बाल कथा : मिहिनेती बिकास

~मीना बज्राचार्य~mina-bajracharya

विकास ज्यादै ज्ञानी र जेहेन्दार विद्यार्थी हुन् । उनी जहिले पनि पढाइमा प्रथम हुन्छन् । विकास मिलनसार पनि छन् । सबै साथीलाई सहयोग गर्ने उनको राम्रो बानी छ । विकासले साथीभाइलाई मात्र होइन पशुपंक्षीलाई पनि उत्तिकै माया गर्छन् । विकासको घरमा कुकुर, बाख्रा, गाई, बिरालो, परेवा, सुगा थिए । ती सबैलाई विकासले औधी माया गर्थ्यो ।

एकदिन विकासको स्कुलमा गुरुले पशुपंक्षीको बानी व्यहोरा बारेमा पढाउनुभयो । गुरुले पढाउनु भएको कुरा विकासले घरमा आएर परीक्षण गरेर हेर्न मन गरे । सबभन्दा पहिला आफूले खाइरहेको मासुको एकटुक्रा कुकुरलाई फ्याँकिदिए । विकासको घरमा दुईवटा कुकुर थिए । एउटा खैरो र अर्को कालो सेतो बुट्टेदार । दुईवटै कुकुर मासु खान लडाइ गरिरहे । कुकुर झगडा गरिरहेको मौका छोपी बिरालो बिस्तारै आएर मासु टपक्क टिपेर भाग्यो । यो देखेर दुबै कुकुर जिल्लिए । विकासले खाजा खाँदा जेरीको सानो टुक्रा भुईंमा खसाले । त्यसपछि लस्करै कमिला आएर जेरीका स-साना टुक्रा उठाएर तान्दै आफ्नो दुलोभित्र लैजान लागे । कमिलाहरू एकापसमा मिलेर एकापसमा टाउको जोडेर अभिवादन गर्दै गइरहेको देखेपछि विकासले खुसी हुँदै घरका सबै परिवारलाई बोलाएर देखाए ।

त्यसपछि फेरि विकासले कौसीमा परेवालाई दाना छरिदिए । परेवा भुरुरु उडेर आए अनि सबै परेवा मिलि कपाकप दाना खान थाले । खाइसकेपछि फेरी सबै परेवा एकसाथ आकाशमा उड्न थाले । त्यस्तै गरी सबै बाख्रा मिलेर घाँस खाइरहेको देखेर पनि उनी दङ्ग परे । उनीहरू बथान बथान एकै ठाउँमा जान्थे । त्यस्तै गाईले आफ्नो बाछोलाई दूध ख्वाइरहेको देखेर विकास खुसी भए ।

यी सबै हेरेपछि विकासले के थाहा पाए भने । हामी कुकुरले जस्तो खानेबेलामा झगडा गर्नु हुँदैन । बरु मिलेर परेवाले जस्तो खानुपर्छ । त्यस्तै गरी बिरालोले जसरी मौकाको फाइदा लिन जान्नुपर्छ । अनि मात्र कुनै पनि बेला काममा सफल हात पार्न सकिन्छ । विकासले कमिलाबाट के शिक्षा लिए भने जसरी कमिला सबै मिलेर मेहनत गरी बेलैमा खाना सञ्चय गर्छन् त्यसै गरी हामीले पनि सञ्चय गर्न सिक्नुपर्छ । नत्र अनिकालमा खान पाइँदैन । सबैलाई आदर एवं सत्कार गर्नुपर्छ । जुन काम गर्दा पनि सबै मिलेर गरेमा जस्तो सुकै गाह्रो काम पनि सजिलै गर्न सकिन्छ । सधैँ आफ्नो बथानमा हिँड्नुपर्छ एक्लै हिड्नु हुँदैन । आफूले थाहा नपाएको एक्लै ठाउँमा जानुहुँदैन । नत्र हराउन सकिन्छ भन्ने कुरा विकासले बाख्राबाट सिके ।

यी सबै कुरा थाहा पाएपछि विकासले आफ्नो नोट कपिमा सबै कुरा टिपे । आफूले टिपेको र जानेको कुरा आफ्ना साथी र गुरुलाई पनि सुनाए । गुरुले सबैलाई विकासले भने जस्तै शिक्षा लिन सम्झाए । विकासको मिहिनेतलाई प्रसंशा गरेर गुरुले स्याबासी दिए ।

(स्रोत : मुना २०६८ जेठ)

This entry was posted in बाल कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.