कथा : घर

~सुषमा मानन्धर~Shushma Manandhar

“तेरो बुढा आज पनि त्यही नखरमाउली केटीसंग सुपरमार्केटमा घुम्दै थिए। मैले नदेखे झै गरें। हैन, कति दिन चूप लागेर बस्छेस् – किन केही भन्दिनस् आफना बुढालाईं ?” जुनाकी साथीले उसलाई पीर मान्दै सोध्दै थिई।

नभनेकी कहाँ हो र उसले – हावा नचली पात हल्लिंदैन भन्छन्। शुरु शुरुमा उसका श्रीमान र त्यो केटीको बारेमा गाइगुइँ चल्दा जुनाले सोधेकी पनि हो। कहिले रोएर कुनै बेला घुर्क्याएर खबरदार पनि गरेकी हो उसले यसमा। तर हरेक पटक उसका श्रीमानले जुनाको टाउको छोइ किरिया खान्थे। बाहिर कसैसँग कुनै सम्बन्ध नभएको र कुनै उठबस नगरिएको भनी उसलाई आश्वस्त गर्थे। बिचरी ऊ, विश्वास गर्थी। फेरि सँधैभरि उसले श्रीमानको पछि लागेर साध्य पनि थिएन। साथीभाइहरुले बेला बेलामा उसलाई चलेका हल्ला सुनाएर चेताइरहन्थे। पछि नराम्ररी धोका खानु पर्ला ,होस गर्नु है भन्दै खबरदार गरिरहन्थे। अनि त्यो दिन जुना खूब प्रतिवाद गर्थी श्रीमानसँग। जो चोर उसैको ठूलो स्वर। उसका श्रीमान त्यस्तो बेला उल्टै अहिलेसम्म पनि आफूलाई अविश्वास गरेको भनी जुनालाई गाली गर्थे। ऊ नाजवाफ हुन्थी,थप सोध्न ऊसँग कुनै प्रश्न बाँकी रहँदैनथे। तर सशंकित उसले पिल्सनु पथ्र्यो हर घडी र धेरै रात छटपटाएरै बिताई पनि उसले।

हुंदाहुंदा पछि त उसले यस्ता कुराहरु सोध्न पनि छाडी। कसैले केही सुनाइहाले पनि ऊ सिर्फ सुनी रहन्थी,रित्तो भित्ता सरी। प्रतिकृयाविहीन अनुहार ओढेकी उसमा हरेक यस्ता खबरहरुले ज्वालामुखी दन्काइरहन्थ्यो। ऊ भित्रको जलन र दुःखले उसलाई प्रतिशोधको लागि उकस्याउँथ्यो। अलिकति एक्लोपनाको आभाष र अलिकति परपीडकको भावनाले जुनाको पनि आफनो अफिसमा काम गर्ने सुमीतसँग सम्पर्क बढ्यो। समान अभिरुचि र विपरीतलिंगी आकर्षणमा ऊ दिनप्रति दिन सुमीतसँग नजिकिँदै पनि गई। एउटै अफिसमा काम गर्ने हुँदा उनीहरुलाई भेटघाट गर्न कुनै असुविधा थिएन। सँधैको भेट र कार्य गराईले उनीहरु सहकर्मी भन्दा पनि बढी अभिन्न साथी बन्दै गए। त्यही भएर कुराको कुनै सीमा नराखी जुना सबै कुरा सुनाउँथी उसलाई, श्रीमानसँगको दिनहुँको किचकिच,उनको अर्की केटीसँगको लसपस,श्रीमानको बेवास्ता ,आफनो कुण्ठा, छटपटी र दबाइएका अनेकौं इच्छाहरु। जहाँ जति खेर, पनि सँगसँगै देखेर अफिसभित्र उनीहरुको बारेमा गरम चर्चाहरु पनि चल्न थालिसकेका थिए। चिया खाजा देखि फुर्सदमा लाइब्रेरीमा पत्रिका पढ्न समेत सँगै हिंडन थालेपछि कुरा नकाटियोस् पनि किन ? सुमीतको त तै अझै बिहे भएको थिएन, तर बिहे भैसकेकी जुना समेत पनि श्रीमानलाई देखाउना खातिर सुमीतसँग नराम्रैसँग झ्याँगिएकी थिई।

उठ्दा बस्दा, सांझ बिहान जुनाको दिमागमा एउटै नाम हुन्थ्यो सुमीतको, श्रीमानलाई उसले वास्ता गर्न छाडेकी थिई। ऊ सँधै तुलना गर्थी सुमीत र आफ्नो श्रीमानमा। मनदेखि नै टाढिएकी हुँदा उसलाई श्रीमानमा कुनै पनि कुरा राम्रो लाग्दैनथ्यो। सुमीत उसलाई मन पराउँथ्यो। तर त्यो मन पराइको रुप,सीमा र गन्तव्य कुन हो, ऊ जान्दिनथी। उसले कहिल्यै खोतल्ने प्रयास पनि गरिन। श्रीमानले गरिरहेका विश्वासघातको एउटा विकल्प मात्र खोजेकी थिई उसले सुमीतसँगको साहचर्यमा। आखिर त्यत्ति उमेर भएकी पनि त हैन ऊ, दुब्लो जिउडालको कारणले गर्दा आफ्नो उमेरभन्दा अलि कम नै देखिन्थी।

सुमीतसँगको आफनो सम्बन्धको स्वीकारोक्ती उसले आफ्नो मन खाने साथीसँग पनि गरिसकी। उसकी साथीलाई उसको सम्पूर्ण इतिहास र घरको परिस्थिति थाहा थियो। बाटो बिर्सेर श्रीमानलाई सुधार्नुको सट्टा आफूले पनि त्यही बाटो अनुसरण गरेपछि अन्त्य कुन ठाउँमा हुन्छ भन्ने सोच्न पनि नचाहेकी जुनालाई उसकी साथीले घरपरिवार र छोराछोरीको भविष्यको बारेमा सम्झाएर धेरै पल्ट सचेत पनि गरिसकी।

तर जुना सुमीतसँगको मायाको सागरमा चुर्लुम्म डुबिसकेकी थिई। यथार्थताको कटु धरातलमा टेक्नु भन्दा आफनो ब्वाइफ्रेन्डसँगको सामिप्यमा ऊ जीवन खोज्थी। उसका श्रीमानको कोसँग लेखापढी हुँदैछ र उनी किन ढिला घर आउँछन् वा किन कयौँ रात विभिन्न बहानामा घरबाट अनुपस्थित रहन्छन् भन्ने कुरामा जुनाको अब कुनै सरोकार रहेन। दुबैको संसार छुट्टाछुट्टै थियो, खुशी र सपना बेग्लै थियो। आफ्नो व्यक्तिगत स्वार्थ र बदलाको भावनाले एक अर्कालाई सानो देखाउने होडबाजीमा बनाइएको सम्बन्धको कुनै धरातल हुँदैन भनेर जुनालाई उसका साथीहरुले निकै चोटी सम्झाए।

पहिले पहिले त उसले साथीहरुका कुरा सुनेर आफूलाई सम्हाल्न र सुधार्न पनि खोजी तर घरको स्थितिमा कुनै सुधार नदेखेपछि उसले साथीहरुसँगै प्रतिवाद गर्नथाली। पुरुषहरुले लोग्ने भएर जे गरे पनि हुने अनि स्वास्नी मानिसले त्यही काम गर्दा अस्वाभाविक किन ठहर्ने भन्ने प्रश्न उल्टै ऊ उनीहरुलाई गर्थी। लाचार भएर पछि साथीहरुले जुनालाई सम्झाउनै छाडे।

आमाबुवाको स्वार्थ,अहम् र विलासिताको सबैभन्दा प्रत्यक्ष असर त जुनाका छोराछोरीमा पर्‍यो। जुन रुपमा अविभावक भएर बच्चाहरुलाई माया ममता र स्याहार दिनु पर्ने थियो, त्यो न जुनाले दिन सकी न त जुनाका श्रीमानले नै। उसका श्रीमानलाई रातोदिन अफिस, आफ्नी गर्लफ्रेन्ड, पार्टी पिकनिक, रेष्टुंरा र उपत्यका बाहिर सेमिनार अनि मिटिङ्गका नाम गरी वीकएन्डमा छुट्टी मनाउँदैमा फुर्सद थिएन। जुनाका पनि अधिकांश समय सुमीतको वरिपरि नै बित्थ्यो। उसले गर्ने हरेक क्रियाकलापमा सुमीतको इच्छा सर्वोपरी रहन्थ्यो। सुमीतलाई त्यो मीठो लाग्दैन, सुमीतलाई त्यो राम्रो लाग्दैन, सुमीत त्यो चाहँदैन यी भन्दा बढी अरु कुरामा उसको ध्यानै रहन्नथ्यो। आफना छोराछोरीका पनि कुनै इच्छा,सपना होलान् भन्ने कुरा जुना र उसका श्रीमानले सोचेनन्। अझ जुनाले त आफ्नो पर्समा ऐनासँगै लुकाएर सुमीतको फोटो राखेकी थिई, भेट नभएको दिन र न्यास्रो लाग्दा त्यही फोटो हेरी बस्नु उसको मुख्य काम हुन्थ्यो। ऊ ठट्टामा सुनाइरहन्थी बरु उसले श्रीमानलाई छोड्न सक्छे तर सुमीतलाई ज्यान गए पनि छाडदिन।

उसकी छोरी पोहोरदेखि कलेज जान थाली। भर्खरको बैंसालु उमेर, खुलापन र घरमा रोकटोक गर्ने कोही नहुँदा उसका पाइला पनि क्याबिन रेष्टुँरा र डिस्कोथेकहरुतिर सजिलै पुग्न थाले। छोराछोरीलाई उचित सुझाव र नियन्त्रण गर्नु पर्ने मान्छे आफै बरालिएपछि उसका छोराछोरीका पनि के दोष- मुन्द्री लगाएर लामो कपाल पाल्ने ब्वाइफ्रेन्डसँग मोटरसाइकलमा लिपिक्कै टाँसिएर घुम्नु, अबेर रातसम्म घर बाहिर बस्नु बढ्दै गरेकी उसकी तरुनी छोरीको दिन चर्या थियो। उसको छोरो भने स्कूलमै पढ्दै थियो दश कक्षामा। पढाइभन्दा अन्य गतिविधिहरुमा नै उसको रुचि दखिन्थ्यो र त अघिल्लो वर्ष परिक्षा बिगार्‍यो पनि। क्लास छोडी आफना अल्लारे साथीहरुसँग गफिएर बस्नु, चुरोट पिउनु जस्ता नराम्रा लत उसमा मजाले बसिसकेको थियो। ऊ मात्र के कम ,ऊ पनि आफ्नी गर्लफ्रेन्डलाई लिएर साइबर र पार्कहरुतिर डुलिरहन्थ्यो।

अलिक दिन भयो जुनाको श्रीमानसँग फेरि कचमच शुरु भएको। उनले पहिलो चोटि हो शायद जुनासँग सुमीतको बारेमा सोधेका। मुखभरिको जवाफ दिएर उसलाई श्रीमानको मुखमा बुजो लाइदिन मन त लागेको थियो तर उसले बोल्दैबोलिन , कुनै सवालजवाफ गर्न चाहिन।

राजधानीको व्यस्त सडकछेऊ रहेको “माइ पाराडाइज” रेष्टुँरा जोडीहरुबीच निकै लोकप्रिय छ। आज सुमीतले जुनालाइ त्यहीँ जाने प्रस्ताव राखेको छ। घरमा भरे खाना खाने नै को छन् र पकाउन , त्यसैले उसले सहर्ष स्वीकारी। साँझ अफिसबाट फर्केर नुहाइवरी उसले आफूलाई धेरैबेर लाएर मेकअप गरी। लो कट ब्लाउजसँग आफूलाई मनपर्ने सारी लगाई। गर्धन र कान पछाडि महँगो परफ्युम दली। सुमीतले लिन आएपछि ऊ ढोकामा ताला लगाई निस्कीइ। उसका श्रीमानको आज साँझ मिटिङ छ रे अफिसमा, छोरो बिहानदेखि खानै नखाई बेपत्ता थियो र छोरी उसकी साथीको घरमा भोज छ आज नफर्किने भन्दै थिई। सँधै सँधैको यस्तो स्थितिले उसलाई दुःखी नबनाउने हैन तर अब त उसले ती दुःखहरु सोच्नै छाडेकी छ।

रेष्टुँरामा एउटा कुना रोजेर जुना सुमीतसंग टाँसिएर बसी। रंगीन साँझ पार्श्वमा बजिरहेको अंग्रेजी गीतको मधुरो धूनसँग अझै मादक बनिरहेको थियो। प्रत्येक जोडीहरुले अगाडिका साथीमै संसार खोजिरहेका थिए। जुना र सुमितले पनि एक अर्काका आंखामा तैरिंदै हल्का पेयसँग मायाका कुराहरु साटिरहे।

एकैछिनमा रेष्टुँराको भित्री लबीमा कोलाहल शुरु भयो , कुनै केटाले उपद्रो गर्‍यो कि ? झगडा भए जस्तो कोही रोए जस्तो सुनियो। उत्सुकताले जुना सुमीतको हात समाइ भीड छिचोलेर त्यहाँ पुग्दा उसको छोरो आफ्नी दिदीको गालामा थप्पड हानेर ठूलो स्वरमा कराउँदै थियो। उसकी छोरी आफूभन्दा सानो भाइले पिटेकोमा रुँदै रिसाउँदै फत्फताउँदै पनि थिई। छोरीका ब्वाइफ्रेण्ड उसलाई फकाउँदै थियो भने छोराकी गर्लफ्रेन्ड झगडा नगर्नू भन्दै उसलाई तान्दै थिई। त्यही भीडको एका छेउमा जुनाको श्रीमान पनि थिए, आफूभन्दा आधा उमेरकी आफ्नी गर्लफ्रेन्डसँग स्तब्ध उभिएका। चारै जनाले एक अर्कालाई देखे , अप्रत्याशित र अप्ठयारो परिस्थितिमा।

स्थिति सहज बनाउन पहल कसले र कसरी गर्ने कसैले सोच्न सकिरहेका थिएनन्। जुनाका श्रीमान भीडबाट निस्किए र छोरीको हात समाई गाडीतिर लागे। जुनाले पनि छोरोलाई तान्दै उनीहरुको अनुसरण गरी। चारै जना नबोली कारमा बसे। जुनाको श्रीमान गाडी हाँक्दै थिए,जुनासँगैको सीटमा थिई। छोराछोरी पछाडिका सीटमा थिए। अपराधबोधले ग्रसित सबैको दिमाग अनेकौं भावनाले उद्वेलित थियो तर प्रत्यक्षतः कोही कसैसँग बोलिरहेका थिएनन्, बोल्ने आँटै आइरहेको थिएन। त्यो मौनता बीच गाडी भने घरतिर कुदिरहेको थियो।

March 1st, 2008

(स्रोत : माइ संसार डट कम)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.