कविता : विनोदी र व्यास

~निर्मोही व्यास~Nirmohi Vyas

सौहार्दको सियो-धागो स्नेहको कुसुमावली-
सँगाली यत्नले काव्य-माला वा विरुदावली
उनियो उनकै निम्ति व्यासका प्रिय मित्र जो
बस्छन् नारायणी-तीर ‘विनोदी’ काव्यका मियो !

तपसी, नित्य एकान्त-साधनामा रमाउने
दम्भ-दुर्भावका द्रोही, मैत्रीका गीत गाउने
स्रोत अक्षय ऊर्जाका र जो हुन् छन्द-सारथि,
पौरखी, दिलका सच्चा, सदा सद्गुण-पारखी

‘विनोदी’ गण्डकीका हुन् कल्कले लहरी कवि
सिर्जने कहिलेकाहीँ व्यास हो लहडी कवि
एउटै वर्षो जन्म, मैत्री चालिस वर्षो
भेटिँदा नित्य उर्लन्छ महासागर हर्षो

‘विनोदी’ शाश्वत स्रष्टा नित्य शास्त्रीयता-प्रिय
छन्दोवादी दुवै, किन्तु व्यास स्वच्छन्दता-प्रिय
थलो कास्की-कलैया हो, भेट चित्तौनमा भयो
आपसी काव्य-सम्बन्ध अजरामर झाङ्गियो

दुवैको छ लुरे ज्यान किन्तु आँत छ दर्बिलो
कमलो मनमा बस्ने स्वाभिमान छ गर्विलो
पेसा एकै छ दोटैको दुवै हुन् छात्रका गुरु
जसले जत्ति नै जोतोस् जोतिँदा छन् खुरूखुरू

भाव-संवेदनाका औ कल्पनाका दुवै धनी
माहुरी-कमिला जस्तै एकताबद्ध, संयमी
जहाँ हुन्छन्-सँगै हुन्छन्,मानौँ यी लय-छन्द हुन्
यद्वा जुनी-जुनीका यी मिलिन्द-मकरन्द हुन्

‘विनोदी’ मितभाषी छन् व्यास चाहिँ छ फट्फटे
‘विनोदी’ शान्त-शालीन, किन्तु व्यास छ चट्पटे
नम्रता-सौम्यताका हुन् ‘विनोदी’ प्रतिमर्ूर्ति नै
झडङ्गे व्यासको बानी कसरी सक्छ दाँजिनै –

‘थोरै मिल्ती’ र ‘बेमिल्ती धेरै’ बानी-स्वभावले
सिक्नुपर्ने निकै पो छ ‘विनोदी’ बाट व्यासले
हेराइमा ‘विनोदी’ को ‘विनोदी-व्यास’ एउटै
व्यासका दृष्टिमा चाहिँ ‘विनोदी’ कवि ‘देउतै’

रचनाकाल र स्थान : १२ पुस २०७०, इमाडोल, ललितपुर

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *