कविता : अठोट

~निर्मोही व्यास~Nirmohi Vyas

सिँचेर स्नेह–धारले सिँगार्छु आज यो धरा
तुल्याइदिन्छु प्यारले बसुन्धरा हराभरा
अजस्र सृष्टि–स्रोत भै गरीरहन्छु सिर्जना
उदासमा, निराशमा नवीन भर्छु जीवन

भएर प्राणवायु दिग्दिगन्तमा म डुल्दछु
बनेर फूल प्रीतिका जताततै म फुल्दछु
म शान्तिको सुवास भै सदैव मग्मगाउँछु
प्रदीप भै स्वयम् जलेर विश्व जग्मगाउँछु

ध्वजा इमानको उँचा सदा म फर्फराउँछु
प्रचण्ड स्वाभिमानको मसाल हुर्हुराउँछु
म ज्यूँछु शान–मानले, म एकचोटि मर्दछु
म जन्मभूभि–पाउमा प्रणाम कोटि गर्दछु

म दीनको वसन्त औ निरीहको बहार हुँ
परन्तु कंस–वंश–निम्ति कड्किँदो कटार हुँ
छ को समर्थ सत्यबाट लौ यहाँ डगाउन ?
म अर्पिदिन्छु ज्यान नै मनुष्यता बचाउन

डुबेछ जून स्वार्थमा, विवेकहीन भो रवि
भएछ कामचोर यो अनन्त तारकावली
म आजका अलच्छिना उपद्रवी सबै ग्रह
गरी पदच्युतै छिटै नयाँ नियुक्त गर्दछु

प्रभात आजसम्मका समस्त जीर्ण–शीर्ण हुन्
म नूतन प्रभात ल्याइछाड्छु, गर्दछु प्रण
ननाच बाज ! चील ! गम्किई हिमाल–भालमा
मुसा–मुसा मिले हिमाल ढल्छ ख्याल–ख्यालमा

(स्रोत : ‘बोधिवृक्षको छायामा’, कविता–सङ्ग्रह—२०६९ – पृष्ठ ३८—३९)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *