कविता : काँडा, फूल र मान्छे

~निर्मोही व्यास~Nirmohi Vyas


काँडाका बोट आफ्नै छन्, छन् आफ्नै बोट फूलका
देखिन्छ सह–सम्बन्ध पनि उस्तै जतातता
उमे्रकै छन् यहाँ काँडा फूलका बोटमा पनि
फुलेकै छन् यहाँ फूल काँडाका बोटमा पनि


यिनको साथ–सान्निध्य उदाहरणयोग्य छ
गुण, आयु भने फेरि सर्वथा विपरीत छ
बिहानै फक्रिई फूल झर्छन् वैलेर बेलुका
काँडा भने युगौँसम्म रहन्छन् उसरी खडा


त्यस्तै, स्वभाव सर्दैन काँडामा फूलको पनि
कुनै प्रभाव पर्दैन काँडाको फूलमा पनि
काँडा दुच्छर नै हुन्छन् चाहे उम्रून् जहाँसुकै
फूलको दिल सङ्लो छ फुले पनि रछानमै


आश्चर्य ! यी बसेका छन् मिलेर सृष्टिदेखि नै
मिल्दैन किन हो मान्छे भने मान्छेहरूसँगै !
खलनायक भो मान्छे बन्न छोडेर “नायक”
कैले होला यहाँ मान्छे “मान्छे”भनिनलायक !


आएको छ यहाँ मान्छे आयु बोकेर फूलको
गुण धेरै छ पाएको काँडाको, थोर फूलको
मान्छेले आयु काँडाको, बास्ना–सौन्दर्य फूलको
लिएरै बाँच्न पाएमा, अहा ! कस्तो हुने थियो !

(स्रोत : ‘बोधिवृक्षको छायामा’, कविता–सङ्ग्रह—२०६९ – पृष्ठ ६८—६९)

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *