पौराणिक बाल कथा : घण्टावाल ऊँटको कथा

~उमाशङ्कर द्विवेदी~

कुनै नगरमा उज्वलक नाम गरेको सिकर्मी बस्दथ्यो । जति काम गर्दा पनि पर्याप्त आम्दनी नहुने भएकोले दरिद्रताले उसको घरमा स्थायीरूपमा वास गरिसकेको थियो । आफ्नो यो दुदर्शा देखेर ऊ खिन्न भएर सोच्दथ्यो–यस नगरका प्रत्येक मानिसले आफ्नो–आफ्नो काम गरेर राम्रो आम्दानी गरेर सुख सयलका साथ जीवन बिताइरहेको छ तर मैले गर्ने कामबाट कुनै खास लाभ नहुने भएकोले मैले यो नगर त्यागेर अन्त कतै गई काम खोजेर आफ्नो भाग्यको परीक्षा गर्नुपर्दछ । आफ्नो मनमा यस प्रकारले विचार गरेर विदेश जान भनी ऊ घरबाट हिंड्यो ।

वनको बाटो हिंड्दै जाँदा सूर्यास्तको बेला एउटा ओडारमा आफ्नो झुन्डबाट छुट्टिएकी प्रसव पीडाले क्लान्त एउटी ऊँटलाई देख्यो । उसको साथमा नवजात शिशु ऊँट पनि थियो । त्यस ऊँट र शिशुऊँटलाइ साथमा लिएर ऊ घर फक्र्यो । ऊँटलाई दाम्लोले बाँधेर त्यसको आहाराका लागि स्याउला पात काट्न भनेर बन्चरो लिएर वनमा गई कमलो स्याउला र पात ल्याएर उँmटको अगाडि राखिदियो । आमा ऊँट बडो रुचिपूर्वक ती स्याउला पात खान थाली ।

वनबाट ऊ दिनहुँ कमलो–कमलो स्याउला पात काटेर ल्याई ऊँटको अगाडि राखिदिन्थ्यो जसलाइ मज्जाले खाएर दिउँसभरि उग्राएर उँट आरामका साथमा समय बिताउँदथिई । यस प्रकारको आहारा पाएर ऊँट छिटै मोटीघाटी भई । साथमा आएको शिशु ऊँट पनि हुर्केर पूर्ण वयस्क उँट भयो । शिशु ऊँट बढेर ठूलो भइ सकेपछि सिकर्मीले उँट दुहेर आफ्ना कुटुम्बको भरणपोषण गर्न थाल्यो । सिकर्मी ऊँटको बच्चालाई असाध्यै माया गर्दथ्यो । स्नेहको कारण उसले त्यसको घाँटीमा एउटा घन्टा बाँधिदिएको थियो जुन उँटको बच्चा हिंड्दा मनमोहक आवाजमा ध्वनि गर्दथ्यो । केही दिनपछि उसले मनमा विचार गर्‍यो–कठिन परिश्रम गरेर अन्य कुनै काम गर्नुभन्दा यस उँटको स्याहारसुसार गरेर राम्ररी पालन गरियो भने उँटको दूधले नै परिवारको गुजारा मज्जासित चल्दो रहेछ । अन्य कुनै व्यापार गर्नाले के लाभ ?

मनमा यस प्रकार विचार गरेर आफ्नी स्वास्नीसँग भन्यो–प्रिय, उँट पालेर यसको व्यापार गर्दा सार्‍है लाभदायक हुने कुरा मैले देखें । यदि तिम्रो राय भए कुनै साहुसित केही रकम उधारो लिउर उँट किन्न गुजरात जाने विचार गरेको छु । म त्यहाँबाट फर्केर नआउन्जेल तिमीले उँट तथा त्यसको बच्चाको राम्ररी हेर विचार गर्नु, ल । स्वास्नीसित यस प्रकार सल्लाह गरेर उँट किन्न भनी ऊ गुजरात जान हिंड्यो । गुजरातबाट उसले उँट किनेर ल्यायो । घर फर्केर आएपछि उसले उँटहरूको राम्ररी स्याहार तथा लालनपालन गर्न थाल्यो । उसको कडा परिश्रम तथा राम्रो स्याहारसुसारले केही दिनमैं उसको घरमा उँटहरू तथा उँटका बच्चाहरूको बगाल खडा हुन पुग्यो । उँटको झुण्ड बढेपछि हेरचाह गर्न नोकरहरूको व्यवस्था गरेर उँटको व्यापारमा राम्रो आम्दानी लिन थाल्यो । उँटको दूध तथा बच्चाहरू बिक्री गरेर मनग्गे पैसा कमाउन थाल्यो ।

सिकर्मीका उँटहरूको झुण्ड वनमा चर्न जान्थे तथा सूर्यास्त हुने बेला कुनै पोखरीमा पानी खाएर उफ्रँदै रमाउँदै आफ्नो स्थानमा फर्की आउँथे, तर पहिलो बच्चा, जुन पूर्ण वयस्क भइसकेको थियो मदातिरेकको कारण पछाडि पर्ने गर्दथ्यो तथा सबभन्दा अन्त्यमा आएर झुण्डमा सामेल हुन्थ्यो । त्यसको यस प्रकारको बानी देखेर अन्य बच्चाहरूले त्यो उँट मूर्ख रहेछ भन्ठाथे । झुण्डबाट अलग्गिएर घन्टा बजाउदै त्यो उँट पछि–पछि आइरहेको देखेर उनीहरूको के ठम्याइ थियो भने कुनै दिन संयोगवश यो कुनै हिंसक जानवरको फेला पर्‍यो भने निश्चय नै मारिने छ ।

एक दिन उँटका अन्य शिशुहरूको कुरा नमानेर त्यो उँट आफ्नो घाँटीमा झुन्डिएको घन्टा बजाउँदै वनमा सुदूर भित्र छिर्‍यो तथा आँखाबाट ओझल भयो । वनमा छिरेर ऊ घन्टा बजाउँदै यताउति भौंतारिन थाल्यो । घन्टाको आवाज सुनेर आवाजको दिशा पछ्याउँदै एउटा बाघ टोल्हाएर चारैतिर हेर्न थाल्यो । उसको आँखा अगाडिबाट उँटको झुण्ड गइरहेको थियो । त्यो उँट सधैंझैं आजपनि सबभन्दा पछाडि रूखका स्याउला पात चर्दै, मदातिरेकका कारण बुर्कुसी मार्दै हिंडिरहेको थियो । उँटको झुण्ड पोखरीमा पानी खाएर घरतिर हिंडिसकेका थिए । त्यो उँट अझै वनमैं थियो । साँझ परिसकेको थियो तथा झुण्डबाट त्यो अलग्गिइ पनि सकेको थियो । पानी खाएर घरतिर हिंड्दा उसले बाटो बिरायो । बाघले उसलाई देखिसकेको थियो, बाघ उसको बाटोमा घात लगाएर बसेको थियो । नजिक आउना साथ बाघ अप्रत्याशितरूपले झम्टेर उँटको घाँटी समातेर मारिदियो । त्यसैले भनिएको छ –

सतां वचनमादिष्टं मदेन न करोति य: ।
स विनाशमवाप्नोति घण्टोष्ट्र इव सत्वरम ।।

जसले श्रेष्ठजन तथा आफ्ना हितैषीको कुरा नमाने अटेर गर्दछ त्यो घन्टवाल उँटझैं मारिन पुग्छ ।

(स्रोत : प्रतीक दैनिक पत्रिका)

This entry was posted in पौराणिक कथा, बाल कथा and tagged , , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *