संस्मरण : अब त बाँचिन्न होला

~इद्रिस सायल~

आखिर एक दिन म हिंडिहालेँ, औषधी गराउन । मसँगै भिनाजु मैकुशेख पनि जानुभएको थियो । उहाँ विदेशबाट फर्केको मुस्किलले एक साता भएको थियो ।

भिनाजुलाईं बुवाआमाले नै पठाउनुभएको थियो र पैसा पनि उहाँलाईं नै दिनुभएको थियो, औषधी खर्च ! म आफ्नै भुलक्कड बानीका कारण पैसा आफ्नो साथमा लिन मानेको थिइनँ । कारण, बहराइनजस्तो शहरमा पाकेटमाराको बिगबिगि सजिलै देख्न सकिन्छ ।

खाना अलि चाँडै पाक्यो, बिहानै ! खाना खाएर हामी हिंडिहाल्यौँ तर रुपईडिहामा पुगेर टेनमा बस्ने धन्दा गरेनौं । हामी सिधै बसपार्कमा पुग्यौं र एउटा मेल बसमा बस्यौं । टेनमा बस्न घण्टौं कुर्नुपर्ने, समयमा पुग्न ग्यारेन्टी पनि नहुने, झन गाडी लेट भएमा त कामै नबन्ने, त्यत्तिकै फर्कनुपर्ने । यस्तै झन्झटबाट बच्न हामी टेनमा बसेनौं, बसमा बस्यौं । हुन त टनमा बस्दा एउटा फाइदा पनि हुने रहेछ त्यो हो सस्तो भाडा ! बहराइचसम्मको जम्मा भाडा भारु दश मात्र, चर बस भाडा पच्चीस भारू !

बस भाडा महँगो भए पनि यसका कैयौं फाइदा देखियो । प्रत्येक घण्टा घण्टामा बस छुटने मेल बस । बाटोमा कहीं नरोक्ने, गन्तव्यमा मात्र रोक्ने, ् समयमै पु¥याइदिने । हामीसँगै डाक्टरको नाम, ठेगाना र फोन नम्बर सबै थियो । बसपार्कमा यत्रेर सिधै डाक्टरको क्लिनिकतर्फ लाग्यौं, हामी ! एउटा रिक्सामा बसेपछि रिक्सावालाले त्यहीं लगेर पु¥याइदियो र भन्यो ‘त्यो डाक्टर को क्लिनिक यही हो ।’

एकैछिनमा हामी त्यो डाक्टरको क्लिनिकमा छिरिहाल्यौं । त्यहाँ नाम दर्ता गरायौं र लाइनमा बस्यौं । पालो आएपछि डाक्टरको रुममा गयौं । त्यहाँ डाक्टरले केही सोधपुछ गरेपछि अर्को रुममा पठाइदियो, एक्सरे गराउन, भिडिओ एक्सरे गराउन ।

त्यहाँ पनि पुगियो । तब एक्सरे म्यानले सोध्यो — ‘भोक लागेको छ ?’

मैंले भनें — ‘हजुर !’

एक्सरे म्यानलवे भन्यो —‘गएर केही खाएर आउनुहोस । भोको अवस्थामा मानसिक रोगको एक्सरे गरिंदैन । थाहै होला — मिर्गी रोग कस्तो हुन्छ ?’

म र भिनाजु दुवैजना त्यहाँबाट हिंडयौं र एउटा होटेलमा पस्यौं । त्यहाँ हामीले छोएला र समोसा खायौं । भिनाजुले त भन्नुभयो — ‘चिया पनि खाऔं ।’

‘तपाईं खानुहोस । म खान्नँ ।’ मैले भनें । जाडो होस वा गर्मी ! म चिया खाने गरेको छैनँ तर अहिलेसम्म चिया नखाएकै चाहिँ होइन । रुघा लागेमा एकदुई कप चिया खाने गरेको छु ।

त्यति वेला समय थियो, फागुन मसान्तको । भिनाजुले सोध्नुभयो — ‘नखाने, इद्रिस ?’

‘मलाईं चिया खाएको कहिल्यै देख्नुभो, रूघा लागेमा बाहेक ?’ मैले पुनः भनें र जग उठाएर पेटभरि पानी खाएँ । पानी खाएर म त्यहाँबाट बाहिरिइहालें ।

भिनाजु पनि चिया खाएर बाहिरिनुभयो, सँगै !

पेटको कलह शान्त भएपछि हामी पुनः त्यही क्लिनिकमा फर्कियौं ।

त्यहाँ मेरो एक्सरे हुन थाल्यो । एक्सरे म्यानले कम्प्युटरमा जोडिएको तार र मेरो मस्तिष्कको लिङ्क स्थापित गर्न राउकोमर कपालभरि केही चिप्लो पदार्थ लगाइदिएको थियो ।

एक्सरे भैसकेपछि एक्सरे म्यानले बाथरुम देखाउँदै भन्यो —‘यो बाथरूममा गएर कपाल धुनुहोस ।’

म एकछिन त्यसै उभिरहें । तब एक्सरेम्यानले सोध्यो — ‘किन उभिएको, भाइ ?’

‘म एक्लै धुन सक्दिन, सर ! मलाईं बहुत कमजोरी छ ।’ मैले नढाँटिकन भनें ।

‘कोही सहयोगी आ’छ ?”

“आ’छ ।“

“उसैलाईं बोलाउने ।”

“हुन्छ ।”

म एक्लै त्यो चिप्लो पदार्थ धुन नसक्ने अवस्थामा थिएँ । मलाईं यति कमजोरी थियो कि खानलाउनदेखि लिएर उठ्न बस्न र हिँड्डुल गर्न पनि धेरथोर सहयोग चाहिन्थ्यो, अरुको !

भिनाजु एक्सरे रुम बाहिर हुनुहुन्थ्यो । मैले उहाँलाईं बोलाएँ । आएर उहाँले बाथरुमको टयाङ्की खोलिदिनुभयो र मैले जसोतसो कपाल धोएँ । केही छिनपछि डाक्टरले फेरि बोलायो र एक्सरेको रिर्पोट अनुसार औषधी लेख्न थाल्यो । हामीले सुनेका थियौं —औषधी खानथालेपछि माछा— मासु र अण्डा सबै खान बन्द गर्नुपर्छ । त्यसैले हामीले सोध्न चुकेनौं —“डाक्टर सा’ब, माछा, मासु र अण्डा खाने कि नखाने ?”

डाक्टरले जबाफ दियो —“खान सकिन्छ, तर धेरै नखानुहोला । बरू जाँड, दारू, चुरोट, बिँडीचाहिं नखानुहोला ।”

“त्यो त खाइँदैन । मुस्लिम समाजमा यो सब हराम नै छ ।” हामीले भन्दै गयौं । डाक्टरले औषध िलेखिदिँदै पर्चा थमायो –“मैले एक हप्ताको औषधी लेखिदिएको छु । नछुटाइ औषधी खानुहोला र एक हप्तापछि फेरि आउनुहोला । आरामचाहिं बेस्सरी गर्नुहोला ।”

हामीले फेरि सोध्यौं —“औषधी कति वर्षसम्म खानुपर्छ ?

डाक्टरले भन्यो— “ग्यारेन्टी गर्न सकिँदैंन । १५ वर्ष पुराने रोग हो यो ! १५ वर्ष वा त्योभन्दा बढी वा आजीवन पनि औषधी खान पर्नसक्छ ।”

बीचैमा भिनाजुले भन्नुभयो—“यो भाइ सन्चो भएपछि विदेश जान सक्छ, डाक्टरसा’ब ?”

“जान सक्नुहुन्छ । इन्टरनेट मार्फत पनि हाम्रो सेवा उपलब्ध छ । रह्यो कुरा औषधीको ! औषधी चाहिं नियमित खाइरहनुर्पछ । हाम्रो यहाँबाट कुरियरबाट औषधी मगाउन सकिन्छ ।” डाक्टरले पुनः भन्यो र सोध्यो —“पढ्नुभा छैन भाइले ?”

“पढेका छन स्नातकसम्म !” भिनाजुले जबाफ दिनुभयो ।

“यति पढेर पनि विदेश जाने ?” डाक्टरले आश्चर्य मान्यो ।

“के गर्ने ? नेपालमा सजिलै जागिर पाइँदैन !” भिनाजुले भनिरहनुभयो ।

“ठीक छ । विदेश जान सक्नुहुन्छ तर औषधीचाहिँ नियमित नै खानुपर्छ है !” डाक्टरका यी अन्तिम शब्दहरु थिए । औषधी लिएर त फर्कियो तर नेपालगन्ज पुग्दापुग्दै रात परिहाल्यो, नौ बजिहाल्यो । नेपालगन्जबाट पश्चिम जाने एउटा पनि गाडी भेटिएन । हामी अलपत्र प¥यौं । भोकले झनैं सताइरहेको थियो । पेटको कलह शान्त गर्नै प¥यो । धम्बोझीको एउटा होटेलमा गएर खाना खायौं, मासुभात, कुखुराको मासु ।

पेट पजा भएपछि हामी घरतिर लाग्ने सुर ग¥यौं, पैदलै । हुन त भिनाजुले भन्दै हुनुहुन्थ्यो —“आज यही होटेलमा बसौं, भोलि बिहानैं जाऔंला ।”

तर मैले मानिनँ त्यसलाईं मेरो जिद्दी स्वभाव नै भन्नुर्पछ । मैले भनें—“म यस्तो बिरामी हालतमा यहाँ बस्न सक्दिनँ । म त घर जान्छु, जान्छु ।”

तब भिनाजु सायद रिसाउनुभयो तर उहाँ रिसाए पनि नरिसाए पनि मसँगै पैदल हिंडन बाध्य हुनुभयो । बाटामा केही पैदल यात्रीहरु पनि भेटिनुभयो । उहाँहरु सबै विवाहमा आफ्ना आफन्तका घरमा जाँदै हुनुहुन्थ्यो । उहाँहरुले पनि गाडी पाउनुभएको थिएन । कतै टाढैबाट आएका थिए, सायद भारतबाट । महिला र केटाकेटी थिए तिनीहरु ।

दश त नेपालगन्जमै बजिसकेको थियो । घर पुग्दा त बाह्र पनि नाघिसकेको थियो । घरमा सबै सुतिसकेका थिए ढोका ढक्ढक्याएपछि खुल्यो । त्यसपछि औषधी खाएर म पनि सुतें । खाना त नेपालगन्जमै खाइएको थियो । भोलिपल्ट बिहानै भिनाजु आफ्नो घर गैसक्नुभएको थियो । नजिकै थियो उहाँको घर, छिमेकी गाविस उढरापुर ! त्यो दिन मैले नियमानुसार औषधी खाएँ—बिहान र साँझ । त्यस दिन केही समस्या भएन तर अर्को दिन टवाइलेट जान निस्केको मात्र थिएँ । दुईटै खुटटाले काम गर्न छोडिदिए, दुईटै हातले पनि काम गर्न छोडिदिए र मुखले पनि काम गर्न छोडिदियो । बोली फुटनै छोडयो ।

घरमा सबै आचार्यमा परेर रून थाले —“यो के भएको हो ? चौबीस पच्चीस वर्षकै उमेरमा यस्तो पक्षघात ?”

मलाईं ल्याएर बिस्तरामा सुताइयो र आराम गर्न भनियो । मेरा हातखुटटाले त काम गर्न छोडे नै र बोली फुटन छोडयो नै । सास फेर्न पनि गाह्रो हुन थाल्यो ् र भोक पनि मरेर गयो । मात्र प्यास लागिरह्ने ।

तत्काल आँगनमा हेर्नेहरुको भीड देखियो । कसैले भने—“भत लाग्यो ।” मलाईं यसमा विश्वास लागेन, कत्ति विश्वास लागेन । बोली नफुटे पनि मैले तिनीहरुलाईं मनमनै गाली गरिरहें —“धत्तेरिका …..भतवाले….!”

कसैले भने—“कमजोरीले यस्तो भएको हो ।”

कसैले भने—“डाक्टरले गलत औषधी लेखिदियो ।”

कसैले भने —“पक्षघात नै भयो ।”

कसैले भने—“एकचोटि पुनः त्यही डाक्टरलाईं देखाउनुप¥यो ।”

मेरो हातखुटटा नचले पछि, बोली नफटेपछि, सास फेर्न गाह्रो भएपछि र भोकै नलगपछि ममा झन डर बढेर गयो —“अब म मर्ने भएँ ।”

ममा त्यो डाक्टरप्रति पनि आशङका उब्जेर आयो —“डाक्टरले बदमासी गरेको त होइन, फटाहाहरु लागेर ?”

यसमा पनि सबैले भन्न थाले —“अब फेरि त्यही डाक्टरकहाँ लैजानुपर्छ ।”

तब ममा डरले डेरा जमाउन थाल्यो । बोली नफुटे पनि मनमनै सोचिनै रहेको थिएँ—“अहिले त त्यो डाक्टरले यस्तो दशा बनाइदियो भे यसपाली त मारि नै दिन्छ ।”

तर त्यो दिन शुक्रबार थियो । क्लिनिक खुले पनि त्यो दिन डाक्टर बस्दैनथ्यो, अन्यत्र जान्थ्यो ।

भिनाजुलाईं पनि बोलइयो र शनिबार मलाईं त्यही डाक्टर कहाँ पु¥याइयो ।

देखेर त्यो डाक्टरले भन्यो —“यो सब औषधीको असर हो । केही दिनमै आफैं निको भएर जान्छ, आराम भने अधिक गर्नुपर्छ ।”

डाक्टरले अर्को औषधी लेखिदियो तर तत्काल मेरो अवस्थामा कुनै सुधार आएन । हातखुटटा उस्तै चल्दैनथ्यो र बोली पनि उस्तै फुटदैनथ्यो सास फेर्न उस्तै गााह्रो हुन्थ्यो र भोक पनि उस्तै लाग्दैनथ्यो ।

तब ममा बाँच्छु भन्ने आशा मरिसकेको थियो—“भोकै नलागेपछि र खानै नखाएपछि कति दिन बाँचुला ?”

मेरो अवस्थामा कुनै सुधार देखिएन —“उस्तै कसैले उठाइदिनुपर्ने र बसालिदिनुपर्ने । खाना खुवाइदिनुपर्ने र टवाइलेट पु¥याइदिनुपर्ने ।”

मलाईं लखनऊसम्म पनि लगियो । त्यहाँको औषधी उपचारपछि मेरो अवस्थामा केही सुधार आयो —“अस्पष्टै भए पनि बोली बोली फुटन थाल्यो । हाचखुटटा भने अझै निस्क्रिय थिए क्रमैसँग निको हुँदै जाने डाक्टरहरुले बताएका थिए । औषधीकै असर त्यहाँका डाक्टरहरुले पनि भनेका थिए ।”

मेरा हात पनि निष्क्रिय भएमछि कथा, कविता, गजल, निबन्ध जस्ता सिर्जना कैयौँ दिनदेखि कोरिएको थिएन यधपि मनमा भावनाहरु निरन्तर ओहोर दोहोर गरिरहन्थे । बोली स्पष्ट फुटनथालेपछि मुखले बोलेर मोबाइलमा रेकर्ड गराउँथेँ, हातले लेख्न नसके पनि । पछि तिनै रेकर्ड रचनाहरुलाईं भाइ बहिनीद्वारा कापीमा लेख्न लगाउँथे र प्रकाशनार्थ पत्र—पत्रिकामा पठाउँथे, मैले ।

२०६२÷०६३ को जन आन्दोलन—२ ले गति लिँदै गएको थियो । तब म त्यसमा सशरीर उपस्थित हुन नसके पनि साहित्यिक रचनामार्फत आफ्नो उपस्थिति जनाउँथे । ती रचनाहरु नेपालगन्जको नयाँ संरचना दैनिकमा प्रकाशित हुन्थे र जन आन्दोलनलाईं समर्थन गर्थे । त्यता क्रान्तिकारी रचनामा शहीद, कालो वस्त्र, विद्रोहीजस्ता मेरा कैयौं कथा र केही गजल थिए । त्यस्तैमध्ये एउटा गजलांश यस्तो छ —

आफ्नै आँगनमा प्याली जितियो
गुन्जेर सडक ¥याली जितियो

गाउँ जागे बस्ती कुटो कोदालो
होइन खडेरी, बाली जितियो

सेतुहरु राहाद त अँगालेर त
फुल्दा बगैंचामा माली जितियो

तर मलाईं पूर्णरुपमा सन्चो हुन एक वर्ष बढी नै लाग्यो तैपनि डाक्टरहरुले अझै धेरै दिन औषधी खाने र आराम गर्ने सल्लाह दिएका थिए ।

सन्चो नहुँदा त यही चिन्ताले सताइरहन्थ्यो —“अब त बाँचिन्न होला ।”

नेपालगञ्ज ।

(स्रोत : वर्ष–९ अङ्क ३ पूर्णाङ्क–४५ वैजयन्ती साहित्यिक पत्रिका २०७३ भाद्र–आश्विन – संस्मरण अङ्क-५)

This entry was posted in संस्मरण and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *