कविता : मार्तोल

~बिमल गुरुङ~bimal-gurung

मैले आँखबाट बगाएको नदी त्यसै बगेको छैन
मेरो कलेजो टुक्रा-टुक्रा छिनिएको मैले बिर्सेको छैन
के गरेन त्यसले?
त्यसले मेरी भाउजूहरुलाई गल्ली-गल्लीमा
नाङ्गो नचाएको थाहा छ
त्यसले मेरी बहिनिहरुलाई ढुँगा हान्दै
स्टुडियोबाट जिस्क्याएको थाहा छ ।
त्यसले मेरो दाजुहरुलाई
अँध्यारोमा मिलाई-मिलाई हत्या गरेको थाहा छ ।
के गरेन त्यसले?
थाहा छ, त्यो पापी आँधीका बारेमा मलाई
जसले मेरी दिदिहरुको सिन्दुर पुछेर लगेको थाहा छ
थाहा छ, त्यो पापी मार्तोलका बारेमा
जसले मेरी दिदिहरुको चुरा फुटाएर गएको छ
त्यो मार्तोल एक दिन मारिने छ
त्यो मार्तोल एक् दिन मर्ने छ
बोतल पञ्जामा कसेर भन्छु
म मार्तोललाई मार्छु ।

थाहा भइसकेको छ
मार्तोललाई नमारी हावाको शीतल लहर नचल्ने रहेछ
मार्तोललाई नमारी शाली नदी नबग्ने रहेछ
मार्तोललाई नमारी मासु ब्यापारमा बुद्धता नछाड्ने रहेछ
थाहा भइसकेको छ मलाई,
मार्तोललाई नमारी रामकृष्णेले देखेको जुत्ता नपाउने रहेछ
त्यसैले पनि मैले मार्तोललाई मार्नै पर्छ
धेरै पल्ट दाँत किटेको छु
म मार्तोललाई मार्छु ।

१८७१ का पेरिस म कसरी भुल्न सक्छु !
अमेरिकाको त्यो फाँसी म कसरी भुल्न सक्छु !
रुसी दरबार बाहिरको त्यो रगत
मजदुर र तिनका स्वास्नी

तिनका भोका बच्चाहरुको त्यो रगत म कसरी भुल्न सक्छु !

म कसरी भुल्न सक्छु
चे ग्वेभाराहरुको त्यो दुखदायी मृत्यु !
बिचरा त्यो एलेण्डेको आततायी हत्या !
स्पार्टाकसको त्यो पराजय म कसरी पचाउन सक्छु !
म भुल्न सक्दिन
सक्दिन मुटु-कलेजो चुँडाउने
रुखका ती स्वच्छ पातहरुलाई मारेको इतिहास
म कामना गर्छु –
सब किराहरुको पतन आओस् !
पृथ्वीबाट खजुराहरुको सदाको लागि अन्त्य होओस्
म त्यो दुइमुखे मार्तोललाई मार्छु
मनका ब्यथाहरु गीतमा समेत उनेर गाउन नदिने
म त्यो मार्तोललाई पासोमा पार्छु
जीत मेरो हुने छ,
किनकि
मेरो पछाडी लाखौं लाख बहादुरहरु हुनेछन्
हार मार्तोलको हुनेछ
किनकि
उसका पछाडि कायर र लोभीहरु हुनेछन्
र हुनेछ पापीहरुलाई लिन नाच्दै आइरहेको कालको छाँया ।

(स्रोत : रचनाकारको ब्लगबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.