पर्दै सोमिलक फेरि फर्केर वद्र्धमानपुर पुगेर गुप्तधन नामक व्यापारीको घर सोध्दै जाँदा फेला पारेपछि सूर्यास्त भइसकेको थियो । सोमिलक उसको घरमा पस्न खोजेपछि गुप्तधनकी स्त्री बच्चा तथा ऊ स्वयं आफैंले तथानाम गाली गर्न थाले । उनीहरूको यस प्रकारको व्यवहारले कति पनि न आत्तिई सोमिलक उनीहरूको घर भित्र बलात् छिरेर एक ठाउँमा बस्यो । खाना खाने बेला भएपछि घरमा आएको पाहुनालाइ पनि भक्तिभाव रहित अलिकति खाना खान दिए । त्यो खाना खाएपछि सोमिलक त्यसै घरमा सुत्यो । राति सपनामा तिनै भयड्ढर आकृतिका दुवै पुरुषहरूले परस्परमा कुरा गर्न थाले । एउटाले अर्कासित भन्यो–हे कर्ता, के तपाईंले यस गुप्तधनको प्रारब्धमा अधिक व्यय नियत गर्नुभएको थियो । यसले सोमिलकलाई कहाँबाट खाना दियो ? तपाईंले बढी दिनुभएको हो भने त्यो अनुचित हो । अर्कोले भन्यो–हे कर्म, यसमा मेरो दोष छैन । मानिसलाई उसको लाभ–हानि प्रदान गर्नु मेरो कर्तव्य हो । मैले प्रदान गर्ने लाभ वा हानिको फल दिनु तपाईंको अधीन छ । तपाईंलाई जे उचित लाग्छ त्यस्तै गर्नुहोस् ।

बिहान सोमिलक ब्युँझेपछि हेर्‍यो गुप्तधन हैजाले थला परेको छ । गुप्तधनले त्यो दिन खान पाएन किनकि त्यस दिनको खाना उसले एक दिन अगावै सोमिलकलाई ख्वाइदिएको थियो । सोमिलक त्यहाँबाट निस्केर सोध्दै जाँदा उपभुक्तधनको घर फेला पारेर त्यस भित्र गयो । त्यहाँ उपभुक्तधन नाम गरेको व्यापारीले उसको स्वागत गर्दै आग्रहपूर्वक मीठो–मीठो खाने कुरा खान दियो तथा वस्त्रालड्ढारले सम्मान गर्‍यो । सोमिलक राति उसकै घरमा सुत्यो । राति सपनामा ती दुई पुरुष परस्पर संवाद गर्दै फेरि देखा परे । एकले अर्कालाई भन्यो–हे कर्ता, यसले सोमिलकको आतिथ्यमा निकै धन खर्च गर्‍यो । अब त्यसको भर्पाई यसले कसरी गर्नेछ, किनकि त्यो धन यसले साहूसित ब्याजमा ल्याएको थियो । अर्कोले जवाफ फर्कायो– हे कर्म, यो त मेरो कर्तव्य थियो मैले सोहि अनुसार गरे । अब यसको परिणाम त तपाईंकै हातमा छ ।

बिहान हुने बित्ततकै राजकोषबाट ठूलो राशि पाउने व्यक्तिको रूपमा उसको नामको घोषणा भयो तथा दिउँसोको समयमा उसले ठूलो धनराशि हात पार्‍यो तथा सुखपूर्वक आफ्नो दिन व्यतीत गर्न थाल्यो । यो देखेर सोमिलकले मनमनै विचार गर्‍यो–सञ्चयरहित यस उपभुक्तधनको धन नै श्रेष्ठ छ किनकि यो गुप्तधनझैं कृपण छैन । उसले आकाशतिर हात उचालेर प्रार्थना गर्‍यो–हे विधाता, मलाई उपभुक्तधन बनाउनुस्, म गुप्तधनजस्तो बन्न चाहन्नँ । त्यस दिनपछि सोमिलक उपभुक्तधन बनेर सुखपूर्वक बस्न थाल्यो ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
विधा : नैतिक कथा | . यस रचनालाई बूकमार्क गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *