बाल कथा : राम र श्याम दुबै बेस्सरी रोए

~कार्तिकेय घिमिरे~kartikeya ghimire

रामले श्यामको गालामा चड्याम्म हिर्कायो । सबै साथीहरू अचम्म मान्दै हेर्न थाले । बिहानको समय थियो । सबै विद्यार्थीहरू लाइन लागेर प्रार्थना गीत गाउने तरखरमा थिए । अचानक यस्तो दृश्य देख्नुपर्दा एकछिन सबैजना अलमलमा परे ।

‘ल अब घमासान झगडा पर्ने भयो ।’ रोजनले रामेशलाई खुसुक्क भन्यो । रामेशले उसलाई चुप लाग भनेर इसारा गर्‍यो ।

श्याम झापड खाएको निन्याउरो अनुहार लिएर एकछिन चौरमा उभिरहृयो । राम झापड हानेपछि सरासर कक्षा कोठामा गयो । एकछिनपछि श्यामले चारैतिर हेर्‍यो । सबै साथीहरू विद्यालयको चौरमा लाइन लागेर बसेका थिए । सबैजना उसलाई नै हेरिरहेका थिए । श्याम लाजले भुतुक्क भयो । ऊ बेतोडसँग दौडँदै आफ्नो होस्टेलको कोठातिर लाग्यो । ऊ हस्याङ फस्याङ गर्दे आफ्नो दोस्रो तलामा भएको कोठामा पुग्यो । आफू सुत्ने सानो खाट छेउमा झुन्ड्याइएको फोटो एकटकसँग हेरेर ऊ निकै बेर टोलायो । उसले आँखाभरि आँसु पार्दै आमालाई हेर्दै भन्यो – “मामु, तपाइर्ंले मलाई छोडेर जानुभएदेखि सबैले मलाई हेप्छन् ! बाबाले पनि मलाई हेपेर होस्टेलमा राखिदिनुभयो । आज मेरो मिल्ने साथी रामले पनि मलाई पिट्यो ।” मामुलाई यिनै कुरा भन्दै श्याम आँखाबाट भलभली आँसु निकाल्दै रोयो । उसले एकतमाससँग आमाको तस्बिर हेरिरहृयो ।

एकछिनपछि ऊ जुरुक्क उठ्यो, दौडँदै तलतिर झर्‍यो । प्रार्थनासभा सकिन लागेको थियो । अघि रामले पिटेको ठाउँमै पुगेर ठिङ्ग उभिएर श्याम जोडले चिच्यायो – ‘ए राम, तिमी कहाँ छौ यहाँ आऊ ।” सबैजना सशंकित हुँदै हेर्न थाले । लौ अब राम र श्यामको फाइट पर्ने भयो । ल केटा हो रेसलिङ हेर्न आओ । राजीवले सबै साथीलाई बोलायो ।

श्यामको चुनौती सुनेर राम निकै फूर्तिसाथ रिसाउँदै श्याम छेउमै आइपुग्यो । वरिपरि विद्यालयका सबै विद्यार्थीहरू रमिता हेर्न घेरिएका थिए ।

‘के भो किन बोलाएको मलाई ?’ रामले कड्किँदै सोध्यो ।

एकछिन श्याम केही बोलेन । उसले ट्वाल्ल परेर तिखा आँखाले रामलाई हेर्‍यो । राम राताराता आँखा पार्दै श्यामतिर हेरिरहेको थियो । अचानक मैन पग्लेझैँ श्याम पग्लियो । उसले रामको हात च्याप्प समात्यो । उसले गहभरि आँसु पार्दै भन्योः- “राम, मेरो मिल्ने साथी । तिमीलाई मलाई पिट्न पाउँदा निकै आनन्द आयो होला है ! तिमीलाई आनन्द हुने काममा सहभागी हुन पाउँदा मलाई खुसी लाग्यो ।” तिमीलाई धन्यवाद छ है ।

यति भन्दै श्याम सरासर आफ्नो कोठातर्फ लाग्यो । उभिएर हेरिरहेका सबै विद्यार्थीहरू छक्क पर्दै हेर्न थाले । राम त झनै अचम्मित भयो । उसले ट्वाल्ल परेर श्याम गएतिर हेरिरहृयो ।

विद्यालयमा ट्वाङ्ग गर्दै पहिलो घन्टी लाग्यो । राम दौडँदै कक्षा कोठामा छिर्‍यो । राम र श्यामसँगै एउटै बेन्चमा बस्थे । आज बेन्चमा श्यामको झोला मात्र थियो । राम पुलुक्क झोलामा हेर्दै बेन्चमा गएर बस्यो ।

सरले पढाउन सुरु गर्नुभयो । उसले घरीघरी श्यामको झोला हेर्‍यो । उसले आफू र श्याम मिलेर रमाउँदै पढेको, खेलेको सबै कुरा सम्भिmयो । ऊ आफ्नो साथी श्यामको आँखाको आँसुु सम्झेर त झन् पागलझैँ भयो ।

‘सर म एकछिन पाँच मिनेट बाहिर जान्छु है’ रामले सरसँग अनुमति माग्यो । सरले  “ल चाँडै आउनु फेरि झगडा गर्ने होइन नि” भनेर अनुमति दिनुभयो । कक्षाबाट बाहिर निस्कन पाउनासाथ राम बेतोडले दौडियो । ऊ दौडँदै-दौडँदै दोस्रो तल्लामा रहेको आफ्नो होस्टेलको कोठामा पुग्यो । कोठा बन्द थियो । उसले ढकढक गरेर ढोका ढक्ढक्यायो ।

विस्तारै ढोका खुल्यो । ढोका श्यामले खोलेको थियो । रुँदारुँदा उसका आँखा फुलेका थिए । उता छट्पटिएको राम ढोका बाहिर उभिरहेको थियो । रामले क्वारक्वारती श्यामलाई हेरिरहृयो । श्याम पनि क्वारक्वारती रामलाई हेर्नर् थाल्यो ।

राम अचानक आँखाभरि आँसु पार्दै घुँक्क घुँक्क्क रुन थाल्यो । उसले श्यामलाई गम्लङ्ग अँगालो मार्‍यो । श्यामको अँगालोमा बाँधिएपछि राम झन् जोडले रोयो । उसले रुँदै रुँदै – श्याम मलाई माफ गर है ! भनेर करायो । श्याम पनि साथीसँँगै रुन थाल्यो । यसरी त्यो दिन राम र श्याम बेस्सरी रोए ।

आजकल उनीहरू दुबै विद्यालयमा मित्रताको उदाहरण बनेका छन् ।

(स्रोत : मुना २०६५ चैत)

This entry was posted in बाल कथा and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *